जो चाडबाडकै मौकामा परिवारसँग छुट्टिएर हिमालतिर हिँड्छन्

यशोदा राई

तस्बिर स्रोत, Credit: Richard Tamang

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

परिवारसँग छुट्टिएर अध्ययन वा रोजगारीका लागि सहरी क्षेत्रमा बस्न बाध्य युवायुवतीका लागि दशैँ, तिहार, छठ जस्ता चाडपर्व घर फर्कने र आफन्तसँग पुनर्मिलनको अवसर हो। तर केही यस्ता युवायुवतीहरू छन् जो हरेक वर्ष जस्तो यही चाडबाडको मौकामा परिवार र आफन्तभन्दा टाढा गइरहेका छन्।

लामो समय कार्यालय र व्यापार व्यवसाय बन्दप्राय: रहने दशैँ र तिहार ट्रेकिङ अर्थात् पदयात्रा रुचाउनेहरूका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ।

"मैले दशैँ तिहारलाई घुम्ने र नेपाल हेर्ने अवसरका रूपमा मनाउन थालेको ५-६ वर्ष नै भइसक्यो," काठमाण्डूमा एक कोरियाली कम्पनीमा काम गर्ने यशोदा राई सुनाउँछिन्। "व्यवसायिक घरानामा दशैँको समयमा जस्तो अरू बेला लामो छुट्टी हुँदैन। अर्को चाहिँ यो समयमा मौसम पनि अनुकूल हुन्छ।"

काठमाण्डूमा व्यवसाय गर्ने पाल्पाका अन्जन भण्डारी दशैँ-तिहारको मौसम हिँड्नका लागि समेत सहज हुने बताउँछन्।

"मौसमको हिसाबले सेप्टेम्बरदेखि नोभेम्बरसम्म सफा र स्थिर हुन्छ। धेरै गर्मी र धेरै चिसो नहुने मध्यम तापक्रममा हिँड्न सजिलो हुन्छ," उनी भन्छन्।

"कामको चाप कम हुने, बिदा धेरै हुने, सबै कुरा मिल्ने भएकाले मान्छे दशैँमा ट्रेक हिँड्छन्। यसमा खासै अर्को कारण छैन।"

चाड छोडेर ट्रेकिङ किन

वर्षभरि परिवारसँगै बसिरहेका हुन् वा छुट्टिएर, कामकाजी युवा पुस्ताले लामो समय घुम्नका लागि समय मिलाउने मौका दशैँ, तिहारजस्ता लामो छुट्टी हुने चाडबाडको समय नै हो।

"दशैँ तिहारको बेला पदयात्रामा जाने चाहिँ प्रायः जो वर्षभर घरपरिवारसँग हुन्छन्, उनीहरू पनि रहेछन्। घरमा कोही न कोही आउँछ, रमाइलो हुन्छ नै," भण्डारीको बुझाइ छ।

उनी यस्तो बेला परिवारसहित बिदा मनाउन ट्रेक जानेहरू पनि धेरै हुने बताउँछन्।

कोभिड महामारीमा लामो समय घरमै थुनिएका जनकपुरका मनीष मण्डल र उनका साथीहरूले महामारी सकिए लगत्तै अध्ययनरत कलेजले बनाएको कास्कीको घान्द्रुक घुमाउने योजनालाई अन्नपूर्ण बेसक्याम्प (एबीसी) सम्मको बनाउन आग्रह गरे।

मनीष मण्डल र उनका साथीहरू

तस्बिर स्रोत, Credit: Manish Mandal

"पहिलो पटक एबीसी पुग्दा मलाई त्यहाँको दृश्यले अति नै लोभ्यायो के," हाल एक प्रविधि कम्पनीमा काम गरिरहेका मण्डल सुनाउँछन्।

"त्यसपछि चाहिँ वर्षमा एउटा भए पनि जानुपर्छ भनेर ट्रेक जान थालेको म।"

दशैँको छुट्टीमै घुम्न जाने उनको योजना गत वर्ष चाहिँ पूरा भएन। असोजमा आएको बाढीले धेरै गन्तव्य र सडक पूर्वाधारहरूमा क्षति पुर्‍याएपछि उनका साथीहरूले एक महिना अघिदेखि बनाएको योजना स्थगित गरे।

