नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको चर्चा, विगतका ६ विवादास्पद विजेता यी हुन्

डोनल्ड ट्रम्पलाई इजरेल र हमासबीच सम्झौता भएको जानकारी लिँदै विदेशमन्त्री मार्को रुबिओ

तस्बिर स्रोत, FRANCIS CHUNG/POOL/EPA/Shutterstock

यो वर्ष नोबेल शान्ति पुरस्कार विजेताको नाम शुक्रवार ओस्लोमा घोषणा हुने छ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले निकै लामो समयदेखि नोबेल शान्ति पुरस्कारका आकाङ्क्षी भएको बताइन्छ। केही महिनाअघि उनले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी पनि गरेका थिए।

भर्खरै ट्रम्पले प्रस्ताव गरेअनुसार नै इजरेल र हमासबीच गाजामा शान्ति स्थापना गर्ने योजनामा सहमति जुटेको छ। दुई वर्षदेखि गाजामा जारी युद्ध अन्त्य गराउन इजिप्ट, कतार, टर्की र अमेरिकाले विगत केही दिनदेखि मध्यस्थता गरेका थिए।

यो वर्ष उक्त पुरस्कारका लागि ट्रम्पको नामबारे व्यापक चर्चा हुँदै आएको छ। यद्यपि ट्रम्पले आफू नोबेल शान्ति पुरस्कार पाउन लालायित नभएको जनाएका छन्।

गत वर्ष सन् २०२४ मा नोबेल शान्ति पुरस्कार 'निहान हिडान्क्यो' दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोशिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्थाले हात पारेको थियो।

सन् २०२३ मा इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई उक्त पुरस्कार दिइएको थियो। उनलाई महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि पुरस्कृत गरिएको थियो।

मनोनयन

७ जुलाई २०२५ मा ह्वाइट हाउसमा ट्रम्प र नेतन्याहू

तस्बिर स्रोत, Washington Post via Getty Images

केही साताअघि इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले डोनल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि आफूले मनोनीत गरेको बताएका थिए।

"यतिखेर उनी शान्ति स्थापनामा लागिपरेका छन्, एकपछि अर्को देश अनि एकपछि अर्को क्षेत्रमा," पुरस्कार समितिलाई आफूले जुलाई मा पठाएको पत्र ट्रम्पलाई दिँदै नेतन्याहूले भनेका थिए।

यस्तो विश्लेषण गर्ने नेतन्याहू सम्भवतः एक्ला व्यक्ति हैनन्। गत जुन महिनामा पाकिस्तानले पनि उक्त पुरस्कारका लागि ट्रम्पलाई मनोनयन गर्ने बताएको थियो। मे महिनामा भारत र पाकिस्तानबीच युद्धविराम गराउन ट्रम्पले निर्वाह गरेको भूमिकाका लागि पाकिस्तानले ट्रम्पप्रति कृतज्ञता व्यक्त गरेको थियो।

तर भोलिपल्टै अमेरिकाले पाकिस्तानको छिमेकी देश इरानमा परमाणु केन्द्रहरूमा बमबारी गरेपछि सामाजिक सञ्जालमा उक्त प्रस्तावको तीखो आलोचना भयो।

संसारकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने नोबेल शान्ति पुरस्कार स्वीडिश वैज्ञानिक, व्यापारी तथा परोपकारी अल्फ्रेड नोबेलका नाममा स्थापित छमध्ये एक विधाको पुरस्कार हो।

नर्वेली संसद्‌ले चयन गरेको पाँच सदस्य भएको समितिले शान्ति पुरस्कार विजेताबारे निर्णय गर्छ।

यदि ट्रम्पले सो पुरस्कार जिते भने उनलाई कतिपयले विवादास्पद विजेता मान्ने छन्। तर राजनीतिक प्रकृतिको भएकाले शान्ति पुरस्कार अन्य पाँच विधाका नोबेल पुरस्कारभन्दा धेरै विवादित हुने गर्छ।

सबैभन्दा धेरै विवादितमध्येका छ वटा उदाहरण यहाँ प्रस्तुत गरिएका छन्। साथै नोबेल पुरस्कार नपाएका एक उल्लेख्य व्यक्तिबारे पनि यहाँ चर्चा गरिएको छ।।

१. बराक ओबामा

भूतपूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा आँखा झिम्क्याउँदै

तस्बिर स्रोत, AFP

सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले नोबेल शान्ति पुरस्कार जित्दा धेरै मानिस छक्क परे - विजेता स्वयं पनि।

