तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हत्यारालाई पुनर्शिक्षाः एक रुसी महिलाले पूर्ववाग्नर लडाकुलाई सघाउने निर्णय कसरी गरिन्
- Author, नीना नजारोभा
- Role, बीबीसी न्यूज रसिअन
एउटा सेतो कार रोकिँदा रुसको ट्रान्स-साइबेरीअन राजमार्गछेउमा ५०औँ वसन्त आसपास उमेरका एक व्यक्ति उभिरहेका छन्। उक्त ठाउँ पूर्वी मस्कोदेखि दुई हजार माइल टाढा पर्ने क्रास्नोयार्स्क शहरदेखि टाढा पर्दैन।
उनी फ्रान्स, यूके र अरू देशहरूले आतङ्कवादी मान्ने गरेको वाग्नर समूहको परिचय झल्काउने सैनिक पोसाकमा थिए। उनीसँग पिठयूँमा भिरेका सामान मात्र थिए।
कारभित्र सर्बियाको सानो सहर सोस्नोभोबोर्स्क शहरकी ४८ वर्षीया ओल्गा एन्टिपिना थिइन् जसले रुस-युक्रेन युद्ध मोर्चाबाट फर्केका वाग्नर समूहका पूर्वलडाकुलाई सामान्य जीवनमा फर्काउने निर्णय गरेकी छन्।
राजमार्गबाट उनलाई सँगै लैजानुअघि ओल्गाले भेलेरी मोलोकोभलाई भेटेकी थिइनन्।
ओल्गालाई मोलोकोभको विगतबारे यो थाहा थियो कि युक्रेनविरुद्ध लड्न उनलाई भाडामा लगिएको थियो र ५४ वर्षीय ती पुरुषले हत्याको अभियोगमा सजाय काटिरहेका थिए।
उनको अतीत थाहा पाउँदा पाउँदै उनी सघाउन सहमत भएकी हुन्।
अपराधमा दोषीहरू भर्ना
रुसले सन् २०२२ मा युक्रेनमा अतिक्रमण थालेको चार महिनापछि ठूलो स्तरमा भर्ती सुरु गरेको थियो।
विभिन्न अपराधका करिब ५० हजार दोषी रुसीहरू लडाइँ गर्न गए। उनीहरूलाई ६ महिनाभित्र माफी दिने र लडाइँबाट फर्केपछि ठोस रूपमा नगद दिने भनिएको थियो।
हजारौँ व्यक्ति मारिए। तर धेरै बाँचे अनि घर फर्के।
भाडाका भूतपूर्व वाग्नर लडाकुहरूको फिर्तीबारे रुसमा विचारहरू विभाजित देखिन्छ। किनकि धेरै मानिसहरू तिनीहरूबाट डराउँछन् र उनीहरूलाई लाग्छ अपराधका दोषीहरूलाई युद्धमा लड्न लगाउनु अनैतिक काम हो।
साथै केही भूतपूर्व वाग्नर लडाकुहरूमाथि युक्रेनमा युद्ध अपराध र गैर न्यायिक हत्या गरेका आरोप लागेका छन्।
समय अगावै जेलबाट छुटेका केही पुनः अपराधमा संलग्न भएका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनले क्षमा दिएका आपराधिक पृष्ठभूमिका मानिसहरूले गरेका अपराधका २०० भन्दा धेरै नयाँ मुद्दाहरू दर्ता भएका विवरण सार्वजनिक भएका छन्।
सन् २०२२ को जुलाईमा त्यसको छ महिनाअघि आफ्नी दिदीको हत्या गरेको अभियोगमा भलेरी मोलोकोभले ११ वर्षको सजाय पाएका थिए।
नयाँ वर्षको अघिल्लो दिन रक्सीले मातेपछि दुईजनाबीच झगडा हुँदा उक्त घटना भएको बताइएको छ।
उनले दिदीको अनुहारमा प्रहार गरे र केही घण्टापछि पुनः टाउकोमा प्रहार गरे। भुईँमा लडेपछि समेत भलेरीले आफ्नी दिदीलाई प्रहार गर्न छाडेनन्।
केही घण्टापछि एम्बुलेन्स बोलाइयो। उक्त लडाइँ देखेकी कान्छी बहिनीका अनुसार भलेरीले बहिनीलाई फोन गर्न रोक्दै त्यसको साटो भोड्का पिउन भनेका थिए।
एक सातापछि उनकी जेठी दिदीको अस्पतालमा मृत्यु भयो।
त्यस्तो जघन्य प्रकृतिको अपराध गरे तापनि उनले केही महिना मात्र सजाय झेले र सन् २०२३ को वाग्नरले उनलाई भर्ती गर्दै अग्र मोर्चामा पठायो।
