एडीएचडी के हो, धेरै महिलामा यसको निदान किन ढिला भइरहेको छ

    • Author, मर्भे कारा क्यास्का र आन्या डोरोडेको
    • Role, बीबीसी विश्व सेवा

"म विद्यालयमा थिएँ र आफ्ना साथीहरूभन्दा आफूलाई फरक महसुस गर्थेँ। मलाई पढाइमा ध्यान दिन कठिन हुन्थ्यो र जाँचमा सोधिने प्रश्नहरू पनि मलाई बुझ्न गाह्रो हुन्थ्यो," टर्कीकी ३८ वर्षे शिक्षाकर्मी आईशेले भनिन्।

उनले पछि मात्रै आफूमा 'अटेन्शन डेफिसिट हाइपर्‍याक्टिभ डिसर्डर' (एडीएचडी) भएको महसुस गरिन्।

विश्वभरि अहिले एडीएचडी पत्ता लाग्ने उनीजस्ता महिलाहरूको सङ्ख्या बढ्दो छ। तीमध्ये धेरैले आफूमा यो अवस्था भएको पछि मात्रै थाहा पाए।

आईशे यूकेमा सहरी भूगोल विषयमा विद्यावारिधि गर्दै थिइन् र त्यति बेलाको निरन्तरको पढाइले उनले "ऊर्जा सकिएको, ध्यान केन्द्रित गर्न नसक्ने र मानसिक रूपमा थकित" महसुस गरिन्।

"म धेरैजसो ढिलो हुन्थेँ, भेटघाट छुटाउँथेँ अनि आफ्नो पर्स वा साँचो बिर्सिन्थेँ," उनले भनिन्।

यस्तो हुँदै गएर चरम अवस्थामा पुग्दा उनले निकै गाह्रो गरी पाएको सरकारी छात्रवृत्ति गुमाउनुपर्‍यो र उनी यूकेबाट पढाइ छोडेर ठूलो ऋणसहित टर्की फर्किनुपर्‍यो। तर आफूमा एडीएचडी भएको पत्ता लाग्नु उनका लागि वास्तवमै एउटा फड्को भयो।

"मैले जीवनमा पहिलो पटक आफू वयस्क भएको महसुस गरेँ, जसले आफ्ना विचार र भावनाहरूलाई आफ्नो वशमा राख्न सक्छ," विगत सम्झिँदै उनलेले भनिन्।

एडीएचडी के हो?

'अटेन्शन डेफिसिट हाइपर्‍याक्टिभ डिसर्डर' (एडीएचडी) मस्तिष्कको विकाससँग सम्बन्धित एउटा अवस्था हो।

यसका मुख्य लक्षणहरूमा अत्यधिक सक्रियता, आवेगपूर्ण व्यवहार र ध्यान केन्द्रित गर्नमा समस्या हुनु पर्छन्। एडीएचडीको अर्को सङ्केत भनेको कुनै विषयमा अत्यधिक केन्द्रित हुनु वा कुनै एउटा विषयमा गहिरो ध्यान दिनु हो।

लाखौँ मानिसहरू आफूलाई थाहै नभई एडीएचडीका साथ बाँचिरहेको अनुमान गरिएको छ।

बाल्यावस्थामा हुनेमध्येको यो सबैभन्दा धेरै देखिने खालको 'डिसर्डर' हो र यसमा धेरैजसो अत्यधिक सक्रिय बालकहरूलाई जोडेर हेरिन्छ तर पहिचान भएकाको दर हेर्ने हो भने यो सबै उमेर र लिङ्गमा बढिरहेको देखिएको छ।

विज्ञहरूले धेरै वयस्कहरूमा पनि यो अवस्था पत्ता लागेको र खास गरी आईशेजस्ता हुर्किँदो उमेरमा यसबारे चिकित्सकसँग परामर्श नगरेका महिलाहरूमा यसको निदान भइरहेको बताएका छन्।

