यौन दुर्व्यवहार काण्डपछि सुस्ताएका भारतीय रेस्लरहरू ओलिम्पिक्सका लागि जुर्मुराउँदै

विनेस फोगाट

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२३ को प्रदर्शनमा सहभागी भएका शीर्ष रेस्लरहरूमध्ये एक विनेश फोगाट पनि थिए
    • Author, दिव्या आर्य
    • Role, बीबीसी हिन्दी

यौन दुर्व्यवहारको आरोपविरुद्ध भएको प्रदर्शनले भारतको रेस्लिङमा हलचल पैदा गरेको एक वर्षपछि भारतीय महिला रेस्लरहरू सन् २०२४ को प्यारिस ओलिम्पिक्ससहितका प्रमुख खेलकुद प्रतियोगिताको तयारीमा जुटेका छन्। बीबीसीले युवा रेस्लरहरूसँग उनीहरूको यात्राबारे कुराकानी गरेको छ।

रीतिका हुड्डा झन्डै नछानिएकी!

यो वर्ष हुन लागेको ओलिम्पिक्समा छानिएका पाँच भारतीय महिलामध्येकी एक २३ वर्षकी रीतिका पनि हुन्।

यो निकै कठिन परिश्रमपछि हात लागेको अवसर हो। एक वर्षसम्म भारतीय रेस्लिङमा देखिएको समस्याले उनको आत्मविश्वास निकै खस्किएको थियो।

उनलाई यो पनि थाहा थियो कि आफ्नो खेलमा सुधारका लागि अझै तालिम र प्रतिस्पर्धाहरूको आवश्यकता छ।

'हलचल' के थियो

एक वर्षअघि भारतीय रेस्लिङ महासङ्घका प्रमुख वृजभूषण सिंहमाथि यौन दुराचारको आरोप लागेपछि भारतका सबै रेस्लिङ प्रतियोगिताहरू रोकिए। उनले आफूमाथि लागेका आरोपहरू अस्वीकार गर्दै आएका छन्।

भारतको खेलकुद मन्त्रालयले सिंहलाई बर्खास्त गरेन तर यौन दुर्व्यवहारसम्बन्धी कानुन पालना नगरेकोलगायतका कैयौँ कमजोरी भेटिएपछि महासङ्घलाई नै विघटन गरिदियो।

यो अभूतपूर्व समय थियो। हुड्डा आफूले समेत प्रेरणाको स्रोत मान्ने ओलिम्पिक्स पदक विजेता भारतकी सबैभन्दा सफल रेस्लर साक्षी मलिकसहितका रेस्लरहरू दिल्लीको सडकमा बसेर सिंहको राजीनामा माग गरेको स्मरण गर्छिन्।

भारतको नयाँ संसद् भवनतर्फ अघि बढेका रेस्लरहरूलाई पक्राउ गरिएपछि यो प्रदर्शन विश्वव्यापी समाचार बन्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक्स समिति (आईओसी)ले रेस्लरहरूमाथि गरिएको व्यवहारको भर्त्सना गर्दै उनीहरूका मागबारे निष्पक्ष छानबिनका लागि आह्वान गर्‍यो।

“त्यो क्षण भइरहेका घटनाक्रमका कारण मात्रै हैन, हुनुपर्ने कुरा नभएका कारण पनि निकै दुखद थियो,” हुड्डा भन्छिन्।

खेलाडीहरू पक्राउ गरिँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, खेलाडीहरू पक्राउ परेपछि गत वर्षको प्रदर्शन विश्वव्यापी समाचारको विषय बनेको थियो

खेलाडीमा के असर

हरेक वर्ष अन्तर्राष्ट्रिय ओलिम्पिक्स समितिले निश्चित प्रतियोगिताहरूलाई ओलिम्पिक्समा छनौटको मापदण्डको रूपमा मान्यता दिने गरेको छ।

त्यसमा प्रतिस्पर्धाका लागि रेस्लरहरूले वरीयतामा निश्चित अङ्क ल्याउनुपर्छ, राष्ट्रिय प्रतियोगिताहरू जित्नुपर्छ र भारतको रेस्लिङ महासङ्घको स्वीकृति सुनिश्चित गर्नुपर्छ।

तर प्रतिस्पर्धा गर्नुपर्ने समयमा हप्तौँसम्म पात्रोमा खेलकुदका प्रतियोगिता नदेख्दा हुड्डा निराश हुन्थिन्।

