तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रुसका प्रतिपक्षी नेता नभाल्नीको मृत्युबारे छानबिन गर्न राष्ट्रसङ्घको माग, पुटिन जिम्मेवार रहेको अमेरिकाको भनाइ
रुसका प्रतिपक्षी नेता एलेक्सी नभाल्नीको मृत्युपछि संयुक्त राष्ट्रसङ्घ र शक्तिराष्ट्रका नेताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले "हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन" हुनुपर्ने माग गरेका छन् भने अमेरिकाका राष्ट्रपति जो बाइडनले घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको बताएका छन्।
पुटिनको कार्यालयका एक प्रवक्ताले घटनाबारे कारागार प्रशासनले छानबिन गरिरहेको बताए पनि यसबारे थप विवरण दिएका छैनन्।
रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले शुक्रवार जनाएको थियो।
राष्ट्रसङ्घ महासचिव 'स्तब्ध'
एलेक्सीको नभाल्नीको मृत्युको विवरणले राष्ट्रसङ्घका महासचिव गुटेरस 'स्तब्ध भएको' उनका प्रवक्ताले बताएका छन्।
गुटेरसले छिट्टै उनको परिवारलाई समवेदना सन्देश पठाउने पनि प्रवक्ताले उल्लेख गरेका छन्।
यसै गरी राष्ट्रसङ्घको मानवअधिकार कार्यालले स्वतन्त्र निकायमार्फत् घटनाको छानबिन हुनुपर्ने माग गरेको छ।
"बिनाकारण जस्तो देखिएको" नभाल्नीको कारावासबारे पनि आफूले बारम्बार कुरा उठाएको कार्यालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।
गत वर्ष राष्ट्रसङ्घीय मानव अधिकार आयुक्त फोल्कर ट्यूर्कले नभाल्नीलाई सुनाइएको लामो सजायले रुसले अदालती प्रणालीलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको देखाएको बताएका थिए।
"यदि कोही राज्यको हिरासतमा मर्छ भने त्यसका लागि राज्य जिम्मेवार हुने मान्यता छ," राष्ट्रसङ्घले भनेको छ।
बाइडन 'अचम्भीत र आक्रोशित'
घटना सार्वजनिक भएपछि ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडनले आफू "अचम्भीत र आक्रोशित" भएको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रखर आलोचक रहेका नभाल्नीको 'वीरता'को प्रशंसा गर्दै बाइडनले सन् २०२० मा विष दिइएपछि नभाल्नी निर्वासनमा देशबाहिर रहन सक्ने भए पनि उनले त्यसो नगरेको भए।
"पुटिन जे थिएनन्, नभाल्नी त्यही थिए," बाइडनले भने, "गल्ती नगरौँ, नभाल्नीको मृत्युका लागि पुटिन जिम्मेवार छन्।"
युक्रेनलाई अमेरिकाले गरिरहेको सहयोगको आलोचना गर्ने पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीको पनि बाइडनले आलोचना गरे।
"यो महत्त्वपूर्ण क्षणमा युक्रेनलाई सहयोग गर्न विफल भयौँ भने त्यसबापत कहिल्यै माफी पाइँदैन," उनले भने, "हामीले अहिल्यै सहयोग गर्नुपर्छ।"
यूकेको चेतावनी
तीन वर्षअघि बाइडनले एलेक्सी नभाल्नीको हिरासतभित्र निधन भयो भने रुसले "विध्वंशकारी" परिणाम भोग्नुपर्ने बताएका थिए।
शुक्रवार उनको हिरासतभित्रै निधन भएको समाचार सार्वजनिक भएपछि यूकेका विदेशमन्त्री डेभिड क्यामरनले करिब उस्तै मन्तव्य दिए।
जर्मनीमा जारी म्यूनिक सुरक्षा सम्मेलनमा क्यामरनले भने, "यसको परिणाम बेहोर्नुपर्नेछ।"
नभाल्नी को हुन्?
नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक थिए। हाल ४७ वर्षका नभाल्नीले राष्ट्रपति पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आएका थिए।
उनी भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि थिए।
सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन।
नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए।
नभाल्नी किन जेल परेका थिए
सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल परेका थिए।
उनलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो।
साइबेरियामा भएको स्नायु एजेन्ट आक्रमणमा परेर आपत्कालिन उपचार गराइरहेको थाहा हुँदाहुँदै उनीमाथि यस्तो आरोप लगाइनु हास्यास्पद भएको उनका वकिलहरूले बताएका थिए।
उनले आफू लामो समयसम्म कोमामा रहेकोबारे अदालतलाई पनि जानकारी गराएका थिए। उनले आफूलाई चुप लगाउन आफूविरुद्ध ठगीको आरोप लगाइएको दाबी गर्दै आएका थिए।
उनलाई त्यसअघि एउटा अनियमितताको आरोपमा सन् २०१४ मा दोषी ठहर गरिएको थियो। तर उनलाई सुनाइएको सजाय पनि विवादित बनेको थियो।
यसअघि पनि घातक विष हमलामा परेको दाबी
नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो।
साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उनी बिरामी परेका थिए र जहाजले आपत्कालीन अवतरण गर्नुपरेको थियो। त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउमा परेका उनी त्यसयता हिरासतमा थिए।
नभाल्नीले आफूमाथि स्नायु विष हमला भएको बारे लगाएको आरोप सही भएको केही खोज पत्रकारहरूको अनुसन्धानले देखाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।