इरानमाथि पुनः आक्रमण गर्ने इजरेलको चेतावनी, ट्रम्प दुवैसँग 'बेखुसी' र 'आक्रोशित'

तस्बिर स्रोत, EPA
इजरेल र इरानबीच युद्धविराम लागु भएको भनिएको केही घण्टा नबित्दै त्यसको दिगोपनालाई लिएर अन्योल उत्पन्न भएको छ।
इजरेली रक्षामन्त्रीले इरानले युद्धविराम उल्लङ्घन गरेको भन्दै त्यसका विरुद्ध कडा प्रतिवाद गर्न सेनालाई आदेश दिएको बताएका छन्।
रक्षामन्त्री इसराएल कात्सले एक विज्ञप्ति जारी गर्दै "इरानले गरेको युद्धविराम उल्लङ्घनको विरुद्ध तेहरानको मुटुमा रहेका निसानाहरूमा सघन प्रहार गरेर कडा प्रतिवाद" गर्न आफूले आदेश दिएको बताएका छन्।
के भएको हो?
यसअघि बोल्दै इरानका विदेशमन्त्रीले इजरेलले आक्रमण बन्द गरेमा मात्र आफूहरूले युद्धविराम गर्ने बताएका थिए।
इरानबाट क्षेप्यास्त्र प्रहार भएको पत्ता लागेको केही क्षणमै इजरेलका अति दक्षिणपन्थी मानिने अर्थमन्त्रीले सामाजिक सञ्जालमा सङ्क्षिप्त पोस्ट गरेका थिए।
"तेहरान काम्ने छ," प्रधानमन्त्री बेन्जमिन नेतन्याहूका निकट सहयोगी मन्त्री बेजालेल स्मोत्रिखले एक्समा लेखेका छन्।
इजरेली सेनाले इरानबाट क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको थियो।
उसको हवाई प्रतिरक्षा प्रणाली ती क्षेप्यास्त्र निस्तेज पार्न सञ्चालित भएको भन्दै उसले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा जान र थप सूचना पर्खन भनेको थियो।
यी पछिल्ला आक्रमणका विवरण युद्धविरामबारे दुवै देशले सहमति जनाएपछि आएको हो।
यी घटनाक्रमले युद्धविराममाथि अनिश्चय उब्जाएको जेरुसलेमस्थित बीबीसी संवाददाता ड्यान जोन्सनले बताए।
इजरेलको भनाइ
जोन्सनका अनुसार तेहरानले क्षेप्यास्त्र प्रहार गरेको अस्वीकार गरेको छ।
"हामीलाई थाहा छैन त्यो कसरी प्रहार भयो। कतै कुनै गल्ती भयो वा अन्य केही कारण छन् तर यसलाई वरिष्ठ अधिकारीहरूले युद्धविरामको उल्लङ्घन मानेका छन्," जोन्सनले भने।
इजरेलका मानिसहरूका निम्ति यो समय अनिश्चयपूर्ण छ।
"आउने घण्टा, दिन तथा साताहरूमा शान्ति छाउन लागेको उनीहरूले अपेक्षा गरिरहँदा पुन: हवाई साइरन बज्न थालेका छन्," जोन्सनले भने।
इरानका राष्ट्रपति मसूद पेजेस्किआनले इजरेलले युद्धविराम उल्लङ्घन नगरे आफ्नो देशले पनि उल्लङ्घन नगर्ने बताएका छन्।
राज्यनियन्त्रित इस्लामिक रिपब्लिक न्यूज एजन्सी (आईआरएनए)ले बताएअनुसार उनले भनेका छन्, "केही समस्या तथा गुनासोका बीच इरानी जनताहरूले एक पटक फेरि उनीहरू शत्रुको आक्रमणविरुद्ध अन्तिम क्षणसम्म एकीकृत रहने पुष्टि गरे।"
'सशक्त प्रतिवाद' गर्ने सेनाको चेतावनी

तस्बिर स्रोत, Reuters
यसैबीच इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) का प्रमुखले इरानको कदमलाई "गम्भीर उल्लङ्घन" भन्दै उनको सेनाले "सशक्त रूपमा त्यसको प्रतिवाद" गर्ने बताए।
आईडीएफको एक्स पेजमा एयाल जमीरलाई उद्धृत गर्दै लेखिएको छ, "इरानी सत्ताले युद्धविरामको गम्भीर उल्लङ्घन गरेको पृष्ठभूमिमा हामी त्यसको सशक्त प्रतिवाद गर्ने छौँ।"
ट्रम्पको चेतावनी

तस्बिर स्रोत, EPA
इजरेलले इरानमा आक्रमणको आदेश दिएसँगै यसअघि युद्धविरामको प्रस्ताव गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेललाई आक्रमण नगर्न चेतावनी दिएका छन्।
'ट्रूथ सोशल'मा उनले लेखेका छन्, "इजरेल। ती बमहरू नखसाल। यदि त्यसो गर्यौ भने त्यो उल्लङ्घनको ठूलो घटना हुने छ। आफ्ना पाइलटलाई अहिल्यै घर फर्काऊ।"
ट्रम्पले कतारसँग मिलेर इजरेल र इरानबीच युद्धविरामको मध्यस्थता गरेको बताइएको थियो।
द हेगमा नेटोको शिखर सम्मेलनमा जानुअघि पत्रकारहरूसँग बोल्ने क्रममा उनले कडा शब्दमा इरान र इजरेल दुवैको आलोचना गरे।
उनले आफू इरानसँग पनि खुसी नभएको स्पष्ट पारे।
इजरेलले आक्रमणको चेतावनी दिएपछि ट्रम्पले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई टेलिफोन गरेको जानकारी प्राप्त भएको छ।
नेतन्याहूको कार्यालयका अनुसार त्यसपछि नेतन्याहू थप आक्रमण रोक्न सहमत भएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








