तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भागेर युक्रेन गएका रुसी पाइलटको स्पेनमा गोली हानी हत्या
स्पेनमा गोली हानेर हत्या गरिएका एक व्यक्तिको शव गत वर्ष भागेर युक्रेन गएका रुसी हेलिकप्टर पाइलटको भएको ठानिएको छ।
गत वर्ष अगस्टमा म्याक्सीम कुज्मीनोभले युक्रेनी क्षेत्रमा हेलिकप्टर उडाएका थिए र उनी आफैँले युक्रेनसमक्ष आत्मसमर्पण गरेका थिए।
गत साता अलिकान्टीनजिकै मारिएका एक व्यक्तिको परिचय स्पेनी प्रहरीले सार्वजनिक रूपमा खुलाएको छैन।
यद्यपि युक्रेनी गुप्तचरहरूले सोमवार कुज्मीनोभको मृत्यु भएको पुष्टि गरेका छन्।
युक्रेनी अधिकारीले के भने?
एकजना प्रवक्ताले युक्रेनी समाचार संस्था युक्रेइन्स्का प्राभ्दालाई भनेका छन्, "हामी उनको मृत्यु भएको कुरालाई पुष्टि गर्छौं... उनले यहाँ बस्नुको साटो स्पेन जाने निर्णय गरेका थिए।"
"हामीलाई के थाहा छ भने उनले आफ्नी पूर्वपत्नीलाई आफू बसेको ठाउँमा बोलाएका थिए। त्यसपछि उनको गोली हानी हत्या गरियो।"
स्पेनी अधिकारीहरूले बीबीसीलाई पीडित गलत पहिचानका साथ रहेको हुनसक्ने बताएका छन्।
स्पेनी समाचार एजेन्सी एफएका अनुसार कुज्मीनोभको शव स्पेनको पूर्वी तटमा रहेको भीयाखोयोसा सहरमा पाइएको थियो।
उक्त शवसँग उनको राष्ट्रियतासँग मेल खाने कागजपत्र फेला परेका थिए। तर ती कागजपत्रमा नाम भने फरक थियो।
युक्रेनी गुप्तचर निकायको सञ्चार सेवाले आक्रमणकारीहरूले प्रयोग गरेको हुनसक्ने एउटा जलेको कार घटनास्थलनजिकै फेला परेको जानकारी उक्त समाचार संस्थालाई दिएको थियो।
उनी कसरी रुसबाट भागेका थिए?
कुज्मीनोभले युक्रेनी 'सिक्रेट सर्भिस'लाई गत वर्ष कुनै बेला देश छोड्ने आफ्नो निर्णयबारे जानकारी दिन सम्पर्क गरेका थिए।
अन्ततः उनले आफ्नो एमआई-८ हेलिकप्टरलाई सीमा क्षेत्रमा उडाएको र अगस्ट-९ मा पूर्वी युक्रेनमा अवतरण गरेको देखियो।
कुज्मीनोभको योजनाबारे अनभिज्ञ उक्त उडानमा रहेका अन्य दुईजना हेलिकप्टर अवतरणपछि सीमातर्फ फर्कन थालेका थिए।
उनीहरूको गोली हानी हत्या गरिएको थियो। कुज्मीनोभलाई पनि गोडामा गोली लागेको थियो। उनले चाहिँ ती हत्याका लागि रुसी सेनालाई दोष दिएका थिए।
गत वर्ष सेप्टेम्बरमा एउटा पत्रकार सम्मेलनमा कुज्मीनोभले युक्रेनमाथि रुसी हमलाको विरोध गर्दा आफूले देश छाड्नुपरेको बताएका थिए।
उनले युक्रेनले उनलाई नयाँ कागजात र उनको परिवारको सुरक्षाको ग्यारेन्टीसहित पाँच लाख डलर दिने वाचा गरेको पनि बताएका थिए।
युक्रेनी अधिकारीहरूले कुज्मीनोभलाई युक्रेनमा बस्ने मौका दिएको बताएका छन्।
युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले भने, "उनी पक्कै पनि यहाँ सुरक्षित हुने थिए। मलाई लाग्दैन उनीहरूले स्पेनमा गरेजस्तो अपमानजनक व्यवहार यहाँ गर्न सक्थे।"
उक्त घटनाबारे रुसी अधिकारीहरूले आधिकारिक टिप्पणी गरेका छैनन्।
यद्यपि मङ्गलवार रुसको एउटा गुप्तचर सेवाका निर्देशकले "त्यो देशद्रोही र अपराधीको लाश भएको" बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।