थाई-क्याम्बोडिया सीमामा सङ्घर्ष जारी, युद्ध हुन सक्ने थाई नेताको चेतावनी

    • Author, केली एङ
    • Role, बीबीसी न्यूज, सिङ्गापुर

थाईल्यान्डका नेताले थाईल्यान्ड र क्याम्बोडियाको सीमामा भिडन्त भइराखे युद्ध हुन सक्ने चेतावनी दिएका छन्। बिहीवार तनाव बढेपछि सुरु भएको भिडन्तमा परी अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भएको तथा दुवै देशमा गरी हजारौँ मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन्।

थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले अहिले विभिन्न १२ स्थानमा सङ्घर्ष भइरहेको र त्यस क्रममा ठूला अस्त्रहरू पनि प्रयोग भएको बताएका छन्।

थाईल्यान्डले क्याम्बोडियाली पक्षले गैरसैनिक क्षेत्रहरूमा गोली प्रहार गरेको आरोप लगाउँदै सीमापारिबाट प्रहार गरिने रकेट पुग्न सक्ने सबै गाउँहरू खाली गरिएको बताएको छ।

क्याम्बोडियाले थाईल्यान्डलाई 'क्लस्टर म्यूनिशन' प्रहार गरेको आरोप लगाएको छ। सर्वसाधारण मानिसलाई नराम्रो असर पुग्ने भएकाले विश्वका अधिकांश भागमा 'क्लस्टर म्यूनिशन'मा प्रतिबन्ध लगाइएको छ।

थाईल्यान्डले उक्त आरोपबारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

थाईल्यान्ड भन्छ 'मध्यस्थता चाहिँदैन'

विभिन्न पक्षले क्याम्बोडिया र थाईल्यान्डबीच तत्काल सङ्घर्षविराम गराउन वार्ताका लागि सघाउने प्रस्ताव गरेको भए पनि थाईल्यान्डको विदेश मन्त्रालयले समाचारसंस्था रोएटर्सलाई क्याम्बोडियासँगको द्वन्द्वमा तेस्रो पक्षको मध्यस्थता आवश्यक नभएको प्रतिक्रिया दिएको छ।

दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन 'आशियान'को अध्यक्षता गर्ने मलेशियाका प्रधानमन्त्री अन्वर इब्राहिमले दुई देशबीच वार्ताका लागि मध्यस्थता गर्ने बताएका थिए।

"ब्याङ्कक र नोम पेन दुवैले अगाडि जाने यो बाटोमा हिँड्न देखाएको सकारात्मक सङ्केत तथा रुचिको स्वागत गर्छु," अन्वरले बिहीवार राति फेसबुकमा लेखेका थिए।

तर थाई विदेश मन्त्रालयका प्रवक्ताले रोएटर्सलाई अहिलेको परिस्थिति द्विपक्षीय माध्यमबाट समाधान गर्नुपर्ने र नोम पेनले आक्रामक कदम रोक्नुपर्ने बताए।

"मलाई अहिले नै तेस्रो देशको मध्यस्थता चाहिन्छ जस्तो लाग्दैन," प्रवक्ता निकोन्देच बालान्कुरले भने।

भिडन्तमा हताहत हुनेहरूको सङ्ख्याबारे दुवै देशले नयाँ विवरण दिएपछि थाई अधिकारीको भनाइ पनि सार्वजनिक भएको हो।

थाईल्यान्डका अनुसार अहिलेसम्म आफ्नो पक्षमा १४ सर्वसाधारण मानिस र एक सैनिकको मृत्यु भएको छ। क्याम्बोडियाको सीमावर्ती प्रान्तका अधिकारीहरूका अनुसार क्याम्बोडियातिर कम्तीमा एक सर्वसाधारण मानिसको मृत्यु भएको छ।

कसले के भने

संयुक्त राज्य अमेरिकाले "तत्काल सङ्घर्ष रोक्न, सर्वसाधारण मानिसलाई संरक्षण गर्न र शान्तिपूर्वक द्वन्द्व समाधान गर्न" आग्रह गरेको छ।

"थाईल्यान्ड-क्याम्बोडिया सीमामा चर्किएको हिंसाप्रति हामी निकै चिन्तित छौँ अनि सर्वसाधारण मानिसहरूलाई हानि पुगेको भन्ने विवरणबाट दुःखी छौँ," अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले भने।

क्याम्बोडिया र थाईल्यान्ड दुवैसँग राजनीतिक र रणनीतिक सम्बन्ध भएको चीनले पनि अहिले चुलिएको द्वन्द्वप्रति "गम्भीर चिन्ता" व्यक्त गरेको छ। उसले दुवै पक्षले वार्ता र परामर्शमार्फत् विवाद समाधान गर्ने आशा व्यक्त गरेको छ।

अस्ट्रेलिया, ईयू र फ्रान्सले पनि शान्ति कायम गर्न आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌ले उक्त द्वन्द्वबारे शुक्रवार बैठक गरेर छलफल गर्ने ठानिएको छ।

सुरक्षा परिषद्लाई बिहीवार पठाएको पत्रमा क्याम्बोडियाका प्रधानमन्त्री हुन मनेटले "थाईल्यान्डको आक्रामकता रोक्न" हस्तक्षेप गर्न आग्रह गरेका थिए।

एकअर्कामाथि आरोप

दुवै देशले पहिलो आक्रमण अर्को पक्षबाट भएको आरोप लगाउँदै आएका छन्।

थाईल्यान्डले क्याम्बोडियाको सेनाले सीमानजिकै परिचालित थाई सैनिकहरूको चियो गर्न ड्रोन उडाएपछि भिडन्त सुरु भएको दाबी गरेको छ।

क्याम्बोडियाका अनुसार पुरानो सहमति उल्लङ्घन गर्दै थाई सैनिकहरूले सीमानजिकै एउटा खमेर-हिन्दू मन्दिरमा प्रवेश गरेर सो क्षेत्रमा काँडेतार बारेपछि द्वन्द्व बढेको थियो।

दुई देशबीच १०० वर्षभन्दा अघिदेखि नै सीमा विवाद छ। फ्रान्सले क्याम्बोडियामा आफ्नो कब्जा जमाएपछि सीमा निर्धारण गर्दाखेरि विवाद उत्पन्न भएको थियो।

त्यसयता दुई देशका सैनिकहरूबीच फाट्टफुट्ट भिडन्त हुँदै आएको छ। दुवै देशका सैनिक र नागरिकहरूले ज्यान गुमाउँदै आएका छन्।

गत मे महिनामा भएको एउटा भिडन्तमा क्याम्बोडियाका एक सैनिकको मृत्यु भएको थियो। उक्त घटनापछि दुई पक्षबीच तनाव चुलियो र एक दशकभन्दा लामो समयपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध निम्न बिन्दुमा पुग्यो।

थाईल्यान्डको सुरिन प्रान्तमा विभिन्न स्थानबाट ल्याएर एउटा खेलकुद कम्प्लेक्समा राखिएका मानिसहरूले अहिले पनि आफूहरू बिहीवार रकेट र गोलाबारुद प्रहार भएको घटना सम्झिएर तर्सिने गरेको बताएका छन्। तीमध्ये अधिकांश महिला र बालबालिका छन्।

क्याम्बोडियामा सन् १९८० दशकमा भएको गृहयुद्ध देखेका पाका मानिसहरूले अहिलेको सङ्घर्ष त्यसपछाडि आफूले भोगेको सबैभन्दा डरलाग्दो घटना भएको बताएका छन्।

सुरिनबाट लुलु लुओ र जोनाथन हेडको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।