तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रञ्जु दर्शना बनिन् रास्वपाबाट जित्ने पहिलो उम्मेदवार
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: २ मिनेट
राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने (रञ्जु दर्शना) सो पार्टीबाट यो चुनावमा विजयी हुने पहिलो उम्मेदवार बनेकी छन्।
काठमाण्डू क्षेत्र नं १ बाट उठेकी ३० वर्षीया न्यौपाने १५,४५५ मत ल्याएर विजयी भएकी मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बीबीसीलाई बताए।
न्यौपाने यो चुनावमा विजयी घोषित हुने पनि पहिलो उम्मेदवार बनेकी छन्।
नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापालाई दोब्बरभन्दा बढी मत ल्याई उनी विजयी भएकी हुन्। थापाले ६,३६४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत ल्याएका छन्। उनी लगातार तेस्रो पटक पराजित भएका छन्।
विसं २०७४ मा काठमाण्डूमा मेअर पदमा उठेकी दर्शनाले २३ हजारभन्दा बढी मत ल्याएकी थिइन्।
त्यसपछि विसं २०७९ सालको आमनिर्वाचनमा काठमाण्डू क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्।
अभियानकर्मी हुँदै राजनीतिज्ञ
उज्ज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली समूहको अभियानमा जोडिएकी दर्शना राजनीतिज्ञ बन्न पुगेकी हुन्।
उक्त समूह राजनीतिक दलको रूपमा दर्ता भएर पछि साझा पार्टीसँग एकता गर्यो। साझा विवेकशील पार्टी यसै वर्ष रास्वपामा गाभिएको हो।
साझा विवेकशील पार्टीको महासचिव पदमा रहेकी न्यौपाने रास्वपाको केन्द्रीय सदस्य छिन्।
सुरुमा समानुपातिक सूचीमा राखेको रास्वपाले पछि उनलाई प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार बनायो।
केही दिनअघि आमा बनेकी न्यौपाने गर्भवती अवस्थामा चुनावी प्रचारप्रसारमा खटिँदा धेरैको ध्यान तानिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ कुल १६५ क्षेत्रमध्ये १६४ क्षेत्रमा उम्मेदवारी दिएकामा धनुषा क्षेत्र १ मा उसका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ।
आमनिर्वाचनको जारी मतगणनामा रास्वपाले अग्रता कायम गरिरहेका बेला न्यौपाने विजयी घोषित भएकी छन्।
मतगणना जारी रहँदा काठमाण्डू जिल्लाका बाँकी नौवटा निर्वाचन क्षेत्रमा पनि रास्वपा अगाडि देखिएको छ।
मिश्रले दिए बधाई
नतिजा सार्वजनिक भएपछि राप्रपाका मिश्रले न्यौपानेलाई बधाई दिएका छन्।
"सम्भवत: मैले १०/११ वर्षअघि तपाईँको यही फोटो भएको लेख शेअर गर्दै तपाईँको प्रशंसा र तपाईँप्रति आशा व्यक्त गरेको थिएँ," मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्।
"आज पुन: त्यही फोटो प्रेषित गरेर तपाईँलाई बधाई तथा शुभकामना दिन चाहन्छु। भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईँको इमान र दृढता सदा कायम रहोस्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।