बालबालिका किन समय सुस्त गतिमा बितेको जस्तो अनुभव गर्छन्

कारमा सवार एक परिवार, कलात्मक चित्र

तस्बिर स्रोत, Edouard Taufenbach and Bastien Pourtout

    • Author, क्रुपा पाध्ये
    • Role, बीबीसी फ्यूचर

मेरो घरमा समय ढिलो गतिमा चल्छ कि चाँडो भन्ने विषयमा बहस भइरहन्छ।

"कारमा भएका बेला समय ढिला चल्छ," मेरो छोरो भन्छ।

"होइन!" मेरी छोरी जबाफ दिन्छे, "म अतिव्यस्त भएकाले समय ढिलो हुनै पाउँदैन। तर सप्ताहान्तमा हामी सोफामा बसेर चलचित्र हेरिरहेका बेला चाहिँ त्यस्तो हुन्छ कि?"

तर क्रिस्मस र उनीहरूको जन्मदिन पछिका दिनहरू सुस्त हुने कुरामा दुवै जना सहमत छन्। किनकि उनीहरूले पुन: उत्सव मनाउन सिङ्गै एक वर्ष कुर्नुपर्ने अनुभव गर्छन्। उनीहरूको उमेरमा एक वर्ष भनेको निकै लामो लाग्छ।

मेरो पनि त्यस्तो सम्झना छ। गर्मीको छुट्टीमा पानीमा खेल्दा, भर्खर छाँटिएको चौरमा दौडँदा वा चर्को घाममा कपडा सुकाउँदा समय निकै सुस्त गतिमा अघि बढेको जस्तो लाग्थ्यो।

टरिजा म्याकोर्म्याक नोर्दन आयरल्यान्डको बेल्फास्टस्थित क्विन्स विश्वविद्यालयमा संज्ञानात्मक विकाससम्बन्धी अध्यापन गराउँदै आएकी मनोविज्ञान विषयकी प्राध्यापक हुन्।

उनको विचारमा केटाकेटी र समयको सम्बन्धबारे धेरै कम अध्ययन भएको छ। उनले लामो समयदेखि बालबालिकाको शरीरको आन्तरिक घडी वयस्कको तुलनामा भिन्न गतिमा चल्छ कि चल्दैन भन्ने विषयमा अध्ययन गर्दै आएकी छन्। तर अझै जबाफ कम तर प्रश्न धेरै भएको स्थिति छ।

"केटाकेटीलाई विगत र भविष्यको भेद ठ्याक्कै कहिले थाहा हुन्छ भन्ने हामीलाई थाहा छैन। यो अनौठो कुरा हो। किनकि वयस्कका रूपमा यसैले नै हाम्रो सोच्ने तरिकालाई ढाँचा प्रदान गर्छ," उनी भन्छिन्।

उनका अनुसार बालबालिकाले समयको तहलाई कहिलेबाट बुझ्न थाल्छन् भन्ने हामीलाई थाहा छैन। तर उनीहरूले खाने र सुत्ने समयबारे संवेदनशील हुन्छन्। यद्यपि, यो तहगत समयबारे वयस्क मानिसको जस्तो बुझाइ होइन।

बालबालिकाको ठिक विपरीत वयस्कहरू भने परम्परागत घडी र क्यालेन्डर प्रणालीको ज्ञानको आडमा कुनै पनि घटना घटेको समयको विन्दुबारे सोच्न सक्छन्। यसमा 'सिमान्टिक्स'ले पनि अर्थ राख्छ। "बालबालिकालाई भने समय जनाउने अघि, पछि, हिजो र भोलिजस्ता शब्दहरू पूर्ण रूपमा बुझ्न समय लाग्छ," म्याक्कोर्म्याक भन्छिन्।

उनका विचारमा समयबारेको हाम्रो बुझाइ हामीलाई कहाँ र कसरी सोधिन्छ भन्ने कुरामा निर्भर हुन्छ। "हामीलाई अहिले भइरहेको घटनाका बारेमा सोधिएको हो कि विगतको कुरा सोधिएको हो?," उनी सबैले बुझ्ने किसिमको उदाहरण प्रस्तुत गर्दै भन्छिन्, "अहिले मलाई एकपटक आँखा झिमिक्क पार्दा मेरो बच्चा हुर्कियो भनेझैँ लाग्छ। तर उसलाई हुर्काउँदै गर्दाका दिनको कुरा गर्ने हो भने हरेक दिन कहिल्यै नटुङ्गिनेजस्तो लामो लाग्थ्यो।"