सन् २०२० मा आफ्नो संस्मरणमा ओबामाले उक्त खबर सुन्दा पहिलो प्रतिक्रिया "केका निम्ति?" भन्ने प्रश्नका रूपमा उब्जिएको लेखेका छन्।

उनले कार्यभार सम्हालेको भर्खर नौ महिना भएको अवस्थामा आलोचकहरूले उक्त निर्णय अपरिपक्व भएको बताए। वास्तवमा ओबामाले राष्ट्रपतिको शपथ लिएको १२ दिनपछि नै उक्त पुरस्कारका निम्ति मनोनयन बुझाउने समय सकिएको थियो।

सन् २०१५ मा नोबेल इन्स्टिट्यूटका गेइर लुन्डेस्टाडले ओबामालाई चयन गर्ने निर्णयबारे सो समितिले पछि पछुतो मानेको बीबीसीलाई सङ्केत गरेका थिए।

राष्ट्रपति ओबामाको दुई कार्यकालका समयमा अफगानिस्तान, इराक र सिरियामा अमेरिकी सैनिक युद्धरत थिए।

२. यासर अराफात

प्यालेस्टिनी नेता यासर अराफात

तस्बिर स्रोत, Sygma via Getty Images

तस्बिरको क्याप्शन, सन् १९९४ मा प्यालेस्टिनी नेता यासर अराफातले नोबेल शान्ति पुरस्कार पाएका थिए

यी दिवङ्गत प्यालेस्टिनी नेतालाई सन् १९९४ मा तात्कालिक इजरेली प्रधानमन्त्री यित्जाक रबिन तथा विदेशमन्त्री शिमोन पेरेजसँगै संयुक्त रूपमा उक्त पुरस्कार दिइयो।

सन् १९९० को दशकमा ओस्लो शान्ति सम्झौताका निम्ति उनीहरूले खेलेको भूमिकाका लागि पुरस्कार दिइएको थियो। त्यतिखेर इजरेली-प्यालेस्टीनी युद्ध रोक्न यसलाई आशाका साथ हेरिएको थियो।

विगतमा अर्धसैनिक गतिविधिमा सक्रिय रहेका यासर अराफातलाई पुरस्कार दिइएकोमा इजरेल तथा अन्यत्रबाट आलोचना भयो।

नोबेल समितिभित्रै पनि अराफातको मनोनयनबारे विवाद भएको थियो।

समितिका एक सदस्य एवं नर्वेली राजनीतिज्ञ केर क्रिस्टिआन्सेनले त्यसै कारण राजीनामा दिएका थिए।

३. हेन्री किसिन्जर

हेन्री किसिन्जर

तस्बिर स्रोत, Gamma-Rapho via Getty Images

तस्बिरको क्याप्शन, सन् १९७३ मा हेन्री किसिन्जरले नोबेल शान्ति पुरस्कार पाएका थिए

सन् १९७३ मा तात्कालिक अमेरिकी विदेशमन्त्री हेन्री किसिन्जरले शान्ति पुरस्कार पाए।

क्याम्बोडियामा गरिएका गोप्य बमबारी तथा दक्षिण अमेरिकी देशहरूका दमनकारी सैन्य सत्ताहरूलाई समर्थन गरेकोसहित अमेरिकी विदेश नीतिका कैयौँ निकै विवादास्पद घटनाक्रममा सामेल मानिसलाई शान्ति पुरस्कार प्रदान गरिएकोमा धेरैले आश्चर्य प्रकट गरे।

भियतनाम युद्ध रोक्ने सहमति गर्न खेलेको भूमिकाका कारण किसिन्जर र उत्तर भियतनामी नेता ले डक टोलाई सो पुरस्कार संयुक्त रूपमा दिइयो।

तर विरोधमा नोबेल पुरस्कार समितिका दुई सदस्यले राजीनामा दिए।

त्यतिखेर न्यूयोर्क टाइम्स पत्रिकाले 'नोबेल वार प्राइज' भनेर कटाक्ष गरेको थियो।

४. आबी अहमद

सन् २०१९ नोबेल शान्ति पुरस्कार ग्रहण गर्दै इथिओपियाका प्रधानमन्त्री आबी अहमद

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१९ मा इथिओपियाका प्रधानमन्त्री आबी अहमदले नोबेल शान्ति पुरस्कार पाए

सन् २०१९ मा इथिओपियाका प्रधानमन्त्रीलाई छिमेकी एरिट्रेयासँगको लामो सीमा सङ्घर्ष समाधान गर्न गरेको प्रयासका लागि शान्ति पुरस्कार प्रदान गरियो।

