ट्रम्पले कतिवटा युद्ध साँच्चै अन्त्य गराए? नोबेल पुरस्कारको 'आश'मा गरिएका दाबीको तथ्यजाँच

- Author, जेक हर्टन र निक बीक
- Role, बीबीसी भेरिफाई
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्नका लागि मध्यस्थताको प्रयास गरिरहँदा उनले दोस्रो कार्यकालको सुरुवातयता शान्ति वार्तामा आफूले चासो राखेको कुरा देखाउन खोजेजस्तो देखिन्छ।
ह्वाइट हाउसमा अगस्ट १८ तारिखमा बोल्दै उनले दाबी गरे : "मैले छ वटा युद्ध अन्त्य गराएको छु... यी सम्झौताहरू मैले 'युद्धविराम' शब्दको उल्लेख नगरी गराएँ।"
त्यहाँ उनलाई युद्धविरामका लागि युरोपेली नेताहरूले दबाव दिइरहेका थिए।
त्यसकै अर्को दिन युद्धविराम दाबी गरिएको सङ्ख्या बढेर छबाट "सातवटा युद्ध" पुग्यो।
ट्रम्प प्रशासनले ट्रम्पले रोकेका "युद्धहरू" सूचीबद्ध गरेर उसकै शब्दमा 'प्रमुख शान्तिनिर्माता' (पीसमेकर-इन-चीफ) ट्रम्पलाई नोबल शान्ति पुरस्कार पहिलै दिइसक्नुपर्ने र ढिलाइ भएको जनाएको छ।
यीमध्ये केही सम्झौता केही दिन मात्र चलेका थिए भने कतिपय सम्झौताहरू कति स्थायी हुने छन् भन्ने बारे स्पष्ट छैन। ट्रम्पले आफ्नो 'ट्रूथ सोशल'को पोस्टमा धेरै पटक 'युद्धविराम' शब्द प्रयोग गरेका छन्।
बीबीसी भेरिफाईले यी द्वन्द्वहरूलाई नजिकबाट नियालेको छ र यसलाई रोक्नका लागि ट्रम्पले कति श्रेय पाउनुपर्छ भनेर पत्ता लगाउने प्रयास गरेको छ।
इजरेल र इरान
गत जुन १३ तारिखमा इजरेलले इरानका लक्षित ठाउँमा आक्रमण गरेपछि १२ दिन लामो द्वन्द्व सुरु भएको थियो।
ट्रम्पले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आक्रमण हुनुअघि नै आफूलाई आक्रमणबारे जानकारी गराएको पुष्टि गरेका थिए।
त्यसपछि अमेरिकाले पनि इरानका परमाणु केन्द्रहरूलाई निसाना बनाएको थियो। यो कदमले द्वन्द्वलाई चाँडै नियन्त्रणमा लिएको विश्वास गरिएको थियो।
जुन २३ मा ट्रम्पले 'ट्रूथ सोशल'मा लेखेका थिए, "आधिकारिक रूपमा इरानले युद्धविराम सुरु गर्ने छ र १२ घण्टापछि इजरेलले पनि युद्धविराम गर्ने छ,२४ घण्टापछि यो १२ दिने युद्ध अन्त्य हुने छ।"
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले आफ्नो देशले "निर्णायक जित" हासिल गरेको दाबी गरे पनि युद्धविरामको भने कुनै उल्लेख गरेनन्।
साथै इजरेलले नयाँ खतरा देखिए इरानमाथि फेरि आक्रमण गर्न सक्ने बताएको छ।
अमेरिकास्थित थिङ्क ट्याङ्क ब्रुकिङ्ग्स इन्स्टिट्यूशनका सिनिअर फेलो माइकल ओ'हानलनले भने, "इरानको परमाणु कार्यक्रमको स्थायी शान्ति र निगरानीका लागि कुनै सहमति भएको छैन।"
"त्यसैले यो युद्धको अन्त्य होइन, युद्धविराम मात्र हो। तर म ट्रम्पलाई केही श्रेय दिन चाहन्छु। अमेरिकाको सहयोगमा इजरेलले इरानलाई कमजोर पार्नु रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको छ।"

