तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रेड सीमा ग्रीक पानीजहाजमाथि 'क्षेप्यास्त्र हमला'
ग्रीक स्वामित्वको माल्टाको झण्डावाहक एउटा पानीजहाजमाथि रेड सीमा यमनको तटभन्दा पर क्षेप्यास्त्र हमला गरिएको जलसुरक्षा कम्पनी अम्ब्रेले जनाएको छ।
चौबीस घण्टाभित्रै यो उक्त विशाल मालवाहक पानीजहाजसँग सम्बन्धित तेस्रो घटना भएको ठानिएको छ।
जोग्राफिया नाम भएको ठानिएको उक्त पानीजहाजमा सामान्य क्षति पुगेको बताइएको छ।
हूथी लडाकुहरूले सोमवार सोही प्रकृतिको पानीजहाजमाथि हमला गरेको बताएका थिए।
मङ्गलवार अमेरिकी सेनाले एक कारबाहीका क्रममा गत साता हूथी विद्रोहीहरूतर्फ पठाइँदै गरेका इरानमा निर्मित हतियारहरू जफत गरिएको भनेर घोषणा गर्दैगर्दा थप क्षेप्यास्त्र हमला भएका हुन्।
अमेरिकी सेनाका अनुसार बलिस्टिक र क्रूज क्षेप्यास्त्रका पार्टपुजा लगायतका उपकरण बरामद गरिएको हो।
उक्त कारबाहीमा पाँच दिन लागेको थियो। हवाई प्रतिरक्षासम्बन्धी उपकरणहरू पनि बरामद गरिएको अमेरिकाले जनाएको छ।
अमेरिकाको थप हमला
अमेरिकाले हूथी नियन्त्रित यमनी भूभागमा थप प्रहारहरू गरेको छ।
बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई एक अधिकारीले बताएअनुसार अमेरिकाले सोमवार राति हूथी आधारहरूमा थप हमला गरेको थियो।
इरानको साथ रहेको उक्त विद्रोही समूहले रेड सीमा पानीजहाजहरूमाथि प्रहार गर्न थालेपछि ११ ज्यानुअरीमा अमेरिका र यूकेले हुथिहरूविरुद्ध कैयौँ हमलाहरू गरेका थिए।
तर पछिल्लो अमेरिकी कारबाहीमा कहाँकहाँ प्रहार गरियो भन्ने चाहिँ अहिलेसम्म खुलाइएको छैन।
हूथीहरू के भन्छन्?
हूथीहरूले बदला लिइने बताइरहेका छन्।
अमेरिकाले भने आइतवार यमनको हूथी क्षेत्रबाट आफ्नो एक युद्धपोततर्फ प्रहार गरिएको क्षेप्यास्त्र खसालिदिएको जनाएको छ।
इजरेल-हमास युद्ध सुरु भएपछि त्यसको विरोधस्वरूप भन्दै नोभेम्बरयता हूथी समूहले कैयौँ पानीजहाजलाई निशाना बनाएको छ।
हूथीहरूले भने आफूले इजरेली स्वामित्वको, उसको झण्डावाहक वा उसद्वारा सञ्चालित वा इजरेली बन्दरगाहतर्फ गइरहेका पानीजहाजलाई निशाना बनाएको बताएका छन्।
यद्यपि इजरेलसँग कुनै सम्बन्ध नभएका कैयौँ निशानामा परेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।