एउटा बालक र कुकुर बाहिर खेल्दै, कलात्मक चित्र

तस्बिर स्रोत, Edouard Taufenbach and Bastien Pourtout

तस्बिरको क्याप्शन, हुर्किँदै जाँदा केटाकेटीले समयको गति र अवधि कसरी जोडिएका हुन्छन् भन्ने थाहा पाउँछन्

मानिसहरूले आ–आफ्नै तरिकाले समयको गति र अवधिलाई हेर्न सिक्ने अध्ययनहरूले देखाएका छन्। छ वर्षभन्दा साना केटाकेटी कुनै कक्षा कति छिटो सकियो भन्ने थाहा पाउन सक्षम हुन्छन्। तर उनीहरूको बुझाइ वास्तविक अवधिभन्दा पनि भावनात्मक कुरासँग अधिक सम्बन्धित हुन्छ। यी दुवैको अन्तरसम्बन्धबारे उनीहरूले पछिमात्रै थाहा पाउँछन्।

यहाँनेर गएर स्मृतिको कुरा आउँछ।

धेरैजसो अध्ययनहरू हाम्रो समयसम्बन्धी संज्ञान कसरी हाम्रो मस्तिष्कले भण्डारण गरेका स्मृति र अनुभवमा आधारित छन् भन्ने विषयमा केन्द्रित छन्। यो विषयले बुडापेस्टस्थित एटभोस लोर्‍यान्ड विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक जोल्टन नाडास्डीलाई लामो समयदेखि आकर्षित गर्दै आएको छ।

सन् १९८७ मा एकजना स्नातक विद्यार्थीका रूपमा नाडास्डीले आफ्ना सहपाठीहरूलाई समयलाई हेर्ने बालबालिका र वयस्कको दृष्टिकोणसम्बन्धी स्थलगत अध्ययनमा सहभागी हुन सहमत गराए।

दुर्घटना भएका बेला समय किन फैलिएजस्तो लाग्छ? भन्नेजस्ता विषयबारे उनी जान्न चाहन्थे। यो अत्यन्तै समान्य परीक्षण थियो। उनीहरूले बालबालिका र वयस्कको समूहलाई दुईवटा भिडिओ देखाए। दुवै भिडिओ एक मिनेट अवधिको थियो। त्यपछि उनीहरूलाई कुन भिडिओ लामो र कुन छोटो थियो भनेर सोधियो।

तीन दशकपछि नाडास्डी र उनको समूहले तीन उमेर समूहमा सोही परीक्षण दोहोर्‍यायो। तिनीहरूले यसपटक एउटा पुलिसले चोरलाई लखेटिरहेको 'एक्सन'ले भरिएको भिडियो देखाए भने अर्को मानिसहरूले नदीमा डुङ्खा खियाइरहेको भिडिओ देखाए। उनीहरूलाई हातले इसारा गरेर अवधिको सङ्केत गर्न भनियो। "चारदेखि पाँच वर्ष उमेरका बालबालिकाले 'एक्सन'वाला भिडिओ लामो र अर्को झर्कोलाग्दो भिडिओ छोटो भएको बताए भने अधिकांश वयस्कले ठिक उल्टो अनुभव गरेको बताए।"

उनीहरूले सहभागिहरूले समयको बहाबलाई कसरी बुझेका छन् भन्ने थाहा पाउन हातको सङ्केतको प्रयोग गरेका थिए। तीनवटै समूहले समयको गति तेर्सो बाटो 'हरिजेन्टल' स्वरूपको बहाबको सङ्केत गरेको देखियो।

नाडास्डीका अनुसार यस परीक्षणले समयको अनुमान गर्ने सम्वेदात्मक अङ्गको अभावमा मानिसले अनुमानको प्रयोग गर्ने देखाएको बताए।

"समयको बारेमा हाम्रो प्रत्यक्ष अनुभव जहिल्यै अप्रत्यक्ष हुन्छ। त्यसैले हामी समयसँग सम्बन्धित प्रतीत हुने कुराहरूको भर पर्छौँ," उनी भन्छन्, "मनोविज्ञानमा यसलाई 'ह्युरिस्टिक्स' अर्थात् अनुभवमा आधारित अनुमान भनिन्छ। केटाकेटीहरूले यसलाई कसरी बुझ्न सक्छन्? यसबारे कति कुरा गर्न सक्छन्?"

