केआईआईटीबाट फर्केका विद्यार्थीले नेपालमै 'क्रेडिट ट्रान्सफर' गरेर 'पढ्न सक्ने'

- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
भारतको ओडिसास्थित केआईआईटीबाट नेपाल फर्किन बाध्य विद्यार्थीलाई 'क्रेडिट ट्रान्सफर' गरी उनीहरूले अध्ययन गरिरहेको तहमै पढाइ अघि बढाउने अवसर दिन आफूहरू तयार रहेको नेपाली विश्वविद्यालयका अधिकारीहरूले बताएका छन्।
एक नेपाली छात्राको 'शङ्कास्पद मृत्यु'पछि उत्पन्न परिस्थितिका कारण केआईआईटी अर्थात् कलिङ्ग इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजीबाट कैयौँ नेपाली विद्यार्थीहरू स्वदेश फर्किरहेका छन्।
केआईआईटी प्रशासन, भारतीय अधिकारी तथा नेपाली अधिकारीहरूले अहिले अवस्था "सामान्य" रहेको भन्दै विद्यार्थीहरूलाई भर्ना भएको शैक्षिक संस्थामै फर्कन आग्रह गरिरहेका छन्।
तर कैयौँ विद्यार्थीले "पहिलेकै जस्तो घटना दोहोरिन सक्ने" चिन्ता व्यक्त गर्दै पुन: फिर्ता हुन चाहेका छैनन्।
केआईआईटीले रुपन्देहीकी ती छात्राको मृत्युपश्चात् "सबै नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि विश्वविद्यालयबाट निकाल्ने" कदम चालेको थियो।
यद्यपि भारतभित्रै र नेपालबाट पनि व्यापक आलोचना भएपछि केआईआईटी नेपाली विद्यार्थीलाई घर पठाउने आफ्नो निर्णयलाई तत्कालै फिर्ता लिन बाध्य भयो।
त्यपपछि छात्राको 'शङ्कास्पद' मृत्युबारे छानबिन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली विद्यर्थीमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने सुरक्षाकर्मी र कर्मचारीलाई कारबाही अघि बढाइयो भने केहीलाई ओडिसा प्रहरीले पक्राउ पनि गर्यो।

उक्त घटनाबारे ओडिसा राज्य सरकारले छानबिन गर्न बनाएको एउटा समितिले हाल काम गरिरहेको बताइएको छ।
तर स्वदेश फर्केका कैयौँ नेपाली विद्यार्थीहरू उक्त घटनापछि पुन: अध्ययनका लागि त्यता जान चाहिरहेका छैनन्।
त्यस्ता विद्यार्थीलाई लक्षित गर्दै नेपाली विश्वविद्यालयहरूले "क्रेडिट ट्रान्सफर" गरेर पढ्न सक्ने व्यवस्था गरिने जनाएका हुन्।
पूर्वाञ्चाल विश्वविद्यालयको निर्णय

तस्बिर स्रोत, PU
केआईआईटीबाट नेपाल फर्किएका विद्यार्थीहरूले आफ्ना आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा कसरी पढ्न पाइन्छ भनेर सोधिरहेको जानकारी आफूले पाएको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलियाले बताए।
उनले भने, "अभिभावक र विद्यार्थीहरूले त्यस्तो सोधखोज गरिरहनु भएको जानकारी आएपछि हामीले त्यसबारे सार्वजनिक सूचना निकालेका छौँ।"
उक्त विश्वविद्यालयले गत शुक्रवार निकालेको सूचनामा केआईआईटी र त्यहाँको घटनाबारे उल्लेख नगरी 'क्रेटिड ट्रान्सफर' गर्न सकिने जानकारी दिइएको छ।
त्यसमा "उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशहरूमा गई अध्ययनरत नेपाली विद्यार्थीहरूले कुनै कारणवश आफ्नो अध्ययनलाई पूरा गर्न नसकी स्वदेशमै पुनः आफ्नो अध्ययनलाई निरन्तरता दिई पूरा गर्न चाहेमा" त्यस्तो गर्न पाइने उल्लेख छ।
सूचनामा विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमहरूसँग मिल्ने विषयहरूमा नेपाल सरकारको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरेर त्यस्तो गर्न पाइने जनाइएको हो।
विश्वविद्यायले आफ्ना आङ्गिक तथा सम्बन्धनप्राप्त स्कूल/क्याम्पस/कलेजमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा आफ्नो प्राज्ञिक परिषद्ले निर्धारण गर्ने मापदण्ड बमोजिम 'क्रेडिट ट्रान्सफर' गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने निर्णय गरेको त्यसमा जनाएको छ।
काठमाण्डू विश्वविद्यालयले विद्यार्थीसँग छलफल गर्दै

