प्यारिस ओलिम्पिक्स २०२४ को तयारी र सम्पूर्ण प्रतियोगिताबारे जान्नैपर्ने केही कुरा

आइफल टावर र ओलिम्पिक रिङ

तस्बिर स्रोत, Reuters

प्यारिसमा ओलिम्पिक गेम्स २०२४ को उद्घाटन जुलाई २६ शुक्रवार हुन लागेको छ। डुङ्गामा चढेका हजारौँ प्रतियोगीहरूले सेन नदीमा विहार गर्दै तथा प्यारिसको मध्यभाग हुँदै 'परेड' गरेर यो खेलको उद्घाटन हुने छ।

फ्रान्सको सरकारले ओलिम्पिक्सको उद्घाटन समारोह तथा प्रतियोगिताभरि “अभूतपूर्व” सुरक्षा व्यवस्था गर्ने वाचा गरेको छ।

प्यारिस ओलिम्पिक्स र प्यारालिम्पिक्स कहिले हुन्छन्?

यस पटकको ग्रीष्मकालीन ओलिम्पिक्स जुलाई २६ देखि अगस्ट ११ सम्म हुने छ। यो प्रतियोगितामा १०,५०० खेलाडीले ३२९ वटा खेलमा भाग लिने छन्।

त्यसपछि प्यारालिम्पिक्स अगस्ट २८ देखि ८ सेप्टेम्बरसम्म हुने छ। त्यसमा ४,४०० खेलाडीले ५४९ वटा खेलमा भाग लिने छन्।

ओलिम्पिक्समा २०६ देशको र प्यारालिम्पिक्समा १८४ देशको सहभागिता हुने छ।

ओलिम्पिक्स र प्यारालिम्पिक्सका खेलहरू कहाँकहाँ हुन्छन्?

एथ्लेटिक्सका मुख्य खेलहरू प्यारिस सहरबाहिरको उत्तरी क्षेत्रमा अवस्थित 'स्टाड ड फ्रान्स'मा हुने छन्।

यद्यपि मध्यसहरमै ओलिम्पिक्सका १५ र प्यारालिम्पिक्सका ११ वटा खेलस्थलहरू छन्।

उदाहरणका लागि, साइक्लिङका खेलहरू पोन्ट ड'लेना मा हुने छन्। म्याराथनको आरम्भ र अन्त्य हुने बिन्दुहरू क्रमशः होटल ड भिल र ले अन्भालिडमा छन्।

 प्यारिस ओलिम्पिक्सका खेल हुने स्थानहरू

पौडीका खेलहरू मध्यप्यारिसको सेन नदीमा हुने छन्।

तर मध्यजुनमा गरिएको परीक्षणमा उक्त नदीमा 'ई. कोली' ब्याक्टेरियाको मात्रा खेल सङ्गठनहरूले निर्धारण गरेको मात्राभन्दा १० गुना धेरै भएको देखिएको थियो।

प्यारिस ओलिम्पिक्स २०२४ का आयोजकहरूले जुलाईको घाम लाग्ने मौसममा ब्याक्टेरिया मर्नेमा आफू ढुक्क रहेको बताएका छन्। उनीहरू प्रतियोगिता हुँदासम्म सेन नदी पौडी खेल्न उपयुक्त हुने गरी स्वच्छ हुने दाबी गरेका छन्।

जुलाई १७ मा प्यारिसकी नगरप्रमुखले सेन नदी स्वच्छ रहेको देखाउन उक्त नदीमा डुबुल्की मारेकी थिइन्।

सेन नदीमा प्यारिसकी नगरप्रमुख एन ईदाल्गो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सेन नदी सफा रहेको आश्वस्त पार्न प्यारिसकी नगरप्रमुख एन ईदाल्गोले त्यहाँ पौडी खेलेकी थिइन्

प्यारिस ओलिम्पिक्स किन भिन्न?

प्यारिस ओलिम्पिक्स २०२४ का मुख्य आयोजक टोनी एस्ताङ्गेले खेलहरूको सुरक्षा व्यवस्थापन “अभूतपूर्व” हुने बताएका छन्।

प्रतियोगिताका क्रममा कुल ३५,००० देखि ४५,००० सुरक्षाकर्मीहरू खेल आयोजनास्थल र सेन नदीमा हुने उद्घाटन समारोहका लागि परिचालित हुने छन्।

उद्घाटन समारोहमा राष्ट्रिय टोलीहरूलाई डुङ्गामा मध्यप्यारिस हुँदै सेन नदीमा ६ किलोमिटर विहार गराउने योजना छ।

आधुनिक ओलिम्पिक्सको इतिहासमा नै यस किसिमको समारोह पहिलो पटक आयोजना हुन लागेको हो।

ओलिम्पिक्स उद्घाटन हुने सेन नदी
तस्बिरको क्याप्शन, उद्घाटन समारोहमा डुङ्गामा चढेर खेलाडीहरूले सेन नदीमा परेड गर्ने छन्

योजनामा कस्तो परिवर्तन?

