तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा रोकिएन क्रिप्टो कारोबार, भीपीएनको प्रयोगले 'पत्ता लगाउन कठिन'
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ। नेपालमा प्रतिबन्धित भए पनि भर्चूअल मुद्राको कारोबार नरोकिएको अधिकारीहरूले बताएका छन्।
राजस्व अनुसन्धान विभागले विदेशी मुद्राको कारोबारमा प्रयोग गरिएका ब्याङ्क खाताहरूको अनुसन्धान गर्ने क्रममा २७ र ३० वर्षका दुई युवकले क्रिप्टोमा लगानी गरिरहेको थाहा भएको जनाएको छ।
उनीहरूले विगत एक वर्षमा नौ करोड रुपैयाँ बराबरको कारोबार गरेको ब्याङ्क स्टेटमेन्टबाट देखिएको विभागका महानिर्देशक नारायणप्रसाद ढुङ्गानाले बताए।
विदेशी मुद्रा विनिमयसम्बन्धी कानुनअनुसार उनीहरूलाई कैद र जरिबाना माग गर्दै विभागले बिहीवार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। अदालतले अरोपितहरूलाई आइतवार बोलाएको बुझिएको छ।
कारोबारमा संलग्न मुख्य आरोपितलाई बिगोको तीनगुना बढी अर्थात् २७ करोड ९६ लाख रुपैयाँ जरिबाना र तीन वर्ष कैद र कारोबारका लागि आफ्नो ब्याङ्क खाता दिएका अर्का व्यक्तिलाई त्यसको आधा अर्थात् १३ करोड रुपैयाँ जरिबाना र डेढ वर्ष महिना कैद सजायको माग गरिएको छ।
“उनीहरूले यूएसडीपी कोइनकोकारोबार गरिरहेको बरामद उपकरणहरूबाट देखिएको छ र बयानका क्रममा स्वीकार पनि गरेका छन्,” विभागका सूचना अधिकारी नवराज अधिकारीले भने।
क्रिप्टो कारोबारमा संलग्न भनिएका व्यक्तिले बाइनान्स नामक एप प्रयोग गरेर 'पीअर टू पीअर' (P2P) च्यानलबाट क्रिप्टो खरिद र बिक्री गरिरहेको पाइएको विभागको दाबी छ।
ती व्यक्तिले कारोबार गर्ने क्रिप्टोकरेन्सीको एकाइको मूल्य १३२ देखि १४५ नेपाली रुपैयाँसम्म रहेको पाइएको छ।
क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भनिएका दुई जनालाई विभागले गत असोजबाट निगरानीमा राखेर पौष ११ गते झापाबाट पक्राउ गरेको थियो।
पत्ता लगाउन कस्तो चुनौती?
भीपीएन प्रयोग गरेर कारोबार गरिरहेका कारण नेपालबाट कारोबार भए पनि पत्ता लगाउन नसकिने विज्ञहरू बताउँछन्।
"नियमनकारी निकायको आँखा छल्न यस्तो कारोबार गर्नेहरूले फरकफरक व्यक्तिका नाममा खाता खोल्ने तर त्यसको प्रयोग चाहिँ आफूले गर्ने गरेको हाम्रो अनुसन्धानका क्रममा देखिएको छ,” राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुङ्गानाले बीबीबीसी न्यूज नेपालीसँग भने।
उनका अनुसार नेपालमा सङ्गठित रूपमै मानिसहरूले क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको अनुसन्धानबाट देखिएको छ।
राजस्व अनुसन्धान विभागले भन्दा अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा केही व्यक्तिहरूलाई पक्राउ गरिसकेको छ।
“अहिले पछिल्लो प्रवृत्ति हेर्दा पहिले पैसा ल्याउन लैजान हुन्डीको कारोबार हुन्थ्यो अहिले क्रिप्टोबाट त्यस्तो कारोबार भएको अवस्था देखिएको छ। गैरकानुनी भुक्तानी वा सम्पत्ति शुद्धीकरणको लागि क्रिप्टोको प्रयोग भएको देखिन्छ,” आफ्नो अनुसन्धानबारे सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले भने।
कसरी हुन्छ कारोबार?
