तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सरकार 'भेप'माथि किन प्रतिबन्ध लगाउँदै छ
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाल
स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकायले 'भेप' वा 'विद्युतीय चुरोट'लाई नेपालमा प्रतिबन्ध लगाउन सरोकारवाला सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ।
बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक जना अधिकारीले यस्ता उपकरणहरूको आयातमा समेत प्रतिबन्ध लगाइने बताएका छन्।
स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका प्रवक्ता भक्तबहादुर केसीले कानुनमा यसअघि नै रहेको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिएको बताए।
“सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१ को दफा २८ मा यस्ता पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने व्यवस्था छ। त्यसैको कार्यान्वयनका लागि यसको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको हो,” केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण शाखाका प्रमुख केसीले भने।
केन्द्रले वैशाख १७ गते यस्तो पत्राचार गरिएको जनाएको छ।
नेपालमा भेपका उपकरणभित्र सुन राखेर तस्करी गर्ने गरिएको विवरण पनि सार्वजनिक भएका थिए। विदेशबाट सुन तस्करी गरेर ल्याउन भेप प्रयोग गरेको अभियोगमा केही विदेशी सहित पूर्वसभामुख कृष्णबहादुर महराका एक जना छोरा समेत हिरासतमा छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले केन्द्रको पत्र कार्यान्वयन गरिने बताए।
“हामीले यसअघि एक वर्षसम्म भेपको आयात गर्ने नयाँ कम्पनीहरूको दर्तामै रोक लगाएको पनि हो। तर भेप सुर्तीजन्य पदार्थ भित्र पर्छ वा पर्दैन भन्ने स्पष्ट कानुनी परिभाषा रहेनछ। त्यसपछि विभाग खोल्न बाध्य भयो,” उनले भने।
उनका अनुसार नेपालको निकासीपैठारीसम्बन्धी कानुनले सुर्तीजन्य पदार्थको आयातमा रोक लगाएको छ।
“स्वास्थ्य मन्त्रालयकै निकायबाट यो सुर्तीजन्य पदार्थ हो र रोक्नपर्यो भनेर आएपछि विभागले रोक लगाउँछ,” पोखरेलले भने।
भारतमा पनि भेपमा प्रतिबन्ध लगाइएको छ तर स्थानीय सञ्चार माध्यमका अनुसार यो प्रभावकारी भएको छैन।
प्रतिबन्ध लगाइनुको कारण
स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले नेपालमा विशेष गरी युवा र बालबालिकाहरूमा भेपको प्रयोग बढ्दो रहेको र यसले स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै प्रतिबन्धका लागि पहल गरिएको जनाइको छ।
“विद्युतीय चुरोटलाई यसका उत्पादकहरूले सुर्तीजन्य पदार्थको रूपमा परिभाषित गर्दैनन्। उनीहरूले सुर्तीजन्य पदार्थ छोड्न सहयोग गर्ने भनेर प्रचार गर्छन् तर सुर्तीजन्य पदार्थ प्रयोग नै नगरेकाहरूले यसको प्रयोग गरिरहेका छन् र यसले अन्य सुर्तीजन्य पदार्थ प्रयोगको लतमा फस्ने सम्भावना हुन्छ,” केसी भन्छन्।
“यसमा निकोटिन हुन्छ, जसले मुटु र रक्तनली सम्बन्धी रोगहरूको जोखिमका साथै श्वासप्रश्वाससम्बन्धी रोगहरू पनि निम्त्याउँछ।”
केन्द्रले स्वास्थ्यलाई प्रतिकूल असर पार्ने यस्ता वस्तुहरूमा ठूलो मात्रामा राज्यको पैसा देशबाहिर गइरहेका कारण पनि त्यसलाई रोक्न पहल गरिएको बताएको छ।