केटाकेटीहरू विद्यालय जान थालेपछि उनीहरूको समयसम्बन्धी धारणा पनि फेरिन्छ। त्यहाँ उनीहरू समयवद्धता र वास्तविक समयको अवधारणासँग परिचित हुन्छन्। "यसले उनीहरूलाई समयको अनुभव गराउने होइन। पहिलेको अनुभवमा आधारित अनुमानलाई नयाँ अनुमानले प्रतिस्थापित मात्रै गरिदिने हो। विद्यालय जाँदा तपाईँ एकदम समयबद्ध हुनुहुन्छ। त्यहाँ तपाईँको दिन पूर्ण नियन्त्रित हुन्छ।"

म्याकोर्म्याक बालबालिकाको समयसम्बन्धी अवधारणमा थप दुई तत्त्वले भूमिका खेल्ने बताउँछिन्। "पहिलो त उनीहरूको नियन्त्रण प्रक्रिया वयस्कको जस्तो हुँदैन," उनी भन्छिन्, "उनीहरू अधिक अधैर्य हुन सक्छन् र पर्खने कुरा उनीहरूका निम्ति कठिन हुन सक्छ। अर्को यो ध्यान दिने प्रक्रियासँग पनि जोडिएको हुन सक्छ। तपाईँ समय बितिरहेको कुराबारे जति ध्यान दिनुहुन्छ, तपाईँलाई यसको बहाब उति नै सुस्त लाग्छ।"

बाहिरपट्टी खेलिरहेको एक बालक, कलात्मक चित्र

तस्बिर स्रोत, Edouard Taufenbach and Bastien Pourtout

तस्बिरको क्याप्शन, समयलाई हामीले कसरी अनुभव गर्छौँ भन्ने कुरालाई हाम्रा इन्द्रियहरूले पनि प्रभावित तुल्याउन सक्छन्, खासगरी हामीले एकैसाथ धेरै कुराहरू देखेका बेला यस्तो हुने गर्छ

फ्रान्सस्थित क्लेरमोँ अभानिआँ विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक सिल्भी द्रोइ–भोलेट र यूकेस्थित किली विश्वविद्यालयका सोही विषयका प्राध्यापक जोन वेर्डनको अध्ययनले पनि सोही कुरा वयस्कमा पनि लागू हुने पत्ता लगाएको छ।

उक्त अध्ययनका अनुसार मानिसको दैनिक जीवनमा समय कसरी बित्छ भन्ने अनुभव उसको उमेरसँगै नभइ भावनात्मक स्थितिसँगै बदलिइराख्छ। सरल शब्दमा भन्दा तपाईँ खुसी हुनुहुन्छ भने समय छिटो बित्छ। तपाईँ दु:खी हुनुहुन्छ भने तन्किन्छ।

त्यसको राम्रो उदाहरण लकडाउनको समयमा भेटियो। त्यसक्रममा अनुसन्धानकर्ताहरूले धेरै तनावमा रहेका, गतिविधिहरूमा कम संलग्न र वृद्ध हुँदै गरेका मानिसहरूले समय ढिला बितेको अनुभव गरेको पाए।

चलचित्र हेरेर पनि यसको प्रभाव ल्याउन सकिन्छ। उदाहरणका निम्ति तर्साउने किसिमका चलचित्र हेर्दा वा घिनलाग्दो चित्र हेर्दा समय सुस्त भएझैँ लाग्छ। अन्य अनुसन्धानहरूले पनि एकदम हतार भएका बेला ढिलो गुड्ने रेलमा यात्रा गर्नुजस्ता खराब अनुभवका क्रममा पनि पनि शान्त यात्राको तुलनामा अधिक समय लागेझैँ हुन्छ।

