रारा ताल हेर्न पुग्ने पर्यटकलाई घोडा चढाएर गुजारा गर्नेहरूको कथा

- Author, प्रकाश पन्त
- Role, रारा ताल, मुगु
गाउँमै बसेर आयआर्जनको भरपर्दो माध्यम नभएपछि छ वर्ष अघिसम्म मुगु छायानाथ रारा नगरपालिका-८, चुगागाउँका घोग्रे कामी बर्सेनि कमाइका लागि कालापार (भारत) धाउँथे।
तर पछिल्लो समय मुगुमा सडक पुग्यो, गाडी पनि नियमित चल्न थाले। यातायात सुविधासँगै घरछेउमै रहेको रारा ताल हर्ने आउनेको पनि घुँइचो लाग्न थाल्यो। गाउँघरमा चहलपहल पनि बढ्दै गयो।
गाउँकै केही साथीभाइले रारा ताल हेर्न आउने व्यक्तिहरूलाई घोडा चढाएर राम्रो कमाइ गरिरहेको देखेपछि उनमा पनि कालापार जान छाडेर गाउँमै बसेर केही गर्नुपर्छ भन्ने सोच पलायो।
त्यही सोचले गर्दा उनले ऋण गरेर ७० हजार रुपैयाँमा एउटा घोडा किने।
छोरालाई इन्जिनियरिङ पढाउँदै
अहिले त्यही घोडाको कमाइले नुन, तेल, दाल, चामल पुर्याउन तथा बिरामी पर्दा ओखतिमूलो गर्न एवं छोराछोरीको अध्ययन खर्च धानेको घोग्रे बताउँछन्।
रारा ताल हेर्न आउनेहरूलाई घोडा चढाएर महिनामा नियमित २५/३० हजार रुपैयाँ आम्दानी गरिरहेका उनी छोरा रामकृष्णलाई काठमाण्डूमा इन्जिनियरिङ पढाउँदै छन्।
उनकी कान्छी छोरी पुतला पनि काठमाण्डूमै व्यवस्थापन विषय अध्ययनरत छिन्। दुईजना छोरी भने गाउँमै ११ र १२ कक्षा पढ्दै छन्।
काठमाण्डूमा पढ्ने छोराछोरीलाई उनी हरेक महिनामा १५ हजार रुपैयाँ खर्च पठाउँछन्।
छोराको प्रत्येक सेमेस्टरमा ७२ हजार र छोरीको वार्षिक १५ हजार रुपैयाँ शुल्क लाग्ने गरेको उनले सुनाए।

“बाँचुञ्जेल छोराछोरीलाई टिकाउन सकिन्छ कि भनेर दुःख गरिरहेको छु,” उनले बीबीसी न्यूज नेपालीसँग घोग्रेले भने।
“नपढेर जीवनमा धेरै दुःख पाइयो, त्यही सम्झेर छोराछोरीका लागि थप दुःख गरिरहेको छु।”
पहिलापहिला एक वर्षमा दुई/तीन पटकसम्म कापापार जाने गरेका उनी घोडा व्यवसाय थालेपछि भने ६ वर्षयता कालापार गएका छैनन्।
खुशीसँग घरमै बसेर राम्रो कमाइ गरिरहेको उनी हुन् त आफूजस्ता गरिबलाई पेटभरि खाना र आङ छोप्न पाए भइहाल्ने दाबी गर्छन्।
“हामीजस्ता गरिबको धेरै धनी हुने सपना पनि हुँदैन,” उनी भन्छन्।
“कालापारको कमाइले न त वर्षभरि खान लगाउन पुग्थ्यो, न त छोराछोरी पढाउनलेखाउन खर्च नै धान्थ्यो। कालापार जानआउनै ठिक्क हुन्थ्यो।”
नियमित कमाइबाट सुन्तुष्टि
विवाहका बेला गाउँलेले ६ हजार रुपैयाँ दिन नपत्याउदा दुई धार्नीको पानी खाने गाग्री बेचेर विवाह खर्च टारेको तीतो अनुभव गरेका उनी अहिले भने गाउँलेले आफूलाई आशाको रूपमा हेर्ने गरेको अनुभूति सुनाउँछन्।
कालापार जान छाडेर सात वर्षदेखि रारा तालमै घोडा चलाएर मुगुका प्रेम विकले पनि गतिलो आम्दानी गरिरहेका छन्।
उनले दुई छोराछोरीलाई पढाइरहेका छन्। जेठो छोरा स्नातक र कान्छी छोरी ११ कक्षामा पढ्दै छन्। जेठी छोरीको भने विवाह भइसकेको छ।
पहिला ऋण पाउन पनि कठिन हुन्थ्यो, कसैले पत्याउँदैन्थे। अहिले घोडा चलाउँछ दिइहाल्छ भनेर सबैले विश्वास गरेको देख्दा उनी खुशी हुन्छन्।
“पहिला कलापारको कमाइले खान, लगाउन पुग्दैन्थ्यो। वर्ष दिनमा एउटा मात्र बाली पाक्ने भएकोले किनेर खाँदा अहिले पहिलाजस्तो ऋण सापट गर्नु पर्दैन,” उनले भने।
“दिनमा पाँचै सय कमाइ भए पनि नुन,तेल पुर्याउन र छोराछोरीको शुल्क तिर्न समस्या भएको छैन।”

