जसलाई यो शताब्दीकै आरम्भको दशैँ स्मरण छ

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा २१औँ शताब्दीको आरम्भ अर्थात् विसं २००० सालमा दशैँ कस्तो हुन्थ्यो होला? नेपालमा नोटको प्रचलन नै नआएको, सार्वजनिक सवारी साधन नै नभएको र चिठी पत्रको भरमा मात्रै सञ्चार सम्पर्क हुने त्यस बेलाको समयमा मनाइने दशैँबारे स्मरण भएका मानिसहरूको सङ्ख्या पनि निकै कम छ।

त्यस बेलाको बजार भाउ अनि दशैँ मनाउने चलन कस्तो थियो होला? हामीले उपलब्ध विभिन्न सामग्री र त्यस बेला किशोर वा युवा अवस्थामा पुगेका केही ज्येष्ठ नागरिकहरूसँग कुरा गरेका छौँ।

विसं २००० असोज १५ गते गोरखापत्रमा प्रकाशित दरभाउ अनुसार त्यो साता सुनको मूल्य प्रतितोला ७५ रुपैयाँ थियो।

दशैँ बिदा सुरु हुनु अघिको अन्तिम दिन प्रकाशित गोरखापत्रको अङ्कमा दशैँका बेला उपभोग हुने धान, चामल, दाल, घ्यू तेल, चिउरा आदीका दरभाउ सहितको सूचना प्रकाशित छ।

गोरखापत्रमा प्रकाशित समाचार अनुसार २००० सालको दशैँको टिका असोज २२ गते थियो।

“हिजोदेखि नवरात्रको आरम्भ भयो। सबैको घरमा रामरमाइलो छ। सबैले जमरा राखे। के ठूला के साना सबैको दशैँ,” गोरखापत्रको पृष्ठ २ मा छापिएको विवरणमा उल्लेख छ।

दोस्रो विश्वयुद्ध चलिरहेको उक्त समयमा अधिकांश समाचार दशैँका भन्दा युद्धका देखिन्छन्। अहिले युद्ध चलिरहेको युक्रेन र रुसबीच त्यस बेला पनि युद्ध चलिरहेको समाचार गोरखापत्रमा प्रकाशित छ। रुसी फौज ड्निप्रो नदीसम्म पुगेको विवरण त्यो साताको गोरखापत्रमा उल्लेख छ।

भैरव रिसालको दशैँ सम्झना

अहिले ९६ वर्षका पत्रकार भैरव रिसाल विसं २००० साल सुरू हुँदा १६ वर्षका किशोर थिए। काँठ भनिने भक्तपुरको गुन्डुमा हुर्किएका उनलाई आफ्नो किशोर अवस्थामा मनाइने दशैँबारे धेरै कुराको याद ताजै छ।

त्यस बेलाको दशैँमा सार्वजनिक यातायात सुरू भएकै थिएन। दरबार, राणा परिवार र सीमित व्यापारीहरूले मानिसले बोकेर ल्याएका मोटरकारहरू प्रयोग गर्न थालेका थिए। हुनेखाने र पहुँचवालासँग घोडा हुन्थ्यो। सर्वसाधारणसँग हिँड्नुको विकल्प थिएन। काठमाण्डूमा हिमाली जिल्लाहरूबाट ल्याइने भेडा, च्याङ्ग्रा र पहाडी जिल्लाहरूबाट आउने खसीबोका पनि हिँडाएरै ल्याइन्थ्यो।

“त्यो बेलाको हिँडुवा दशैँ। अहिले गुडुवा दशैँ। मुस्ताङबाट आउने च्याङ्ग्रा भेडा पनि मोटरबाट आउँछन् अहिले। त्यसरी हेर्छु म,” आफ्नो बाल्यकालको दशैँसँग अहिलेको दशैँ तुलना गर्दै रिसाल भन्छन्।

उनका अनुसार काठमाण्डूमा अहिलेजस्तो उपत्यका बाहिरबाट आएर बस्ने मानिसहरूको सङ्ख्या निकै कम थियो।

सन् १९९८ मा नेपालको जनसङ्ख्या ६२ लाख ८३ हजार मात्रै थियो।

त्यस बेला काठमाण्डू उपत्यकाको एकमुष्ट जनसङ्ख्या विवरण प्रकाशित गरिएको केन्द्रीय तथ्याङ्क कार्यालयको एक प्रतिवेदन अनुसार १९९८ सालमा उपत्यकाको जनसङ्ख्या जम्मा ३,२५,१३९ थियो। विसं २००९ मा उपत्यकाको जनसङ्ख्या बढेर ४,१५,७६१ पुगेको थियो।