तर एक वर्ष नबित्दै त्यो निर्णय उचित थियो कि थिएन भन्ने प्रश्न उठ्यो।

उत्तरी क्षेत्र टिग्रेमा सैन्य परिचालन गरेकोमा अन्तर्राष्ट्रिय समुदायले आबी अहमदको आलोचना गरेको थियो।

त्यसयता त्यहाँ गृहयुद्ध भड्कियो, जसका कारण दशौँ लाख मानिसहरू खानेकुरा, औषधि तथा अन्य आधारभूत सेवाबाट वञ्चित हुनुपर्‍यो भने लाखौँ मानिसको ज्यान गएको ठानिन्छ।

५. आङ सान सू ची

ओस्लो सिटी हलमा आयोजित कार्यक्रममा नोबेल पुरस्कार विजेता आङ सान सू ची

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ओस्लो सिटी हलमा आयोजित कार्यक्रममा नोबेल पुरस्कार विजेता आङ सान सू ची

बर्मेली राजनीतिज्ञ सू चीलाई सन् १९९१ मा म्यान्मारमा सैन्य शासनविरुद्ध उनको अहिंसात्मक सङ्घर्षका लागि नोबेल शान्ति पुरस्कार दिइएको थियो।

तर २० वर्षभन्दा धेरै समयपश्चात् उनको देशमा मुस्लिम रोहिन्ज्याहरूको आमहत्या तथा गम्भीर मानवाधिकार उल्लङ्घन भयो।

संयुक्त राष्ट्रसङ्घले 'आम नरसंहार'को सङ्ज्ञा दिएको दमनप्रति विरोध जनाउन नसकेकोमा आङ सान सू चीको चर्को आलोचना भयो।

उनको उपाधि खोस्नुपर्ने माग पनि उठे। तर नियमहरूमा त्यसो गर्न सकिने कुनै बुँदा थिएन।

६. वाङ्गारी माथाई

केन्याली वातावरण तथा राजनीतिक अभियानकर्ता वाङ्गारी माथाई

तस्बिर स्रोत, Corbis via Getty

दिवङ्गत केन्याली अभियानकर्मी माथाईले सन् २००४ मा नोबेल पुरस्कार पाउँदा उनी उक्त पुरस्कार पाउने पहिलो अफ्रिकी महिला थिइन्।

दशौँ लाख रूख रोपेको श्रेय जाने 'ग्रीन बेल्ट मूभ्मेन्ट'का निम्ति यी जीवशास्त्रीलाई पुरस्कृत गरिएको थियो।

तर उनले एचआईभी र एड्सबारे गरेका टिप्पणी सार्वजनिक भएपछि उनको जितबारे प्रश्न उठेका थिए।

माथाईले एचआईभी भाइरसलाई अश्वेत मानिसहरूलाई नष्ट गर्न कृत्रिम रूपमा निर्माण गरिएको जैविक अस्त्र भनेकी थिइन्।

उनको दाबीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण छैन।

तर महात्मा गान्धीको रित्तो हात

ब्रिटिश शासनविरुद्ध अनशन बसेका भारतीय राजनेता महात्मा गान्धी

तस्बिर स्रोत, Keystone/Getty Images

तस्बिरको क्याप्शन, भारतमा महात्मा गान्धीले ब्रिटिश शासनविरुद्ध अहिंसात्मक आन्दोलन गरेका थिए

योग्य पात्रलाई नोबेल पुरस्कार नदिइएको भनेर पनि बेलाबेलामा समितिको आलोचना हुने गरेको छ।

शान्तिको विधामा त्यसरी पुरस्कृत हुन छुटेका एक महत्त्वपूर्ण व्यक्ति महात्मा गान्धी भएको धेरैको मान्यता छ।

पाँच पटकसम्म पुरस्कारका निम्ति मनोनीत भए पनि बीसौँ शताब्दीका शान्तिपूर्ण आन्दोलनहरूका प्रतीक बनेका यी भारतीय राजनीतिज्ञले कहिल्यै नोबेल शान्ति पुरस्कार पाएनन्।

सन् २००६ मा नर्वेली इतिहासकार तथा शान्ति पुरस्कार विजेता चयन गर्ने समितिका तात्कालिन अध्यक्ष गेअर लुन्डेस्टाडले गान्धीको योगदानलाई पहिचान गर्न नसक्नुलाई नोबेल पुरस्कारको इतिहासकै एक ठूलो कमजोरी भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।