कालापार जान छोडेर गाउँलेहरूको सिको गर्दै एक वर्षदेखि घोडा व्यवसाय गर्दै आएका चुगाकै कमलजङ्ग विश्वकर्मा पनि घोडा चढाउन थालेपछि अरूको काम गर्नु नपरेको, कालापार र खाडी देशमा पनि जानु नपरेकोमा खुशी भएको बताउँछन्।
“थोरै भए पनि आफ्नै ठाउँमा सुखदुःख गरेर नियमित कमाइबाट सुन्तुष्टि मिलेको छ,” उनी भन्छन्।
“घर व्यवहार धान्न कसैसँग हात जोर्नु परेको छैन। कसैको गुलामी गर्न पनि बाहिर जानु परेको छैन।”
घोग्रे, प्रेम र कमलजङ्गजस्ता मुगुका करिब डेढ सय युवा अहिले रारा ताल हेर्न पुग्ने मानिसहरूलाई घोडा चढाएर आत्मनिर्भर हुन सफल भएका छन्।
अर्काको ठाउँमा गएर धेरै कमाउनुभन्दा आफ्नै ठाउँमा बसेर थोरै कमाउँदा धेरै नै आनन्दको अनुभूति हुने गरेको उनीहरूको साझा भनाइ छ।
विशेषगरी भदौ, असोज र कार्तिकमा रारा हेर्न जाने मानिसको घुइँचो लाग्ने भएकोले यो बेला अरू समयमा भन्दा बढी आम्दानी हुने उनीहरू बताउँछन्।
आफ्नो घोडा चलाउनुअघि उनीहरूमध्ये कतिपयले पहिला अर्काको घोडा भाडामा लिएर पनि चलाउने गरेका थिए।
उनीहरूका अनुसार भाडाको घोडा चलाउँदा आधा पैसा साहुलाई बुझाउनुपर्थ्यो।
सेवा लिनेहरू के भन्छन्

रारा ताल पुगेर घोडा चढने मानिसहरू पनि उनीहरूको सेवाबाट सन्तुष्ट हुने गरेको बताउँछन्।
कतिपय आफैँ घोडा चढेर रमाउँछन् भने घोडामा आफ्ना सामान बोक्न लगाउँदा कतिपय खुशी हुन्छन्।
रारा ताल हेर्न पुगेकी सुर्खेतकी जनकुमारी चौधरीले पहिलो पटक घोडा चढेको अनुभव सुनाइन्।
“शुरूमा लडिने हो कि भनी डराइडराइ घोडा चढेँ, तर चढिसकेपछि बेग्लै खालको आनन्दको अनुभूति भयो,” बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।
जीवनमा पहिलो पटक घोडा चढेको बताउने उमा चपाई रारा पुगेर घोडा चढेन भने राराको यात्रा नै अधुरो हुने दाबी गर्छिन्।
“गाडी पुग्ने ठाउँ (सल्लेरी र मिलीचौर)बाट घोडा चढी रारा ताल पुगेर फर्किँदा बेग्लै आनन्द आउँछ,” बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।
“आफैँ कुदाउने भए लडिन्छ कि भनेर डराउनुपर्थ्यो। तर चालकले नै डोर्याउने भएकोले डर हुँदैन।”
पैसा कमाउने समान अवसर
अहिले उनीहरूले रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र घोडा चालक समिति पनि बनाएका छन्।
घोडा चालक समितिले पालो लगाएर सबैलाई पैसा कमाउने समान अवसर सिर्जना गरेको छ।
टोकनबाट पालो आउने भएकोले कोही पनि मर्कामा पदैनन्। उनीहरूका अनुसार पालो मिचिन्छ कि भन्ने डर पनि हुँदैन।
समितिले पालो र दर निश्चित गरेको हुनाले पर्यटकसँग मोलमोलाइ गर्ने अनि एकले अर्कालाई उछिन्ने प्रतिस्पर्धा पनि हुँदैन।
समितिका सचिव लालबहादुर रावल भन्छन, “समिति गठन गर्नुअघि बोल्ने र टाठाबाठाले मात्र पैसा कमाउँथे। समिति बनाएपछि समान रूपमा सबैले कमाउने अवसर पाएका छन्।”
समितिले सल्लेरी (गाडी पुग्ने ठाउँ) बाट मुर्माटप (राराताल पूरै देखिने ठाउँ) सम्म ३,५०० रुपैयाँ, तालको उत्तररतिर होमस्टे भएका ठाउँसम्म १,२०० रुपैयाँ, तल्लो मिलीचौर (रारातालको दक्षिण तिरको किनार) सम्म ६०० सय र माथिल्लो मिलिचौरबाट रारातालको दक्षिणतिरको किनारसम्म ३५० रुपैयाँ जानआउन घोडाको दर निर्धारण गरेको छ।
समितिले २० प्रतिशत रकम काट्छ। समितिको कोषमा जम्मा हुने रकम घोडा चलकहरूकै हितमा खर्च गर्ने योजना बनाएको छ।
घोडा चालकहरूका अनुसार आफ्नो पालोमा घोडा चलाउँदा पैसा पनि राम्रै कमाइ छ।
निर्धारण गरिएको रकम दिन कसैले पनि कन्जुस्याइँ र आनाकानी गर्दैनन्।
दुःख देखेर कसैकसैले उनीहरूलाई टिप्स दिन्छन् भने कसैले घोडालाई दाना खुवाउनू भनेर पैसा पनि थपिदिन्छन।
अहिले मिलीचौरसम्म गाडी जान दिने भएपछि आफूहरूको व्यवसायमा केही असर परेको उनीहरूको गुनासो छ।
सल्लेरीबाटै घोडा चढाएर रारा पुग्नेहरूलाई लिन पाए अझ राम्रो आम्दानी गर्न सकिने उनीहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