“त्यो बेला मोटरको चलन थिएन। हिँडेर जान अप्ठ्यारो हुन्थ्यो,” भक्तपुरमा जन्मिएका रिसाल पुराना दिन सम्झन्छन्।

दशैँमा टिका लगाउने चलन चाहिँ अहिलेजस्तै दशमीदेखि चतुर्थीसम्म चल्थ्यो। गोरखापत्रमा चतुर्थीबाट दशैँ सकिने र कोजाग्रत पूर्णिमामा मानिसहरू व्रत र जाग्राम बस्ने भनिएको छ।

“अबीरले अक्षता रङ्गाइन्थ्यो गज्जब राम्रो हुन्थ्यो,” बाल्यकालका दिन सम्झँदा रिसाल रोमाञ्चित देखिन्छन्।

विभिन्न समुदायमा दशैँमा टिका लगाउन आफन्तहरूकहाँ जाने चलन त्यस बेला पनि रमाइलो हुने गरेको १०० वर्ष नजिक पुगेका ज्येष्ठ नागरिकहरू बताउँछन्।

नोटको चलन थिएन, दक्षिणामा सिक्का

नेपालमा नोट प्रकाशनको प्रचलन विसं २००२ सालमा मात्रै सुरू भएको हो। त्यसअघि नेपालमा धातुका सिक्काको प्रचलन थियो। विसं २००० को प्रारम्भमै दशैँमा टिका लगाएर दक्षिणा दिने प्रचलन भने कायम रहेको त्यस बेला किशोरावस्थामा वा युवावस्थामा रहेका ज्येष्ठ नागरिकहरूको स्मरण छ।

रिसाल आफू सातआठ वर्ष हुँदादेखि मामाघर गएको र त्यस बेला जुत्ता लगाउने चलन समेत त्यति धेरै नभएको बताउँछन्।

“बाले दशैँलाई नयाँ लुगा हालिदिनुहुन्थ्यो। कहिले जुत्ता पनि हुन्थ्यो, कहिले हुँदैनथ्यो। जुत्ता लगाउने चलन थिएन। मामाघरमा चार पैसा-पाँच पैसा दिनुभयो भने ठूलो हुन्थ्यो। पैसा है, मोहर-रुपियाँ होइन,” आफू सानो छँदा दक्षिणामा पाइने दक्षिणाबारे रिसाल सुनाउँछन्।

दशैँमा लगाइने नयाँ जुत्ताले खुट्टामा घाउ बनाउने भएकाले मानिसहरू टाढा-टाढा जाँदा जुत्ता बोकेर जाने र पुग्ने बेलामा मात्रै जुत्ता लगाउने गरेको रिसाललाई याद छ।

आफूले पाउने दशैँ दक्षिणा पैसादेखि हजारसम्म पुगेको रिसालले सुनाए।

त्यस बेला काठमाण्डूमा समेत मानिसहरूले दशैँका लागि खसी बोका घरैमा पाल्ने गरेको उनलाई स्मरण छ।

“च्याङ्ग्रा तिब्बतबाट आउँथे। अहिलेको रानी पोखरीको आसपास च्याङ्ग्रा बेच्ने ठाउँ हुन्थ्यो। त्यहाँ आ-आफ्नो भेडामा भिन्नै रङ्ग हाल्थे साटिएला भनेर,” आफू सानो छँदाको दशैँको चलन रिसालले सुनाए।

त्यस बेला एउटा भेडा च्याङ्ग्राको तौलका आधारमा भन्दा पनि सङ्ख्याका आधारमा मोल हुने गरेको उनलाई याद छ।

“छानेर लान पाइने। जति ठूलो छान्यो त्यति आफूलाई मौका पर्‍यो। अलि ठूला छानिसकेपछि एक घण्टामा फेरी भाउ घटाउँथे।”

उनलाई याद भएसम्म यो विसं २००५ देखि २००८ सालतिरको कुरा हो र त्यस बेला भेडा च्याङ्ग्राको मूल्य चार देखि ७ रुपैयाँ आसपास भएको उनी बताउँछन्।

