तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा कम्तीमा आठ जनाको मृत्यु
काठमाण्डूबाट पोखरा हुँदै म्याग्दीको बेनी र पर्वतका लागि हिँडेको एउटा यात्रुवाहक बस धादिङ जिल्लाको गजुरीनजिकै त्रिशूली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्गबाट गजुरी गाउँपालिका वडा नम्बर २ छहरेमा बुधवार बिहान ११ बजेतिर बस नदीूमा खसेको थियो।
धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा छ पुरुष र दुई महिला छन्।
“बस सडकमा अनियन्त्रित भई करिब ३५ मिटर तल खसेर खोलामा पुगेको देखिन्छ,” डीएसपी जैसवारले बीबीसी न्यूज नेपालीसँग भने।
काठमाण्डूबाट २३ जना चढेको प्रारम्भिक विवरण प्राप्त भए पनि दुर्घटना हुँदा उक्त बसमा कति यात्रु थिए भन्ने निर्क्योल हुन नसकेको घटनास्थलमा पुगेका धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
प्रहरीका अनुसार जीवितै उद्धार गरिएकामध्ये १३ जना घाइते छन्।
उनीहरूलाई उपचारका लागि काठमाण्डू पठाइएको छ।
बर्खाका कारण नदीमा पानीको मात्रा बढेको छ। दुर्घटनाग्रस्त बस नदीमा नै रहेको हुँदा उद्धारकार्य कठिन बनेको प्रहरीको भनाइ छ।
नदीमा कोही हराइरहेको जानकारी नभए पनि उद्धार तथा खोजकार्य अझै जारी राखिएको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपालमा सडक दुर्घटना
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण - २०२२ ले नेपालमा प्रत्येक एक लाख जनसङ्ख्यामा १४ जनाको सडक दुर्घटनामा मृत्यु हुने देखाएको छ।
गत वर्ष मात्र नेपालमा झन्डै ३,००० जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको विवरण छ।
नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारणका रूपमा चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि देखिने गरेको अधिकारी तथा विज्ञले बताउने गरेका छन्।
नेपालका खराब र राम्ररी डिजाइन नगरी बनाइएका सडक समेत दुर्घटनाका लागि जिम्मेवार देखिने गरेको विज्ञहरू बताउँछन्।