यो पटक दशैँको छुट्टीमा तिलिचो हुँदै थोराङ्ला पास र अपर मुस्ताङसम्म जाने योजना मण्डल र उनका साथीहरूको छ। "बिदा सदुपयोग गर्न ट्रेक जान्छौँ। त्यसबेला व्यस्त दैनिकीबाट प्रकृतिसँग जोडिने मौका पनि पाइन्छ," मण्डल भन्छन्।

"हाम्रोतिर टिका लगाउने हुँदैन। हाम्रो मुख्य चाड नै तिहार र छठ हो। तर लामो बिदा दशैँमा पाइन्छ। त्यसलाई सदुपयोग गर्न ट्रेक जान्छौँ,"

दोलखाकी पविना खड्का चाडबाड पनि भ्याउने गरी आफूहरू पदयात्रामा जाने गरेको बताउँछिन्।

"ट्रेक जाँदाको जुन आनन्द हुन्छ, त्यो सम्झिएर पनि दशैँ त वर्षैपिच्छे मनाइरहेको त हुन्छ नि भन्ने हुन्छ। त्यसले गर्दा धेरै मिस चाहिँ हुँदैन," उनी भन्छिन्।

चाडबाडको रौनक 'मिस हुँदैन?'

वर्ष दिनमा आउने चाडबाड छोडेर डाँडाकाँडा जाँदा पदयात्रीलाई त्यसको रौनक छुटेको अनुभव पक्कै हुने खड्का बताउँछिन्।

तर दशैँको याममा ट्रेकिङ जाने धेरै जसो युवायुवतीहरू या त दशैँको टिका लगाउन घर आइपुग्छन् वा टिका लगाइसकेर मात्रै घुम्न निस्कन्छन्।

"मलाई दशैँ कि ट्रेकिङ भनेर रोज्न लगायो भने म ट्रेक नै रोज्छु। तर परिवारका लागि पनि दशैँमा एक पटक घर चाहिँ पुग्ने गरेकी छु। मेरो साथीहरूले पनि त्यही गर्छन्," खड्का भन्छिन्।

पविना खड्का हिउँसँग खेल्दै

तस्बिर स्रोत, Credit: Pabina Khadka

पदयात्रामा जाने हुटहुटीले उनले आफन्तकहाँ टिका लगाउने समय भने व्यवस्थापन गर्न सकिरहेकी छैनन्।

उनले दशैँमा विगतका वर्षहरूमा जस्तो रौनक पनि घट्दै गएको आफूलाई महसुस भएको सुनाइन्।

"गाउँमा मान्छेहरू पनि त्यति धेरै छैनन्, पहिले जस्तो पिङ लगाउने चलन पनि छैन। त्यो नभएपछि मान्छेलाई ट्रेकमा छुट्टै आनन्द आउँछ के," उनले सुनाइन्।

नजिकको परिवार वा आफन्तको मृत्यु भएको वर्ष अधिकांश हिन्दू समुदायले टीका नलगाउने प्रचलन छ। दशैँको टीका रोकिएको वर्ष धेरैजसो युवायुवतीहरू ट्रेकिङ जान रुचाउने पदयात्रा प्रेमीहरू बताउँछन्।

चाडबाडको रौनक घट्दै गएको अनुभव सोलुखुम्बुकी यशोदा राईको पनि छ।

"कहिलेकाहीँ जुठो पर्ने, चाडबाड मनाउन नपर्ने कारणले पनि दशैँ तिहारमा हामी गइरहेका हुन्छौँ। चाडबाडको रौनक पनि पहिले जस्तो त्यति नभएजस्तो लागेर पनि हामी ट्रेकिङ रोजिरहेका हुन्छौँ," उनले सुनाइन्।

"बच्चैदेखि मनाउँदै आएको भएर मिस चाहिँ एकदमै हुन्छ। ला आज त टीका हो नि हामी त यहाँ छौँ भन्ने हुन्छ।"