त्यस बेला पेट भरी मासु खान दशैँमा मात्रै पाइने गरेको रिसालको अनुभव छ।

“वर्षको चार चोटि मात्रै मासु खाने चलन थियो। दशैँमा पेटभर, माघे सङ्क्रान्ति, चैते दशैँ र साउने सङ्क्रान्तिमा थोरै खाने। दशैँमा चाहिँ पेटभरी खाने,” उनले सुनाए।

त्यसबेला काठमाण्डूका अधिकांश दोबाटोमा लिङ्गे पिङ्ग हाल्ने चलन थियो।

घरहरूमा दशैँमा कमेरो र रातोमाटोले पोत्ने प्रचलन थियो। कमेरो र रातोमाटोका खानीहरू निश्चित ठाउँहरूमा थिए।

त्यसबेला पनि मानिसहरू अहिले राष्ट्रपति र पूर्व राजाकहाँ दशैँको टीका लगाउन गएजस्तो राजदरबारमा टीका लगाउन जाने प्रचलन थियो। दरबारमा टीका लगाइदिने समय तोकिएको हुन्थ्यो।

बोकेर ल्याइएका गाडी सडकमा आक्कलझुक्कल देखिन्थे। परै हर्न बजाउँदा आफूहरू भाग्ने गरेको रिसाल सुनाउँछन्।

पुरुषोत्तम शमशेरको सम्झनामा दशैँ

अहिले ९८ वर्ष पुगेका इतिहासकार पुरुषोत्तम शमशेर जबरा २००० सालमा किशोरअवस्था पार गर्दै थिए। हालको त्रिचन्द्र क्याम्पसबाट उत्तरतर्फ द्वारमात्रै बाँकी रहेको सेतो दरबार र निर्वाचन आयोग रहेको चारबुर्जा दरबारमा उनको धेरै बाल्यकाल बित्यो। रुद्र शम्शेरका नाति राणा परिवारमै हुर्किएका उनलाई त्यसबेला मनाइने दशैँबारे थोरैमात्र स्मरण छ। कतिपय ठाउँहरूको नाम समेत उनलाई याद छैन।

उनका अनुसार राणा परिवारको दशैँ पूजा राणाहरुले पुज्दै आएको थापाथलीस्थित पाञ्चायन मन्दिरको दशैँघरमा हुन्थ्यो। घरघरमा देवीको पूजा गर्ने प्रचलन थिएन।

राणा परिवारले दशैँमा क्षमताअनुसार राँगो र खसीबोकाको बली दिन्थे। तर उनीहरू राँगाको मासु चाहिँ खाँदैनथे।

“पाञ्चायनमा पठाएको बोकालाई लिएर आउँथे घर र खानपिन हुन्थ्यो। टीका चाहिँ आ-आफ्नो दरबारमा लगाउने चलन थियो,” उनी भन्छन्।

त्यसबेला राणा परिवारहरूका छुट्टाछुट्टै दरबार थिए। दशैँको पूजा सबै राणाहरूले एकै ठाउँ गर्ने गरेको उनी बताउँछन्। दशैँको टिका घरमा लगाइसकेपछि राणाहरू राजाकहाँ टीका लगाउन जान्थे।

“राजाकहाँ तोकिएको समय हुन्थ्यो। राजाकहाँ टीका लगाउन (राणा परिवार सहित) सबै जान्थे,” उनले भने।

राणा शासन अन्त्य हुने समयसम्म पनि राणा परिवारहरू दरबारमा टीका लगाउन जाने गरेको तर राजासँग सशङ्कित राणाहरू पेस्तोल बोकेर छुट्टाछुट्टै टोलीमा गएको प्रसङ्ग स्वर्गीय हिमालयसम्शेर जबराले आफू जीवित छँदै हिमालखबरलाई दिएको अन्तर्वार्तामा बताएका थिए।

दशैँमा नयाँ नोटको प्रचलन नभए पनि नयाँ सिक्काहरू आउने गरेको पुरुषोत्तम शमशेरलाई याद छ।

“मेरो जिजुबुबा रुद्र शमशेरले चाहिँ भर्खर भर्खर बनेको कति ल्याउनु भनेर अर्डर गर्नुभएको रहेछ। नेपाली २५ पैसेको सिक्का मुठ्ठीमा राखेर जुवा खेल्नुहुन्थ्यो,” उनले भने।