यूकेको रोयल कलेज अफ साइकअट्रिस्ट्समा 'एडीएचडी च्याम्पिअन' रहेका डाक्टर उल्रिख मूलर-सेज्विकले सही तरिकाले एडीएचडीको पहिचान गर्दा त्यसले मानिसहरूको जीवन उल्लेख्य रूपले परिवर्तन गर्ने बताए।

"मैले अदालती प्रक्रियाबाट गुज्रिरहेका महिलाहरूले त्यति सुरक्षित नभएका कारण उनीहरूका बच्चाहरू रेखदेखका लागि लैजान लागेको देखेको छु। उनीहरूमा एडीएचडीको अवस्था पहिचान गरी उपचार गरेका अवस्थामा भने बालबालिकाको रेखदेखका लागि लगिएको छैन," उनले भने।

वयस्कहरूमा एडीएचडीका लक्षणहरू के हुन्?

वयस्क अवस्थामा देखिने एडीएचडीका लक्षणहरू बाल्यावस्थामा देखिएका लक्षणभन्दा फरक हुन सक्छन्। अमेरिकाको 'न्याश्नल इन्स्टिट्यूट फर मेन्टर हेल्थ'का अनुसार एडीएचडीका धेरै देखिने लक्षणहरू यी हुन सक्छन् :

  • प्रायजसो ध्यान भङ्ग हुनु
  • अव्यवस्थित हुनु र कामलाई पर सारिरहनु
  • समयको व्यवस्थापन राम्ररी गर्न नसक्नु
  • सामानहरू हराउनु, गर्नुपर्ने दैनिक काम बिर्सिनु
  • बोल्दा अरूलाई बीचमै रोक्नु र आफू अत्यधिक बोल्नु
  • कुनै काममा ध्यान केन्द्रित गर्न र त्यो काम पूरा गर्न नसक्नु
  • निरन्तर काम गरिरहनुपर्ने आवश्यकता हुनु
  • भविष्यका सट्टा तत्काल प्रतिफल खोज्नु

एडीएचडी भएका वयस्कमा यी व्यवहारहरू गम्भीर, निरन्तर, बारम्बार र दैनिक जीवनमा अवरोध पुर्‍याउने तहमा देखिन्छन्।

लैङ्गिक अन्तर कस्तो छ?

प्रत्येक चार बालकमा एडीएचडी देखिँदा एक बालिकामा यो समस्या देखिएको अनुमान गरिएको छ जबकि वयस्कमा हेर्ने हो भने यो अनुपात २:१ हाराहारी छ।

विश्व स्वास्थ्य सङ्गठनको मस्तिष्क स्वास्थ्य एकाइका प्रतिनिधि किआरा सर्भिलीले निदान दरहरू यसरी फरक भएका प्रमाणहरू अझ बढी भेटिन थालेको बताइन्। उनले "लक्षणहरू कसरी देखिन्छन् अनि बालिकामा यो समस्या कसरी पहिचान गरिन्छ" भन्ने कुराले त्यस्तो अन्तर देखिएको बताइन्।

धेरै विज्ञहरूले बालकका तुलनामा बालिकामा देखिने एडीएचडीका लक्षणहरू आमाबुवा र शिक्षकहरूले कम थाहा पाउने गरेको औँल्याएका छन्।

"एडीएचडी भएकी बालिका प्रायः कक्षाकोठामा हुँदा दिउँसै सपना देख्ने र त्यसले कक्षामा बाधा नपर्ने हुन्छ अनि धेरै पहिचान पनि हुँदैन। तर एडीएचडी भएका बालकहरू वरपर दौडिने, बाधा पुर्‍याउने र धेरै समस्या गराउने भएका कारण विद्यालयले चाँडै याद गरेर परीक्षणका लागि भन्छ," डाक्टर मूलर-सेज्विकले भने।

