आन्दोलनको एक महिना बितिसक्दा पनि जेन जीको नेता को भन्नेमा अलमल, अबको सम्भावना के छ

- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
एक महिनाअघि सरकार तथा संसद् विघटना गराउने गरी भएको जेन जी प्रदर्शनपछि यो आन्दोलन अब कसरी अघि बढ्ला? फरकफरक समूहमा देखिएका जेन जी अभियानकर्मीहरूको एउटै टोली वा दल बन्ला? प्रदर्शनको एक महिनासम्म पनि मानिसहरूले यी प्रश्नको जबाफ सामाजिक सञ्जालदेखि पारिवारिक जमघटसम्म खोजिरहेका छन्।
नवयुवाहरूको स्वतःस्फूर्त रूपमा भएको भनिएको प्रदर्शनको पहिलो दिन सरकारले दमन गरेपछि दोस्रो दिनको प्रदर्शन उग्र बन्यो। धेरै सार्वजनिक सम्पत्तिमा तोडफोड भयो र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए।
त्यसपछि अन्तरिम सरकारको गठनका लागि नेपाली सेनाले अग्रसरता लिँदा सेनासँग वार्ता गर्ने चरणदेखि नै विभिन्न व्यक्ति तथा समूहले आफू आन्दोलनकारीको वास्तविक प्रतिनिधि भएको दाबी गर्न थाले। यो क्रम आजसम्म पनि जारी छ।
भदौ २४ को प्रदर्शनअघि 'हामी नेपाल' संस्थाको डिस्कर्ड च्यानलमा चारवटा माग अघि सारिएका थिए।
प्रधानमन्त्रीसहित सङ्घ र प्रदेशका मन्त्रीहरूको राजीनामा र युवाको नेतृत्वमा अन्तरिम सरकारको गठन पनि जेन जी आन्दोलनको समन्वय गरिरहेको दाबी गर्ने यो समूहले अघि सारेको थियो। हामी नेपाल जेन जी प्रदर्शनपछि चर्चामा आएका सुधन गुरुङ आबद्ध संस्था हो।
यदि अन्तरिम सरकार बन्ने अवस्था आए काठमाण्डू महानगरपालिकाका मेअर बालेन शाहलाई आफूहरूको नेताको रूपमा अघि सारिने उक्त च्यानलमा प्रवाहित सूचनामा उल्लेख थियो। तर बालेन अन्तरिम सरकारको नेतृत्व गर्न अघि सरेनन्।
जेन जी प्रदर्शनका एक जना अगुवा प्रदीप ज्ञवाली बालेन शाहले प्रधानमन्त्री बन्न अस्वीकार गरेको बताउँछन्।
"उहाँले त्यति बेला नै आफू नआउने भनिसकेको कारणले त्यो दिशामा जाला जस्तो मलाई लाग्दैन," जेन जी आन्दोलनको भावी नेतृत्वबारे उनले भने।
त्यसपछि बालेन आफैँले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री प्रस्ताव गरे र धेरै जेन जी समूहले त्यसमा समर्थन पनि जनाए।
एक महिनाअघिको त्यो अलमल

भदौ २३ गते नवयुवाहरूको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा दर्जनौँको ज्यान गएपछि उग्र बनेका प्रदर्शनकारीहरूले त्यसको भोलिपल्ट सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतसहित कैयौँ सरकारी सम्पत्तिमा आगजनी गरे। नेताहरूका निजी घरदेखि व्यापारिक भवनहरू पनि आगजनी, तोडफोड र लुटपाटको सिकार भए।
जेन जी प्रदर्शन आह्वान गरेका धेरैजसो समूहले आफूहरूको प्रदर्शनमा घुसपैठ भएको बताउँदै आएका छन्।
प्रहरीका कार्यालयमा आगजनी र तोडफोडका साथै केही चौकीबाट हतियार समेत खोसिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षाको अग्रपङ्क्तिबाट पछि हटेका थिए। त्यही रातबाट नेपाली सेनाले समग्र सुरक्षाको जिम्मा लिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै देखिएको राजनीतिक रिक्तताको अवस्थामा नेपाली सेनाले प्रदर्शनकारी र राष्ट्रपतिबीच वार्ताको सहजीकरण गरेको थियो।
भदौ २४ गते रातिबाटै नेपाली सेनाले जेन जी अभियानकर्मीहरूलाई वार्तामा बोलाएको थियो। त्यस बेलासम्म यो प्रदर्शनको अगुवाइ कसले गरिरहेको थियो स्पष्ट थिएन।
जेन जीका अगुवाहरू विभिन्न सहरहरूमा फरकफरक व्यक्ति वा समूहको अगुवाइमा प्रदर्शन सुरु भएका कारण आन्दोलनको नेतृत्वमा एउटै समूह नदेखिएको बताउँछन्।
नेपाली सेनाले वार्ताका लागि बोलाउँदा कैयौँ समूहले आफूहरू आन्दोलनको अगुवा भएको दाबी गर्दै पुगेका थिए। प्रधानसेनापतिसँग त्यही दिन भेटेका दुर्गा प्रसाईले त्यस बेला बीबीसीसँगको कुराकानीमा आफू त्यहाँ पुग्दा जेन जीका चारपाँच समूह देखेको बताएका थिए।
जेन जी अभियानकर्मीका नामा राजनीतिक दलको पनि घुसपैठ भएको आरोप समेत त्यस बेला लागेको थियो। त्यसपछि नेपाली सेनाले जेन जी प्रदर्शनका निश्चित अगुवाहरूलाई मात्रै राष्ट्रपतिसँग वार्ताका लागि पुर्याएको थियो।
प्रधानमन्त्री कार्यालयले अहिले पनि जेन जी प्रदर्शनका अगुवाहरूसँग छलफल र परामर्श लिने गरेको छ। त्यसका लागि करिब २० जनाको सम्पर्क नम्बर उक्त कार्यालयले राखेको जेन जी अगुवाहरू बताउँछन्।
जेन जी समूहहरूको एउटै पार्टी बन्ला?

