तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा नेपालमा भारतीय नागरिकहरू कसरी पक्राउ परे?
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपाल आएर क्रिप्टोकरेन्सीको कारोबार गरिरहेका तीनजना भारतीयहरूलाई प्रहरीले पक्राउ गरेसँगै खुला सीमानाको प्रयोग गर्दै भइरहेको हुनसक्ने अवैध क्रिप्टो व्यापार सतहमा आएको अधिकारीहरूले बताएका छन्।
गएको बिहीबार कपिलवस्तु शिवनगर नगरपालिकास्थित एक होटलबाट भारत राजस्थानका तीनजनालाई 'अभौतिक मुद्राको कारोबार गर्दै गरेको अवस्थामा फेला पारेको' जनाएको थियो।
कपिलवस्तु जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर तिनीहरूमाथि अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।
सोही दिन काठमाण्डूस्थित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले झन्डै ३ अर्ब रुपियाँ सङ्गठित ठगी र क्रिप्टोकरेन्सीको कारोबारी रहेको आरोपमा सात जना पक्राउ गरिएको जानकारी दिएको थियो।
पक्राउ परेकाहरूमा भारतको बिहारका दुईजना पनि छन्।
भारतमा प्रतिबन्धित एप नेपालमा प्रयोग गरिरहँदा पक्राउ
प्रहरी कार्यालय चन्द्रौटाको टोलीले एक सातादेखि कोठा भाडामा लिएर बसिरहेको अवस्थामामा पक्राउ गरिएका उनीहरू क्रिप्टो कारोबारमा संलग्न रहेको जनाएको छ।
ती तीन भारतीयहरूबाट विभिन्न कम्पनीका २४ वटा मोबाइल, एउटा ल्यापटप अनि ६ वटा चार्जरसहितका उपकरण बरामद भएको अधिकारीहरू बताउँछन्।
कपिलवस्तुका प्रहरी प्रवक्ता मोहनमणि अधिकारीले उनीहरू एउटा एपको प्रयोग गरी अभौतिक मुद्राको कारोबार गर्दै गरेको अवस्थामा पक्राउ परेको बीबीसीलाई बताए।
उनी भन्छन्, "होटलमा चेक जाँच गर्दा उनीहरूसँग धेरै फोनहरू प्रहरीले देखिसकेपछि शङ्का भयो। थप अनुसन्धान गर्दा उनीहरू क्रिप्टो कारोबारमा संलग्न रहेको देखियो। त्यसो गर्नुको कारण के रहेछ भने एउटा एप हुँदो रहेछ, जुन अहिले भारतमा प्रतिबन्धित रहेछ, त्यो नेपालमा चल्ने रहेछ। त्यही भएर उनीहरूले यहाँ आएर यो काम गरेको भन्ने बुझियो।"
उक्त समूहले नेपाली वा भारतीय कुन समूहलाई निशाना बनाइरहेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाई छ।
प्रहरीको विज्ञप्ति अनुसार पक्राउ परेका व्यक्तिहरूले एमइएक्ससी एपलिकेशन प्रयोग गरी बिट्कोइनको कारोबार गरिरहेका थिए।
काठमाण्डूमा क्रिप्टोको सङ्गठित कारोबार र अनलाइन ठगीमा पक्राउ परेका दुई जना भारतीयहरू चाहिँ उक्त गिरोहका लागि काम गर्ने प्राविधिक जनशक्ति भएको प्रहरीले बताएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुधीरराज शाहीले बीबीसीसँग भने, "यसमा नेपालीले उनीहरूलाई काममा लगाएको देखिन्छ। रोजगारीकै सिलसिलामा काम गरेको मान्न सकिन्छ जस्तो लाग्छ।"
तर क्रिप्टो कारोबार तथा अनलाइन जुवा लगायतका कसुर 'काम गर्न सजिलो हुने' जुनसुकै ठाउँबाट हुनसक्ने भन्दै उनले यस्ता अपराधमा संलग्न हुनेहरूले त्यस्तै खालका गन्तव्य खोजिरहेको हुनसक्ने बताए।
शाही थप्छन्, "भारतमा यो गैरकानुनी छ। हामीकहाँ आउन र काम गर्न भारतीयहरूलाई उति अप्ठेरो पनि छैन। जहाँ कडा खालको कानुनी व्यवस्था बनिसकेको छैन, वा बन्ने क्रममा छ, त्यस्ता ठाउँलाई विभिन्न यस्ता गिरोहले रोज्ने गरेको पाइन्छ।"
प्रविधिले थपेको चुनौती
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शाहीले प्रविधिमा देखिएको नवीनतासँगै एपहरू नियन्त्रण गर्ने काम चुनौतीपूर्ण बन्दै गएको बताए।
उनी भन्छन्, "हरेक प्रविधिहरू कानुनको दायरामा ल्याइएको छैन। किनभने यसले यस्तो गरिरहेको छ भन्ने जानकारी भयो भने बल्ल कानुनको दायरामा आउने भयो। हामी सबै सबै साइबर अपराध र अनलाइन ठगीमा प्रविधिसँग जुझ्न प्रारम्भिक चरणमा नै छौँ।"