उनी पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रमा पर्ने बख्मुद शहरमा लडे र सन् २०२३ को अगस्टमा घाइते भएपछि रुस फर्किए।
उनीसँग फेरि कहाँ बस्ने वा कसरी सामान्य जीवन बिताउने भन्ने केही थिएन। त्यस बेलै कसैले ओल्गाको नम्बर दिँदै उनले सहायता गर्न सक्ने बतायो।
'एक मात्र उपयोगी काम'
ओल्गासँग जोडिने भलेरी मोलोकोभ वाग्नरका पहिलो भाडाका सैनिक वा दोषी ठहरिएका पहिलो अपराधी थिएनन्।
उनको पूर्व प्रेमीलाई समेत वाग्नरले भर्ती गरेको थियो जो जेलबाट सिधै लड्न जाँदा मारिएका थिए।
उनी जेलभित्रै रहेका बेला यी दुवैबीच कुराकानी भएको थियो र उनीहरू चिठीमार्फत कुरा गर्न थालेका थिए।
जेठबाट छुटेपछि उनीहरू १३ वर्ष सँगै बसेका थिए जस क्रममा उनीहरूका तीन सन्तान भए। तर उनका दिवङ्गत पति निकै रक्सी खान्थे र बारम्बार उनी र सन्तानलाई कुटपिट गर्थे।
सन् २०१५ मा उनी लागु औषधको गैर कानुनी विक्रीका लागि पुनः दोषी पाइए। सन् २०२३ को मार्च महिनामा ओल्गालाई थाहा नदिईकनै जेलमै रहँदा उनी वाग्नरमा भर्ती भए।
ओल्गाले आफ्ना पतिको मृत्युलाई 'उनले परिवारका लागि गरेको एक मात्र राम्रो काम' बताउँछिन्। उनी मारिएपछि वाग्नरबाट प्राप्त क्षतिपूर्ति रकमबाट उनले जेठा छोराका लागि एउटा अपार्टमेन्ट किनेकी छन्।
आफ्नै उक्त तितो अनुभवपछि उनले अग्र मोर्चाबाट फर्किएका वाग्नरका अन्य पूर्व भाडाका सैनिकलाई सघाउने निर्णय गरिन्।
भलेरीलाई भेटेपछि ओल्गाले उनका लागि अस्थायी आवास खोजिदिइन्। उनले वाग्नरबाट बुझेको क्षतिपूर्ति के गर्ने भनेर सल्लाह समेत दिइन्।
“उनी बच्चाजस्तै यो चाहिन्छ ऊ चाहिन्छ भन्थे। मैले उनलाई भनेँ: हुन्न,” बीबीसी न्यूज रसिअनसँग कुरा गर्दै उनले सम्झिन्।
“तिमीलाई चाहिने पहिलो कुरा भनेको तिम्रो जग्गाजमिन हो, त्यसैले हामीले एउटा किन्दैछौँ। त्यसो भए तिमीलाई एउटा कार पनि चाहिन्छ? हुन्छ, हामीले एउटा कार पनि किन्ने,” उनले भलेरीलाई भनिन्।
उनलाई सहयोग गर्नुमा आफ्नो कुनै आर्थिक स्वार्थ नरहेको ओल्गाले बताइन्। उनको विगतका कुरालाई लिएर समेत उनलाई कुनै चिन्ता थिएन।
उनी रुसको एक इमानजेलिकल चर्च पेन्टेकोस्टल चर्च अफ गडकी सदस्य हुन्। र उनलाई युक्रेन युद्धबारे सोधिँदा उनले 'अन्धविश्वासपूर्ण' धारणा सुनाइन्।
“बाइबल भन्छ - अन्तिम समय आउनेछ, र भाईभाई लड्नेछन्। अहिले भइरहेको त्यही हो।”
भलेरी समेत पेन्टाकोस्टल चर्चमा प्रत्येक आइतवार जान थालेका छन्। ओल्गाको सहयोगका धन्य बनेका उनले एक पटक विवाहको प्रस्ताव समेत गरेका थिए। जसलाई उनले अस्वीकार गरिन्।
उनी एक सुरक्षा कम्पनीमा एक महिनाभन्दा केही बढी समय काम गरे तापनि त्यसलाई जारी राख्न सकेनन्।
ओल्गाले सहयोग नगरेको भए के हुन्थ्यो होला भन्ने प्रश्नमा भलेरीले आफू सम्भवतः अग्रमोर्चामै फर्किएको हुन सकिन्थ्यो होला भन्ठान्छन्।
“साँच्चिकै भन्दा मलाई साँच्चिकै [फिर्ता] जाउँजाउँ लाग्दैन,” उनी भन्छन्। “तर त्यसले मलाई जोडसँग तान्छ। त्यहाँ मलाई आफ्नो शत्रु को भन्ने थाहा थियो। यहाँ मलाई थाहा छैन।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।