"हामीलाई लाग्छ कि किशोरी र महिलाहरू 'ढाक्ने' कुरामा राम्रो हुन्छन् अनि यस्तो व्यवहारले उनीहरूमा समस्या नभएको जस्तो देखिन्छ," उनले जोड दिए।

विश्व स्वास्थ्य सङ्गठनकी किआरा सर्भिलीका अनुसार सामाजिक मान्यता र अपेक्षाका कारण पनि किशोरीहरूमा एडीएचडीको अवस्था पत्ता लाग्न ढिला हुने वा हुँदै नहुने गरेको छ।

उनले कसरी वंशानुगत, होर्मोनल र यौवनावस्थाको सुरुवाती समयले एडीएचडीको लक्षणमा हुने भिन्नतामा असर गर्छ भनेर थप अनुसन्धान आवश्यक रहेको बताइन्।

किन महिलाहरूमा वयस्क हुँदामात्रै एडीएचडी थाहा भएको हो?

धेरै अध्ययनहरूले वयस्क अवस्थामा एडीएचडीको निदानमा देखिने लैङ्गिक भिन्नता घट्दै गएको देखाएका छन्।

यसको मुख्य कारण के हो भने महिलाहरू "पुरुषहरूभन्दा मानसिक स्वास्थ्यको उपचारका लागि बढी खोजी गर्छन्," टर्कीका एक मानसिक चिकित्सक डाक्टर अलि कान्देगरले भने। उनको देशमा एडीएचडीको अवस्थामा भएका मानिसहरूको सङ्ख्या विश्वव्यापी औसतभन्दा बढी भएको विश्वास गरिन्छ।

टर्कीकै अर्की मानसिक चिकित्सक डाक्टर दिदम सुकुलोग्लु दिकिकीले हालैका वर्षहरूमा आफूले दर्जनौँ महिलामा एडीएचडी पत्ता लगाएको बताइन्।‍

उनले आफ्ना बिरामीहरू डिप्रेशन र थकानको लागि मद्दत खोज्दै आइपुगेको तर प्रायजसोले आफूमा एडीएचडी भएको महसुस नगरेको बताइन्। तीमध्ये कतिपय महिलाहरू "आफ्नो काममा सफल छन् अनि परिपूर्णता र आत्मनियन्त्रण चाहन्छन्।"

डाक्टर मूलर-सेज्विकले पनि धेरै महिलाहरू आफूकहाँ आएको र उनीहरू एडीएचडी 'बर्नआउट'को अवस्थामा पुगिसकेको बताएका छन्।

उनले आफ्ना बिरामीहरूमा ४० वर्ष कटेका महिलाहरूको समूह रहेको र उनीहरूले रजोनिवृत्तिअगाडिका लक्षणहरू अनुभव गरिरहेको बताए।

"लक्षणहरू केवल एक्कासि गर्मी हुने वा पसिना आउने मात्रै हुँदैन, केही बोधात्मक पनि हुन्छन् र ती लक्षणहरूले पहिलादेखि रहेको एडीएचडीसँग सम्बन्धित ध्यानको कमीलाई अझ बिगार्न सक्छ," उनले भने।

के एडीएचडी बढ्दो क्रममा छ?

एडीएचडी निदान हुने दर हालैका वर्षहरूमा थुप्रै देशमा बढिरहेको छ।

उदाहरणका लागि, इङ्गल्यान्डमा एडीएचडीको उपचारका लागि औषधि दिइएका बिरामीहरूको सङ्ख्या गएको दशकमा झन्डै तेब्बरले वृद्धि भएको छ।

अमेरिकामा सन् २०२२ को तथ्याङ्कले देखाएअनुसार सन् २०१६ पछि तीनदेखि १७ वर्ष उमेरका करिब १० लाख थप बालबालिकाहरूमा कुनै समयमा एडीएचडी देखिएको छ।

सन् २०२३ मा गरिएको एक अध्ययनले कोभिड महामारीको समयमा विश्वव्यापी रूपमा एडीएचडीका औषधिहरू कम सुझाइएको र त्यसपछि यो क्रम ह्वात्तै बढेको देखाएको छ।

एडीएचडी हामीले हेर्ने स्क्रीनसँग सम्बन्धित छ?

