धादिङका वाइबाहरूको दशैँ र 'वाइबा राजा'को कथा

वाइबा
    • Author, शक्तिमाया तामाङ
    • Role, नुवाकोट

तामाङ समुदायको बाहुल्य भएको उत्तरी धादिङमा नेत्रावती डबजोङ गाउँपालिका छ। कुनै बेलाका वाइबा राजाको दरबार अर्थात् डबजोङ र त्यसबारेका घटनाहरू इतिहासका पानामा खासै भेटिँदैनन्।

तर जनविश्वासहरूमा नेपाल एकीकरण अगावै वाइबा राजाले त्यहाँ शासन गरेको मानिन्छ। 

प्राचीन नेपालमा वाइवा राजाको अन्य समुदायसँग झैँझगडा भइरहन्थ्यो भन्ने जनश्रुति सुन्न पाइन्छ।

ती जनश्रुति अनुसार आपसी मेलमिलापको प्रस्तावसहित अन्य समुदायहरूले वाइवा राजाको दरबारमा पत्र पठाउँछन्।

जसमा दुवैतर्फबाट बिनाहतियार सम्झौता गर्ने गरी पठाइएको पत्रमा ह्यापिङ खोलामा भेटवार्ता गर्ने भनिएको हुन्छ।

सो पत्रअनुसार वाइबा राजा र उनको सेनाहरू ह्यापिङ खोला पुग्छन्।

तर अर्कोपक्षले भने आवश्यक हतियार ह्यापिङ खोलाको बालुवामुनि लुकाई राखेका हुन्छन्। 

शान्ति सम्झौताको नाममा दुईपक्षबीच भेटघाट त हुन्छ, तर अन्य समुदायले वाइबा राजालाई सत्ता छाड्न दबाव दिन्छन्।

उनीहरूले अन्य विभिन्न विषयहरू समेत उठाएर झगडा गर्न थाल्छन्।

अन्तत: हतियारबिनै गएका राजा र उनका सेनाहरू ह्यापिङ खोलमा मारिन्छन्। त्यसबैला खोला नै रगताम्य भएको भन्ने जनश्रुति अझै त्यस ठाउँमा सुन्न पाइन्छ। 

गैराका धनसुर वाइबा तामाङ भन्छन्: "अहिले पनि त्यो खोलाको पानी गैराका वाइबाहरूले पिउँदैनन्।" 

जनश्रुति र मानेको 'प्रमाण'

धादिङको गौरा गाउँ
तस्बिरको क्याप्शन, गौरा गाउँ

जनश्रुति अनुसार ती राजाका चार जना छोराहरू थिए। 

जसमध्ये त्यस लडाइँका बेला कोही मारिए भने कोही ज्यान जोगाउन अन्यत्र भागे भन्ने ठानिन्छ। 

वाइबा राजाका नाति राजकुमार छेवाङ भने हाल नेत्रावती डबजोङ गाउँपालिका-३ मा पर्ने गैरामा आएर बसेको मानिँदै आएको त्यस गाउँका दल बहादुर तामाङ बताउँछन्। 

गैरामा आएर बसेका नाति छेवाङले आफ्ना हजुरबुबा र हजुरआमाको सम्झनामा मानेहरू बनाएका रहेछन्। 

अहिले पनि देख्न सकिने माने त्यसबेलाकै रहेको धेरैले ठान्छन्। 

तामाङका अनुसार गैरामा आएर बसेका राजपरिवारले आफ्नो निधनपछि माने बनाउनुपर्छ भनी छोराछोरीहरुलाई भनेका थिए। 

जसकै भरमा आफ्नो बुबा आमाको सम्झनामा माने बनाउने चलन विस्तार भएको उनीहरू ठान्छन्। 

"त्यसबेलाको समयमा गैराबाट टाढा पर्ने ह्यापिङ खोलाको ढुङ्गा ल्याएर माने बनाइएको बुढापाकाहरूले हामीलाई भनेका हुन्," स्थानीय दल बहादुर तामाङ सुनाउँछन्।

"अहिले पनि त्यो माने भत्केमा वा मानेमा भएको पाँच बुद्धको मूर्तिहरू टुटफुट भएमा वाइबाहरूको ज्वाइँ चेलीको उपस्थितिमा मात्र ह्यापिङ खोलाको ढुङ्गा ल्याएर मर्मत गर्ने परम्परा छ।" 

ती माने भएको ठाउँमा प्रत्येक बाह्र वर्षमा विशेष मेला लाग्छ। 

रोजगारीको लागि विदेशमा रहेकाहरू समेत यो १२ वर्षमा लाग्ने मेलामा उपस्थित भई पूजामा सहभागी हुने परम्परा छ।

दशैँको मौलिक रौनक

बाइवा

यिनै वाइबा राजाको पालादेखिको दशैँ विशेष परम्परा अझै जारी छ।

जुन प्रचलन अनुसार वर्षेनी विजया दशामीको दिन किर्पा क्लाङबा अर्थात् तिर हानेर सिकार खेलेको प्रतिबिम्बित हुनेगरी अग्रज पुर्खाहरूलाई स्मरण गरिन्छ।

