रुसमा आफूलाई 'दासजसरी' काममा लगाइने दाबीसँगै उत्तर कोरियालीहरूले गरेका खुलासा

उत्तर कोरियाली कामदार देखाउने एउटा ग्राफिक
तस्बिरको क्याप्शन, ५०,००० भन्दा बढी उत्तर कोरियालीलाई अन्तत: रुस पठाइने बीबीसीले बुझेको छ
    • Author, जीन मकेन्जी
    • Role, सोल संवाददाता

युक्रेनमा जारी युद्धमाझ रुसमा श्रम गर्नेहरूको अभाव फराकिलो हुँदै गर्दा हजारौँ उत्तर कोरियालीलाई दासजस्तै अवस्थामा काम गर्नका लागि रुस पठाइँदै गरेको बीबीसीले थाहा पाएको छ।

युद्धमा लड्नका लागि मस्कोले पटक पटक प्योङ्याङको सहायता लिएको छ, चाहे त्यो क्षेप्यास्त्र प्रयोग गरेर होस् वा गोलाबारुद तथा फौज प्रयोग गरेर नै किन नहोस्।

धेरै रुसी पुरुषहरू मारिएका, लड्दालड्दै बन्दी बनाइएका वा देश छोडेका कारण रुस अहिले उत्तर कोरियाली श्रमिकमाथि धेरै भर परेको दक्षिण कोरियाको गुप्तचर अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

हामीले युद्ध सुरु भएयता रुसबाट भागेका छ जना उत्तर कोरियाली कामदारहरू, सरकारी अधिकारीहरू, अनुसन्धानकर्ता र ती कामदारहरूको उद्धारमा सहयोग गर्नेहरूसँग अन्तर्वार्ता गरेका छौँ।

उनीहरूले ती पुरुषहरू कसरी "दयनीय" परिस्थितिहरूमा काम गर्न बाध्य छन् भन्ने कुरा विस्तृत रूपमा बताए।

उत्तर कोरियाली अधिकारीहरूले उनीहरूलाई भाग्नबाट रोक्न झनै कडा नियन्त्रण कसरी गरिरहेका छन् भन्ने पनि खुलासा गरे।

'उभिएरै निदाएको फेला पारे कुट्थे'

उत्तर कोरियाका किम जङ अन र रुसका भ्लादिमिर पुटिन आ-आफ्नो देशको झण्डा समात्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युक्रेनमा युद्ध गर्नका लागि किम जङ अनले भ्लादिमिर पुटिनलाई हतियार र सैनिकहरू पठाएका छन्

कामदारहरूमध्येका एक जिनले आफूलाई रुसको सुदूरपूर्वको विमानस्थलमा उत्रिएपछि त्यहाँबाट निर्माणस्थलसम्म एक उत्तर कोरियाली सुरक्षा एजेन्टले पुर्‍याएको बताए। ती एजेन्टले उनलाई कसैसँग कुरा नगर्न वा केही पनि नहेर्न आदेश दिएको पनि उनले सम्झिए।

"बाह्य संसार हाम्रा लागि दुस्मन हो," एजेन्टले भनेका थिए।

उनलाई सीधै बहुतले अपार्टमेन्ट बनाउने काममा लगाइयो, जहाँ उनी दिनको १८ घण्टा काम गर्न बाध्य थिए।

हामीले कुरा गरेका सबै छ जनाले एकै प्रकारको कठोर कार्यतालिका बताए, जसअनुसार बिहान ६ बजे उठ्ने र भोलिपल्टको बिहान २ बजेसम्म अपार्टमेन्ट निर्माण गर्न बाध्य हुनुपर्ने थियो। वर्षमा जम्मा दुई दिन मात्र उनीहरूले छुट्टी पाउने गरेको पनि बताए।

हामीले उनीहरूको सुरक्षाका लागि नाम परिवर्तन गरेका छौँ।

"फेरि त्यही दिन दोहोरिन्छ भनेर बिहान बिउँझनु नै डरलाग्दो हुने गर्थ्यो," निर्माणक्षेत्रमा काम गर्ने मजदुर टेले भने। उनी गत वर्ष रुसबाट भागेका थिए। अघिल्लो दिनको कामले आफ्ना हातहरू कसरी जकडिएका हुन्थे र पक्षाघात भएकोहात जस्तो खोल्नै नसक्ने गरेको पनि उनले सम्झिए।