तस्बिर स्रोत, AFP via Getty Images
पाकिस्तान र भारत
दक्षिण एशियाका दुई परमाणु शक्तिराष्ट्रबीच वर्षौँदेखि तनाव रहँदै आएको छ। तर गत मे महिनामा भारत-प्रशासित कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो। चार दिन चलेको हमलापछि ट्रम्पले भारत र पाकिस्तानले "पूर्ण र तत्काल युद्धविराम" का लागि सहमति जनाएको भन्दै पोस्ट गरे।
उनले यो सम्झौता संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा राति अबेरसम्म भएको वार्ताको परिणाम भएको बताएका छन्।
पाकिस्तानले ट्रम्पको "निर्णायक कूटनीतिक हस्तक्षेप" उद्धृत गर्दै उनलाई धन्यवाद दिएर नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको थियो।
तर भारतले अमेरिकाको भूमिकालाई महत्त्व दिएन। भारतीय विदेश सचिव विक्रम मिस्रीले भने, "सैन्य कारबाही स्थगन गर्ने विषयमा दुई सेनाबीच स्थापित विद्यमान मार्गअन्तर्गत वार्ता भएको थियो।"
रुवान्डा र डेमक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)
एम२३ विद्रोही समूहले यसै वर्षको सुरुमा डेमक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)को खनिज रहेको क्षेत्र कब्जा गरेपछि दुई देशबीच लामो समयदेखि रहँदै आएको दुस्मनी बढेको थियो।
गत जुनमा दुई देशले वाशिङ्टनमा दशकौँदेखिको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
ट्रम्पले यो सम्झौताले अमेरिका र दुई देशबीचको व्यापार बढाउन सहयोग पुग्ने बताएका छन्।
यस सम्झौतामा रुवान्डा र डीआरसीबीच सन् २०२४ को अगस्टमा भएको "युद्धविरामको सम्मानका लागि" आग्रह गरिएको छ।

तस्बिर स्रोत, Getty
सम्झौतायता दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका थिए। एम२३ विद्रोहीले त शान्ति वार्ताबाट पछि हट्ने धम्की दिएको थियो।
यूनिभर्सिटी अफ अक्स्फोर्डमा इतिहासकी प्राध्यापक मार्गरेट मकमिलन भन्छिन्, "कङ्गो र रुवान्डाबीचको लडाइँ अहिले पनि जारी छ । त्यसैले कहिल्यै युद्धविराम भएन।"
थाईल्यान्ड र क्याम्बोडिया
जुलाई २६ मा ट्रम्पले 'ट्रूथ सोशल'मा पोस्ट गरे : "म अहिले थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्रीलाई फोन गरेर युद्धविरामका लागि अनुरोध गर्दै। अहिले बढिरहेको युद्ध अन्त्य गर्न अनुरोध गर्छु।"
त्यसको केही दिनपछि थाईल्यान्ड र क्याम्बोडियाले "तत्काल र निसर्त युद्धविराम" गर्न सहमति जनाएका थिए। सीमा क्षेत्रमा करिब एक साताभन्दा कम समय लडाइँ भएको थियो।
मलेशियाले शान्तिवार्ता आयोजना गरेको थियो तर ट्रम्पले थाईल्यान्ड र क्याम्बोडियाले लडाइँ नरोके अमेरिकी कर घटाउने विषयका छुट्टाछुट्टै वार्ता रोक्न धम्की दिएका थिए।
यी दुवै देश निर्यातमा अमेरिकासँग एकदमै धेरै भर पर्दै आएका छन्।
