स्वास्थ्य: धूमपान नगर्नेहरू नजिकै धूमपान गर्नेहरूबाट किन सचेत हुनुपर्छ

    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

"म नाकबाट श्वास फेर्न सक्दिनँ। घाँटीमा बनाइएको प्वालबाट श्वास फेर्छु," ७५ वर्षकी हजुरआमा नलिनी सत्यानारायन भन्छिन्।

नलिनी धूमपान गर्दिनन् तर आफ्नो ३३ वर्षको वैवाहिक जीवनमा उनी निरन्तर अप्रत्यक्ष धूमपानको सिकार भइरहिन्।

आफ्नो श्रीमानको मृत्यु भएको पाँच वर्षपछि सन् २०१० मा उनलाई पनि क्यान्सर भएको पुष्टि भयो।

भारतको हैदरावादमा बस्ने उनले भनिन्: "मेरा श्रीमान् निरन्तर धूमपान गरिरहन्थे। मलाई थाहा थिएन कि त्यसले मलाई पनि असर गर्छ र यति नराम्रोसँग असर गर्छ।"

"म उनको स्वास्थ्यको बारेमा सुर्ता गर्थेँ र उनलाई धूमपान त्याग्न भन्थेँ। तर मलाई लाग्दैन त्यसले उनको बानीमा सुधार ल्यायो।"

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले सुर्तीले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिने जनाएको छ। त्यसमध्ये १२ लाख प्रत्यक्ष रुपमा धूमपान गर्दैनन्।

अझ ठूलो सङ्ख्यामा मानिसहरूलाई सुर्तीकै कारण विभिन्न रोग लाग्ने गर्छ।

नलिनीको कथा

आफ्नी नातिनी जननीलाई रमाइलो कथा सुनाइरहेको बेला नलिनीलाई आफ्नो आवाज कमजोर हुन थालेको महसुस भयो।

त्यसको छोटो समयमै उनले स्पष्टसँग बोल्न सकिनन् र श्वास फेर्न पनि गाह्रो भयो।

उनलाई छातीको क्यान्सर भएको पहिचान भयो। चिकित्सकहरूले उनको रुद्रघण्टी र थाइरोइड हटाइदिए।

"मैले मेरो बोल्ने क्षमता गुमाए। त्यो एकदमै पीडादायी थियो। त्यसपछि चिकित्सकहरूले मलाई मेरो मूल आवाज कहिल्यै पनि फर्किँदैन भनेका थिए।"

अहिले जननी १५ वर्षकी भइन्।

उनले 'निरन्तर बोलिरहने आफ्नी हजुरआमालाई' अकस्मात् के भयो भन्ने सम्झेकी छन्।

जननी भन्छिन्, "जब उहाँको बिरामी पत्ता लाग्यो, उहाँ लामो समय घरमा रहनुभएन्। जब फर्कनु भयो म लगभग चार वर्षकी थिए।"

"उहाँको पेटमा ट्युबहरू लगाइएको थियो। जताततै ट्युबहरू थिए। हामीले हाम्रो घर निरन्तर सफा गर्नुपर्थ्यो र हामीसँगै एक जना नर्स पनि बसिरहेकी थिइन्।"

क्यान्सर

नलिनीले राम्रो स्वास्थ्य उपचार पाइन् र पछि भाइब्रेशन भोइस बक्सको मद्दतले बोल्न सक्ने पनि भइन्।

तर उनलाई आफ्नो पीडाको कारण थाहा छ।

"मलाई मेरा श्रीमानका कारण क्यान्सर भयो। धूमपान गर्ने व्यक्तिहरूले अधिकांश विषाक्त धुवाँ बाहिर निकाल्छन् र उनीहरूसँगै हुनेहरूले त्यसलाई निल्न पुग्छन्।"

डब्ल्यूएचओले सबै प्रकारका धूम्रपान घातक रहेको भन्दै सूर्तीजन्य पदार्थसँगको कुनै पनि तहको सम्पर्क सुरक्षित नरहेकोमा जोड दिदैँ आएको छ।