“नोट थिएन, टीका लगाएर मोहरको पैसा दिने चलन थियो,” उनले भने।

त्यसबेला ढोल पिटेर कोजाग्रत पूर्णिमा र तिहारको पञ्चकको समयमा जुवा फुकाउने चलन थियो। अरू समयमा जुवा खेल्न प्रतिबन्ध थियो। राणा शासनको अन्त्यसँगै विसं २००८ को तिहारबाट नेपालमा तिहारको समयमा पनि जुवा खेल्न रोकिएको थियो।

२००८ साल असोज ८ गते प्रकाशित गोरखापत्र साप्ताहिकको प्रथम पृष्ठमा गृह मन्त्रालयले कोजाग्रत पूर्णिमा र पञ्चकको जुवा समेत फुकुवा नगर्ने निर्णय गरेको समाचार प्रकाशित भएको छ।

गौरीशङ्कर लाल दासको दशैँ

हालै काठमाण्डू महानगरपालिकाले शताब्दी पुरुषको सम्मान गरेका गौरीशङ्कर लाल दास विसं २००९ सालमा मात्रै काठमाण्डू आएको बताउँछन्। मधेशको सप्तरीमा जन्मिएका दासले विद्यालय शिक्षा र चिकित्सकीय अध्ययनका लागि आफ्नो बाल्यकाल र युवाअवस्थाको धेरै समय भारतमा बिताए।

उनले बाल्यकाल बिताएको मधेशमा अक्षताको टीका लगाउने चलन थिएन। तर जमराको चलन थियो।

“तराईमा जमरा चाहिँ लगाउँथ्यौँ। ब्राह्मण पुरोहितहरूले लगाइदिन्थे। यहाँ लगाउनेजस्तो अक्षताको टीकाको चलन थिएन। हामीले पनि यहाँ आएर सुरु गर्‍यौँ,” उनले सुनाए।

दशैँमा नयाँ लुगा लगाउने र मिठो खाना खाने चलन भने नेपाल र भारतमा पनि उत्तिकै रहेको दास सम्झन्छन्।

“नयाँ लुगा लगाउने मासु बढी खाने चलन चाहिँ त्यो बेलामा थियो,” आफ्नो बाल्यकालको दशैँ स्मरण गर्दै दास भन्छन्।

उनका अनुसार मधेशमा दशैँको फरक चलन चाहिँ टोल-टोलमा देवीको मूर्ति बनाएर सामूहिक पूजा गर्ने थियो। मधेशमा घरघरमा घटस्थापना गरिए पनि दूर्गापूजा भने घरघरमा हुँदैनथियो। त्यस्तो चलन अहिले पनि कायम छ।

“सबै गाउँबासी मिलेर त्यसबेलामा मूर्ति बनाउने चलन थियो र सबै मिलेर पूजा गर्ने चलन थियो। यहाँ चाहिँ मूर्ति बताउने चलन थिएन। त्यो चलन पछि मात्रै आएको हो,” उनी भन्छन्।

आफू काठमाण्डू आउँदासम्म पनि काठमाण्डूमा मूर्ति बनाएर दुर्गा पूजाको चलन नभएको र भारतीय दूतावासमा भने त्यस्तो अभ्यास सुरु गरिएको उनी सम्झन्छन्।

पढ्नका लागि बिहारको राजनगर र पटनामा धेरै समय बिताएका दास दशैँको लामो बिदा हुनासाथ घर फर्किन्थे। त्यसबेला अहिलेजस्तो सवारी साधनको सुगमता नभएको हुँदा बयलगाढा चढेर घर फर्कने गरेको उनी सम्झन्छन्।

“राजनगरमा रेल थियो हाम्रो गाउँमा कहाँ थियो? हामी या त पैदल जानुपर्थ्यो या बयलगाडीमा पूरा दिन लगाएर जान्थ्यौँ,” उनले सुनाए।

उनलाई अहिलेको दशैँ महँगो भएको जस्तो लाग्छ।

आफू किशोर र युवा हुँदाको दशैँ सम्झँदा उनलाई रोमान्चित बनाउने कुरा त्यसबेला भर्खरै सुरु भएको पोस्टकार्डको चलन हो। दास पनि त्यस्ता पोस्टकार्डहरूमा आफ्ना साथीहरूलाई दशैँको शुभकामना पठाउँथे।

“त्यो बेला पनि दशैँ महँगो भयो भन्थ्यो। तर अहिलेको तुलना गर्दाखेरि धेरै सस्तो थियो। कल्पना पनि गर्न गाह्रो छ अहिले,” उनी रोमान्चित हुँदै सुनाउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।