गाउँलेहरू पहिलेपहिले मुखियाको घरको आँगनमा जम्मा भएर रमाइलो गर्थे। 

अहिले भने अन्य ठाउँबाट समेत मानिसहरू आउने हुँदा खुल्ला ठाउँको आवश्यक परेको छ।

र गाउँकै सार्वजनिक स्थान वातिपङमा यो खेल खेल्न थालिएको छ। 

किर्प वा तिर हानेर निसाना लगाउन मानिसहरूबीच कडा प्रतिस्पर्धा हुन्छ। 

परम्परा अनुसार तोकेको निशानामा तीनपटक नलागेसम्म प्रयास जारी रहनुपर्छ। 

र तीनपटक सम्बन्धित निशानामा लाग्न सफल भएपछि त्यहाँको लम्बु अर्थात् मन्त्र जान्ने मानिसले पूजापाठ गरेर पृथ्वीको उत्पत्तिदेखि हालसम्मको कथा सुनाउनुपर्छ।

धादिङका वाइबाहरूमा दशैोको टीकाको दिन तिर हान्ने परम्परा छ

देवीदेवताको नाममा बोमसाङ वा माने गीत सुनाउँदै गाउँका सबै ससाना बालबालिकादेखि वृद्ध वृद्धाहरू एउटै तालमा माने नाच्ने चलन रहेको त्यहाँका स्थानीयवासीहरू बताउँछन्।

प्राचीन समयदेखि चलिआएको किर्पा परम्पराले तामाङहरूको जिउँदो इतिहास बोकेको गैरावासीहरू ठान्छन्। 

धनसार वाइबा तामाङका अनुसार बितेका पुर्खाहरूलाई सम्झँदै ऐतिहासिक र सांस्कृतिक परम्परालाई प्रतिबिम्बित गर्ने यस खेलमा गाउँका एक व्यक्तिलाई कुकुरको भूमिका निभाउन जिम्मेवारी दिइन्छ। 

गाउँका मुखियाले भने राजाको भूमिका निर्वाह गर्छन्। गाउँका युवाहरूले जनताको भूमिका निर्वाह गर्छन्। 

मृग, दुम्सी, हरिण, बँदेल जस्ता वन्यजन्तुको सट्टा गाउँमै फलेका फर्सी ल्याएर राखिन्छ। 

सिकारीहरू कुकुर लिएर राजाको घरबाट सिकार खेल्न निस्कन्छन्। 

यसरी तत्कालीन वाइबा राजाको पालामा राजाले प्रयोग गर्ने गरेका किर्पा वा तिर पनि सिकार खेल्ने ठाउँसम्म लैजाने र त्यही तीरबाट मारिएको सिकारको मासुको रूपमा प्रत्येक घरघरमा फर्सीको टुक्रा पुराउने परम्परा अझै जीवित छ। 

"तत्कालीन वाइबा राज्यमा सबै तामाङहरू मात्र थिए र उनीहरू कृषि नगरी वन्यजन्तुको सिकार गर्थे। जंगलमा पाइने विभिन्न जातका फलफूलहरू गिट्ठा, भ्याकुर, तरुलहरू खोज्थे," स्थानीय धनसार वाइबा तामाङ भन्छन्।

"राजालाई सिकार गर्न सहज बनाउन जनताहरूले वन्यजन्तुहरू जङ्गलबाट छेकेर दरबारको वरिपरि ल्याइदिने गर्थे। जुन दरबारको भग्नावशेष अहिले पनि छ।"

मुद्दा सुल्झाउने नाति राजकुमार

दशैँ

राजकुमार छेवाङले गैरामा बस्ने क्रममा पनि धेरै सङ्घर्ष गर्नु परेको किंवदन्ती सुनाउँछन् राम बहादुर तामाङले। 

उनका अनुसार तामाङ समुदाय र अन्य समुदायबिच बेलाबखत झगडा पर्ने क्रम त्यहाँ समेत रोकिएन। 

जसकै कारण राजकुमार छेवाङले समेत मुद्दा समेत खेप्नु परेको थियो। 

आफूले मुद्दा खेपिरहेकै बेला राजकुमार छेवाङले सिकार खेल्ने बेलामा दङसिङ भन्ने ठाउँको वाइबा राजासँग मित लगाए। 

र मितको सहयोगले मुद्दा जिते पछि मितलाई त्यही गाउँमा बस्न प्रस्ताव गरी गैरामा ल्याउन सफल समेत भए। 

त्यस मुद्दा पनि जितेको खुसीयालीमा त्यस बेला भेडा काटेर भोज गरेका र त्यही समयदेखि भेडा काट्ने चलन सुरु भएको आफूहरूले सुन्दै आएको स्थानीय राम बहादुर तामाङ सुनाउँछन्। 

उनी भन्छन्, "यहाँका वाइबाहरूले प्रत्येक वर्षको बडादशैँको अष्टमीको दिन बिहान भेडा काटेर भोज गरेर मात्र मौलाको पूजा गर्ने र बडादशैँको अन्य गतिविधिहरू गर्ने चलन छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।