तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुई प्रतिस्पर्धी चीन र अमेरिका सगरमाथा आरोहणमा पनि अघिपछि
आर्थिक लगायतका क्षेत्रमा प्रतिस्पर्धामा रहेका विश्वका दुई शक्ति राष्ट्र चीन र अमेरिका यसपालि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति पाएका आरोहीहरूको सङ्ख्यात्मक हिसाबले केही नजिकनजिक देखिएका छन्।
नेपाली अधिकारीहरूका अनुसार यो वसन्त ऋतुमा हालसम्मकै सर्वाधिक आरोहीहरूले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्।
यो ऋतुमा २८ वटा हिमाल आरोहणका लागि कुल ६५ देशका १,१७६ जनालाई अनुमति दिइएको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले बताए।
तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ४७८ जनाले अनुमति लिएको पर्वतारोहण शाखाको तथ्याङ्क छ। त्यसमा ३७६ जना पुरुष र १०२ जना महिला रहेका छन्।
“सबैभन्दा बढी चीनबाट ९७ जना (२५ महिला र ७२ जना पुरुष) रहेका छन्। चीनलाई अमेरिकाले पछ्याएको छ जहाँका १३ महिला र ७६ पुरुष गरी ८९ जना छन्,” खतिवडाले बीबीसी न्यूज नेपालीसँग भने।
तेस्रो स्थानमा भारतका ४० जना, क्यानडाका २१ जना र रुसका २० जनाले आरोहणका लागि अनुमति लिएका छन्।
नेपालका तीन महिला र १३ पुरुष गरी १६ जनाले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन्।
खतिवडाका अनुसार उत्तरी मोहडाबाट सगरमाथाको आरोहणका लागि अनुमति दिँदै आएको चीनले भने कोभिड महामारीयता अनुमति दिएको छैन।
हालसम्मकै धेरै दस्तुर सङ्कलन
नेपालमा हिमाल आरोहण बापत लिने गरिएको दस्तुर हालसम्मकै उच्च रहेको अधिकारीहरूले बताएका छन्।
“समग्रमा ७६ करोड ५७ लाख रुपैयाँ दस्तुर सङ्कलन भएकोमा सगरमाथाको हकमा मात्र ६६ करोड ६४ लाख रुपैयाँ उठेको छ,” निर्देशक खतिवडाले थपे।
निर्देशक खतिवडाका अनुसार ऋतु र मार्गअनुसार विदेशी पर्वतारोही दलले प्रत्येक सदस्यका लागि नेपाल सरकारलाई सलामी बुझाउनुपर्ने हुन्छ।
सगरमाथाको ‘नर्मल रुट’ का लागि वसन्त ऋतुमा प्रतिविदेशी नागरिकले ११,००० अमेरिकी डलर, शरद ऋतुमा ५,५०० र शिशिर तथा वर्षा ऋतुमा २,७५० डलर तिर्नुपर्छ।
सगरमाथाको दक्षिणपूर्वी धारबाहेकको हकमा वसन्त ऋतुमा प्रतिविदेशीले १०,००० डलर, शरद ऋतुमा ५,००० र शिशिर तथा वर्षा ऋतुमा २,५०० डलर तिर्नुपर्छ।
सगरमाथाबाहेक अरू हिमाल आरोहण गर्नका लागि तुलनात्मक रूपमा कम रकम बुझाउनुपर्ने खतिवडा बताउँछन्।
उदाहरणका लागि सगरमाथाबाहेक ८,००० मिटर र सोभन्दा माथिका अन्य हिमाल आरोहण बापत प्रतिव्यक्ति वसन्त ऋतुमा १,८०० डलर, शरद ऋतुमा ९०० एवं शिशिर र वर्षा ऋतुमा ४५० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ।
बुधवार नयाँ कीर्तिमान
विश्वको सर्वोच्च शिखर सगरमाथाको २७औँ पटक सफल आरोहण गर्दै नेपाली पर्वतारोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान भङ्ग गरेका छन्।
पर्यटन विभागअन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाका अनुसार कामीरिता शेर्पा बुधवार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन्।
यसअघि सबैभन्दा धेरै पटक अर्थात् २६औँ चोटि सगरमाथाको आरोहण गरेको कीर्तिमान उनकै नाममा थियो।
यो वसन्त ऋतुमा पासाङ दावा शेर्पाले २६औँ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमानको मामिलामा कामीरिता शेर्पालाई पछ्याएका छन्।
सगरमाथाको चुचुरोमा धेरै पटक पाइला टेकेर इतिहास रचेका यी दुवै पर्वतारोही सोलुखुम्बु जिल्लाकै हुन्।
यसैबीच, सगरमाथा आरोहणका क्रममा बुधवार दुई जनाको निधन भएको पर्वतारोहण शाखाका निर्देशक खतिवडाले बताए।
“मृत्यु हुनेमा एकजना नेपाली र अर्का विदेशी नागरिक मोल्डोभाका रहेको हामीलाई विवरण प्राप्त भएको छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
उनका अनुसार सगरमाथा क्षेत्रमा अहिले प्रतिकूल मौसम भएको कारण कतिपय विवरण पाउन कठिनाइ भइरहेको छ।