पाल्लाका भण्डारीको बुझाइमा दशैँ, तिहार जस्ता चाडपर्व नमनाउने समुदाय, परिवारमा जुठो वा सुत्केरोका कारण टिका नलगाउने व्यक्तिहरूका लागि यो समयको बिदा ट्रेकिङका लागि उपयुक्त मौका पनि हो।

बागलुङ बजारबाट बिहानीको घाम पर्दा आर्कषक देखिएको धौलागिरि हिमाल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, धौलागिरि हिमाल बिहानीको घाम पर्दा आकर्षक देखिन्छ

"म चाहिँ चाडपर्वमा ट्रेक जान्नँ। एक पटक गएको थिएँ, तर मलाई अरू सबै घरमा रमाएको, खेलेको, हाँसेको, खेलेको, परिवारसँगै काम गरेको देख्दा 'के छोडेर के पाउन आएको? जस्तो लाग्यो। त्यसपछि छोडेँ, खिन्नता मात्रै भयो," भण्डारीले आफ्नो अनुभव सुनाए।

जनकपुरका मण्डल आफूलाई पनि चाडबाड मिस गरेजस्तो महसुस चाहिँ हुने बताउँछन्। तर दशैँ लगत्तै आउने तिहार र छठको समयमा परिवारसँग भेट हुने भएका कारण आफूले दशैँको बिदालाई ट्रेकिङ जाने मौकाकै रूपमा लिने उनले बताए।

"ट्रेकबाट फर्किएपछि म घर गइहाल्छु त्यसकारण खासै मिस भएजस्तो चाहिँ हुँदैन," उनले भने।

"फेरि अहिले घुमेनौँ भने कहिले घुम्ने भन्ने हुन्छ नि त।"

दशैँ-तिहारका बेला 'दृष्यले लोभ्याउँछ'

यशोदा राई र उनको टोली

तस्बिर स्रोत, Credit: Richard Tamang

नेपालमा यो वर्ष असोज १४ गतेबाट मनसुन बाहिरिने प्रारम्भिक आकलन छ। दशैँको बिदा त्यसको एक दिन अघिबाट सुरु हुँदै छ।

अपवाद बाहेक हरेक वर्ष दशैँ आसपासको समयमा नेपालबाट मनसुन बाहिरिने गर्छ। मनसुन बाहिरिने र मौसम खुल्ने भएका कारण हिमाली क्षेत्रमा पदयात्राका लागि यो समय 'बबाल' रहेको पदयात्राका अनुभवीहरू सुनाउँछन्।

"यो मौसम खुल्ला हुन्छ, घाम पनि लागेको हुन्छ, यो बेला मज्जाले हिमाल देख्न पाइन्छ त्यो दृश्य हेर्नकै लागि हो अहिलेको याम चाहिँ," पविना खड्का भन्छिन्।

प्रायजसो एक्लै ट्रेक गर्ने खड्काकै जस्तो मण्डल र राईको पनि छ। गत वर्ष दशैँमा पदयात्रा जान नपाएका मण्डलले फेरि राम्रो दृश्य देखिने अवसरका लागि नयाँ वर्षको अवसर पर्खिए।

आफू हिमाल खासै नदेखिने समथर भूभागमा जन्मे हुर्किएका कारण पनि हिमाली भूबनोट र दृश्यले लोभ्याउने उनले सुनाए।

चाडबाडमा ट्रेक जाँदा ध्यान दिनुपर्ने कुरा

आराम गर्दै पदयात्री

तस्बिर स्रोत, Credit: Bindu Neupane

दशैँ, तिहारदेखि छठसम्मको समय विदेशबाट नेपाल आउने पर्यटकहरूको पनि पदयात्राको समय हो। ट्रेकिङ अजेन्सिज असोसिएशन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष विष्णु लम्साल अक्टोबरदेखि डिसेम्बरसम्मको समय नेपालका हिमाली क्षेत्रमा पदयात्राका लागि ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू आउने गरेको बताउँछन्।

"यो समयमा विदेशी पर्यटकहरू पनि धेरै आउने भएका कारण बस्ने ठाउँ पाउन समस्या हुन सक्छ," उनले भने।

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले दशैँ-तिहार जस्ता चाडलाई प्रमुख पर्वका रूपमा नमनाउने भएका कारण त्यस बेला बस्ने र खाने ठाउँहरू चाहिँ सञ्चालनमै रहने गरेको लम्सालले बताए।