बालबालिका र वयस्कहरूले डिजिटल सामग्री अत्यधिक मात्रा हेर्ने गरेको भन्दै चासो र चिन्ता बढिरहँदा स्क्रीनमा बिताउने समय र एडीएचडीबारे सम्बन्ध छ भनेर मानिसहरूले प्राय: प्रश्न गर्छन्।

"एडीएचडी भएका र नभएका बालबालिकाहरूको स्क्रीन टाइमबारे अनुसन्धान भएको छ र एडीएचडी भएकाहरूले धेरै समय हेर्ने गरेको पाइयो। तर यो कुखुरा र अण्डामा कुन पहिला भन्ने प्रश्नजस्तै हो," डाक्टर मूलर-सेज्विकले भने।

उनका अनुसार सामाजिक सञ्जाल र भिडियो गेमहरूका कारण 'डोपामीन' नामक होर्मोन उत्पादन हुन्छ। एडीएचडी भएका मानिसहरू डोपामीन खोजिरहन्छन् किनभने उनीहरू दिमागलाई सक्रिय पारिरहन चाहन्छन्।

अध्ययनहरूले लामो समय स्क्रीन हेर्दा त्यसले बालबालिकामा एडीएचडीको लक्षणहरू वृद्धि गर्नमा योगदान पुर्‍याउन सक्ने तर स्क्रीन धेरै समय बिताउँदा त्यसले एडीएचडी हुन्छ कि हुँदैन भनेर निर्क्योल गर्न कठिन भएको देखाएको छ। डाक्टर मूलर-सेज्विकले त्यसको कुनै प्रमाण नभएको बताए।

एडीएचडीको उपचार कसरी गरिन्छ?

एडीएचडी भए नभएको पत्ता लगाउन बिरामीको जीवनको ढाँचाहरूलाई विस्तृतमा जाँच गर्नुपर्छ। चिकित्सकहरू पनि बाल्यावस्थादेखि नै त्यसका सङ्केतहरू हेर्छन्।

उदाहरणका लागि, यूकेमा चिकित्सकहरूले औषधि सुझाउनुअघि पहिला "उचित समायोजन" र "वातावरणीय परिवर्तनहरू" गर्न सिफारिस गर्छन्।

'आम्फेटमीन' र 'मेथल्फीनडेट'लगायत यसका औषधिहरूले मस्तिष्कमा केही रासायनिक पदार्थहरूको मात्रालाई बढाएर एडीएचडीका लक्षणहरू घटाउँछन्। यी दुवैको प्रयोग सही तरिकाले नभए त्यसले सम्भावित रूपमा लत लाग्न सक्छ।

औषधि सहन नसक्नेहरूलाई चिकित्सकहरूले 'कग्निटिभ बिहेइभ्यरल थेरपी' (सीबीटी) सिफारिस गर्छन्। उक्त उपचार विधिमा लक्षणहरूबारे गहिरो जानकारी दिएर बुझाइन्छ र त्यसलाई व्यवस्थापन गर्न रणनीतिहरूमा काम गर्न भनिन्छ।

डाक्टर कान्देहर शारीरिक गतिविधि र 'माइन्डफूल्नेस'को अभ्यासले पनि मद्दत गर्ने बताउँछन्।

"उदाहरणका लागि, यदि हामी खाइरहेका छौँ भने त्यही बेला केही हेर्नुहुँदैन। अनि यदि हामी केही हेरिरहेका छौँ भने त्यसलाई बढाउनुहुँदैन। केही त्यस्तो समय बिताउनुपर्छ, जब हामी केवल हिँड्छौँ वा बस्छौँ वा दिमागलाई बग्न दिन्छौँ," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।