भेप वा ई-सिगरेट के हो
भेप धूमपानको तलतल मेट्ने विद्युतीय उपकरण हो। विद्युतीय चुरोटहरू मुख्य गरी इलेक्ट्रोनिक निकोटिन वितरण प्रणाली र इलेक्ट्रोनिक गैर-निकोटिन वितरण प्रणाली गरी दुई प्रकारका प्रचलनमा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
यस्ता उपकरणहरूले त्यहाँभित्र राखिने तरल फ्लेभरलाई तताएर एरसलहरू उत्पन्न गराउँछन् र त्यसबाट आउने धुवाँलाई धूमपानको रूपमा लिइन्छ। यस्ता तरल पदार्थहरूमा पनि सामान्य चुरोटमा जस्तो निकोटिन हुने गर्छ तर निकोटिन नभएका तरल पनि पाइन्छन्। तर यसमा सुर्तीको प्रयोग भने हुँदैन।
भेपमा स्वादका लागि प्रयोग हुने रसायनहरू मानिसहरूको स्वास्थ्यको लागि हानिकारक हुने विश्व स्वास्थ्य सङ्गठनले उल्लेख गरेको छ। “यी उत्पादनहरूलाई खुला बजारमा अनुमति दिइएको र युवाहरूमाझ आक्रामक प्रचारप्रसार गरिएकोमा” विश्व स्वास्थ्य सङ्गठनले आफ्नो वेबसाइटमा चिन्ता व्यक्त गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल ८८ देशहरूमा ई-सिगरेटहरू किन्नका लागि न्यूनतम उमेरको मापदण्ड छैन र ७४ देशहरूमा यस्ता हानिकारक उत्पादनका लागि नियमहरू छैन।
“बालबालिका र युवाहरूमाझ ई-चुरोटको प्रयोगमा चिन्ताजनक वृद्धि भएको छ र धेरै देशहरूमा यस्तो सङ्ख्या वयस्कहरूको भन्दा धेरै छ,” विश्व स्वास्थ्य सङ्गठनले भनेको छ।
आयातको 'अस्वाभाविक' तथ्याङ्क
केन्द्रका अनुसार नेपालको कुल जनसङ्ख्याको करिब १० प्रतिशत बराबर सङ्ख्यामा विद्युतीय चुरोटहरू गत आर्थिक वर्षमा मात्रै आयात भएको पाइएको छ।
“भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष मात्रै २८ लाख भेप नेपालमा आयात भएको देखिन्छ,” केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण शाखाका प्रमुख केसी भन्छन्।
यसबाहेक भन्सार नाकामा दर्ता नभई पनि भेप आयात भएको हुन सक्ने केसीको दाबी छ।
भेपको आयातबाट मात्रै सरकारले गत आर्थिक वर्ष १३ करोड राजश्व सङ्कलन गरेको तथ्याङ्क छ।
नेपाली बजारमा भेपको मूल्य १० हजार रुपैयाँदेखि २२ हजार रुपैयाँसम्म पर्ने बताइन्छ। भेपको उपकरणबाहेक यसमा स्वादका लागि तरल पदार्थ प्रयोग गरिन्छ। निश्चित समयपछि सकिने यस्ता पदार्थको मूल्य पनि दुई हजार रुपैयाँदेखि तीन हजार चार सय रुपैयाँसम्म पर्ने बताइन्छ।
तर चुरोट खुला
केन्द्रले भेपमाथि प्रतिबन्ध लगाइए पनि धूमपानमा प्रयोग हुने चुरोटमा भने प्रतिबन्ध नलगाइएको जनाएको छ।
तर वाणिज्य विभागले यसअघिबाटै नेपालमा विदेशी चुरोटको आयातमा प्रतिबन्ध लगाइएको बताएको छ।
“विश्वभरि हेर्ने हो भने पनि चुरोटमा प्रतिबन्ध छैन, नियमन छ। हाम्रोमा पनि नियमन पहलहरू भएका छन् तर विद्युतीय चुरोटमा हाम्रो छिमेकी देश भारतसहित विश्वका ४४ देशले प्रतिबन्ध नै लगाएका छन्,” केसीले भने।
विद्युतीय चुरोटलाई नियमन गर्न कठिन हुने भएका कारण पनि निषेध नै गरिएको केसी बताउँछन्।
अधिकारीहरूले विद्युतीय चुरोटको आयात रोकिए पनि नेपालमा आयात भइसकेका यस्ता उपकरणहरूको बिक्रीवितरणका लागि निश्चित समय दिन सकिनेबारे छलफल हुने बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।