नोर्थ क्यारोलाइनास्थित ड्यूक विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङ विषयका प्राध्यापक एड्रिअन बेजनका अनुसार हाम्रो उमेर बढेसँगै र हाम्रो शरीरमा आउने ह्रासले पनि समयलाई हेर्ने हाम्रो तरिकालाई प्रभाव पार्न सक्छ। "रचनात्मक नियम" भनेर चिनिने यस विषयको परीक्षण उनले "जीवनको भौतिकी" विषयक वृहत अध्ययनका क्रममा गरेका थिए।

"हाम्रो मस्तिष्कले सबैभन्दा ठूलो सूचना दृष्यको माध्यमबाट प्राप्त गर्छ। त्यो रेटिनामार्फत् मस्तिष्कमा पुग्छ," बेजन भन्छन्, "हाम्रो मस्तिष्कले 'अप्टिकल नर्भ' अर्थात् रेटिनामार्फत् मस्तिष्कसम्म सूचना पुर्‍याउने स्नायुका माध्यमबाट चलचित्रको फ्रेमजस्तै 'स्न्यापसट' अथवा दृष्यात्मक सूचना प्राप्त गर्छ। शैशवकालमा मस्तिष्कको विकास हुन्छ र यो त्यस्ता थुप्रै 'स्न्यापसट' प्राप्त गर्न अभ्यस्त भएको हुन्छ। तर वयस्क भएसँगै शरीर ठूलो हुन्छ। रेटिना र मस्तिष्कबीचको दूरी पनि दोब्बर हुन पुग्छ। थुप्रै शाखाहरू पनि विकसित हुने भएकाले यसले प्रसारणको बाटोलाई थप जटिल बनाइदिन्छ। त्यसका साथै उमेरसँगै यस प्रणालीसम्बन्धी हाम्रो अनुभवमा पनि ह्रास आउँछ।"

उमेर हुँदै जादाँ हामीले इन्द्रियहरूमार्फत् प्राप्त गर्ने "मानसिक चित्रहरू"मा पनि कमी आउने बेजन बताउँछन्। समान समयावधिमा हामीले अनुभव गर्ने सजीव क्षणहरूमा कमी आएसँगै हामीलाई आफू केटाकेटी हुँदाको बेलाभन्दा समय छिटो बितेझैँ भान हुन्छ।

अध्ययनहरूले उमेर हुँदै जाँदा 'अप्टिक नर्भ'मा ह्रास आएसँगै त्यसले सूचना प्रवाहको प्रक्रियालाई सुस्त बनाउन सक्ने वा यसको कार्य क्षमतामा असर पुग्न सक्ने सुझाएका छन्। तर, यसलाई पूर्ण रूपमा बुझ्न थप अध्ययन आवश्यक छ।

तपाईँ के कुरालाई हेर्दै हुनुहुन्छ भन्ने कुराले पनि अर्थ राख्छ। दृष्यको आकार, सजिलै सम्झन सकिने छ कि छैन वा कति स्पष्ट वा अस्पष्ट छ भन्ने जस्ता हामीले देखेका दृष्य वा सामग्रीले पनि समयलाई हेर्ने हाम्रो धारणालाई प्रभावित तुल्याउन सक्छन्। भर्जिनिआको फेअरफक्सस्थित जोर्ज मेशन विश्वविद्यालयका मनोवैज्ञानकिहरूले ठूला र सरल दृष्य देख्दा समय लम्बिएझैँ लाग्ने र अस्तव्यस्त र व्यस्त दृष्य देखेका बेला समय छोटिएझैँ लाग्ने पत्ता लगाएका छन्।

हाम्रो मुटुले पनि मस्तिष्कलाई समयको अवधिबारे अन्तरसंवेदात्मक सन्देश दिन्छ। हाम्रो मुटुको धड्कनअनुरूप कुनै पनि घटना महसुस हुने अवधि पनि परिवर्तन हुन सक्छ। यदि साँच्चिकै यसले हाम्रो समयसम्बन्धी अनुभवमा मुख्य भूमिका निर्वाह गर्छ भने उमेरसँगै मुटुको चाल घट्दै जाने कुरा सायद संयोगमात्रै होइन। जन्मेको केही महिनामा हाम्रो मुटुको चाल उत्कर्षमा पुग्छ र उमेरसँगै बिस्तारै घट्न थाल्छ।