तस्बिर स्रोत, KU
काठमाण्डू विश्वविद्यालयले पनि केआईआईटीबाट अध्ययन पूरा नगरी स्वदेश फर्किएका विद्यार्थीलाई विषय मिलेको अवस्थामा 'क्रेडिट ट्रान्सफर' सुविधा दिने जनाएको छ।
"हामीले यस्तो सुविधा पहिलेदेखि नै दिँदै आएका छौँ। विदेशमा गएर कुनै कारणले पढाइ पूरा गर्न नसकी नेपाल फर्किनेका हकमा यस्तो गरिएको छ र त्यो निरन्तर छ," विश्वविद्यालकी प्रवक्तासमेत रहेकी स्कूल अफ आर्टस्की डिन एक्कुमाया पुनले भनिन्।
विश्वविद्यालयले केआईआईटीकै विद्यार्थीलाई लक्षित गरी यसै साता 'ओपन हाउस' छलफल पनि चलाउन लागेको छ।
यद्यपि उक्त छलफलसम्बन्धी सूचनामा केआईआईटी र त्यहाँको घटनाबारे उल्लेख गरिएको छैन।
आइतवार प्रकाशित उक्त सूचनामा भनिएको छ, "विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन निरन्तरतामा विविध कारणले समस्या भोगिरहेका विद्यार्थीहरूलाई अध्ययन पूरा गर्न यथासम्भव सहयोग गर्ने उद्देश्यले वस्तुस्थिति बुझ्नका लागि काठमाडौं विश्वविद्यालयले 'ओपन हाउस' छलफल आयोजना गर्ने भएको छ।"
"विदेशी विश्वविद्यालयमा अध्ययन गरिसकेका विधा र विषयहरूमा यस विश्वविद्यालयको नियमानुसार योग्य विद्यार्थीहरूले 'क्रेडिट ट्रान्सफर' एवं क्रेडिट सङ्कलन प्रक्रियामार्फत अध्ययन निरन्तरतासम्बन्धी छलफल कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिन्छ।"
विश्वविद्यालयले आगामी शुक्रवार काठमाण्डूको बालकुमारीस्थित स्कुल अफ मेनेजमेन्टमा भौतिक उपस्थितिमा र भर्चुअल रूपमा पनि उक्त छलफलमा विद्यार्थी सहभागी हुन सक्ने जनाएको छ।
त्रिभुवन विश्वविद्यालयले निर्णय गर्न बाँकी

तस्बिर स्रोत, TU
अन्य विश्वविद्यालयले केआईआईटीबाट अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीका हकमा 'क्रेडिट ट्रान्सफर' सुविधा दिने बताइरहेका बेला देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयले भने त्यसबारे निर्णय गरेको छैन।
"हामीले यसबारे सोचिरहेका छौँ र भोलि हाम्रो बैठक पनि छ। यो विषय पनि एउटा प्रस्ताव रहेकाले आवश्यक निर्णय हुनेछ," त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले आइतवार बीबीसीसँग भने।
उनले "मानवीयता र विद्यार्थीको पठनको अधिकार सुनिश्चित गर्नका लागि" पनि आवश्यक निर्णय गरिने बताएका छन्।
आवश्यक प्रक्रिया पूरा गर्दा 'क्रेडिट ट्रान्सफर' सुविधा दिन सकिने त्रिविका अधिकारीहरूको पनि बुझाइ रहेको देखिएको छ।
के हो 'क्रेडिट टान्सफर'

