चीनमा वरिष्ठ अधिकारीहरू बर्खास्त हुनु सी जिन्पिङको अस्थिर कि सबल नेतृत्व

    • Author, टेसा वङ
    • Role, एशिया डिजिटल रिपोर्टर, बीबीसी न्यूज

उनीहरू राष्ट्रपति सी जिन्पिङका विश्वासपात्र थिए। तर अहिले उनीहरूको अत्तोपत्तो छैन।

केही महिनायता चीनमा उच्च ओहोदाका धेरै अधिकारीहरू बेपत्ता भएसँगै कतै सी विशेष गरी सेनासँग सम्बन्धित अधिकारीहरूको शुद्धीकरणमा पो लागेका हुन् कि भन्ने आशङ्का बढेको छ।

अहिले चीनका रक्षामन्त्री ली साङ्फूले त्यस्तै नियति भोग्नुपरेको छ। उनी केही सातायता सार्वजनिक जीवनमा देखा परेका छैनन्।

सुरुमा उनको अनुपस्थितिलाई अस्वाभाविक रूपमा हेरिएको थिएन। तर एक अमेरिकी उच्च कूटनीतिज्ञले औँल्याएपछि त्यसबारे सूक्ष्म परीक्षण गर्न थालियो।

जेनरल लीमाथि सैन्य उपकरण खरिदका विषयमा अनुसन्धान भइरहेको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ। उनी पीपल्स लिबरेशन आर्मीका लागि हातहतियार खरिदको मामिला हेर्थे।

रकेट फोर्सेसमा काम गर्ने दुई उच्च अधिकारीहरू र सैन्य अदालतमा काम गर्ने एक न्यायाधीशलाई हटाइएको केही सातापछि ली “बेपत्ता” भएका हुन्।

रकेट फोर्सेस परमाणु क्षेप्यास्त्रहरू नियन्त्रण गर्ने सैन्य फौज हो।

चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गत रहेको सशस्त्र फौजलाई नियन्त्रण गर्ने केन्द्रीय सैन्य आयोगमा रहेका केही कार्यकर्तामाथि पनि अनुसन्धान भइरहेको चर्चा चल्न थालेको छ।

अधिकारीहरूलाई हटाइएकोबारे “स्वास्थ्यका कारण” भन्नेबाहेक अन्य कुनै आधिकारिक विवरण दिइएको छैन। त्यसैले विभिन्न किसिमको अनुमान गरिएको छ।

मुख्य अनुमान भनेको पीपल्स लिबरेशन आर्मी (पीएलए) मा भएको भ्रष्टाचारमाथि अधिकारीहरूले कारबाही अगाडि बढाइएको भन्ने हो।

सेना उच्च सतर्कतामा रहँदै आएको छ।

गत जुलाईमा सेनाले एउटा अस्वाभाविक लाग्ने सूचना जारी गर्दै विगत पाँच वर्षमा भएका भ्रष्टाचारबारे गोप्य सूचना भए दिन सर्वसाधारण नागरिकसँग माग गरेको थियो।

बीबीसी मनिटरिङका अनुसार सीले एप्रिलयता देशभरि रहेका सैन्य आधार क्षेत्रहरूमा पाँच पटक भ्रमण तथा निरीक्षण गरेका छन्।

सीसीपी र सेनाको सम्बन्धबारे सिङ्गापुरको नान्याङ टेक्नोलजिकल यूनिभर्सिटीमा रिसर्च फेलोका रूपमा अध्ययन गरिरहेका जेम्स चारले सन् १९७० मा चीनले अर्थतन्त्रलाई उदार बनाउन थालेयता सेनामा भ्रष्टाचारको समस्या रहेको उल्लेख गरेका छन्।

प्रत्येक वर्ष अर्बौँ युआन सैन्य उपकरण खरिदमा गए पनि राष्ट्रिय सुरक्षाका कारणले त्यसबारे पूर्ण रूपमा खुलासा हुँदैन।

चीनको एक पार्टी केन्द्रीय प्रणालीले गर्दा पनि हतियार खरिदमा पारदर्शिता कम छ।

सेनाभित्रको छानबिनको कुरा अन्य देशमा जस्तो चीनमा सार्वजनिक रूपमा आउँदैन। त्यहाँको सशस्त्र फौजको छानबिनबारे सीसीपीले मात्रै हेर्ने गरेको चारले बताए।

