तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बख्मुत सहरबाट रुस ‘पछि हटेको’ युक्रेनी दाबी, रुस भन्छ- ‘कब्जा गर्न लाग्यौँ’
पूर्वी डोनेट्स्क क्षेत्रमा पछिल्लो चौबीस घण्टामा गरिएका कैयौँ हमलालाई विफल पारिएको युक्रेनी सेनाले जनाएको छ।
रुसी सेनाले चाहिँ रुस र युक्रेनबीच धेरै महिनादेखि लडाइँको केन्द्र रहेको बख्मुतलाई कब्जा गर्न लागिएको दाबी गरेको छ।
रुसको भाडाका सैनिक वाग्नरका प्रमुखले उक्त सहरलाई सीमित मार्गबाट मात्र बाहिर निस्कन मिल्नेगरी "व्यावहारिक रूपमा घेरिएको" दाबी गरेका छन्।
यसैबीच किएभमा अस्त्र भण्डार सकिँदै गएका बेला अमेरिकाले त्यसलाई पूर्ति गर्न थप ४० करोड डलर बराबरको सैन्य सहायताको घोषणा गरेको छ।
बख्मुतको अवस्था
युक्रेनको स्थल सेनाका कमान्डर जेनेरल ओलेक्सान्डर सिर्स्कीले अग्रमोर्चालाई कसरी मजबुत पार्ने भन्नेबारे विचार गर्नका लागि स्थानीय कमान्डरहरूसँग कुराकानी गर्न शुक्रवार बाख्मुतको भ्रमण गरेका थिए।
रुसी सेनाले ६ महिनाभन्दा लामो समयदेखि उक्त सहर कब्जा गर्ने प्रयास गरिरहेको छ।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यसैसाता पूर्वी क्षेत्रको अग्रमोर्चामा स्थिति "झन् कठिन" हुँदै गइरहेको चेतावी दिएका थिए।
अहिलेका लागि युक्रेनको मुख्य चिन्ताको विषय भनेको उसको निरन्तर घट्दो अस्त्र भण्डार हो।
अहिले युक्रेन र रुसबीच उच्च-तीव्रताका साथ युद्ध भइरहेको छ र त्यो सुस्त हुने कुनै सङ्केत देखिएको छैन।
अमेरिकी सैन्य सहायता
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले युक्रेनलाई दिइने पछिल्लो सैन्य सहायता प्याकेजमा हाइमार्स रकेटहरू समावेश भएको बताएका छन्। ती अस्त्रहरूलाई युक्रेनले प्रभावकारी रूपमा प्रयोग गरिरहेको उनको भनाइ छ।
राष्ट्रपति जेलेन्स्कीले पहिले "रुसलाई रोक्न"का लागि अस्त्रहरू आवश्यक परेको बताएका थिए।
अमेरिकाले युक्रेनमाथि हुनसक्ने अपेक्षित आक्रमणभन्दा पहिले त्यहाँ रणनीतिक पुलहरू पनि पठाउँदैछ।
त्यस्ता उपकरणहरूले बख्तरबन्द गाडीहरूलाई नदी र खाडलहरू पार गर्न सहज बनाउने बताइएको छ।
युक्रेनी सैन्य अधिकारीहरू र विज्ञहरूले आगामी हप्ताहरूमा ती उपकरणहरू सञ्चालन गर्न सकिने बताएका छन्।
खार्किभमा मानिसहरूलाई बाहिर निस्कन दिइयो
यसैबीच सेप्टेम्बरमा रुसको कब्जाबाट मुक्त गरिएको खार्किभ क्षेत्रको उत्तर-पूर्वी सहर कुपियान्स्कमा बिहीवार आंशिक रूपमा मानिसहरूलाई बाहिर निस्कन दिइएको थियो।
क्षेत्रीय अधिकारीहरूले बालबालिका भएका परिवार र "सीमित रूपमा मात्र हिडडुल गर्न सक्ने" मानिसहरूले रुसी सेनाको "निरन्तर"को गोलाबारीबाट बच्न त्यो क्षेत्र छाड्नुपर्ने बताएका छन्।
अमेरिकी विदेशमन्त्रीले शुक्रवार वक्तव्य जारी गर्दै पछिल्लो सैन्य सहायताका क्रममा हाइमर्स रकेटहरू युक्रेन पठाउने बताएका थिए।
युक्रेनले अस्त्रको अभाव खेपिरहेको अमेरिकी सञ्चारमाध्यमहरूमा आइरहेका बेला उसले नयाँ सैन्य सहायताको घोषणा गरेको हो।
यद्यपि युक्रेनी सेनाले सार्वजनिक रूपमा अस्त्र अभाव भएको बताएको छैन।
युक्रेनी राष्ट्रपतिले आफूहरूलाई गोलाबारुद तथा लडाकु जहाजहरू आवश्यक परेको बताएका छन्।
जर्मन चान्सलर ओलाफ शोल्ट्सको अमेरिका भ्रमणका बेला शुक्रवारको वार्तामा पनि अमेरिकी राष्ट्रपति जो बाइडन र उनीबीच युक्रेनलाई दिइने सैन्य सहायतामा केन्द्रित हुने ठानिएको छ।
युक्रेनलाई अस्त्र दिनका लागि पश्चिमी शक्तिहरूले विभिन्न प्रतिबद्धता जनाएका छन् तर त्यस अनुसार अस्त्रहरू चाँडै पठाउन किएभले आग्रह गरिरहेको छ।