ओलिम्पिक्सको तयारीमा जुटेको फ्रान्समा उडुस आतङ्क

- Author, ह्यू स्कोफील्ड
- Role, बीबीसी न्यूज, प्यारिस
फ्रान्सको राजधानी प्यारिस र अरू सहरमा उडुसको प्रकोप बढेपछि आगामी वर्ष आयोजना हुन लागेको ओलिम्पिक्ससँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न उठ्न थालेको छ।
स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यसबारे विवरणहरू प्रकाशित भएका छन्।
विगत केही सातामा उडुस फेला पर्ने क्रम बढेको छ। फ्रान्समा केही वर्षदेखि नै उडुस फैलिन थालेको पाइन्छ।
"प्रत्येक वर्ष गर्मी यामको उत्तरार्धतिर हामी उडुसको सङ्ख्या बढेको देख्छौँ," मार्सेको मुख्य अस्पतालमा कार्यरत कीटविज्ञ जाँ-मिशेल बेरेन्जर भन्छन्।
"किनभने मानिसहरू जुलाई र अगस्ट महिनामा बाहिर जान्छन् र आफ्ना सामानमा उडुस लिएर फर्किन्छन्।"
"अनि प्रत्येक वर्ष हुने यस्तो मौसमी वृद्धि अघिल्लो वर्षको भन्दा बढी हुन्छ।"
प्रत्येक वर्ष गर्मी यामको उत्तरार्धतिर हामी उडुसको सङ्ख्या बढेको देख्छौँ... अनि प्रत्येक वर्ष यस्तो मौसमी वृद्धि अघिल्लो वर्षको भन्दा बढी हुन्छ
सिनेमाघर र रेलमा पनि डर
प्यारिसमा फ्ल्याटमा बस्ने मानिसहरू लामो समयदेखि उडुसको त्रासमा छन्। विगत पाँच वर्षमा १० जनामध्ये एक जनाले उडुसको प्रकोप खेपेको सरकारी तथ्याङ्क छ। अहिले उडुस फैलिन सक्ने नयाँ सम्भावित स्रोतका कारण मानिसहरू तनावमा परेका छन्।
सिनेमाघरमा पनि उडुस देखिएको विवरण प्रकाशित भएको छ। पुष्टि हुन नसके पनि त्यसलाई गम्भीरतापूर्वक लिइएको छ। मानिसहरूले आफूलाई उडुसले रेलमा पनि टोकेको दाबी गरेका छन्।
अहिले प्यारिसको स्थानीय प्रशासन र राष्ट्रपति माक्रोँको सरकारले उडुस नियन्त्रणका लागि उचित काम गर्न आह्वान गरेको छ।
त्यसबाट उडुसको प्रकोप तथा ओलिम्पिक्स खेल आयोजना हुन लागेका बेला प्यारिसको छविप्रति फ्रान्स कति गम्भीर छ भन्ने देखिन्छ।
सामाजिक सञ्जालमा उडुस आतङ्कबारे निकै चर्चा हुने गरेको छ। तर प्रशासन त्यसलाई बेवास्ता गर्ने पक्षमा छैन।

तस्बिर स्रोत, Reuters
सिनेमाघरको कुर्सीमा अज्ञात कीरा देखिने भिडिओहरू सामाजिक सञ्जालमा फैलिएपछि सिनेमा हेर्न जाने मानिसको सङ्ख्या घट्न थालेको छ।
मेट्रोमा पनि मानिसहरूले बस्नुअघि सीटमा केही पो छ कि भनेर हेर्न थालेका छन्। केही मानिस भने उठ्न नै रुचाउँछन्।
"यो वर्ष एउटा नयाँ कुरा देखा परेको छ। त्यो भनेको धेरैमा देखा परेको मतिभ्रम हो," बेरेन्जर भन्छन्।
"एउटा दृष्टिमा यो राम्रो पनि हो किनभने मानिसहरू समस्याबारे अवगत छन्। उडुसविरुद्ध जति चाँडो केही गर्न सकिन्छ त्यति राम्रो हुन्छ।"
"तर समस्यालाई अतिरञ्जित पारिएको छ।"
कसरी बढ्यो उडुसको प्रकोप
विगत दुई-तीन दशकदेखि उडुसको प्रकोप पुनः देखा पर्न थालेको हो। तर त्यो समस्या फ्रान्समा मात्र सीमित नभई अन्यत्र पनि छ।
उडुस फैलिनुमा विभिन्न कारक तत्त्वहरू छन्। तीमध्ये विश्वव्यापीकरणका कारण हुने कन्टेनर प्रयोग गरी हुने व्यापर , पर्यटन र आप्रवासनजस्ता गतिविधि प्रमुख छन्।
उडुस मानिस भएका ठाउँमा बस्न रुचाउँछ। मानिस जहाँ जान्छ यो कीरा पनि त्यहीँ जान्छ। मौसमले यसलाई खासै ठूलो प्रभाव पार्दैन।
दोस्रो विश्वयुद्धपछि डीडीटी नामक विषादीको व्यापक प्रयोग भएको हुनाले उडुसको सङ्ख्या ह्वात्तै घटेको थियो। तर पछि मानिसमा पार्ने दुष्प्रभावका कारण डीडीटी र अरू रासायनिक कीटनाशक विषादीको प्रयोगमा रोक लगाइयो।
रासायनिक विषादीको प्रयोगका कारण केही कीराहरू मासिएपछि उडुसको सङ्ख्यामा ठूलो परिवर्तन आयो। अहिले देखिने धेरै कीराहरूको प्रतिरोध क्षमता डीडीटीको प्रभाव खेप्ने आफ्ना पूर्वजको भन्दा बढी छ।

