'इजरेल इरान युद्धविराम सुरु भयो, यसलाई भङ्ग नगर्नू': ट्रम्प

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको जनाएका छन्।
उनले आफ्नो सामाजिक सञ्जालको वेबसाइट ट्रुथ सोसलमा एक सन्देश लेख्दै भनेका छन्: "युद्धविराम अब लागु भएको छ। कृपया यसलाई उलङ्घन नगर्नू।"
उनको टिप्पणी लगत्तै इजरेली सरकारले पनि ट्रम्पको युद्धविराम प्रस्तावमा आफ्नो सहमति भएको बताएको छ।
एक विज्ञप्तिमा उसले भनेको छ: "युद्धविरामको कुनै पनि उल्लङ्घनको इजरेलले कडा प्रतिक्रिया दिनेछ।"
उसले इरान आक्रमणको आफ्नो उद्देश्य पूरा भएकाले युद्धविराम गर्न सहमति जनाएको बताएको छ।
इरानबाट आफ्नो देशका निम्ति उत्पन्न 'दुईथरी खतरा' - परमाणु अस्त्र तथा बलिस्टिक क्षेप्यास्त्र - निस्तेज पारिदिएको पनि इजरेलले जनाएको छ। इरानको सैन्य नेतृत्वमा गम्भीर क्षति तथा दर्जनौँ सरकारी निसानाहरू ध्वस्त पारिदिएको उसले बताएको छ।
केही बेरअघि इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरेली भूभागमा चार लहरको इरानी क्षेप्यास्त्र हमलापछि इजरेलसँगको युद्धविराम सहमति आरम्भ भएको जनाएको छ।
इजरेलको सुरक्षा सैन्यका अनुसार दुई घण्टाको अवधिमा छ चक्रमा भएको हमलाले देशका विभिन्न क्षेत्रमा प्रहार भएको छ।
इजरेलले त्यस्ता हमलामा दक्षिणी इजरेलमा ४ जनाको ज्यान गएको जनाएको छ।
सुरुको अन्योल
अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि त्यस्तो युद्धविराम सहमतिको घोषणा गरेका थिए।
उनले युद्धविराम सहमति अनुसार इरानले इजरेलभन्दा १२ घण्टाअघि नै हमलाहरू रोक्ने बताएपछि अन्योल सिर्जना भएको थियो।
इजरेलले तत्काल सार्वजनिक रूपमा युद्धविराममा सहमति जनाएको थिएन।
इरानी सरकारी टेलिभिजनले चाहिँ युद्धविरामका निम्ति "इजरेललाई बाध्य बनाइएको" र अमेरिकी राष्ट्रपतिले युद्धविरामको निम्ति "याचना" गरेका भन्ने विवरण प्रसारण गरेको थियो।

तस्बिर स्रोत, Reuters
पछिल्लो इरानी आक्रमण र युद्धविराम घोषणा कतारमा अमेरिकी हवाई सैन्य अखडामा इरानको क्षेप्यास्त्र आक्रमणपछि गरिएको छ।
खाडी मुलुक कतारले आक्रमणलाई आफ्नो सार्वभौमसत्तामाथि उल्लङ्घन भन्दै निन्दा गरेको छ र सोमवारको घटनामा कसैको पनि ज्यान नगएको बताएको थियो।
राष्ट्रपति ट्रम्पले यसको पुष्टि गरेका थिए र इरानले आफ्नो कारबाहीको पूर्व सूचना अमेरिकालाई दिएको भन्दै ट्रम्पले इरानलाई धन्यवाद पनि दिएका थिए।
इजरेलको अवस्था
सम्भावित युद्धविरामको खबर फैलिरहँदा इजरेलभर भने बिहानैदेखि मानिसहरू फोनमा क्षेप्यास्त्र हमला भइरहेको चेतावनीसँगै बिउँझिए जतिखेर उनीहरूलाई आश्रय स्थलमा जान सजग गराइएको थियो।
इरानबाट इजरेलमा क्षेप्यास्त्र प्रहार गरिएपछि लगातार कैयौँ चेतावनीहरू जारी गरिएको थियो।
जेरुसलेममा विस्फोटको आवाज सुनियो भने अन्यत्र रहेका बीबीसी संवाददाताहरूले समेत विस्फोटको आवाज सुनेको विवरण पठाएका छन्।
दक्षिणी सहर बेरशिबामा प्रत्यक्ष क्षति पुगेपछि चिकित्सकहरू घटनास्थल पुगेका छन्। एक आपत्कालीन सेवाले चार जनाको मृत्यु भएको र २२ जना घाइते बनेको पुष्टि गरेको छ।

इरानमा निरन्तर हमलाका विवरण
तेहरानले पनि गएरात क्षेप्यास्त्र हमलाको लहर नै बेहोरेको बीबीसी संवाददाताले जनाएका छन्।
निरन्तरको हमलाबाट आफू रातभर अनिँदो रहेको र त्रसित भएको एकजना स्थानीयबासीले बताएका छन्। राजधानी तेहरानको पूर्वदेखि पश्चिमसम्मकै मानिसहरूले शहरभरि ठूला विस्फोटहरू भएका बताए।
"विस्फोटको प्रत्येक आवाजले मलाई एकदमै तर्साइरहेको छ," अर्का तेहरानबासीले भने।
तर विहानको चार बजेको हाराहारीतिर विस्फोटनका आवाजहरू रोकिएको अर्का स्थानीयबासीले बताए।
युद्धविरामपछि अमेरिकाका लागि थप चुनौती

तस्बिर स्रोत, The White House
युद्धविरामपछि ट्रम्पको सामुन्ने सबभन्दा कठिन कार्य आउने छ: परमाणु हतियारलाई इरानको हातबाट टाढा राख्नु। ह्वाइट हाउसले इरानको परमाणु हतियार सम्पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको छ। तर जबसम्म इरानले पर्यवेक्षकलाई स्थलगत भ्रमणका लागि अनुमति दिँदैन तबसम्म निश्चित रूपमा यसै भयो भन्ने कसैलाई थाहा हुने छैन।
थाहा नभएका अरू कुराहरू पनि छन्। के इरानले अमेरिकी आक्रमण हुनु अघि नै परमाणु सामग्री तथा ती सम्बन्धित उपकरण/मशिनहरू ती स्थानबाट हटाइसकेको थियो? या थाहा भएका बाहेक अन्य गोप्य स्थान पनि छन् जुन अमेरिकी हवाई हमलाबाट नष्ट भएका छैनन्?
अमेरिकीहरूले इरानीहरूसँग अब एक कूटनीतिक सम्झौता गर्न आवश्यक छ जसले पूर्ण तरहको जाँच गर्न मिल्ने किसिमको र पछाडि फर्कन नमिल्ने गरेर इरानको परमाणु कार्यक्रम समाप्त गर्ने सुनिश्चित गर्ने छ।
अमेरिकाले पछिल्लो पटक इरानसँग जब यस्तो सम्झौताबारे कुराकानी गरेको थियो त्यसबेला त्यस्तो दस्ताबेजमा हस्ताक्षर गर्न दुई वर्ष लागेको थियो।
र, ट्रम्पले त्यसबाट हात झिकेपछि त्यो सम्झौता रद्द हुन पुगेको थियो।
ट्रम्पले सन् २०१८ मा जेसीपीओए भनिने उक्त सम्झौता दोषपूर्ण रहेको र त्यसले इरानलाई परमाणु बम बनाउनमा रोक नलगाउने भन्दै च्यातिदिएका थिए ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