"कुनै एप नेपालमा चल्दैन तर भारतमा चल्छ होला। कुनै एप भारतमा चल्दैन होला, नेपालमा चल्छ। जानकारीमा नआएको कारण पनि यस्तो भएको हुनसक्छ। तर भारतमात्रै नभई दक्षिण एशियाली र अन्य अन्तर्राष्ट्रिय तहमा पनि हामीले अनलाइन ठगीमा जोडिएका समूहहरूका बारेमा सूचना आदानप्रदान र सहकार्य गरिरहेका छौँ।"
भीपीएन प्रयोग गरेर कारोबार गरिरहेका कारण नेपालबाट कारोबार भए पनि पत्ता लगाउन नसकिने विज्ञहरू बताउँछन्।
प्रहरीका अनुसार विदेशमा बस्ने नेपाली र विदेशीहरूको सहयोग र संलग्नतामा नेपालमा रहेर क्रिप्टोकरेन्सीको कारोबार हुने गरेको पाइएको छ।
पछिल्लो समय सुनको अवैध कारोबार गर्नेहरूले पनि भुक्तानीका लागि क्रिप्टोको प्रयोग गर्ने गरेको देखिएको प्रहरीको दाबी छ।
नेपालमा कस्तो छ कानुनी व्यवस्था
विक्रम सम्वत् २०७४ मा नेपाल राष्ट्र ब्याङ्कले बिट्कोइन कारोबार गैरकानुनी रहेको भन्दै सूचना जारी गरेको थियो।
नेपालको मुलुकी अपराध संहिता २०७४को परिच्छेद २२ मा मुद्रा सम्बन्धी कसुरहरू बारे चर्चा गरिएको छ।
त्यसको एउटा बुँदामा रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउने काम दण्डनीय भएको उल्लेख छ।
दफा २६२ को (क) मा रोक लगाउन आदेश दिइएको मुद्रा राख्ने, चलनचल्तीमा ल्याउने वा लेनदेन गर्ने कसुरमा एक वर्षसम्म कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने जनाइएको छ।
नेपालमा क्रिप्टो सम्बन्धी कारोबार गर्नेहरूलाई राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलनको आरोप लगाउँदै मुद्दा दायर गरेको पनि पाइन्छ।
त्यसबारेको कानुनी व्यवस्थामा रकम खुलाउन नसकिने अवस्थामा २ लाख रुपियाँसम्म र कसुरसँग सम्बन्धित विनिमयको बिगो कायम गरी त्यसरी कायम हुन आएको बिगो रकम वा बिगोको ३ गुणासम्म जरिवाना गर्न सकिने प्रावधान छ।
कानुनी रूपमा प्रतिबन्धित भए पनि नेपालमा लुकीछिपी क्रिप्टोकरेन्सीको कारोबार भइरहेको अधिकारीहरू बताउँछन्।
भारतमा सन् २०१३ को डिसेम्बरबाट नै बिटकोइन जस्ता भर्चुअल मुद्राहरूलाई मान्यता दिएको छैन।
सन् २०१८ मा रिजर्भ ब्याङ्कले जारि गरेको एउटा सर्कुलरले त्यस्ता मुद्राका जोखिमलाई ध्यान दिदैँ भर्चुअल मुद्राको कारोबारलाई रोक लगाउने निर्णय गरिएको जनाएको थियो।
त्यसबाहेक सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन अन्तर्गत पनि क्रिप्टो कारोबारलाई नियमन गर्ने गरिएको छ।
सन् २०२० मा भारतको सर्वोच्च अदालतले क्रिप्टोकरेन्सीको पक्षमा उक्त प्रतिबन्ध उल्टाउँदै एउटा निर्णय दिएको थियो।
तर पनि करको स्वघोषणासहित कतिपय कठोर प्रावधानहरूका कारण भारतमा क्रिप्टोको कारोबार सहज नरहेको जानकारहरूले बताउने गरेको पाइन्छ।
शनिवार भारतको संसद्मा प्रस्तुत गरिएको बजेटमा अर्थमन्त्री निर्मला सितारमणले 'भर्चुअल डिजिटल सम्पत्ति'लाई स्रोत नखुलेको सम्पत्तिमा राख्न प्रस्ताव गरेकी छन्।
त्यसलाई क्रिप्टोकरेन्सीमाथि थप कडाइ गर्ने सरकारको प्रयासका रूपमा कतिपयले अर्थ लगाइरहेका छन्।
क्रिप्टोकरेन्सी के हो?
क्रिप्टोकरेन्सी भनेको भर्चूअल मुद्रा हो जसको अस्तित्व अनलाइनमा सीमित छ। भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।
यो भर्चूअल मुद्राको कुनै केन्द्रीय ब्याङ्क हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन।
संसारभरिका कम्प्युटरमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।
क्रिप्टोकरेन्सीको प्रयोग गरी सरसामान खरिद गर्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ।
सबै क्रिप्टोकरेन्सी ब्लकचेन भनिने प्रविधिमा आधारित हुन्छन्। सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो।
बिटकोइनको संस्थापन श्रेय सातोशी नाकामोतोलाई दिइएको छ। तर रोचक कुरा के छ भने सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।
हालसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सी अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम पनि जारी छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।