तस्बिर स्रोत, TU Public Relations Division
विश्वविद्यालयका अधिकारीहरूका अनुसार आफ्नोबाहेक अन्य शैक्षिक संस्थामा पढेको र पास गरेको आधारलाई मानेर कुनै विषयमा विद्यार्थीको 'क्रेडिट' गणना गरी पढ्न दिने कार्यलाई 'क्रेडिट ट्रान्सफर' भन्ने गरिन्छ।
कुनै पनि विषय लिएर कुनै तह पास गर्नका लागि निश्चित 'क्रेडिट' पूरा गर्नु पर्ने हुन्छ।
त्यसरी पूरा गरेका 'क्रेडिट'लाई कायम गर्दै थप अध्ययन अघि बढाउन दिने प्रक्रियालाई त्यसको स्थानान्तरण भनिएको हो।
नेपालभित्रै पनि लामो समयदेखि एउटा कलेजबाट अर्को कलेजमा त्यसरी स्थानान्तरण गर्ने चलन चल्दै आएको छ।
'क्रेडिट' ट्रान्सफर गर्दा विद्यार्थीले केआईआईटीबाट सहमति ल्याउनु पर्छ?

तस्बिर स्रोत, KIIT
पूर्वाञ्चल विश्वविदायलयका उपकुलपति थपलियालाई त्यसबारे बीबीसीले सोधेको प्रश्नमा उनले भने, "कुनै संस्थाको सहमति आवश्यक पर्दैन तर कुनै क्रेडिट आवर पूरा गरेको प्रमाण चाहिन्छ।"
त्यो भनेको उदाहरणका लागि कुनै विद्यार्थीले उक्त संस्थामा स्नातक तहको अध्ययन गरिरहेको छ र उसले पहिलो सेमेस्टर पास गरेको छ भने उसले नेपालमा सोही विषयको दोस्रो सेमेस्टर पढ्न पाउँछ।
तर यदि उसले नेपालमा सोही विषयको पहिलो सेमेस्टरमा पास गर्नुपर्ने भन्दा कम 'क्रेडिट' पूरा गरेको छ भने त्यसलाई पनि पूरा गर्नुपर्ने हुन्छ।
यद्यपि केआईआईटीका हकमा विश्वविद्यालयहरू तथा सरकारले थप स्पष्ट निर्णय र व्याख्या गर्नुपर्ने आवश्यकता हरेको अधिकारीहरू नै बताउँछन्।
थपलियाले भने, "यसबारे केही अस्पष्टता छन् भने अझै हामी स्पष्ट पार्ने कोसिस गर्नेछौँ। मुख्य आधार भनेको विद्यार्थीले पास गरेको मार्कसिट र सर्टिफिकेट हुन्छ।"
उनका अनुसार विदेशी संस्थामा अध्ययन गर्दा कति 'क्रेडिट' पूरा गरेको छ र कुन तह कसरी पास गरेको छ भन्ने प्रमाणपत्रका आधारमा विद्यार्थीले नेपालमा थप पढाइ अघि बढाउन सक्छन्।
यद्यपि कैयौँ जानकारहरूका भनाइमा केआईआईटीमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीमध्ये अधिकांश इन्जिनियरिङतर्फका भएकाले नेपालमा उनीहरू सबैलाई व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन भन्ने अन्योल कायम छ।
त्यस्तै यसरी स्थानान्तरण भएर आउने विद्यार्थीले उता पढिरहेको विषय नेपालमा पढाइ भइरहेका विषयसँग कति मेल खान्छन् भन्ने पनि अर्को चिन्ताको विषय हो।
यद्यपि नेपाली विश्वविद्यालयका अधिकारीहरूले ५० प्रतिशतभन्दा बढी पाठ्यक्रम र विषय मिल्दा उस्तै प्रकारको विषयमा भर्ना दिन सकिने सम्भावना रहेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