सेन नदीको हुने उद्घाटन समारोह हेर्न पहिला छ लाख जनालाई निःशुल्क टिकट दिने योजना थियो। तर सरकारले ड्रोन आक्रमणको जोखिमलाई दृष्टिगत गर्दै दर्शकको सङ्ख्या ३,२६,००० बनाएको छ।

तीमध्ये २,२०,००० जना निम्तो गरिएका पाहुना हुने छन् भने १,०४,००० जना टिकट किनेर हेर्न जाने दर्शक हुने छन्।

मध्यप्यारिसमा सेन नदीसँगैको क्षेत्रमा “आतङ्कवादविरोधी परिधि” बनाइँदै छ। त्यहाँ बस्ने र काम गर्ने २०,००० जनाले यो प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्न पास लिएको हुनुपर्छ।

ओलिम्पिकस्थलमा सुरक्षाकर्मीहरूले आतङ्कवाद नियन्त्रण सम्बन्धी अभ्यासहरू गरिरहेका छन्pic venue in Paris

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ओलिम्पिक्सका खेलहरू हुने स्थलमा सुरक्षाकर्मीहरूले आतङ्कवाद नियन्त्रणसम्बन्धी अभ्यास गर्दै आएका छन्

फ्रान्सका प्रधानमन्त्री ग्याब्रिअल आटालले सन् २०२४ को प्रारम्भतिर गुप्तचर निकायमार्फत् फ्रान्सविरुद्ध गरिएका दुइटा षड्यन्त्र विफल बनाइएको दाबी गरेका थिए। ती षड्यन्त्रहरू सन्दिग्ध इस्लामिक लडाकुहरूले बनाएको ठानिएको छ।

गत मे महिनामा ओलिम्पिक्सको 'टर्च रिले' मा आक्रमण गर्ने योजना बनाएको आशङ्कामा बोर्डोमा एक व्यक्ति पक्राउ परे। ओलिम्पिक्समा फुटबल खेल हुने एउटा रङ्गशालामा आक्रमण गर्ने योजना बनाएको आशङ्कामा देशको दक्षिणी भागबाट अर्का एक व्यक्ति पनि पक्राउ परे।

ओलिम्पिक्स आयोजना गर्न कति खर्च?

‘प्यारिस गेम्स’मा विगतका कार्यक्रमको तुलनामा कम फोहोर उत्पन्न हुने र यो प्रतियोगिता बढी वातावरणअनुकूल हुने दाबी आयोजकहरूको छ।

यही कारण ओलिम्पिक्स र प्यारालिम्पिक्सका ९५ प्रतिशत स्थानहरू कि त पहिल्यै निर्माण भएका संरचना हुन् कि अस्थायी हुन्।

यो वर्षको खेल आयोजना गर्दा नौ अर्ब यूरो (नौ अर्ब ७० करोड अमेरिकी डलर) खर्च हुने अनुमान छ। अर्थात् यो ओलिम्पिक्सको खर्च टोक्यो, रीओ ड जनेरो , लन्डन र बेइजिङका चार ओलिम्पिक्सको भन्दा पनि कम हुने छ।

खर्चको मुख्य स्रोत निजी कम्पनी, टिकट बिक्री र प्रसारणको अधिकार बिक्रीबाट जुट्ने छ।

यद्यपि फ्रान्सको सरकारका लेखापरीक्षकहरूले सरकारले खेलको सुरक्षाजस्ता कुराका लागि ती अर्बदेखि पाँच अर्ब यूरो (तीन अर्ब ३० करोड अमेरिकी डलरदेखि पाँच अर्ब ५० करोड अमेरिकी डलर)सम्म भुक्तानी दिन सक्ने बताउँछन्।

प्यारिस २०२४ मा विजेताले पाउने पदक बनाउन आइफल टावरको फलाम प्रयोग गरिएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्यारिस २०२४ मा विजेताले पाउने पदक बनाउन आइफल टावरको फलाम प्रयोग गरिएको छ

आयोजकहरूले सकेसम्म अत्यधिक मात्रामा पुनः प्रयोग गरिएका सामान प्रयोग गरिएको जनाएका छन्। उदाहरणका लागि, विजेताहरूले पाउने पदक बनाउन आइफल टावरको फलाम प्रयोग गरिएको छ।

आयोजकहरूले खेल हुने ठाउँमा पनि कार्बन उत्सर्जन सकेसम्म घटाउन खोजेका छन्।

यद्यपि राष्ट्रिय टोलीहरू बस्ने ‘ओलिम्पिक भिलेज’ मा वातानुकूलनको व्यवस्था गर्न २,५०० वटा यन्त्र माग भएपछि त्यो योजना पूर्णतः लागु भने हुन सकेन।

प्यारिस सहरमा महँगी कस्तो छ?

खेल हुन बेलामा विदेश र फ्रान्सका अन्य ठाउँबाट डेढ करोड मानिस प्यारिस आउने अनुमान गरिएको छ। उनीहरूले यहाँ दुई अर्ब ६० करोड यूरो (दुई अर्ब ८० करोड रुपैयाँ) खर्च गर्ने अनुमान छ।

जुलाई महिनाको सुरुतिर अनुसन्धानमूलक संस्था 'साइटमाइन्डर' ले प्रकाशित गरेको एउटा रिपोर्टका अनुसार प्यारिसका होटल सञ्चालकहरूले कोठाको माग बढ्ने अनुमान गर्दै मूल्य बढाएका छन्।

उक्त प्रतिवेदनका अनुसार होटलमा कोठाको मूल्य खेल हुने समयमा दुई गुना पुग्ने ठानिएको छ।

यद्यपि धेरै होटलले बिक्री भने निकै कम भएको बताएका छन्। गत वर्षको तुलनामा अहिले होटलमा मात्र ४० प्रतिशत बढी 'बुकिङ' भएको छ।

राजधानीमा बस र रेलको भाडा पनि खेलको समयमा दोबर हुने छ। प्यारिसको लूभ्र कला सङ्ग्रहालयले पनि आफ्नो प्रवेशशुल्क झन्डै ३० प्रतिशतले बढाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।