विश्वमा दादुराको जोखिम बढ्दो, नेपालमा पनि पूरक खोप अभियान

दादुराको प्रकोपको जोखिम बढ्दै गर्दा नेपालले आगामी महिना पूरक खोप अभियान सञ्चालन गर्न लागेको अधिकारीहरूले बताएका छन्।

फागुन १३ देखि चैत ७ गतेसम्म देशभरि उक्त खोप अभियान सञ्चालन गर्न हालै ६० लाख मात्राको मिजल्स रुबेला खोप नेपाल आइपुगेको बताइएको छ।

हालै भूकम्पबाट प्रभावित भएका जाजरकोट र रुकुम पश्चिममा केही महिना अगाडि नै त्यस्तै अभियान भइसकेकाले अब अलि उच्च जोखिम मानिएका तराईका २१ र काठमाण्डू उपत्यकाका ३ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी अनि बाँकी ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी पूरक अभियान सञ्चालन हुँदैछ।

पूरक अभियानमा पहिले खोप लगाउन छुटेकालाई मात्र नभइ खोप लगाइसकेकाले पनि थप मात्रा लगाउन मिल्ने बताइएको छ।

दादुराबारे चिन्ता किन बढिरहेको छ?

खासगरी कोभिड महामारीको समयमा गरिएका लकडाउनका कारण नियमित खोप अभियानहरू संसारैभरि प्रभावित भएका थिए।

त्यसमा मिजल्स, मम्प्स, रुबेला एमएमआर भनिने नियमित खोपको अभियान पनि प्रभावित हुन पुग्दा विशेषत: बालबालिकाहरूमा दादुराको जोखिम बढ्दै जाने ठानिएको थियो।

सन् २०२३ को अन्त्यतिर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकी सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिए।

सीडीसीले दादुराको सङ्क्रमण अहिले विश्वको सबै भागमा देखा परिरहेको जनाएको छ।

युरोपमा दादुराको सङ्क्रमण ‘भयानक’ बढेको डब्लुएचओले जनाएको थियो।

नेपालकै छरछिमेकमा पनि दादुरा सङ्क्रमण बढेका पाइए।

डब्लुएचओ र सीडीसीले सन् २०२२ मा अघिल्लो वर्षको तुलनामा दादुराबाट ज्यान जानेको सङ्ख्या ४३ प्रतिशतले बढेको जनाए।

करिब ९० लाखलाई दादुरा सङ्क्रमण भएको र अधिकांश बालबालिकासहित झन्डै डेढ लाखको ज्यान गएको बताइएको छ।

अत्यन्त सङ्क्रामक हुनुका साथै खोप नलगाएकाहरूमा त्यसले गम्भीर असरहरू छाड्ने भएकाले दादुरालाई निकै गम्भीर बिमारीको रूपमा लिइन्छ।

कस्तो छ नेपालको अवस्था?

विश्वमा सङ्क्रमण बढ्दै गर्दा नेपालमा पनि जोखिम बढेको पाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

“हामीकहाँ पनि फाट्टफुट्ट बाँके जिल्ला अनि भूकम्प प्रभावित जिल्लाहरूमा देखिएका छन्। त्यसबाहेक हामीकहाँ खोपको कभरेज शत प्रतिशत नभइसक्या हुनाले यो अभियान जरुरी देखिएको हो,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

गत एक वर्षमा नेपालका १७ जिल्लामा दादुरा सङ्क्रमणका मामिलाहरू भेटिएको र त्यसले १३ सय जना सङ्क्रमित भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य एवं खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए।

दादुराकै कारण बाँके जिल्लामा एक जनाको ज्यान पनि गएको थियो।

दादुरा रोगको गाम्भीर्यका कारण कुनै एउटा वडाभित्र दुईवटामात्र सङ्क्रमणका मामिला भेटियो भने पनि त्यसलाई महामारीको रूपमा लिने गरिएको छ।

खोपको कभरेज वा खोप लगाइसकिएको जनसङ्ख्याको अनुपात हेर्दा नेपालको अवस्था बलियो नै रहेको अधिकारीहरू बताउँछन्।

नियमित राष्ट्रिय खोप अभियानमा सरकारले मिजल्स रुबेला (एमआर)को खोप जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई मात्रा लगाउने गरी समावेश गरेको छ।

अहिलेको अवस्था हेर्दा नेपालमा पहिलो मात्रा लगाउनेहरूको अनुपात वा खोप कभरेज १०० प्रतिशत पुगिसकेको तर दोस्रो मात्रा लगाउनेहरू चाहिँ ९५ प्रतिशत मात्रै रहेका छन्।

पूरक अभियानको उद्देश्य के?

“हाम्रो लक्ष्य १०० प्रतिशत नै खोप कभरेज पुर्‍याउनु रहेको छ। त्यसका निम्ति विगतमा छुटेकाहरूलाई लक्षित गरेर यो अभियान सञ्चालन हुन लागेको हो,” प्रवक्ता डा. बुढाथोकीले बताए।

हुन त दादुरा उन्मूलन गर्न सरकारले ४-५ वर्षको अन्तरालमा पूरक अभियान सञ्चालन गर्दै आएको छ।

नेपालले सन् २०१९ मै दादुरा उन्मूलन गर्ने उद्देश्य राखेको थियो। तर त्यसलाई पछि सन् २०२३ अनि अब सन् २०२६ सम्म उन्मूलन गर्ने गरी संशोधन गरिएको छ।

“त्यतिखेर उद्देश्य पूरा गर्न नसकिनुका कारणहरूमा जुन किसिमले देशमा नयाँ सङ्घीय संरचना बन्यो, तीन तहमा बाँडिदा जनशक्ति समायोजनमा समस्या आइपरे। दोस्रो कारणमा जनचेतना पर्याप्त फैलाउन नसक्नु पनि रह्यो भने हाम्रो तर्फबाट हुनुपर्ने अनुगमन तथा समीक्षामा पनि कमजोरी रहे,” डा. बुढाथोकीले भने।

सन् २०२० यता फैलिएको कोभिड महामारी र लकडाउनले पनि नियमित खोप अभियान प्रभावित हुँदा राष्ट्रिय उद्देश्यमा धक्का लागेको बताइन्छ।

पूरक खोप अभियान चलाएर विगतमा छुटेकाहरूलाई समेट्ने र पहिले खोप लगाइसकेकाहरूले पनि फेरि लगाउन पाउने गरी थप सुरक्षित बनाउन खोजिएको प्रवक्ता डा बुढाथोकीले बताएका छन्।

पूरक मात्रा लगाउन ६० लाख डोज एम आर खोप ल्याइएको छ भने नियमित दादुरा खोप चाहिँ वर्षमा पहिलो मात्राको हकमा ५ लाख १० हजार अनि दोस्रो मात्राको हकमा ४ लाख ९० हजार जति लाग्ने गरेको बाल स्वास्थ्य एवं खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।