कोशी, महाकाली र नारायणी नदी वरपर जोखिमको अवस्था कस्तो छ?

डुबानमा कैलाली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, तीन दिनदेखि परेको पानीले कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि विस्थापित भएका भजनी नगर क्षेत्रका बासिन्दा अग्लो भाग हुलाकी राजमार्ग सडकखण्डमा त्रिपाल टाँगेर बस्दै आएका छन्

बर्सेनि बर्खा लागेसँगै कोशीमा बाढीले निम्त्याउने क्षतिलाई लिएर प्रभावित जिल्लाका बासिन्दाहरू चिन्तामा पर्ने गर्छन्।

कोशीमा यो वर्ष पानीको मात्रा रेकर्ड राख्न थालिएयता तेस्रो ठूलो भएको अधिकारीहरूले बताएका छन्।

सन् १९६८ मा ७ लाख क्युसेक पानी बगेको र १९८९ मा ४ लाख ७२ हजार क्युसेक पानी बगेको थियो। त्यसको करिब २४ वर्षपछि यस पटक कोशी नदीमा अहिलेसम्म ४ लाख ५६ हजार क्युसेक पानी बगेको बताइएको छ।

ठूलो बाढी आएपछि कोशी ब्यारेजमा पानीको तह घटाउनका लागि सबै ढोका खोलिएको भए पनि अहिले त्यहाँ पानी क्रमशः घट्दै गएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

देशका धेरै क्षेत्रमा लगातार पानी पर्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेसँगै सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सतर्क रहन सूचना जारी गरेका थिए।

अझै पनि बाढी र पहिरोको जोखिमबारे मानिसहरूलाई सतर्क गराइएको र ठूला नदीमा पानीको सतह घट्दै जान थालेको सम्बन्धित जिल्लाका अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

कोशी, महाकाली, नारायणीमा पानीको सतह कस्तो छ?

कोशी नदीमा पानीको बहाव सोमवार दिउँसो ४ लाख २१ हजार क्युसेक छ। आइतवार राति ४ लाख ५६ हजार क्युसेक पुग्दा सबै ढोकाहरू खोल्न थालिएको पाण्डेले बताइन्।

“आइतवार राति चाहिँ सबै ५६ वटै ढोकाहरू खोलिएको थियो। अब अवस्था हेरेर बन्द गर्न सुरु गरेका छौँ। अहिले जोखिम कम हुँदै गएको भए पनि हामीले मानिसहरूलाई सतर्क रहनचाहिँ भनिरहेका छौँ,” प्रजिअ पाण्डेले भनिन्।

कोशीजस्तै बाढीका कारण बर्खामा चिन्तामा रहने सुदूरपश्चिमस्थित महाकाली नदीमा पनि पानीको सतह बढेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार महाकाली नदीमा २ लाख क्युसेक पानी बगेपछि खतरा मानिन्छ।

सुर्खेतमा डुबान

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सुर्खेतमा बाढीले बस्तीहरू डुबानमा परेका छन्।

सोमवार दिउँसो १ लाख ७७ हजार क्युसेक पुगेको छ। मौसमविद्हरूले पानी पार्ने बादल हाल पूर्वबाट पश्चिमतर्फ सर्दै गएको बताएका छन्।

त्यसैकारण महाकालीमा पानीको मात्रा झन् बढ्न सक्ने अनुमान छ।

महाकाली वरपर बाढीले क्षति गर्ने जोखिमपूर्ण ठाउँहरू पहिचान गरिएको र उद्धारका लागि तीन वटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको अधिकारीले बताएका छन्।

“महाकाली नदीमा सोमवार दिउँसोसम्मको अवस्था खतरापूर्ण अवस्था छैन तर नदीमा पानीको सतह बढेर जोगबुढा नदी थुनियो भने समस्या आउन सक्छ, ” अधिकारीले भने।

नारायणी नदीमा पनि सोमवार पानीको सतह ७.८ मिटर रहेको र त्यो घट्ने क्रममा रहेकोले खतरा कम हुँदै गएको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

“प्राविधिकको राय अनुसार ८ मिटर कटेपछि खतराको तह मान्ने गरेका छौँ तर सोमवार बिहान ७.८ थियो र दिउँसो त्यो घट्ने क्रममा छ,” उनले भने।

“हामीले पानीको सतह ७ मिटर पुगेपछि नै तट क्षेत्रका मानिसहरूलाई सतर्क रहन भनिसकेका थियौँ र महानगरपालिकाका वडाहरूसँग समन्वय गरेर काम गरिरहेका छौँ।”

बाढीका कारण भेरी र कर्णाली नदी किनार वरपर रहेका बस्तीलाई डुबान र बाढीबाट जोगाउन उच्च सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन्।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले अहिलेसम्म बाढी र डुबानबाट मानवीय र भौतिक क्षति खासै नभए पनि आवश्यकता अनुसार उद्धारका लागि टोलीलाई तयार अवस्थामा राखिएको बताए।

क्षतिको देशभरिको विवरण कस्तो छ?

यो वर्ष जेठ ३१ गतेबाट सुरु भएको मनसुनबाट थुप्रै मानवीय र भौतिक क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभरि ७४ वटा जिल्ला प्रभावित हुँदा बाढी, पहिरो, चट्याङलगायतका विपद्का घटनामा ६५ जनाको मृत्यु भइसकेको छ र ३१ जना बेपत्ताको सूचीमा छन्।

नारायणी नदीमा बाढी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, लगातारको वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढे पनि असहज अवस्था नभएको अधिकारीले बताएका छन्

त्यस्तै १०१ जना घाइते भएका छन् भने ५ हजार ७८२ घर परिवार प्रभावित छन् र १० करोडभन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ।

त्यस्तै पछिल्लो सातामा मात्रै बाढी पहिरो, चट्याङ जस्ता मनसुनजन्य ९२ वटा घटना भएका छन्। ती घटनामा परेर १० जनाको मृत्यु भएको, ४ जना बेपत्ता भएको र १४ जना घाइते भएको बताइएको छ।

पछिल्लो एक सातामा देशभर १ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको प्राधिकरणले जनाएको छ।

विगत दुई दिनमा मात्रै पनि १ जनाको मृत्यु भएको, १ जना बेपत्ता, २ जना घाइते र १५ लाखभन्दा बढीको क्षति भएका विवरण प्राप्त भएको प्राधिकरणकी सहप्रवक्ता महतले बताइन्।

पूर्व तयारीका लागि के गरिएको छ?

जल तथा मौसम विज्ञान विभागका अनुसार महाकाली र कर्णाली नदी खतराको तह(वार्निङ लेबल) मा पुगेको छ।

महाकालीमा पानीको तह आइतवारदेखि स्थिर रहे पनि कर्णालीमा भने बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।

स्थानीय स्तरमा हुने विपद्का घटनामा उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने र राहतका लागि राहत कोषमा पैसा पठाउने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय योजना २०८० कार्यान्वयनमा लगिएको छ।

प्राधिकरणकी सह प्रवक्ता महतले भनिन्, “पानीको सतह बढ्दै जाँदा स्वचालित रूपमा साइरन बज्ने प्रणाली देशभरका जोखिम धेरै भएका ३४ स्थानमा जडान गरेका छौँ। त्यसले पानी बढ्ने बित्तिकै साइरन बजेर मानिसहरूलाई सतर्क गराउँछ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।