दशैँको शुभकामना दिँदै राष्ट्रपति, प्रधानमन्त्रीलगायत कसले के भने

राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेता लगायतले बडादशैँको छुट्टाछुट्टै शुभकामना दिँदै सुख, शान्ति, सुशासन एवं समृद्धिको कामना गरेका छन्।

दशैँको प्रमुख दिन अर्थात्‌ दशमीको दिन मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शनिवार बिहान ११:३६ बजेको साइत टीका ग्रहण गर्नका निम्ति उत्तम रहेको छ।

दशैँमा ठाउँअनुसार कुनै समुदायले रातो, कुनैले सेतो, कुनैले पहेँलो र कुनैले कालो रङको समेत टीका लगाउने गरेका छन्।

सहयोग गर्न आह्वान

शुभकामना सन्देशमार्फत्‌ राष्ट्रपति रामचन्द्र पौडेलले देशमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्।

“विजयादशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,” राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी तथा पहिरोले निम्त्याएको पीडाबीच आपसी सहयोग र सद्‌भावका साथ दशैँ मनाउन आग्रह गरेका छन्।

विपद्‌पूर्वको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन उनले आह्वान समेत गरेका छन्।

“जो जहाँ छौँ, पीडामा परेकाहरूको पीडा हराउनका लागि सहयोगी हातहरू बढाउन आग्रह गर्छु,” प्रधानमन्त्रीले भनेका छन्।

उनले प्राकृतिक विपद्‌बीच यसपालिको टीका उल्लासपूर्ण हुन नसकेको जिकिर गरेका छन्।

“विपद्को घडीमा यति बेला मेरो मन भारी भइरहेको छ। भारी मनका साथ दशैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रा दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेका अवस्था र म पनि रमाउन सकिरहेको छैन,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।

“दशैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त ज्येष्ठ नागरिकहरूले जीवन गुमाउनुपर्‍यो। कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो।”

प्रधानमन्त्रीले क्षतिपूर्ति, पुनर्स्थापना लगायतका विषयमा ढुक्क हुन आग्रह समेत गरेका छन्।

दशैँले आपसी सहयोग, मेलमिलाप, सद्‌भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्ने सभामुख देवराज घिमिरेले विश्वास व्यक्त गरेका छन्।

“असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश हो। दशैँले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन उत्तिकै भूमिका खेलेको छ,” उनले भनेका छन्।

हालैको विपद्‌को पृष्ठभूमिमा सभामुख घिमिरेले सुरक्षित एवं सावधानीपूर्वक यात्रा गरी दशैँ मनाउन अनुरोध समेत गरेका छन्।

“बाढी, पहिरोले यातायात प्रभावित बनाएको छ भने ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई घरबारविहीन बनाएको अवस्था छ। तसर्थ सुरक्षित र सावधानीपूर्वक यात्रा गरी दशैँ मनाऔँ। चाडबाडले धेरै परिवारका लागि आर्थिक चुनौती ल्याउनेतर्फ सचेत गराउँदै मितव्ययी र स्वस्थ खर्च प्रणाली अपनाउन आह्वान गर्दछु”, सभामुख घिमिरेले भनेका छन्।

देउवा र प्रचण्डको आग्रह

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैँले समुदाय, संस्था, परिवार र व्यक्ति-व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको बताएका छन्।

बाढी तथा पहिरोले निम्त्याएको व्यापक क्षतिबीच कतिपय मानिसहरू घर फर्कन झेल्नुपरेको समस्याप्रति उनले खिन्नता प्रकट व्यक्त गरेका छन्।

“दसैँमा मान्यजनबाट आशिष् लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठिन अवस्था सिर्जना भएको छ, देउवाले भनेका छन्।

“हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएको अन्नबाली सखाप भएका छन्। यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।”

शुभकामना दिँदै पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व परिवेशमा सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा समेत दशैँ स्थापित हुँदै आएको बताएका छन्।

मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्नेमा उनले जोड दिएका छन्।

प्रचण्डले बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई यथाशीघ्र राहत र पुनर्स्थापनाको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

“प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारबिहीन नागरिकलाई पुनर्स्थापना एवं पुनर्वास, क्षति भएका सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुल लगायतका संरचनाको पुनर्निर्माणमा तीव्रता दिएर आमजनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत म नेपाल सरकारलाई पुनः स्मरण गराउन चाहन्छु,” प्रचण्डले भनेका छन्।

राष्ट्रपतिले टीका लगाइदिने

विजयादशमीको दिन विशिष्ट व्यक्ति तथा इच्छुक सर्वसाधारणलाई टीका लगाइदिने परम्परालाई राष्ट्रपति पौडेलले निरन्तरता दिने भएका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार शनिवार पौडेलले विशिष्ट व्यक्तिहरूलाई दिउँसो १ बजेदेखि २ बजेसम्म टीका लगाइदिने कार्यक्रम तय भएको छ।

अन्य इच्छुक व्यक्तिहरूका लागि दिउँसो २ बजेदेखि ५ बजे सम्मका लागि शीतलनिवासको गेट नं. १ को ढोका खुल्ला रहने कार्यालयले जनाएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि हरेक वर्ष बडादशैँमा सर्वसाधारणलाई टीका लगाउँदै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।