अगस्ट ७ तारिखमा थाईल्यान्ड र क्याम्बोडियाले सीमामा तनाव कम गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।
आर्मीनिया र अजरबैजान
दुवै देशका नेताहरूले ट्रम्पलाई शान्ति सम्झौतामा उनको भूमिकाको लागि नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताएका थिए। अगस्ट ८ तारिखमा आर्मीनिया र अजरबैजानबीच ह्वाइट हाउसमा सम्झौताको घोषणा गरिएको थियो।
"मलाई लाग्छ ट्रम्पले यसमा पूरा श्रेय पाउने छन्। ह्वाइट हाउसमा भएको हस्ताक्षर समारोहले दुवै पक्षलाई शान्तितर्फ अघि बढ्न मद्दत गरेको हुन सक्छ," ओ'हनलानले भने।
मार्चमा दुवै सरकारले नगोर्नो–काराबाखलाई लिएर करिब ४० वर्षदेखि चल्दै आएको द्वन्द्व अन्त्य गर्न तयार रहेको बताएका थिए।
सन् २०२३ को सेप्टेम्बरमा अजरबैजानले आर्मेनियाका थुप्रै मानिस बस्ने भूभाग कब्जा गरेपछि दुई देशबीच तनाव झनै बढेको थियो।

तस्बिर स्रोत, Getty Images
इजिप्ट र इथियोपिया
इजिप्ट र इथियोपियामा राष्ट्रपति ट्रम्पका लागि अन्त्य गर्न कुनै पनि "युद्ध" थिएन। तर नाइल नदीमा बाँधलाई लिएर दुई देशबीच लामो समयदेखि तनाव रहँदै आएको छ।
इथियोपियाको 'ग्र्यान्ड इथोपिअन रिनेसन्स ड्याम' यसै वर्षको गर्मीयाममा पूरा भयो। तर इजिप्टले भने यसले नाइल नदीको आफ्नो भागको पानीलाई असर गर्न सक्ने बताएको छ।
इजिप्टका विदेशमन्त्रीले १२ वर्ष लामो द्वन्द्वपछि गत जुन २९ मा इथियोपियासँगको वार्ता रोकिएको बताएका थिए।
"यदि म इजिप्ट भएको भए मलाई नाइल नदीको पानी चाहिन्थ्यो," ट्रम्पले भने। उनले अमेरिकाले चाँडै नै यो विवाद समाधान गर्ने वाचा गरेका थिए।
इजिप्टले ट्रम्पका शब्दहरूको स्वागत गरे पनि इथियोपियाली अधिकारीहरूले यसले तनाव बढाउन सक्ने चेतावनी दिएका छन्।
ट्रम्पको दाबीका बावजुद इजिप्ट र इथियोपियाबीच मतभेद सुल्झाउन अहिलेसम्म कुनै औपचारिक सम्झौता भएको छैन।
सर्बिया र कोसोभो
जुन २७ तारिखमा ट्रम्पले सर्बिया र कोसोभोबीच द्वन्द्व फैलिनबाट आफूले जोगाएको दाबी गरेका थिए।
"सर्बिया र कोसोभोबीच ठूलो युद्ध हुने थियो। मैले भनेको थिएँ कि तपाईँहरू लड्नुहोस् किनभने अमेरिकासँग कुनै व्यापार छैन। उनीहरूले सायद हामी त्यसो गर्दैनौँ भनेका थिए," ट्रम्पले भनेका थिए।
दुई देशबीच सन् १९९० को दशकको बाल्कन युद्धदेखि विवाद रहँदै आएको छ र पछिल्लो समय यो तनाव चुलिएको छ।
"सर्बिया र कोसोभो न त एक अर्कासँग लडिरहेका छन्, न त एक अर्कामाथि गोली चलाइरहेका छन्। त्यसैले यो अन्त्य गर्ने युद्ध होइन," प्राध्यापक मकमिलनले भनिन्।
सन् २०२० मा राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा दुई देशबीच ओभल अफिसमा आर्थिक सम्झौतामा हस्ताक्षर भएको थियो। यद्यपि त्यो समयमा उनीहरू युद्ध गरिरहेका थिएनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








