अमेरिकाबाट निष्कासन हुने नेपालीमा 'डीभी परेका' र 'विद्यार्थी भिसामा' जाने समेत

- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
अमेरिकाले "अवैध आप्रवासी"का रूपमा निष्कासन गरेका थप ३७ नेपालीहरूलाई आइतवार साँझ काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर नेपाली अधिकारीहरूलाई जिम्मा लगाइदिएको छ।
योसँगै डोनल्ड ट्रम्प राष्ट्रपति बनेयता निष्कासनमा परेर फर्काइएका नेपालीहरूको सङ्ख्या १६० भन्दा बढी पुगेको अधिकारीहरूले बताएका छन्।
निष्कासनमा पर्नेमध्ये अधिकांश नेपालमा 'तल्लो बाटो' भनेर पनि चिनिने ल्याटिन अमेरिकी देशहरू हुँदै मेक्सिको-अमेरिका सीमा पार गरेर त्यहाँ पुगेको पाइएको अधिकारीहरूको भनाइ छ।
अवैध रूपमा अमेरिका प्रवेश गरेकाहरूमध्ये धेरैले "राहदानी पहिले नै फ्याँकेका" हुनाले अधिकांशलाई वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले 'ट्राभल डकुमेन्ट' बनाइदिएको थियो।
कुन जहाजमा ल्याइयो?

तस्बिर स्रोत, TIA
पछिल्लो पटक अमेरिकाले नेपाल फर्काइदिएका ३७ जनामध्ये ३२ जना पुरुष र महिला रहेको अधिकारीहरूले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत तथा सूचना अधिकारी अञ्जन न्यौपानेका अनुसार विमानस्थल आइपुग्नेबित्तिकै उनीहरूलाई प्रहरीको जिम्मा लगाइएको थियो।
"सम्बन्धित देशले हामीलाई जिम्मा लगाएपछि हामीले... प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट आउनु भएको थियो, उहाँहरूलाई जिम्मा लगायौँ," उनले भने।
उक्त ब्यूरोले विमानस्थलमै उनीहरूसँग "प्रारम्भिक सोधपुछ" गरेर आफन्त तथा साथीभाइको जिम्मा लगाएको अधिकारीहरूले बताएका छन्।
उक्त विभानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आइतवार साँझ साढे ८ बजे अमेरिकाबाट आएको बोइङ-७६३ चार्टर्ड विमानबाट उनीहरूलाई ल्याइएको थियो।
नेपालका अन्य छिमेकी देशहरूका त्यसै गरी निकालिएका नागरिकहरूलाई छाडेर उक्त विमान नेपाल आएको ठानिएको छ।
शेर्पाका अनुसार नेपालमा चाँहि त्यो विमान बाङ्ग्लादेशको राजधानी ढाका हुँदै आएको थियो।
निष्कासनमा पर्ने व्यक्तिहरू कस्ता?
नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरका अनुसार पहिलेजस्तै यसपालि पनि फर्काइएकामध्ये अधिकांश मेक्सिको-अमेरिका सीमाबाट अवैध रूपमा अमेरिका पुगेकाहरू छन्।
"धेरैको पासपोर्ट पनि नभएको पाइएको छ र उनीहरूलाई अमेरिकास्थित हाम्रो दूतावासले बनाइदिएको ट्राभल डकुमेन्टका आधारमा ल्याइएको रहेछ," उनले भने।
उनका अनुसार यसपालि नेपाल फर्काइएकामध्ये एक जना डीभी परेर अमेरिका गएका र अर्का एक जना शैक्षिक भिसामा अमेरिका पुगेका पनि छन्।
यद्यपि ३७ जनामध्ये ३६ जना दूतावासले बनाइदिएको "ट्राभल डकुमेन्ट"का आधारमा आएको र एक जनाको मात्र साथमा राहदानी रहेको अधिकारीहरूको भनाइ छ।
विमानबाट उत्रिएर आउँदा उनीहरूलाई हत्कडी लगाइएको नदेखिएको अधिकारीहरूको भनाइ छ।