“हामीले तालिम त छोडेनौँ तर त्यहाँ स्तरीय ट्रेल नभएका कारण हामीले प्रतिस्पर्धा गर्न र आफ्नो कमजोरी थाहा पाउन सक्दैनथ्यौँ। हामी ओलिम्पिक्सका लागि तयारी गर्न पाउँदैनौँ कि भन्ने डर लागिरह्यो,” उनले भनिन्।

व्यक्तिगत प्रतिस्पर्धामा २४ वटा मात्रै पदक जितेको र त्यसको पनि एक चौथाइ रेस्लिङमा पदक ल्याएको देशका लागि यो अवस्था निकै चिन्ताजनक थियो।

प्रदर्शन सुरु भएको करिब एक वर्षै पुग्न लाग्दा मात्रै सन् २०२३ को डिसेम्बरमा भारतीय रेस्लिङ महासङ्घको नयाँ चुनाव भयो।

रेस्लरहरूले भारतका खेलकुदमन्त्रीलाई सिंहसँग जोडिएका व्यक्तिहरूलाई निर्वाचनमा भाग लिनबाट रोक्न आग्रह गरेका थिए।

नियमअनुसार पाउने अधिकतम तीन कार्यकाल बिताइसकेका कारण सिंह चुनाव उठेनन्। तर उनका निकट सहयोगी सञ्जय सिंहले फराकिलो मतान्तरले प्रमुखमा चुनाव जिते।

यसले महिला रेस्लरहरूलाई आक्रोशित बनायो। त्यसमा विरोध जनाउँदै ओलिम्पिक पदक विजेता मलिकले त्यही दिन खेलकुद छोडेको घोषणा गरिन्।

“त्यो क्षण सम्झँदा अहिले पनि म भावुक हुन्छु,” मलिक भन्छिन्। “रेस्लिङले मलाई यो उचाइमा ल्याइपुर्‍यायो। मलाई माया र सम्मान दियो तर मैले त्यसलाई छोड्नपर्‍यो।”

साक्षी मलिक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१६ को रियो ओलिम्पिक्समा साक्षी मलिकले ५८ केजी फ्रीस्टाइलमा कांस्यपदक जितेको थिइन्

तर हार मान्ने पक्षमा छैनन् खेलाडी

युवा रेस्लरहरू मलिकको निर्णयबाट स्तब्ध भए तर केही समयपछि नै उनीहरू रेस्लिङको ‘म्याट’मा फर्किए।

“मैले रेस्लिङ रोज्नुको कारण साक्षी मलिक हुन्,” हरियाणा राज्यकी २० वर्षकी रेस्लर तनु मलिकले भनिन्।

“त्यसकारण उनी रोइरहेको देख्दा मैले आफैँलाई सम्झाएँ र भने उनले हाम्रा लागि लडिन् हामीले अब यसलाई छाड्नु हुँदैन।”

त्यसै दिनबाट तनु मलिकले अझै बढी मेहनत गर्ने निर्णय गरिन्।

राज्यको महिलाले मात्रै तालिम गर्ने युद्धवीर रेस्लिङ अक्याडमीमा उनको तालिम बिहान ४:३० बजे सुरु हुन्छ।

उनको दिन पाँच घण्टा लामो फिटनेस सेशनबाट सुरु हुन्छ। सबेरै उनले ठूला ट्रकका टायरहरू उचाल्छिन् र रेस्लिङका तरिकाहरू सिक्छिन्। खाना र आरामपछि अपराह्नमा पनि उनले पाँच घण्टा तालिम गर्छिन्।

रेस्लिङको म्याटमा पसिना बगाउने कोही बालिकाहरू १२ वर्षजति उमेरका छन्। उनीहरूले फुर्सदको समयमा पनि शरीरलाई तन्दुरुस्त राख्ने खानेकुराहरूबारे कुरा गर्छन्।

रेस्लिङ महासङ्घका पूर्व प्रमुखमाथि लागेको दुर्व्यवहारको आरोपबारे कोही पनि कुरा गर्न चाहँदैनन्। तर उनीहरू हार मान्ने पक्षमा छैनन्।

रेस्लिङकी एक जना प्रशिक्षक सीमा खर्ब खेलाडीहरूको विरोध प्रदर्शनका बावजुद पनि यो संस्थामा महिलाहरूको सङ्ख्या कम नभएको बताउँछिन्।