क्यान्सर निम्त्याउने रसायन

डब्ल्यूएचओको युरोपियन कार्यालयकी सुर्ती नियन्त्रण प्राविधिक अधिकारी एन्जेला चोबानु भन्छिन्, "अप्रत्यक्ष धुवाँमा ७,००० भन्दा बढी रसायन हुन्छन् जसमध्ये करिव ७० प्रतिशतले क्यान्सर गराउन सक्छन्।"

"धूमपान नगर्नेहरूलाई त्यस्तो अप्रत्यक्ष धुवाँसँगको सम्पर्कका कारण फोक्सोको क्यान्सर निम्तिने जोखिम २० देखि ३० प्रतिशतले बढ्छ।"

सुर्तीको धुवाँले मुटुलाई पनि कमजोर बनाउँछ।

उनका अनुसार एक घण्टाभन्दा बढी अप्रत्यक्ष धुवाँ लिँदा त्यसले धमनीहरूको भित्री तहलाई नष्ट गर्छ जसले हृदयाघातको जोखिम बढाउँछ।

राष्ट्रसङ्घीय निकायले अप्रत्यक्ष धूमपानका कारण प्रत्येक वर्ष ६५,००० बालबालिकाले ज्यान गुमाउने आकलन गरेको छ।

त्यस्ता बालबालिकामा कानको सङ्क्रमण हुने जोखिम उच्च रहन्छ जसले श्रवण शक्ति गुम्ने र बहिरोपन निम्त्याउने हुन्छ।

चोबानुका अनुसार बालबालिकाहरूमा दमजस्ता गम्भीर प्रकारका श्वासप्रश्वाससँग जोडिएका बिरामी देखा पर्ने जोखिम ५० देखि १०० प्रतिशतसम्म बढी हुन्छ।

धूमपान प्रतिबन्ध

डब्लूएचओले धूमपानरहित वातावरणको निर्माण नै धूमपान नगर्ने व्यक्तिको सुरक्षा गर्ने सबैभन्दा उपयुक्त उपाय भएको बताउने गरेको छ।

यो विषयमा बलियो समर्थन भएको भए पनि सुर्तीको प्रयोग घटाउन सजिलो छैन।

ग्रान्ड भ्यू रिसर्चले गरेको विश्लेषणले सन् २०२१ मा ८५० अर्ब अमेरिकी डलरको सुर्ती उद्योग रहेको देखाएको छ।

त्यो अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियाको कूल गार्हस्थ्य उत्पादनभन्दा लगभग दोबर हो।

ग्रान्ड भ्यू रिसर्चका अनुसार एशिया र अफ्रिकाका विकासशील क्षेत्रका धूमपानकर्ताहरूको बढ्दो सङ्ख्याले मागलाई पनि बढाइरहेको छ।

आफ्नो व्यापारिक स्वार्थ रक्षा गर्न शक्तिशाली सुर्ती कम्पनीहरूले स्वास्थ्य नियमहरू विरुद्ध आफ्नो ठूलो आर्थिक तागत परिचालन गर्छन् र उनीहरूले बेला बेलामा धूमपान प्रतिबन्धलाई पछि सार्न पनि सफलता हासिल गरेका छन्।

लामो सङ्घर्ष

एइनुरू एल्टीबेभा सन् २०१८ मा सार्वजनिक स्थलमा धूमपान प्रतिबन्ध लगाउन प्रस्ताव गरिएको विधेयकको पक्षमा उभिने किर्गिस्तानकी सांसद हुन्।

उनले सुर्तीका कारण देशमा प्रतिवर्ष ६,००० ले ज्यान गुमाइरहेको र त्यसलाई नियन्त्रण गर्दा सुर्ती सेवन १० प्रतिशतले घट्न सक्ने धारणा राखिन्।

तर त्यसको निम्ति उनले मूल्य चुकाउनुपर्‍यो।

उनका अनुसार कतिपय सांसदहरू सुर्ती उद्योगमा नै आबद्ध रहेकाले उक्त विधेयकलाई समितिमा पठाइयो जसको उद्देश्य कानुन बनाउन विलम्ब गर्नु थियो।

उनले आर्थिक मामिलाका मन्त्रालयका अधिकारीहरूले पनि कर सङ्कलन प्रभावित हुनसक्ने चिन्ता राखेको उल्लेख गरिन्।