"केही मानिसहरू कामको समयमा सुत्नकै लागि आफ्नो ठाउँ छोड्ने गर्थे वा उभिएरै निदाउँथे तर सूपरभाइजरले फेला पारे भने कुट्थे। हामी मर्छौँ जस्तो लाग्थ्यो," च्यान नाम गरेका अर्का कामदारले भने।

अवस्था साँच्चै नै दयनीय छ," दक्षिण कोरियाको डोङ-आ विश्वविद्यालयका प्राध्यापक काङ डोङ-वाँले भने जो उत्तर कोरियाली कामदारसँग कुरा गर्द थुप्रै पटक रुस पुगेका छन्।

"कामदारहरूले धेरै खतरनाक अवस्थामा काम गर्नुपर्छ। रातिको समयमा बत्ती बन्द गरिन्छ अनि उनीहरूले थोरै सुरक्षा उपकरणमा अँध्यारोमा काम गर्नुपर्छ।"

'अस्पताल जान अनुमति दिइएन'

भागेकाहरूले हामीलाई बताएअनुसार कामदारहरूले रातदिन निर्माण क्षेत्रमा काम गर्नुपर्छ जहाँ उत्तर कोरियाको सुरक्षा विभागका एजेन्टहरूले उनीहरूको निगरानी गरिरहेका हुन्छन्।

उनीहरू फोहोरी, भिडभाडयुक्त सामान ओसार्ने कन्टेनरहरूमा सुत्छन्, जुन किराहरूले भरिएका हुन्छन्।

बन्नै बाँकी अपार्टमेन्ट भवनहरूको भुईँमा सुत्छन् जहाँ चिसो रोक्न ढोकामा प्लास्टिकको त्रिपाल तानेर राखिएको हुन्छ।

नामले एक पटक आफू निर्माणस्थलको चार मिटर उचाइबाट खस्दा अनुहारमा नराम्रोसँग चोट लागेको बताए। उनी काम गर्न सक्ने अवस्थामा नभए पनि सूपरभाइजरहरूले उनलाई अस्पताल जान अनुमति नदिएको उनले बताए।

राष्ट्रसङ्घीय प्रतिबन्धको उल्लङ्घन

उत्तर कोरियाली कामदारले हिउँ परेको निर्माण क्षेत्रमा काम गरिरहेको देखिने एउटा ग्राफिक

दशौँ हजार उत्तर कोरियालीहरूले दशकौँदेखि रुसका लागि काम गर्दै आएका छन् र उनीहरू आफ्ना देशका नेता किम जङ अनका लागि लाखौँ डलर कमाइको स्रोत बनेका छन्। ती कामदारहरूको कमाइबाट किमको कोषमा जाने रकममा कटौती होस् भन्ने प्रयासस्वरूप सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घले यी कामदारलाई काम लगाउने देशहरूमाथि प्रतिबन्ध लगायो।

त्यस्तो कोषको रकम परमाणु हतियार बनाउन प्रयोग गरिन्छ।

तर गत वर्ष १०,००० भन्दा बढी श्रमिकलाई रुस पठाइएको दक्षिण कोरियाली गुप्तचर निकायका अधिकारीले आफ्नो नाम नखुलाउने सर्तमा बीबीसीसँग भने। यो वर्ष त्योभन्दा बढी कामदारहरू रुस पुग्ने अनुमान गरिएको र जम्मा ५०,००० भन्दा बढी कामदारहरू प्योङ्याङले पठाउने ठानिएको उनले बताए।

एकाएक बढ्नुको अर्थ उत्तर कोरियाली कामदारहरू अब "रुसभर जताततै छन्" भन्ने भएको ती अधिकारीले बताए।

धेरैजसो ठूलो स्तरका निर्माण परियोजनामा काम गरिरहेको भए पनि अन्य भने कपडा उद्योग र आईटी केन्द्रहरूमा काम गरिरहेका छन्। त्यसले उत्तर कोरियाली कामदारको प्रयोग गर्न संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धको उल्लङ्घन भएको छ।

रुसी सरकारको तथ्याङ्कले सन् २०२४ मा रुसमा १३,००० भन्दा बढी उत्तर कोरियालीहरू प्रवेश गरेको देखाउँछ। यो भनेको अघिल्लो वर्षको भन्दा १२ गुणा बढी हो। करिब ८,००० भन्दा बढी विद्यार्थी भिसामा प्रवेश गरेका छन् तर गुप्तचर अधिकारीहरू र विज्ञका अनुसार भने संयुक्त राष्ट्रसंघको प्रतिबन्ध छल्न रुसले चालेको यो एउटा चलाखी हो।