एक जना जेन जी अभियानकर्मी अनिल बानियाँले फरकफरक समूहबाट जेन जी प्रदर्शनको नेतृत्व गरिरहेका अगुवाहरूबीच संवाद भइरहेको र एक ठाउँमा हुने प्रयास भइरहेको उनले बताए।
"कतिपय स्वार्थी समूह पनि छन्। जेन जी भनेर हिँडिरहेका पार्टीमा आबद्ध व्यक्तिहरू पनि हुनुहुन्छ। उहाँहरूसँग बचेर नयाँ नेपाल बनेको देख्न चाहने समूहसँग हामी निरन्तर संवादमा छौँ," बानियाँ भन्छन्।
प्रदर्शनमा दमनको आदेश दिने र गोली चलाउन प्रत्यक्ष संलग्न हुने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने विषयमा आफूहरू हालसम्म केन्द्रित रहेको उनी बताउँछन्।
अर्का अभियानकर्मी ज्ञवालीले पनि फरकफरक समूहहरूबीच वार्ता भइरहेको बताए।
जेन जीको फरकफरक समूहमा रहेका भनिएका अगुवाहरूबीच आगामी निर्वचनअघि एउटै पार्टी बन्ने वा नबन्नेबारे भिन्नभिन्न बुझाइ देखिन्छ।
ज्ञवाली एउटै पार्टी बन्ने सम्भावना आफूले देखेको बताउँछन्।
"एउटै पार्टी भएर सबै साथीहरू एक ठाउँमा आउनुहुन्छ भन्ने मलाई लाग्छ। संवाद पनि भइरहेको छ," उनले भने।
"जेन जीका फरकफरक पार्टी भन्ने हुँदैन। यो आन्दोलनलाई संस्थागत गर्ने र राष्ट्रलाई नयाँ दिशामा लिएर जान एउटै पार्टी बन्नुपर्छ।"
तर 'जेन जी मूभमन्ट अलायन्स'का अभियानकर्मी रिजन रानामगर एउटै पार्टी वा नेतृत्व हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताउँछन्।
"एउटै पार्टी हुनुपर्छ भन्ने कुरा म मान्न सक्दिनँ। 'मेरो मात्रै विचार, मेरो मात्रै नेतृत्व' भन्ने कुराले हामीलाई यहाँसम्म पुर्यायो," उनी भन्छन्।
"यो संविधानको रक्षा गर्ने विषय, आजसम्म भएका सबै आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्दै समयानुकूल बनाउने र निर्वाचनलाई भ्रष्टाचारविरुद्धको अभियान कसरी बनाउने भन्ने कुरामा चाहिँ हामी एक ठाउँमा हुन सक्छौँ।"
को बन्ला जेन जी आन्दोलनको नेता

तस्बिर स्रोत, RSS
भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय र पार्टीमा आबद्ध नरहेका युवाहरूले जेन जीको नेतृत्व छनौट गर्ने केही अभियानकर्मीहरू बताउँछन्।
विसं २०७२ सालको भूकम्पपछिको उद्धार र राहतसँगै सक्रिय समाज सेवामा देखिएका सुधन गुरुङलाई पनि कतिपयले जेन जीका सम्भावित नेताको रूपमा चर्चा गरेका छन्। गुरुङनिकट बानियाँ कसैले नेतृत्व लिन नआएको अवस्थामा मात्रै गुरुङले सहजीकरण गरिदिएको दाबी गर्छन्।
"जेन जीको नेता भोलि आफैँ यो पुस्ताले नै छान्छ। सातै प्रदेशका साथीहरूसँग छलफल हुँदै छ," उनले भने।
अर्का अभियानकर्मी ज्ञवाली नेतृत्वबारे अहिले नै आकलन गर्न हतार हाने बताउँछन्।
"अहिले नै यो नेता हो भन्न सकिने अवस्था छैन। सबैलाई मिलाएर यो आन्दोलनलाई पनि संस्थागत गरेर अगाडि बढाउन चाहनेलाई सर्वसम्मत नेता मानेर हामी जान्छौँ," उनले भने। जेन जी पुस्ताबाटै यसको नेतृत्व चयन हुने उनको अपेक्षा छ।
अर्का अभियानकर्मी रिजन रानामगर एक जना नेता बनाउने भन्दा पनि सामूहिक नेतृत्वको अवधारणाको पक्षमा आफू रहेको बताउँछन्।
"कसैलाई नेता मान्ने र आवश्यक पर्दा देवत्वकरण र प्रतिकूल हुँदा दानवीकरण गर्ने अघिल्लो पुस्ताको प्रवृत्तिको विरुद्ध पनि हामी भएको हुनाले, सामूहिक नेतृत्व प्रणालीको पक्षमा हामी भएको हुनाले लोकतान्त्रिक नेतृत्व प्रणालीमा हामी एकजुट हुन सक्छौँ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








