तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भियतनाममा शक्तिशाली आँधीले पुल भत्काउँदा नदीमा खसे कैयौँ कार
- Author, केली एनजी र क्रिस्टी कुनी
- Role, बीबीसी न्यूज
उत्तरी भियतनाममा 'सुपर टाइफुन' यागीका कारण एक व्यस्त पुल भत्किँदा कैयौँ सवारीसाधन पानीमा डुबेका छन्। त्यस क्रममा हराइरहेका १३ जनाको खोजी भइरहेको छ।
शनिवार भियतनाममा बज्रिएयता उक्त आँधीका कारण त्यहाँ ६० जनाभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ।
'ड्यासक्याम'बाट खिचिएका भिडिओ फूटेजमा सोमवार फु थोक प्रान्तको फोङ चाउ पुल भत्किएको क्षण देखिन्छ।
पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनेका छन्।
पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने अधिकारीहरूले चेतावनी दिएका छन्।
प्रतिघण्टा २०३ किलोमिटरको वेगको यस आँधीबाट २४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन्।
यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो।
पुलमा के भयो?
फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर रेड नदीमा खसेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जनाएका छन्।
चालकले रोक्न नभ्याउँदै अगाडिको पुल भत्किँदा लरी पानीमा खसेको क्षण क्यामेरामा कैद भएको थियो।
हालसम्म नदीबाट कम्तीमा तीन जना मानिसहरूको उद्धार गरिएको छ।
नुयाङ मिन्ह हइले पुल भत्किँदा आफूले उक्त पुलमा मोटरसाइकल चलाइरहेको बताउँछन्।
"तल खस्दा म निकै आत्तिएँ," अस्पतालबाट बोल्दै उनले भने।
"मलाई भर्खर मैले मृत्यु छलेँ भन्ने अनुभूति भइरहेको छ। मलाई पौडी खेल्न आउँदैन त्यसैले अब म मर्छु जस्तो लागेको थियो।"
३७५ मिटर लामो उक्त पुलको केही भाग अझै बाँकी छ।
त्यहाँको सेनाले खाली रहेको उक्त भागमा सक्दो छिटो पानीमा तैरनै अस्थायी प्रकृतिको 'पोन्टून' पुल बनाउन निर्देशन दिएको छ।
भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार मृत्यु भएकाहरूमध्ये कम्तीमा ४४ जनाको पहिरो र अकस्मात् आएको बाढीबाट ज्यान गएको थियो।
जसमध्ये ६८ वर्षकी एक महिला, एक वर्षका बालक र एक नवजात शिशु छन्।
आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्याएको छ।
रोयटर्स समाचार संस्थाका तस्बिरहरूमा हाइ फोङ सहरको एलजी इलेक्ट्रोनिक्स कारखानाको पर्खाल भत्किएको देखिन्छ।
भियतनाम, चीन र फिलिपिन्समा असर
यन बाई प्रान्तमा सोमवार बाढीको पानीका कारण सतहको उचाइ बढेपछि २,४०० परिवारलाई उच्च भूभागमा सारिएको एएफपी समाचार संस्थाले जनाएको छ।
भियतनामका तटीय सहरहरूबाट झण्डै ५०,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने, अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी जारी गरेका छन्।
हनोईसहितका १२ उत्तरी प्रान्तमा विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन्।
देशको उत्तर पूर्व तट क्षेत्रमा रेष्टुराँ चलाउने नोयङ थी थोमले आफू र कैयौँ अरू मानिसहरूले आँधीका कारण सब थोक गुमाएको बताउँछिन्।
"मसँग केही बाँकी छैन। जब म आसपास हेर्छु मानिसहरूले मजस्तै सर्वस्व गुमाएका छन्," उनले भनिन्।
"म यस अवस्थाबाट माथि उठ्ने प्रयास मात्र गर्न सक्छु I"
भियतनाममा बज्रिनुअघि यागीका कारण दक्षिण चीन र फिलिपिन्समा २४ जनाले ज्यान गुमाएका थिए।
विश्व तातिरहँदा ताइफुनले तीव्र वेग र अझ भारी वर्षा निम्त्याउन सक्ने भए तापनि प्रत्येक जसो आँधीमा जलवायु परिवर्तनको प्रभाव हेर्ने काम जटिल छ।
बीबीसी भियतनामिजको थप रिपर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।