केआईआईटी, भारतमा फेरि नेपाली विद्यार्थीको मृत्यु, घटनाबारे अहिलेसम्म हामीलाई के थाहा छ

तस्बिर स्रोत, KIIT
भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्युको घटनापछि त्यसबारे कलेज प्रतिनिधिसँग दिल्लीस्थित नेपाली दूतावासमा जानकारी लिइएको जनाइएको छ।
केआईआईटीमा बीटेक पहिलो वर्ष अध्ययनरत वीरगन्जकी छात्रा प्रीशा साह, १८ को मृत्युबारे बिहीवार राति ८ बजे नै दिल्लीस्थित नेपाली दूतावासमा खबर आएको दूतावासका उपप्रमुख सुरेन्द्र थापाले बीबीसीलाई बताए।
"हिजो राति ती विद्यार्थी छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी आयो। त्यसपछि दूतावासले पहल गरेर कलेज प्रशासन, प्रहरी, स्थानीय प्रशासन र मुख्य सचिवसँग कुरा गर्दा त्यो आत्महत्या हो भन्ने कुरा आयो," थापाले भने।
अहिले प्रीशाको शव एम्स अस्पतालमा रहेको र उनका बुवा पुगेपछिमात्रै पोस्टमोर्टम हुने जानकारी आएको नेपाली दूतावासले जनाएको छ।
"बुवा पुगेपछिमात्रै छानबिन हुन्छ। उहाँले मोबाइल खोल्नका लागि अनि पोस्टमोर्टमका लागि निवेदन दिनु पर्यो," थापाले भने।
नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा यो घटनाबारे निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिए।
"यस घटनाको सत्य तथ्य बुझ्न दिएको निर्देशन अनुसार हामीले निरन्तर स्थानीय प्रशासन र कलेज प्रशासनसँग समन्वय गरिरहेका छौँ," थापाले भने।
भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा त्यहाँका प्रमुख सचिवलाई सम्पर्क गरेर घटनाको निष्पक्ष छानबिन गर्न अनुरोध गरेको दूतावासले एक प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।
घटनालगत्तै प्रीशाका बुवा भारततर्फ

तस्बिर स्रोत, PRISHA SAH/FACEBOOK
घटना भएको खबर पाएपछि बिहीवार राति नै प्रीशाका बुवा श्यामबाबु साह भारतको भुवनेश्वरतर्फ लागेको वीरगन्जस्थित हाम्री संवाददाता माधुरी महतोले जानकारी दिएकी छन्।
"वीरगन्ज र सर्लाहीमा घर भएका प्रीशाका बुवा श्यामबाबु साह घटनाबारे थाहा पाउँदा सर्लाहीमा थिए। त्यतैबाट उनी भुवनेश्वरस्थित छोरी पढ्ने कलेजतर्फ लागेका हुन्," श्यामबाबुका मित्र रामराज श्रेष्ठले बीबीसीलाई भने।
बारा जिल्लास्थित जनस्वास्थ्य कार्यालयमा कार्यरत साह र एनप्याब्सनका अध्यक्ष श्रेष्ठ मिल्ने साथीका रूपमा चिनिन्छन्।
बिहीवारको घटना थाहा पाएपछि भुवनेश्वर जानुअघि साह र श्रेष्ठको फोनमा कुराकानी भएको श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार वीरगन्जबाट कक्षा १० सम्मको पढाइ पूरा गरेकी प्रीशाले ११ र १२ भने काठमाण्डूस्थित केएमसीमा पढेकी थिइन्।
"उनी एक वर्षअगाडि मात्रै भारतको केआईआईटीमा बीटेक पढ्न गएकी थिइन्," श्रेष्ठले भने।
केही समयअगाडि अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको त्यही कलेजमा मृत्यु भएको घटनापछि अन्य थुप्रै नेपाली विद्यार्थी जस्तै प्रीशा पनि घर फर्किएकी थिइन्।
श्रेष्ठका अनुसार त्यतिबेला प्रीशालाई बुवा श्यामबाबुले भारत नफर्किन र क्रेडिट ट्रान्सफर गरेर नेपालमै पढ्न सुझाएका थिए।
प्रीशाले भने पहिलो वर्षको परीक्षा सकेपछि ब्याङ्ग्लोरमा पढ्न जाने इच्छा राखेकी थिइन्।
साढे दुई महिनाअघि पनि अर्की छात्राको मृत्यु

यसअघि साँढे दुई महिनाअगाडि पनि उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको छात्रावासमै मृत्यु भएको थियो।
स्नातकमै अध्ययनरत बुटवलकी ती छात्रालाई पनि क्याम्पसकै होस्टलभित्र झुन्डिरहेको अवस्थामा फेला पारिएको थियो।
त्यतिबेला भने विद्यार्थीहरूले सत्यतथ्य छानबिन गर्न माग गर्दै प्रदर्शन गरेपछि कलेजमा स्थिति तनावग्रस्त बनेको थियो।
क्याम्पस प्रशासनले पनि एउटा सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूलाई बाहिरिन भनेपछि कयौँ नेपाली विद्यार्थीहरू नेपाल फर्किएका थिए।
अहिले भने क्याम्पसमा त्यस्तो स्थिति नरहेको दूतावासले जनाएको छ।
लम्सालको मृत्युको घटनामा जोडिएका एक भारतीय छात्रविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दर्ता भएपछि उनी अहिले जेलमा छन्।
लम्सालको परिवारले प्रकृतिको नाममा एउटा छात्रवृत्ति होस् भन्ने अनुरोध गरेपछि केआईआईटीले उक्त छात्रवृत्ति स्थापना गरेको दूतावासले जनाएको छ।
दूतावास तथा विद्यार्थीहरूका अनुसार केआईआईटीमा लगभग ७०० जना नेपालीहरू कम्प्युटरदेखि व्यवस्थापनसम्मका विषय पढ्दै आएका छन्।
बिहीवार राति छात्रवासमै झुन्डिएको अवस्थामा प्रीशाको शव फेला परेको जानकारी राति ८ बजे तिर नै कलेजले आफूहरूलाई जानकारी गराएको नेपाली दूतावासले जनाएको छ।
"प्रीशाको परीक्षा अबको दुई दिनमा हुँदै थियो भन्ने जानकारी हामीले पाएका छौँ," दिल्लीस्थित नेपाली नियोगका उपप्रमुख थापाले भने।
"अहिले उनको शव एम्स अस्पतालमा राखिएको छ। बुवा आइपुगेपछि उनको पोष्टमोर्टम हुनेछ।"
शुक्रवार नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै सत्य तथा छानबिन गर्न कूटनीतिक पहल थालिएको बताएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, "बिहीवार नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत् घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालिएको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