त्यसबाहेक आफूमाथि व्यक्तिगत रुपमा नै प्रहार भएको सम्झदैँ उनले केही व्यक्तिहरूले आफू र आफ्नो परिवारलाई सामाजिक सञ्जालबाट आक्रमण गरेको बताइन्।

उनको निरन्तरको सङ्घर्षपछि सन् २०२१ मा सार्वजनिक स्थानहरूमा धूम्रपान गर्न प्रतिबन्ध लगाइएको कानुन कार्यान्वयनमा आएको छ।

सुस्त प्रगति

विश्वव्यापी रूपमा धूम्रपानका कारण हुने मृत्यु नियन्त्रणको प्रयास सन् २००५ मा सुर्ती नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि ल्याइएसँगै अघि बढेको थियो।

हालसम्म त्यसमा १८२ देशले हस्ताक्षर गरेका छन्। तर अभियानकर्ताहरूले सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध लगाउने सहितका कदमहरू सरकारहरूले चाल्न अझै बाँकी रहेको बताएका छन्।

सिड्नीस्थित अभियानकर्ता डा. मेरी असुन्टा भन्छिन्, "धूमपानरहित नीति स्वच्छ हावाको मानवअधिकारप्रति सम्मान हो।"

ग्लोबल सेन्टर फर गुड गभर्नेन्स इन टोबाको कन्ट्रोल नामक संस्थामा अनुसन्धान र पैरवीको नेतृत्व गर्ने उनी उच्च कर दर लागु गर्नु, सुर्तीजन्य सामाग्रीको प्याकेटमा घातक चिन्ह राख्नु, विज्ञापन र प्रचारप्रसारमा प्रतिबन्ध लगाउनु र सार्वजनिक शिक्षा अभिवृद्धि गर्ने विषय त्यस्तो नीतिले सम्बोधन गर्नुपर्ने ठान्छिन्।

विश्वव्यापी रूपमा धूमपान गर्नेको सङ्ख्या बिस्तारै घटिरहेको भए पनि अझै पनि एक अर्ब ३० करोडले धूमपान गर्छन्।

डब्लूएचओले १० मध्ये एउटा चुरोट गैरकानुनी सुर्ती कारोबारबाट बनेको बताउँछिन्।

असुन्टाले सरकारी निकायहरू थप चनाखो हुनुपर्ने औँल्याइन। उनका अनुसार बालबालिकामा लोकप्रिय रहेका एप र खेलहरूमार्फत समेत सुर्तीजन्य सामाग्रीको विज्ञापन गरिएको पाइएको छ।

'श्रीमान्‌लाई दोष दिन्न'

हैदरावादमा नलिनीले कानुनी समाधानबारे सोचिरहेकी छैनन्।

उनले घाँटीमा बनाइएको प्वालबाट श्वास फेरिरहेकी छन्। उनी सहजै पचाउन सकिने खानेकुराहरू मात्रै खाने गर्छिन्।

तर उनले स्वतन्त्रतापूर्वक बाँच्न सिकेकी छन्। आफूले क्यान्सरलाई पराजित गरेको उनी बताउँछिन्।

वनस्पति विज्ञानमा एमफिल गरेकी उनी बगैँचाको हेरचाहमा औधी रुचि राख्छिन्।

उनले विद्यालय, विश्वविद्यालय र सामुदायिक भेलाहरूमा अप्रत्यक्ष धूमपानका खतराहरूका बारेमा जानकारी गराउँछिन्।

आफ्नो आवाज गुमाएको र पीडाबाट गुज्रनु परेको भए पनि आफ्ना दिवङ्गत श्रीमानलाई लिएर नलिनीको कुनै रोष छैन।

उनले भनिन्, "म मेरा श्रीमानबाट कहिल्यै पनि दुखी भइनँ। यसलाई लिएर रुनुको अर्थ छैन किनभने यसले कुनै समस्याको समाधान गर्दैन।"

"मैले वास्तविकता स्वीकार गरेँ र मेरो रोगको बारेमा कुराकानी गर्न कहिल्यै पनि अप्ठेरो मानिनँ।"