तस्बिर स्रोत, Nepal Police
प्रहरीले उनीहरूबाट थाहा पाउन खोजेका मुख्य कुरा
कुँवरका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अमेरिकाबाट फर्काइएका सबैसँग प्रहरीले सोधपुछ गरेको थियो।
त्यस क्रममा प्रहरीले मुख्यत: उनीहरूलाई चार प्रश्नहरू सोधेको उनले जानकारी दिए।
उनले भने, "हामीले उनीहरूको ट्राभल हिस्ट्री, कति खर्च भयो र कसलाई त्यो खर्च बुझाइयो, राहदानी थियो कि थिएन, फ्याँकिएको भए कहाँ र कसरी फ्याँकियो, अनि निष्कासनमा पर्नुको कारण के हो भन्ने सोधेका थियौँ।"
"हाम्रो उद्देश्य भनेको उनीहरू तस्करीमा परेका हुन् वा होइनन् भन्नेमा हो र यदि परेका हुन् भने वा कुनै सञ्जाल संलग्न छ भने त्यसलाई कारबाही गर्न सकिन्छ कि भनेर उनीहरूसँग सोधपुछ गरिएको हो।"
तर अघिल्ला पटकजस्तै यसपालि पनि त्यसरी फर्काइएकाहरूले "खासै जानकारी" नदिएको कुँवरको भनाइ छ।
प्रहरीले उनीहरूलाई "तस्करीमा परेको भए उजुरी गर्ने प्रक्रिया"बारे पनि जानकारी दिएको थियो।
तर कसैले पनि त्यसमा चासो नदेखाएको अधिकारीहरूको भनाइ छ।
मानव तस्करीमा उनीहरूलाई पनि कारबाही हुन सक्छ?

कुँवर अमेरिकाबाट फर्काइएका व्यक्तिहरूलाई मानव तस्करीको "पीडित"का रूपमा हेरिएको बताउँछन्।
मानव बेचबिखनमा परेको व्यक्तिलाई जबरजस्ती शोषण गर्ने प्रवृत्ति हुने वा झुक्याएर शोषण गर्ने प्रवृत्ति हुने जानकारहरू बताउँछन्।
तर मानव तस्करी भएर जानेहरूलाई "त्यो काम अवैध हो र मैले यस्तो अवस्था भोग्नु पर्ने हुन सक्छ" भन्ने पूर्वजानकारी हुँदाहुँदै उनीहरू जाने गर्छन्।
"अहिले फर्काइएकाहरूलाई हामीले मानव बेचबिखनमा परेको भन्न मिल्दैन, तर तस्करीमा परेको भन्न मिल्छ," कुँवरले भने।
तस्करीमा पर्ने व्यक्ति पनि कुनै न कुनै रूपमा त्यसको "मतियार" हुने गरेको देखिएकाले त्यस्ता व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने पनि कतिपयको मत छ।
तर प्रहरी र अधिकारीहरूले अमेरिकाबाट फर्काइएकाहरूलाई हालसम्म पीडितका रूपमा व्यवहार गरिरहेका छन्।
कानुनी व्यवस्था के छ?