साङ्ला घट्दा उडुसको बिगबिगी
सरसफाइका कारण साङ्लाको सङ्ख्या घटेकाले पनि उडुसको सङ्ख्या बढेको हुन सक्छ। साङ्लाले उडुसको सिकार गर्छ। उडुस मार्नैका लागि घरमा फेरि साङ्ला भित्र्याउनुपर्छ भन्ने चाहिँ हैन है!
बेरेन्जरका अनुसार विकसित देशहरूमा मानिसहरू उडुस भन्नेबित्तिकै तर्सिन सक्छन्। "किनभने हामीले उडुसबारे धेरै कुरा बिर्सिसकेका छौँ। विश्वका अरू भागमा उडुसलाई अहिले पनि सामान्य मानिन्छ अनि मानिसहरू उडुसको प्रकोपलाई बढाइचढाइ गर्दैनन्।"
उडुस हानिकारक हुन्छ। तर त्यसबाट हुने खतरा भौतिकभन्दा बढी मनोवैज्ञानिक हुन्छ। उडुसले दुःख दिन सक्छ तर यसले रोग फैलाउँदैन। उडुसले टोकेको हामीलाई मन पर्दैन तर त्यस्तो दुखाइ लामो समय रहँदैन।
उडुसले आफ्नो खोल बारम्बार फेर्छ। यसले रगत चुस्छ र काला थोप्लाजस्ता दाग बस्ने गरी बिस्ट्याउँछ। मान्छेको गन्ध थाहा पाउँदा यो उत्तेजित भएर रगत चुस्न दौडिँदै आउँछ। अनि यो एक वर्ष केही नखाई बाँच्न सक्छ। यी कुनै पनि कुरा हाम्रा लागि प्रिय छैनन्।

तस्बिर स्रोत, Getty Images
उडुसले पुर्याउने हानि 'बढी मानसिक'
उडुसले पार्ने सबैभन्दा ठूलो दुष्प्रभाव मानिसको मानसिक स्वास्थ्यमा हो।
एक वर्षअघि मेरो २९ वर्षे छोराले प्यारिसमा आफू बसेको फ्ल्याटमा उडुस फेला पार्यो। उसले आफ्नो बिछ्यौना फालिदियो, सबै कपडा धोयो अनि घोटेर पूरै फ्ल्याट सफा गर्यो।
उसलाई आफ्नो छालामा केही हिँडे जस्तो लाग्न थाल्यो। उसका लागि त्यो जतिबेला पनि गरिरहनुपर्ने व्यवहारजस्तो बन्यो।
कीरा नियन्त्रण गर्ने काममा नाम चलेको एउटा कम्पनीलाई ठूलो शुल्क तिरेर फ्ल्याटमा बाफले निर्मलीकरण गर्ने विधि प्रयोग गरेपछि बल्ल ऊ ढुक्क भयो।
केही कीरा नियन्त्रकहरूले सुँघ्ने विशेष तालिम पाएका कुकुर पनि प्रयोग गर्छन्।
कसले फैलाउँछ उडुस
"उडुसको प्रकोप हुनु भनेको हाँसो विषय हैन," बेरेन्जर भन्छन्, "तर केही कुरा निकै अवास्तविक छन्, उडुस एक व्यक्तिबाट अर्कोमा सर्छ भन्नेबारे।"
"उडुस नियन्त्रण गर्नु भनेको सबै मानिसलाई नियन्त्रण गर्नु हैन भन्ने मलाई लाग्छ। बरु हामीले सुपर-स्प्रेडर चिन्नुपर्छ।"
उनका अनुसार थोरै सङ्ख्यामा भए पनि सुपर-स्प्रेडरहरूले ठूलो समस्या गराउँछन्। ती मानिसहरू समाजमा प्रायः तत्लो वर्गमा पर्छन्, उनीहरू पछाडि परेका, विपन्न र बिरामी हुन्छन् अनि आफ्नो ख्याल राख्न नसक्ने अवस्थामा हुन्छन्।
बेरेन्जरलाई एकजना सुपर-स्प्रेडरको फ्ल्याटमा निरीक्षण गर्न बोलाइयो। उनको टोलीले त्यहाँ सयौँ उडुस सल्बलाइरहेको देख्यो। ती कीरा लुगाफाटा, भुइँ र तस्बिरपछाडि जताततै थिए। उडुसको फुल पनि जताततै थियो।
"यहाँ बस्ने मानिसहरू घरबाहिर निस्किँदा प्रत्येक पटक तिनले उडुस फैलाउँछन्। ती मानिसलाई सहयोग चाहिन्छ," उनी भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








