अमेरिकाको नयाँ दीर्घकालीन सुरक्षा रणनीतिप्रति रुस किन खुसी

    • Author, रेचल मुलर-हेन्डाइक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुसले स्वागत गर्दै उक्त रणनीति मस्कोको दृष्टिकोणसँग 'लगभग मिल्दोजुल्दो' रहेको बताएको छ।

अमेरिकी प्रशासनले यसै साता सार्वजनिक गरेको ३३ पृष्ठको उक्त दस्तावेजले युरोपले उसको सभ्यतागत अस्तित्व नै मेटिने सङ्कट झेलिरहेको उल्लेख गरेको छ भने रुसलाई अमेरिकाको निम्ति खतरा ठानेको छैन।

के छ अमेरिकी दस्तावेजमा?

अमेरिकाको नयाँ सुरक्षा रणनीतिमा विदेशी प्रभावसँग जुझ्ने, आम आप्रवासनको अन्त्य गर्ने, तथा युरोपेली युनियनले अभ्यास गरेको भनिएको 'सेन्सरशिप' वा नियन्त्रणमुखी नीतिलाई अस्वीकार गर्ने जस्ता विषय परेका छन्।

कैयन् युरोपेली अधिकारीहरू तथा विश्लेषकहरूले उक्त रणनीतिबारे आलोचना गर्दै त्यसमा प्रयोग गरिएको भाषा क्रेम्लिनको जस्तो समेत भनेका छन्।

तर रुसी अधिकारीहरू भने खुसी देखिन्छन्।

"हामीले देखेका परिवर्तनहरू…समग्रमा हाम्रो दृष्टिकोणसँग मिल्छ," क्रेम्लिनका प्रवक्ता डिमित्री पेस्कोफले रुसी सरकारी सञ्चारमाध्यम तासमा आइतवार छापिएको उनको अन्तर्वार्तामा भनेका छन्।

"हामी यसलाई सकारात्मक कदम मान्छौँ," उनले भने। साथै सो दस्तावेजको थप विश्लेषण गरिने र त्यसपछि मात्र निचोड निकालिने पनि उनले बताए।

सो दस्तावेजमा रुसप्रति नरम भाषाको प्रयोग गरिएको छ। त्यसले आफूहरूले युक्रेन युद्ध अन्त्यका लागि मस्कोसँग राखिरहेका अडानहरू कमजोर गराउन सक्ने इयूका अधिकारीहरूको चिन्ता छ।

इयूले उक्त युद्ध अन्त्य गराउने आफ्ना प्रयासहरूलाई निस्तेज गराइरहेको आरोप पनि सो दस्तावेजमा उल्लेख छ। अमेरिकाले 'रुससँग रणनीतिक स्थिरता पुनर्स्थापित गर्नु पर्ने' ताकि 'युरोपेली अर्थतन्त्रहरू स्थिर रहने' त्यसमा भनिएको छ।

'पश्चिमा पहिचान'को पुनर्स्थापना

नयाँ रणनीतिमा 'पश्चिमा पहिचान'को पुनर्स्थापनाको विषय अघि सारिएको छ। आगामी '२० वर्ष वा त्योभन्दा कम समयमा' युरोप चिन्नै नसकिने हुने भन्दै दस्तावेजमा युरोपका आर्थिक मुद्दाहरू उसको 'सभ्यतागत अस्तित्व नै मेटिन सक्ने वास्तविक सम्भावनाका कारण ओझेलमा परेको' उल्लेख छ।

"निश्चित् युरोपेली देशहरूसँग भरपर्दो साझेदार बनिराख्न लायक अर्थतन्त्र वा सैन्य शक्ति बाँकी रहने कुरा नै स्पष्ट छैन," दस्तावेजमा भनिएको छ।

जबकि उक्त दस्तावेजमा 'देशभक्त युरोपेली दलहरूको' उदयको प्रशंसा गरिएको छ र भनिएको छ 'युरोपमा आफ्ना राजनीतिक साझेदारहरूले यो पुनर्स्थापना प्रवर्द्धन गर्न अमेरिका प्रोत्साहन गर्छ।'

युक्रेनमा शान्ति सम्झौताबारे ट्रम्प प्रशासनसँग वार्तारत युरोपेली युनियनका कतिपय अधिकारीहरूले उक्त दस्तावेजबारे प्रश्न उठाउँदै अमेरिकासँगको दीर्घकालीन सम्बन्धको महत्त्व जनाएका छन्।

"नेटोभित्र अमेरिका हाम्रो सबभन्दा महत्त्वपूर्ण साझेदार मुलुक हो। तर यो साझेदारी सुरक्षा नीतिसँग जोडिएको छ," जर्मन विदेशमन्त्री योहान वाडफुलले भने।

"मलाई लाग्छ अभिव्यक्ति स्वतन्त्रताका विषय वा हाम्रा स्वतन्त्र समाजहरूको गठनको विषय (उक्त रणनीति)का अङ्ग होइनन्, कम्तीमा जर्मनीको हकमा।"

सामाजिक सञ्जालमा 'अमेरिकी मित्रहरू'लक्षित आफ्नो एक पोस्टमा पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टुस्कले 'युरोप यहाँहरूको निकटतम साझेदार नकि समस्या' भएको भन्दै 'साझा दुस्मनहरू'बारे उल्लेख गरेका छन्।

"हाम्रा साझा सुरक्षाका निम्ति यही नै यथार्थपरक रणनीति हो। कहीँ कतै अन्य फेरबदल भएका छैनन् भने।"

स्वीडनका पूर्व प्रधानमन्त्री कार्ल बिल्टले नयाँ दस्तावेजले 'आफूलाई अति दक्षिणपन्थीको पनि दक्षिणतिर राखेको' टिप्पणी गरेका छन्।

'अमेरिका पहिले'को नीति अनुसरण गर्दै आएको अमेरिकाले जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र ताइवानलाई रक्षामा थप खर्च गर्न आह्वान गरेको छ।

यसबीच अमेरिकाका विपक्षी दल डेमोक्र्याटका नेताहरूले नयाँ रणनीतिले अमेरिकाको विदेश सम्बन्ध भत्काइदिने चेतावनी दिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।