सेनामा भ्रष्टाचार कम गर्न र केही हदसम्म प्रतिष्ठा पुनर्स्थापित गर्न राष्ट्रपति सीले केही सफलता हासिल गरेका छन्।

डा चारका अनुसार “भ्रष्टाचारलाई जरैदेखि उखेल्न असम्भव नभए पनि असाध्यै कठिन चाहिँ छ” किनभने त्यसका लागि “प्रणालीगत रूपमै परिवर्तन गर्ने विपक्षमा रहने अधिनायकवादी राज्यमा त्यो होला भन्ने मलाई लाग्दैन।”

"सरकारले आफैँ प्रतिबन्ध लगाउने एउटा कानुनी प्रणाली बनाउन सीसीपी इच्छुक नहुँदासम्म यस्ता विषयहरू देखा परिरहन्छन्।"

तर अमेरिकासँग एकदमै चुनौतीपूर्ण सम्बन्ध रहेको बेला अधिकारीहरू हराउने कुरा चीन सरकारमा देखिएको बढ्दो डरसँग सम्बन्धित हुनसक्छ।

गत जुलाईमा प्रतिगुप्तचरीसम्बन्धी एउटा कानुन लागु भयो जसले अधिकारीहरूलाई छानबिन गर्न बढी शक्ति दियो। त्यसलगत्तै चीनको राज्य सुरक्षाको मामिला हेर्ने मन्त्रालयले जासुसी गतिविधिसँग जुध्न नागरिकहरूलाई सार्वजनिक रूपमै प्रोत्साहन गर्‍यो।

जेनरल ली बेपत्ता भए जस्तै यसअघि जुलाईमा विदेशमन्त्री चिन गाङलाई पनि हटाइएको थियो। त्यसबाट पनि शङ्का उपशङ्गा गर्ने अवसर दियो। यो साता वाल स्ट्रीट जर्नल पत्रिकाले गाङमाथि विवाहेतर सम्बन्ध राखेको र त्यसबाट अमेरिकामा एक बच्चा पनि जन्मिएको भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

"कम्युनिस्ट पार्टीको वृत्तमा कसैसँग प्रेम सम्बन्ध हुनुले उसलाई अयोग्य बनाउँदैन तर विदेशी गुप्तचरसँग सम्बन्ध रहेको शङ्का गरिएकी महिलाबाट जन्मिएको बच्चासँग भूराजनीतिक प्रतिस्पर्धी देशको राहदानी हुनु अब समस्या हुन सक्छ," चिनियाँ विश्लेषक बिल विशपले भने।

के यो अस्थिरताको सङ्केत हो?

कोभिड महामारीपछि सुस्ताएको अर्थतन्त्र र युवा बेरोजगारीसँग सङ्घर्ष गरिरहेको चीनमा सीमाथि पार्टीभित्रबाट दबाव परेको आकलन पनि गरिएको छ।

चीनको राजनीतिक प्रणालीअन्तर्गत सी जिन्पिङ केवल चीनका राष्ट्रपति मात्रै नभई सेनाका सर्वोच्च नेता पनि हुन्।

एकातर्फ हेर्ने हो भने उच्च अधिकारीहरू बेपत्ता हुनुले सीको नेतृत्वमा अस्थिरता रहेको सङ्केत गर्छ।

मन्त्री मात्रै नभई मन्त्रीस्तरीय वरीयताभन्दा माथि रहेका स्टेट काउन्सिलरको जिम्मेवारी पनि भएका जेनरल ली साङ्फू र चिन गाङलाई सीले रुचाएका थिए। त्यसैले पनि उनीहरूमाथि एक्कासि भएको कारबाहीलाई चिनियाँ राष्ट्रपतिले उचित मूल्याङ्कन गर्न नसकेको मान्न सकिन्छ।

यदि कसैले उच्च अधिकारीहरू यसरी बेपत्ता हुनुलाई राष्ट्रपतिले गराएको राजनीतिक शुद्धीकरणका रूपमा हेर्छन् भने पनि यो घटना उनको निम्ति राम्रो देखिँदैन। किनभने यो त्यतिखेर भएको छ जतिखेर उनले गत वर्ष भएको ताजा पार्टी कङ्ग्रेसमा सम्भावित प्रतिस्पर्धी गुटहरूलाई पन्छाएर आफ्नो शक्ति सुदृढ पारेका थिए।

