तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पले विरोध गरे पनि रुस भारतलाई 'निरन्तर इन्धन आपूर्ति गर्न तयार'
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी तेल नकिन्न दिल्लीलाई अमेरिकाले दबाव दिएको भए पनि भारतलाई निरन्तर इन्धन आपूर्ति गर्न आफू तयार रहेको बताएका छन्।
दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै उपस्थित भएर उनले सञ्चारकर्मीहरूलाई शुक्रवार अपराह्ण सम्बोधन गरे। दुई देशबीचको त्यसअघि भएका विभिन्न सहकार्य सम्झौताको उनीहरूले प्रशंसा गरे।
रुसमा उत्पादित तेल र प्राकृतिक ग्यास किनेर भारतले रुसलाई युक्रेन युद्धका लागि आर्थिक रूपमा सघाएको भन्दै संयुक्त राज्य अमेरिकाले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ लगाएको छ।
रुसले सन् २०२२ मा युक्रेनमाथि सैन्य हमला गरेपछि पुटिन पहिलो पटक भारत गएका हुन्। चार वर्षपछि दुईदिने राजकीय भ्रमणमा आएका पुटिनलाई मोदीले दिल्लीको हैदराबाद हाउसमा स्वागत गरे।
उनी भारतमा भएकै बेला अमेरिकाले युक्रेन र रुसबीच शान्ति सहमति गराउने प्रयास जारी राखेको छ। पुटिनले युक्रेनलाई डोन्बास क्षेत्रबाट पछि हट्न अन्यथा रुसले सो क्षेत्र खोसेर लिने चेतावनी दिएका थिए।
सञ्चारकर्मीहरूले दुवै नेतालाई प्रश्न सोध्न पाएनन्। तर मोदीले दुई देशबीच सम्बन्ध सुदृढ बनाउने बताउँदै दुइटा नयाँ खालका पर्यटक भिसा योजनाको घोषणा गरे।
युक्रेन युद्धबारे सङ्क्षिप्त टिप्पणी गर्दै मोदीले भारत "सुरुदेखि नै शान्तिको पक्षमा उभिएको बताए। "दीर्घकालीन समाधान" खोज्ने प्रयासलाई स्वागत गर्दै भारत त्यसका लागि "भविष्यमा योगदान गर्न" तयार रहेको पनि उनले बताए।
पुटिनले भारतमा निर्माणाधीन परमाणु ऊर्जा केन्द्रका लागि सघाउन आफू तयार भएको सङ्केत गरे।
"अझ न्यायसङ्गत" र "बहुध्रुवीय" विश्व निर्माण गर्न आफू र मोदीले ब्रिक्स राष्ट्रहरूको गठबन्धनमार्फत् परराष्ट्रनीतिको विषयमा सहकार्य गरिरहेको पुटिनको दाबी थियो। उनले भारतसँग सैन्य क्षेत्रमा हुने सहकार्य बारे पनि चर्चा गरे।
खासै ठूलो घोषणा भएन
दुवै नेताले लेखेर ल्याएको विज्ञप्ति वाचन गरे। दुवैले एकअर्काको निकै सम्मान गरेको देखिन्थ्यो। तर उनीहरूले खासै ठूलो घोषणा गरेनन्।
उनीहरूले लडाकु विमान वा प्रतिरक्षा प्रणाली आदानप्रदान गर्ने घोषणा गर्ने ठानिएको थियो। तर त्यस विषयमा उनीहरूले एक शब्द पनि बोलेनन्।
भारत र रुसले गरेका अधीकांश घोषणाहरू व्यापार बढाउने विषयमा बढी केन्द्रित थिए। दुई देशले पानीजहाज निर्माण, भारतीय नाविकहरूलाई ध्रुवीय क्षेत्रमा कार्य गर्न तालिम, गैरसैनिक परमाणु ऊर्जा र महत्त्वपूर्ण खनिज पदार्थबारे सहमति गरेका छन्।
पुटिनले जारी द्विपक्षीय व्यापार ६० अर्ब डलरभन्दा बढी हुनेमा आफू विश्वस्त रहेको बताउँदै त्यसलाई आगामी वर्षहरूमा १०० अर्ब डलरसम्म पुर्याउन सकिने बताए।
'भारत तटस्थ छैन'
हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तामा भारतका विदेशमन्त्री एस जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालसहित विभिन्न अधिकारीहरू थिए।
त्यहाँ पुटिनको प्रशंसा गर्दै मोदीले भने, "तपाईँको यो भ्रमण निकै ऐतिहासिक छ। सन् २००१ मा तपाईँ पहिलो पटक भारत आएको अहिले २५ वर्ष भयो। त्यही पहिलो भ्रमणमा हाम्रो रणनीतिक साझेदारीको बलियो जग हालिएको थियो।"
"मेरा लागि व्यक्तिगत रूपमा पनि यो प्रसन्नताको विषय हो। सन् २००१ मा तपाईँले जुन भूमिका निर्वाह गर्नुभयो त्यसले एक दूरदर्शी नेताले कसरी सोच्छन्, कहाँबाट थाल्छन् र सम्बन्धलाई कहाँसम्म पुर्याउँछन् भन्ने कुरा देखाएको छ भन्ने म ठान्छु। भारत र रुसको सम्बन्ध यसको सबैभन्दा राम्रो उदाहरण हो।"
युक्रेन युद्धको विषयमा बोल्दै उनले भने, "युक्रेन सङ्टकपछि हामीबीच निरन्तर कुराकानी हुँदै आएको छ। तपाईँले पनि समयसमयमा एक सच्चा मित्रका रूपमा हामीलाई सबै कुराबारे अवगत गराउनुभएको छ। यो विश्वास हाम्रो सम्बन्धको सबैभन्दा ठूलो शक्ति हो।"
"हामी सबैले मिलेर शान्तिको मार्ग खोज्नुपर्छ। अहिले जुन प्रयास हुँदै छ त्यसबाट विश्व फेरि शान्तिको दिशामा फर्किन्छ भन्ने मेरो पूर्ण विश्वास छ।"
"मैले सधैँ भारत तटस्थ छैन भन्दै आएको छु। भारतको पक्ष छ र त्यो शान्तिको पक्ष हो। हामी शान्तिका सबै प्रयासलाई समर्थन गर्छौँ।"
बिहीवार रातिको भेटमा मोदीले पुटिनलाई रुसी भाषामा अनुवाद गरिएको श्रीमद्भागवत्गीताको एउटा पुस्तक उपहार दिएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।