तस्बिर स्रोत, Immigration office TIA
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा पहिले मानव बेचबिखनसम्बन्धी प्रावधानहरू मात्र थिए। तर विसं २०८० सालमा त्यसमा मानव तस्करीसम्बन्धी केही प्रावधानहरू समेटिएका भए पनि त्यो अझै अपूरो रहेको बताइने गरेको छ।
उक्त ऐनको एउटा संशोधन हाल संसद्मा दर्ता पनि भएको अवस्था छ।
हाल कार्यान्वयनमा रहेको ऐनको दफा ४ मा मानव बेचबिखन र ओसारपसारको व्याख्या गरिएको छ।
त्यसको उपदफा (२) मा उल्लेख भए अनुसार विभिन्न परिस्थितिलाई मानव ओसारपसार मानिन्छ।
अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरूका सन्दर्भमा पनि मानव ओसारपसार आकर्षित हुने जानकारहरू बताउँछन्।
उक्त उपदफामा "प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गैरकानुनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बदनियतपूर्वक कुनै नेपाली नागरिक, विदेशी वा आप्रवासी व्यक्तिलाई नक्कली वा झूट्टा कागजात बनाई वा झुक्याई विदेश लैजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थानबाहेक अन्य मुलुकमा गैरकनुनी रूपमा प्रवेश गराउने मानव तस्करीसम्बन्धी कार्य गरे वा गराएमा" त्यसलाई मानव ओसारपसार गरेको मानिने उल्लेख छ।
सोही उपदफाका आधारमा अमेरिकाबाट फर्काइएका नेपालीहरूले उजुरी गरेमा उनीहरूलाई पठाउने व्यक्तिहरूमाथि कारबाही हुन सक्ने अधिकारीहरू बताउँछन्।
यद्यपि प्राय: अमेरिका पुग्नेहरू उक्त कार्य अवैध रहेको थाहा हुँदाहुँदै जाने र "कुनै न कुनै रूपमा" आफन्त, साथीभाइ वा नजिकका व्यक्तिहरूका माध्यमबाट जाने गरेकाले उजुरी गर्न नचाहने पाइएको प्रवक्ता कुँवरले बताए।
अमेरिकाबाट निष्कासित व्यक्तिहरू फेरि विदेश जान पाउँछन् कि पाउँदैनन्?
यसअघि यस्तै गरी अमेरिकाबाट निष्कासन गरिएका कतिपय व्यक्तिहरूले पुन: आफूहरू विदेश नै जान चाहेको चाहना व्यक्त गरेको विवरणका समाचारहरू पनि आएका थिए।
कतिपयले चाहिँ "के एक देशबाट निष्कासित व्यक्ति अर्को देश वा सोही देश सहजै जान सक्छन्?" भन्ने चासो पनि राखेको पाइएको छ।
यस सन्दर्भमा बीबीसीले हेरेका विद्यमान नेपाली कानुनहरू र कुराकानी गरेका अधिकारीहरूले दिएको जानकारीअनुसार एउटा देशले निष्कासन गर्दैमा ती नेपालीहरूलाई राहदानी लिन र अन्य देशमा जान रोक हुँदैन।
वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपाने भन्छन्, "जुन देशले निष्कासन गर्यो, त्यसले उहाँहरूलाई 'नेगेटिभ लिस्ट'मा राखेको भए उसको कुरा भयो तर अन्य देशमा जान हामीले हाम्रा नागरिकलाई रोक्न मिल्दैन।"
"हामीले आफ्ना नागरिकलाई कुनै देशबाट निष्कासनमा परेको थियो भन्दैमा 'नेगेटिभ लिस्ट'मा राख्न मिल्ने व्यवस्था पनि छैन र उहाँहरूले नेपाल फर्केपछि पूर्ण रूपमा नेपाली नागरिकको अधिकार प्रयोग गर्न पाउनु हुन्छ।"
यद्यपि अध्यागमन कार्यालयले त्यसरी निष्कासनमा परेर आएका व्यक्तिहरूलाई एउटा अतिरिक्त फर्म भराएर छाड्ने गरेको छ।
उनले भने, "हामीले बुझ्दा उक्त देश जानु र फर्कनुको कारण के हो भन्ने विवरण खुलाएर एउटा फर्म भराउने गर्छौँ त्यस बाहेक त उहाँहरू अन्य सामान्य नागरिकजस्तै भइहाल्नु भयो नि!"
अवैध रूपमा जानेहरू कसरी अमेरिका पुग्छन्?

प्रहरीले आइतवार गरेको प्रारम्भिक सोधपुछबाट पछिल्लो पटक फर्काइएका ३७ जना नेपालीहरू अमेरिकासम्म कसरी पुगे भन्ने केही जानकारी प्राप्त भएको कुँवरले बताए।
उनका अनुसार धेरैजसो नेपालीहरू तीनचार महिना लगाएर विभिन्न बाटो हुँदै अमेरिका पुगेका थिए।
उनले भने, "यहाँबाट मध्यपूर्वका देशहरू जाने गरेको देखिन्छ। त्यहाँबाट युरोपका विभिन्न देशहरू वा टर्कीको इस्तान्बुलबाट ब्रजिल पुग्ने गर्छन्। कतिपय मध्य अमेरिकी देशहरूमा पनि पुग्दा रहेछन्। त्यहाँसम्म जान पर्यटक भिसा प्रयोग हुन्छ र त्यसपछि मेक्सिको हुँदै अमेरिका छिर्ने गर्छन्।"
त्यसरी जानेमध्ये केही जहाजबाटै मेक्सिकोसम्म पुग्ने र केही चाहिँ ब्रजिलबाट सडकमार्ग वा हिँडेर मेक्सिकोसम्म पुग्ने गरेको पाइएको पनि उनले बताए।
नेपाल फर्काइएका व्यक्तिहरू देशका विभिन्न जिल्लाका रहेको अधिकारीहरूले बताएका छन्। यद्यपि उनीहरूले ती व्यक्तिहरूको यकिन ठेगाना भने बताएनन्।
प्रारम्भिक सोधपुछमा उनीहरूले ५०/६० लाख रुपैयाँदेखि एक करोड रुपैयाँभन्दा माथिसम्म पनि दलाललाई बुझाएर गएको पाइएको अधिकारीहरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