जुन महिनामा रुसका एक वरिष्ठ अधिकारी सेर्गेइ शोइगुले कुर्क्स्क क्षेत्रको पुनर्निर्माणका लागि ५,००० उत्तर कोरियालीलाई पठाउने कुरा पहिलो पटक स्वीकार गरेका थिए। रुसको कुर्क्स्क क्षेत्र युक्रेनी फौजले गत वर्ष कब्जामा लिएका थिए तर त्यसयता उनीहरूलाई त्यहाँबाट धकेलिएको छ।

दक्षिण कोरियाली अधिकारीले केही उत्तर कोरियालीलाई रुसले कब्जा गरेको युक्रेनी भूभागमा छिट्टै पुनर्निर्माणका परियोजनामा परिचालन गर्ने सम्भावना पनि उच्च रहेको बताएका छन्।

"रुसले अहिले श्रमिकको चरम अभाव खेपिरहेको छ र उत्तर कोरियालीको प्रस्ताव एउटा उत्तम समाधान हो। उनीहरूलाई सस्तोमा काम लगाउन सकिन्छ, कडा परिश्रम गर्छन् र समस्यामा पनि पर्दैनन्," उत्तर कोरिया-रुस सम्बन्धका विज्ञसमेत रहेका सोलस्थित कुकमिन विश्वविद्यालयका प्राध्यापक आन्द्रेइ नाल्कोफले भने।

'घर फर्किएपछि मात्र तलब, महिनैपिच्छे बफादारी शुल्क'

रुसी निर्माण कम्पनीले किम जङ अनलाई पठाएका भनिएका फूलको तस्बिर

तस्बिर स्रोत, KCNA

तस्बिरको क्याप्शन, उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार यी फूलहरू रुसी निर्माण कम्पनीले किम जङ अनलाई पठाएका हुन्

देशबाहिर हुने यी निर्माणसम्बन्धी कामहरू उत्तर कोरियामा अत्यधिक चाहिएका मानिन्छन् किनभने देशभित्रको कामभन्दा यसमा धेरै राम्रो तलब दिने आश्वासन दिइन्छ।

अधिकांश कामदारहरू गरिबीबाट पार पाउन र फर्किँदा आफ्ना परिवारका लागि घर किन्न वा व्यवसाय सुरु गर्न सकिने आशामा जान्छन्।

केवल सबैभन्दा विश्वासिला पुरुषहरूलाई कडा छानबिनपछि छानिन्छ र उनीहरूले आफ्नो परिवारलाई छोडेर काममा जानुपर्छ।

तर उनीहरूको आम्दानीको धेरैजसो हिस्सा सीधै उत्तर कोरियाली राज्यलाई "बफादारी शुल्क" स्वरूप पठाइन्छ। सामान्यतया बाँकी थोरै रकम प्रतिमहिना १०० देखि २०० डलर मात्र उनीहरूको खातामा लेखिन्छ।

कामदारहरूले यो पैसा केवल घर फर्किएपछि मात्र पाउँछन्। उनीहरूलाई भाग्नबाट रोक्नका लागि यो रणनीति हालैमात्रै अपनाइएको विज्ञहरू बताउँछन्।

जब ती कामदारहरूले कठोर श्रम र न्यूनतम पारिश्रमिकको वास्तविकता बुझ्छन्, त्यो उनीहरूका लागि धेरै पीडादायक हुन सक्छ।

टेले आफूले मध्य एशियाबाट आएका अन्य निर्माणकार्यमा लागेका कामदारहरूले आफ्नोभन्दा एक तिहाइ मात्रै काम गर्दा पनि पाँच गुणा बढी तलब पाउँछन् भन्ने थाहा पाएपछि आफू "लज्जित भएको" बताए।

"म श्रमिक शिविरमा छु जस्तो लाग्यो; बारबिनाको जेलजस्तो," उनले भने।

अन्य कामदारहरूले आफूहरूलाई कसरी 'दास' भनेर बोलाउँछन् भनेर सम्झिँदा जिन अझै पनि नमज्जा मान्छन्। "तिमी मानिस होइनौँ, केवल बोल्न सक्ने मशीन हौ," उनले साथीहरूले भन्ने गरेको सम्झिए।

कसरी भाग्छन्?