“प्रदर्शनले युवा रेस्लरहरूमा आवाज उठाउन सम्भव छ र सकारात्मक कदम चालिन सक्छन् र उनीहरूले प्रणालीबाट सहयोग पाउँछन् भन्ने सन्देश दिएको छ,” उनले भनिन्।

नयाँ अध्यक्षको भनाइले संशय

सञ्जय सिंह
तस्बिरको क्याप्शन, भारतीय रेस्लिङ महासङ्घका नयाँ प्रमुख सञ्जय सिंहले महासङ्घमा आफ्नै पकड रहेको बताएका छन्

सन् २०२३ को जुनमा प्रहरीले वृजभूषण सिंहमाथि पिछा गरेको, दुर्व्यवहार गरेको, धम्की दिएको र “यौनिक आशय झल्किने अभिव्यक्ति” दिएको आरोपमा मुद्दा चलाएको थियो। तर अदालतले उनलाई धरौटीमा रिहा गर्‍यो।

त्यही समयमा महासङ्घका नयाँ अध्यक्ष सञ्जय सिंहले कार्यभार सम्हाले।

उनले महासङ्घका पूर्वअध्यक्षसँग आफ्नो ३० वर्षदेखिको सम्बन्ध रहेको सुनाउँदै उनीमाथि लागेका आरोपहरू सही नभएको जिकिर गरे।

उनले आफूलाई रेस्लरहरूले नयाँ प्रमुखको रूपमा स्वीकार गरिसकेको बताउँदै यो वर्ष राष्ट्रिय रेस्लिङ प्रतिस्पर्धामा भएको सहभागिताले त्यसलाई पुष्टि गरेको बताए।

“कसैलाई पनि काखापाखा गरिने छैन र प्रत्येक रेस्लरहरू मेरा लागि प्रिय छन्। म आफैँ पनि दुई जना छोरीहरूको बुवा भएकाले म छोरीहरू के चाहन्छन् भन्ने बुझ्छु,” उनले भने।

यद्यपि तनु मलिकजस्ता युवतीहरूका लागि यो पेसामा सधैँ डर लागिरहन्छ।

“यो सहज छैन – मेरा बुवाआमा म तालिममा एक्लै जाँदा सधैँ पिर लिनुहुन्छ,” उनी भन्छिन्। “तर उनीहरूले हामीलाई विश्वास गर्नुपर्छ। नभए कसरी चल्छ? यो भनेको लडाइँ नगरी हार स्वीकार गर्नुजस्तै हो।”

अन्य कतिपयले आफूहरू हतोत्साहित भएको र प्रदर्शनको मूल्य चुकाउनु परिरहेको बताएका छन्।

एशियाली च्याम्पिअन्शिपमा स्वर्णपदक विजेता शिक्षा खर्बले प्रदर्शनका कारण तालिम अवरुद्ध भएको र परिणामस्वरूप युवा रेस्लरहरूको एक वर्षको समय खेर गएको बताइन्।

तर साक्षी मलिकलाई भने यसमा पश्चात्ताप छैन।

“सबैभन्दा महत्त्वपूर्ण कुरा लड्नु हो,” उनले भनिन्। “मलाई के लाग्छ भने कुनै पनि खेलकुद महासङ्घको कुनै व्यक्तिले अब यस्ता काम गर्ने आँट गर्दैनन्।”

रीतिका हुड्डा
तस्बिरको क्याप्शन, यो वर्ष हुन लागेको ओलिम्पिक्समा छानिएका पाँच जना भारतीय महिलाहरूमध्येकी एक २३ वर्षकी रीतिका हुड्डा पनि हुन्

हुड्डा विश्वका प्रतिष्ठित रेस्लरहरूसँग प्रतिस्पर्धा गर्नेबारे आफू हतास भएको बताउँछिन्। तर आफूलाई उनले त्यसका लागि तयार गरिरहेकी छन्।

“साक्षी मलिकले ‘जित वा हार ठूलो कुरा होइन, कडा मेहनतमा विश्वास गर्नुपर्छ’ भनेकी छन्। म पनि त्यही गर्छु,” शिक्षा खर्बले थपिन्।

उनी तालिमका लागि तयार हुँदै गर्दा साक्षीले ओलिम्पिक्स पदक लिइसकेको तस्बिर उनका अगाडि मुस्कुराइरहेको हुन्छ।

“अहिले मेरो एउटै ध्यान भनेको पदक जित्ने हो,” उनी भन्छिन्। “कसलाई थाहा छ र कुनै दिन मेरो तस्बिर पनि उनको पछाडि राखिन्छ कि?”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।