भारत किसान आन्दोलन: ओबामा र ट्रुडोबारेको चर्चाको सत्यता के हो?

तस्बिर स्रोत, Getty Images
- Author, श्रुति मेनन
- Role, बीबीसी रियालिटी चेक
भारतमा किसान आन्दोलन चर्किएको छ। राजधानी दिल्लीका चारैतिरका मुख्य बाटो किसानले बन्द गरेका छन्।
त्यसको निम्ति ट्रयाक्टर र अन्य कृषि औजार प्रयोग गरिएका छन्। कृषि कानूनले निम्त्याएको उक्त विरोधले अन्तर्राष्ट्रिय ध्यान तानेको देखिन्छ।
जसमा जोडिएका छन्, अमेरिकी राष्ट्रपति बराक ओबामा र क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रुडो।
निकै राजनीतिकरण भएको उक्त किसान अन्दोलनबारे सामाजिक सञ्जालमा उनीहरूको धारणा भनेर आएका विवरणको सत्यता के हो?
हामीले आन्दोलनको पक्ष लिएको भनेर गलत सूचना फैलाउने प्रयास गरिएको उक्त विषयको परीक्षण गरेका छौँ।
ओबामाले मोदीसँग भेटेकोमा लाज लाग्यो भनेका हुन्?

पहिलो उदाहरण अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले व्यक्त गरेको भनिएको चिन्ता हो।
राष्ट्रपति छँदा उनले कैयौँ अवसरमा भारतीय प्रधानमन्त्रीसँग भेट गरेका थिए।
दुईजना सँगै उभिएको तस्बिर सामाजिक सञ्जालमा देखिएको छ। त्यसमा सन् २०१४ मा ह्वाइट हाउसमा मोदीसँग भएको भेटप्रति उनले पछुतो व्यक्त गरेको देखिन्छ।
केही त्यस्ता तस्बिरहरूलाई किसानप्रति समर्थन जनाउन प्रयोग गरिएका छन्।
मोदी र ओबामाको उक्त तस्बिर सक्कली हो। जुन त्यस वर्ष दुई नेताबीच भएको वास्तविक बैठककै हो।
तर ट्विटर पोस्ट झूटो हो।
ट्विटर पोस्ट गलत स्पेलिङ सहित कमजोर अङ्ग्रेजीमा लेखिएको छ। ओबामाको ट्विटर प्रोफाइल सम्पादन गरेर त्यसमा राखिएको देखिन्छ।

ओबामाको ट्विटर टाइमलाइन जाँच गर्दा पनि गत महिना प्रदर्शन शुरू भएयता त्यस्तो ट्वीट गरेको देखिन्न।
‘ऐक्यबद्धता प्रदर्शन’ मा जस्टीन ट्रुडो?
अर्को उदाहरण क्यानाडका प्रधानमन्त्री जस्टीन ट्रुडो हुन्।
जसले प्रदर्शनमा भारतीय सरकारको प्रतिक्रियाबारे चिन्ता व्यक्त गरेपछि विवादमा तानिएका छन्।
त्यसलाई लिएर उनले सार्वजनिक रूपमा भारतीय सरकारको असन्तुष्टिको सामना गर्नु परेको थियो।

तस्बिर स्रोत, Getty Images
त्यो विषय एकातिर छ। केही मानिसले ट्रुडोको एउटा तस्बिर भ्रमपूर्ण सूचना प्रवाहको निम्ति सामाजिक सञ्जालमा प्रयोग गरेका थिए।
जसमा उनी आन्दोलनप्रति ऐक्यबद्धता जनाउन सिख समुदायको एउटा समूहसँग बसिरहेको दाबी गरिएको छ। भारतमा धेरै सिख किसान छन्।
क्यानाडमा कैयौँ सिखसहित भारतीय मूलका मानिसको ठूलै जनसङ्ख्या छ।
तर उक्त तस्बिर भ्रमपूर्ण हो किनकी त्यो कम्तीमा पाँच वर्ष पुरानो हो।
त्यो कुरा प्रधानमन्त्री कार्यालयले बीबीसीसँग पुष्टि गरेको छ। उसले तस्बिरमा ट्रुडोको दाह्री नदेखिएको तर अहिले उनले दाह्री पालेको पनि उल्लेख गर्यो।
उक्त तस्बिर उनी सन् २०१५ को नोभेम्बर महिनामा अटोवास्थित सिखहरूको एउटा धार्मिक केन्द्रको भ्रमणमा गएका बेलाको हो।
जुन भ्रमणबारे स्थानीय सञ्चार संस्थाले समाचार प्रवाह गरेका थिए।
भारतमा भइरहेको वर्तमान प्रदर्शनबारे ट्रुडोको धारणा जे सुकै भए पनि तस्बिर असान्दर्भिक रूपमा प्रयोग गरिएको छ।