प्रहरीका अनुसार विदेशमा बस्ने नेपाली र विदेशीहरूको सहयोग र संलग्नतामा नेपालमा रहेर क्रिप्टोकरेन्सीको कारोबार हुने गरेको पाइएको छ।
“विदेशमा भएका मानिसहरूले क्रिप्टो किनेर उनीहरूको खातामा हालिदिने उनीहरूले नेपालमा बसेर कारोबार गर्ने गरेको पाइएको छ,” आचार्यले भने।
पछिल्लो समय सुनको अवैध कारोबार गर्नेहरूले पनि भुक्तानीका लागि क्रिप्टोको प्रयोग गर्ने गरेको देखिएको प्रहरीको दाबी छ।
क्रिप्टो बिक्रीबाट पैसा ल्याउँदा हुने निगरानी छल्न यस्तो पैसाबाट मानिसहरूले सुनजस्ता बहुमूल्य वस्तु किनेर अवैध रूपमा भित्र्याउने प्रयास गरिरहेको अधिकारीहरू बताउँछन्।
“एउटा वैदेशिक रोजगारीमा रहेका मानिसहरूलाई प्रभावमा पारेर उनीहरूको खातालाई दुरुपयोग गरेर त्यसपछि नेपालको प्रविधिको प्रयोग गरेर कानुनी छिद्रबाट सरकारको दृष्टि नपुग्ने क्षेत्रहरूको उपयोग गर्ने गरेको देखिन्छ,” राजस्व अनुसन्धान विभागका ढुङ्गाना भन्छन्।
“क्रिप्टो भन्नेबित्तिकै डलरमा खाता आवश्यक हुने भएकाले डलर खाता प्रयोगको अनुमति भएका मान्छेहरूमार्फत् यसमा प्रवेश गरेर त्यसको सञ्जालभित्र किनबेच गरेर भुक्तानी प्रणालीमा नेपालका डिजिटल पेमन्ट गेटवेहरूबाट भुक्तानी गरेको पनि देखियो।”
विभागका अनुसार यस्तो कारोबारमा विदेशमा रहेका नेपालीहरूको सहयोगबारे थप अनुसन्धान भइरहेको छ।
विभागले शङ्कास्पद खाता र शङ्कास्पद व्यक्तिहरूको निगरानी गरिरहेको जनाएको छ।
कानुनी व्यवस्था कस्तो छ?
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले क्रिप्टोकरेन्सी कारोबारको अभियोगमा पक्राउ गरेर मुद्दा दायर गरेका व्यक्ति फितलो कानुनी व्यवस्थाका कारण अदालतको आदेशबाट रिहा भएका थिए।
“क्रिप्टोकरेन्सीको प्रत्यक्ष कारोबार यहाँ नदेखिने भएको कारणले गर्दाखेरि अदालतबाट सफाइ पाएको अवस्था चाहिँ छ,” प्रहरीका वरिष्ठ उपरीक्षक आचार्य भन्छन्।
यद्यपि प्रयोग भएका उपकरण, कम्प्युटर सफ्टवेअरजस्ता सामग्री बरामद भएबाट नेपालबाट यस्तो कारोबार भएको देखिएको आचार्य बताउँछन्।
राजस्व अनुसन्धान विभागले क्रिप्टो कारोबारमा संलग्नलाई विदेशी मुद्रा अपचलनको मुद्दा दायर गरेको छ।
विभागका महानिर्देशक ढुङ्गाना यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न सकिने कानुनी आधार रहेको बताउँछन्।
“तिनीहरूलाई कारबाहीको दायरामा ल्याउनै नसक्ने अवस्था चाहिँ छैन। कानुनी व्यवस्था छ,” ढुङ्गानाले भने।
राष्ट्रब्याङ्कको भूमिका के छ?
यसअघि नेपालमा क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध घोषणा गर्दै त्यस्तो मुद्रामा लगानी नगर्न नेपालीहरूलाई आग्रह गरेको राष्ट्र ब्याङ्कले वित्तीय कारोबारका आधारमा त्यस क्षेत्रमा लगानी भए नभएको विषयमा निगरानी गरिरहेको जनाएको छ।
राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्ट यसबारे जनचेतनाका कार्यहरू भइरहेको बताउँछन्।
“यदि कसैबाट यसबारे जानकारी माग भएमा राष्ट्र ब्याङ्कले आफ्नो तरिकाले आफ्नो ढङ्गले सहयोग पुर्याउने र सम्बन्धित ब्याङ्कहरूलाई पनि लेख्ने काम गरिरहेको हुन्छ,” उनले भने।
सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना सङ्कलनका लागि नेपाल राष्ट्र ब्याङ्कअन्तर्गत गठन भएको वित्तीय जानकारी एकाइले क्रिप्टोकरेन्सीमा भइरहेका सम्भावित लगानी र त्यसबाट भएको आयआर्जनबारे सूचना सङ्कलन गरिरहेको भट्टले दाबी गरे।
यस्तो कारोबारबारे अनुसन्धान गर्ने अन्य सरकारी निकायहरूले माग गरेको अवस्थामा राष्ट्र ब्याङ्कले त्यसको सूचना सम्बन्धित निकायलाई दिने गरेको उनको भनाइ छ।
“यसमा व्यक्ति आफैँ सजग हुनुपर्छ। किनभने गैरकानुनी गतिविधिमा संलग्न भइसकेपछि भोलि नोक्सानी भएको अवस्थामा व्यक्ति आफैँ जिम्मेवार हुनुपर्छ। दोस्रो भनेको राज्यको कानुनले वर्जित गरेको काममा संलग्न हुँदा भोलि कानुनी कारबाही पनि भोग्नुपर्ने हुन सक्छ। विदेशमा बस्ने व्यक्ति यस्तो काममा लागेको अवस्थामा परिवारले पनि रेमिट्यान्सबाट पाउने लाभ गुमाउन सक्छ,” उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।