हामीमध्ये धेरैजसोको हकमा उमेर बढेसँगै दैनिकी पनि कठोर हुँदै जान्छ। अध्ययनले हामीले जति धेरै समयको दबावको सामना गर्छौँ, पट्यार मान्छौँ, एकै किसिमको दैनिकी पछ्याउँछौँ वा वर्तमानभन्दा भविष्यबारे केन्द्रित हुन्छौँ, त्यस्तो अवस्थामा समय चाँडै बितेको महसुस हुन्छ।

तपाईँ वर्तमानमा के गर्दै हुनुहुन्छ भन्ने कुरा पनि समयसम्बन्धी हाम्रो बुझाइसँग प्रबल रूपले जोडिएको हुन्छ। त्यसमा उमेरले फरक पार्दैन। कुनै पनि चुनौतीपूर्ण कार्य गर्न कति समय लाग्छ भन्ने कुरालाई हामीले राम्ररी आँकलन नगर्दा मानसिक कार्यको दबाव बढ्नासाथ हामीलाई समय चाँडो बितेझैँ लाग्न थाल्छ।

उदाहरणका निम्ति दुई साता लामो र एकदम रमाइलो 'समर क्याम्प'लाई लिऔँ। त्यो क्षण विद्यालयमा बिताइएका सम्पूर्ण समयभन्दा स्मरणयोग्य हुन सक्छ। नाडास्डी उक्त 'समर क्याम्प'को स्मृतिले हाम्रो मस्तिष्कको ठूलो हिस्सा ओगट्ने उच्च सम्भावना हुने भएकाले त्यस्तो भएको हुन सक्ने अर्थ लगाउँछन्। उनका अनुसार छोटो समय अवधिमा धेरै रोमाञ्चक कुरा घटित हुने भएकाले त्यस्तो हुन्छ।

"कुनै पनि निश्चित समयअवधिका बेला वास्तवमा के भएको थियो भन्ने कुराबारे मानिसहरूको धारणा उनीहरूले सम्झन सक्ने नयाँ र स्मरणयोग्य घटनाहरूमा निर्भर रहेको हुन सक्छ," म्याककोर्म्याक भन्छिन्, "उदाहरणका लागि, "यदि तपाईँ उमेर पुगेको वयस्क हुनुहुन्छ भने बितेको एक दशकमा तपाईँको जीवन नै परिवर्तन गर्ने किसिमका ठूला घटना नभएका हुन सक्छन्।" यदि त्यस्ता घटना भएका छन् भने तिनको स्मृति 'समर क्याम्प'को सम्झनाजस्तै मस्तिष्कमा टाँसिएर बसेका हुन्छन्।

त्यसो भए के वयस्कहरूले बाल्यावस्थाको जस्तै समयलाई सुस्त बनाउन सक्छन्? केही अध्ययनहरूले नियमित र सक्रियताका साथ शारीरिक व्यायम गरेमा त्यसले समयलाई सुस्त महसुस गराउन मद्दत गर्न सक्ने औँल्याएका छन्। तर धेरै कसरत गरिएको खण्डमा थकानका कारण उल्टो अनुभव हुन सक्छ।

बेजनसँग अन्य सरल उपायहरू पनि छन्।

"अहिलेको नियमित दिनचर्याबाट बाहिर निस्कन र केही नयाँ कुरा गर्न स्वयंलाई बाध्य पार्नुस् र समयलाई केही सुस्त बनाउनुहोस्," स्वयंलाई आश्चर्यमा पार्नुहोस्। अनियमित कार्यहरू गर्नुहोस्। कुनै रमाइलो चुट्किला सुन्नुभएको छ? मलाई सुनाउनुहोस्। नयाँ विचारहरूमा काम गर्नुहोस्। केही बनाउनुहोस्। केही सुनाउनुहोस्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।