एक समय जिनका व्यवस्थापकले उनले काम गरेबापतको पैसा राज्यलाई चाहिन सक्ने भन्दै उनले पैसा पाउन नसक्ने पनि बताएका थिए। उनले त्यही बेला ज्यान जोखिममा पारेर भए पनि भाग्ने निर्णय गरेका थिए।

टेले दक्षिण कोरियामा कामदारहरूले कति धेरै तलब पाउँछन् भनेर यूट्यूब भिडिओहरू हेरेपछि भाग्ने निर्णय गरेका थिए।

एक रात उनले आफ्ना सामानहरू डस्टबिनको प्लास्टिक झोलामा हाले, सिरकको तल ओछ्यान राखेर आफू अझै सुतिरहेको देखिने जस्तो बनाए र निर्माण स्थलबाट लुकीछिपी निस्किए।

त्यसपछि उनले ट्याक्सी बोलाए र हजारौँ किलोमिटर यात्रा गर्दै एक वकिलसँग भेटे, जसले उनलाई सोलसम्मको यात्राको व्यवस्था गर्न सहयोग गरे।

हालैका वर्षहरूमा थोरै सङ्ख्यामा कामदारहरू भाग्न सफल भएका छन्। चुरोट र रक्सी खानका लागि उनीहरूलाई दिइएको दैनिक रकम जोगाएर किनको मोबाइल फोनको प्रयोग गरेर उनीहरू भाग्न सफल भएका हुन्। त्यस्तो फोन राख्न पनि प्रतिबन्ध लगाइएको छ।

रातो सर्ट लगाएर टाउकोमा हात राखेका उत्तर कोरियाली पुरुष देखाइएको एउटा ग्राफिक
तस्बिरको क्याप्शन, युद्धका बेला केही उत्तर कोरियाली श्रमिकहरू रुसबाट भागेर सोल पुग्न सफल भएका थिए

रोक्ने प्रयास

कामदार भाग्ने यस्ता घटनाहरू रोक्ने प्रयासस्वरूप उत्तर कोरियाली अधिकारीहरूले अहिले कामदारहरूको पहिले नै सीमित रहेको स्वतन्त्रता झन् कडा रूपमा नियन्त्रण गर्न थालेको धेरै स्रोतहरूले हामीलाई बताएका छन्।

डोङ-आ विश्वविद्यालयका प्राध्यापक काङका अनुसार गत वर्षदेखि राज्यले कामदारहरूलाई नियन्त्रण गर्ने एउटा तरिका भनेको उनीहरूलाई झनै धेरै विचारधारात्मक तालिम र आत्मालोचना सत्रहरूमा सहभागी गराउनु हो।

यी सत्रहरूमा उनीहरूलाई किम जङ अनप्रति बफादारी घोषणा गर्न र आफ्ना कमजोरीहरू उल्लेख गर्न बाध्य पारिन्छ।

निर्माणस्थलबाट बाहिर जाने दुर्लभ अवसरहरू पनि हटाइएका छन्।

"पहिले कामदारहरू महिनामा एक पटक समूहमा बाहिर जान्थे तर हालसालै यी भ्रमणहरू लगभग शून्य भएका छन्," प्रा. काङले थपे।

रुसबाट उत्तर कोरियाली कामदारहरूलाई उद्धार गर्न सहयोग गर्ने सोलमा रहेका अधिकारकर्मी किम सेउङ-चुलले अहिले बाहिर जाने कार्यक्रमहरू अझ कडा निगरानीमा रहेको बताए।

"पहिले उनीहरूलाई जोडीमा बाहिर जान दिइन्थ्यो तर सन् २०२३ पछि उनीहरूलाई पाँच जनाको समूहमा यात्रा गर्नुपर्ने भएको छ र अझै कडा निगरानीमा राखिएको छ," उनले भने।

यो अवस्थामा थोरै कामदारहरू भाग्न सकेका छन्। दक्षिण कोरियाली सरकारले उत्तर कोरियालीको सोल आउने सङ्ख्या सन् २०२२ यता आधा कम भएको जनाएको छ। विगतका वर्षमा करिब २० जना आइपुग्थे भने अहिले केवल १० जना मात्रै आउने गरेका छन्।

उत्तर कोरिया-रुस सम्बन्धका विज्ञ लान्कोफले अन्य थुप्रै कामदहरूलाई दमन गर्ने तयारी भइरहेको हुन सक्ने बताए।

"यी कामदारहरू किम र पुटिनको युद्धकालीन मित्रताको दिगो हिस्सा रहने छन्," उनले भने। उनको तर्क छ कि युद्ध सकिएपछि र सैनिक तथा हतियारहरूको परिचालन रोकिएपछि पनि लामो समयसम्म कामदारहरू आइरहने छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।