तर अर्को रूपमा हेर्ने हो भने सीले फेरि आफू शक्तिशाली भएको देखाउन पाएका छन्।

भ्रष्टाचारप्रति सार्वजनिक प्रहार गर्न चर्चित मानिएका सीले राजनीतिकर्मीलाई हटाएर आफ्ना शत्रुलाई पाखा लगाउने उद्देश्य राखेको पनि हुनसक्ने पर्यवेक्षकहरूले बताएका छन्।

माओ त्सेतुङको कार्यकालयता भ्रष्टाचारबारे राष्ट्रपति सीले जुन मात्रामा छानबिन गरे त्यसको अरू कसैसँग तुलना हुँदैन।

सन् २०१३ मा कार्यभार सम्हालेलगत्तै उनले उच्च राजनीतिक ओहोदाका व्यक्ति र कर्मचारी दुवैमाथि लक्षित गरेर एउटा अभियान चलाएका थिए। त्यसमा हजारौँ कार्यकर्ता पक्राउ परेको अनुमान गरिएको छ।

सन् २०१७ मा उनले सशस्त्र फौजबाट १०० भन्दा बढी वरिष्ठ अधिकारीहरूलाई हटाए।

चीनको समाचारसंस्था सिन्ह्वाले त्यति बेला एउटा लेखमा “नयाँ चीन निर्माणका लागि युद्धमा मारिने जेनरलहरूको सङ्ख्या धेरै नाघेको” जनाएको थियो।

असर कस्तो पर्ला?

तर मुख्य प्रश्न हालै बेपत्ता भएका घटनाहरू र तिनबाट अन्ततः पर्ने प्रभाव कस्तो हुन्छ भन्ने हो।

यसले सेना र सरकारमा रहेकाहरूमा एउटा त्रासको वातावरण बनाउने पर्यवेक्षकहरू बताउँछन्।

आज्ञापालन होस् भन्ने आशयले यसो गरिएको पनि हुनसक्छ तर यसले अरूलाई निरुत्साहित बनाउने छ।

वर्षौँदेखि आफूले रुचाउन छोडेकालाई हटाउनु र आफ्नै समर्थकहरूलाई उच्च ओहोदामा पुर्‍याउनुको अर्थ सी 'होमा हो' मिलाउनेहरूबाट घेरिएका छन् भन्ने हो हुन्छ।

चारका अनुसार सामूहिक विचारको जोखिम नै सी नेतृत्वको “वास्तविक अस्थिरता” हो जसले चीनको राष्ट्रिय सुरक्षा र विदेशनीतिलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ।

ताइवान स्ट्रेटमा तनावपूर्ण अवस्था भइरहँदा चिनियाँ अधिकारीहरू बेपत्ता भएका छन्। चीनले ताइवानवरपर थप युद्धपोत र सैन्य विमानहरू हालैका सातामा पठाएको छ।

चीनको थिङ्कट्याङ्क कार्नगीका फेलो इअन चोङले केही मानिस भने “सञ्चार, तीव्रता र सङ्कट व्यवस्थापनबारे” चिन्तित बन्ने बताए।

उच्च अधिकारीलाई प्रतिस्थापन गर्न पनि चीनको सैन्य नेतृत्व बलियो रहेको अन्यले तर्क गरेका छन्।

तर कतिपयले उच्च अधिकारीहरू हराउनुले सीको नेतृत्वमा स्थायित्वका लागि कुनै दीर्घकालीन असर नपर्ने विश्वास गर्छन्।

निसानामा परेका कुनै पनि कार्यकर्ता सीको भित्री गुटका नभएको एशिया सोसाइटी पोलिसी इन्स्टिट्यूटसँग आबद्ध चिनियाँ राजनीतिबारेका विज्ञ नील टामस औँल्याउँछन्।

धेरै पर्यवेक्षकहरू के कुरामा सहमत छन् भने यी घटनाले चीनको राजनीतिक प्रणालीमा विद्यमान अपारदर्शिता देखाउँछ।

अधिकारीहरू हराउने यी घटनाले “असहज परिणाम” लाई बल दिएको चोङ बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।