ट्रेकिङका अनुभवीहरू पहिले नै बस्ने ठाउँ बुकिङ गरेर मात्रै जान उपयुक्त हुने सल्लाह दिन्छन्।

"बस्ने ठाउँ एकदमै भरिएका हुन्छन्। पहिले नै बुकिङ गर्नुपर्ने नपाउँदा एउटै कोठामा सबै जना मिलेर सुत्नुपर्ने, खाने कुरामा पनि सम्झौता गर्नुपर्ने चाहिँ हुन्छ," राई सुनाउँछिन्।

यस्तै अनुभव खड्काको पनि छ। उनले यो वर्ष चाहिँ दशैँको टिकापछि मात्रै पदयात्रामा निस्कने योजना बनाइरहेको सुनाइन्।

धेरैजसो पदयात्राका अनुभवीहरू ४-५ जनाको सानो समूहमा जाने गरेका छन्। सानो समूह हुँदा मन मिल्ने समूह मात्रै हुने उनीहरूको बुझाई छ।

विदेशी पनि उत्तिकै आउँछन्

अन्नपूर्ण बेसक्याम्प क्षेत्र

तस्बिर स्रोत, BBC/Ashok Dahal

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीका अनुसार नेपालमा बर्सेनि औसतमा साढे तीन लाखको सङ्ख्यामा आउने गरेको बताउँछन्।

"हामीकहाँ पदयात्राका लागि आउने पर्यटकहरूको औसत बसाइ पनि १३ दिन जस्तो छ। त्यो भनेको विश्वको औसत बसाइभन्दा झन्डै दोबर हो," उनले भने।

उनले पदयात्राका लागि यूरोप, अमेरिका सहितका टाढाका देशहरूबाट आउने र उनीहरूले गर्ने खर्च पनि राम्रो रहेको बताए।

"नेपालको पर्यटनको एकदमै महत्त्वपूर्ण पाटो पदयात्रा हो," उनले भने। पर्यटन बोर्डका अनुसार आन्तरिक पदयात्रा पर्यटनको संस्कृति बढ्दै गए पनि त्यसको यकिन तथ्याङ्क छैन।

"आन्तरिक पर्यटकको खासै गणना हुने गरेको छैन। तर पछिल्लो दश वर्षमा आन्तरिक पर्यटनको योगदान बाह्य बराबर नै बढ्दै गएको छ," उनले भने।

टानका प्रथम उपाध्यक्ष लम्साल नेपाली युवा तथा नवयुवाहरूमा पदयात्राको संस्कृति बढ्दै गएको बताउँछन्। उनका अनुसार निकै कम सङ्ख्यामा मात्रै नेपाली पदयात्रीहरूले गाइड लिएर जाने गरेका छन्।

"यसरी ट्रेक गर्नेहरूले दैनिक प्रतिव्यक्ति २,००० रुपैयाँ जस्तो औसत खर्च नेपालका ग्रामीण र हिमाली क्षेत्रहरूमा गरिरहेका हुन्छन्," उनले भने।

पछिल्लो समय स्थानीय र प्रदेश सरकारहरूले पनि आन्तरिक पदयात्रा मार्गहरूको मर्मत,सम्भार र प्रचार प्रसार गरिरहेका कारण यसले पर्यटनमा राम्रो योगदान दिएको पर्यटन बोर्ड र टानका अधिकारीहरू बताउँछन्।

पदयात्रीले सुझाएका १० गन्तव्य

  • लाङटाङ/गोसाईंकुण्ड
  • अन्नपूर्ण बेस क्याम्प/अन्नपूर्ण पदमार्ग
  • मनास्लु/लार्के पास
  • से फोक्सुन्डो
  • च्छो रोल्पा
  • मर्दी हिमाल
  • पाँच पोखरी
  • अपर मुस्ताङ
  • सगरमाथा आधार शिविर क्षेत्र
  • मुल्दइ भ्यू प्वाइन्ट

यी गन्तव्यहरू समाचारका लागि कुरा गरिएका पदयात्रीहरूको छनौटका आधारमा तयार गरिएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।