आफ्नो पिताको मृत्युदण्ड छोरीलाई हेर्न नदिन आदेश

एक जना न्यायाधीशले मिजुरी रोज्यको कानुनलाई देखाउँदै उनको उमेर एकदमै कम रहेको निष्कर्ष सुनाएपछि १९ वर्षकी अमेरिकी किशोरीले आफ्नो पितालाई मृत्युदण्ड दिइएको क्षण हेर्न नपाउने भएकी छन्।

केभिन जोनसनलाई मङ्गलवार मृत्युदण्ड दिन लागिएको छ।

सन् २००५ मा १९ वर्षको उमेरमा एक जना प्रहरी अधिकारीको हत्या गरेको आरोपमा उनले त्यो सजाय पाएका थिए।

उनले आफ्नी छोरी खोरी रामीलाई आफूलाई मृत्युदण्ड दिइँदाको समयमा उपस्थित हुन दिन भनेका थिए।

अदालतले किन यस्तो निर्णय लियो

उक्त निकायले २१ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई मृत्युदण्डको सजाय अवलोकन गर्न वञ्चित गर्ने मिजुरीको कानुनले कुनै सुरक्षा प्रत्याभूति नगर्ने धारणा राखेको थियो।

रामी दुई वर्षको हुँदा देखि जोनसन जेलमा छन्।

उनीहरूबीच भ्रमण, फोन कल, चिठ्ठी पत्र र इमेलका कारण सम्बन्ध गाढा भएको थियो।

अघिल्लो महिना जेलमा पुगेर उनले ३७ वर्षका जोनसनलाई आफ्ना भर्खरै जन्मिएका छोरासँग भेटाएकी थिइन्।

“मेरो पितालाई उनको अन्तिम क्षणमा भेट्न नपाउँदा मेरो मुटु छिया छिया भएको छ,” उनले विज्ञप्तिमा भनेकी छन्। उनले आफ्ना पिताले जेलमा पुनर्स्थापनाका लागि कडा परिश्रम गरेको भन्दै मिजुरीका गभर्नरले क्षमादान दिने विश्वास आफूले राखेको उल्लेख गरेकी छन्।

जोनसनमाथि मिजुरीका प्रहरी अधिकारीको ज्यान लिने गरी गोली प्रहार गरेकोमा दोषी ठहर गरिएको थियो।

उनका वकिलले उनको जीवन रक्षाको अपिल गर्दै निवेदन दिएका छन्।

उनी दोषी रहेकोबारे कुनै चुनौती नदिइएपनि उनीहरूले मृत्युदण्डको सजाय सुनाइनुमा जातीय विभेदले भूमिका खेलेको आरोप लगाएका छन्।