तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'झ्यापझ्याप' बिजुली गएको औद्योगिक ग्राहकको गुनासो, 'लोडशेडिङ'बारे अनर्गल प्रचार भएको प्राधिकरणको दुखेसो
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
बारा-पर्सा औद्योगिक करिडरमा राइस मिल चलाउँदै आएका सञ्जयकुमार शाह बिजुलीका कारण अचेल आफ्नो 'टाउको दुखेको' बताउँछन्।
"पूर्वजानकारीबेगर झ्यापझ्याप बत्ती जान्छ। आएको बेला पनि गुणस्तरीय हुँदैन। कुनै दिन त १० घण्टासम्म बिजुली हुँदैन। कसरी काम गर्ने?" बारा-पर्सा औद्योगिक करिडरका अध्यक्ष समेत रहेका शाहले बताए।
उनका अनुसार सो करिडरमा करिब एक हजार उद्योग छन् र तिनमा लाखौँ मानिस आश्रित छन्।
'घाटामाथि घाटा'
बिजुलीको समस्याले उद्योगहरूको 'घाटामाथि घाटा' हुन थालेको शाहले बताए।
"जानकारीबिनै बिजुली जाँदा अनि कम भोल्टेजमा आउँदा करोडौँ पर्ने मशीनहरू बिग्रने, डाकिएका मजदुरहरूलाई त्यत्तिकै पैसा दिनुपर्ने अनि बत्ती जाँदा बिस्कुटजस्ता उत्पादन भइरहेका वस्तु खेर जानेलगायत विविध जटिलता बेहोर्नुपरिरहेको छ," उनले भने।
बितेको पाँचछ महिनादेखि यस्तो समस्या बढेको र अचेल झन् चर्किएको उनले सुनाए।
"यो करिडरका उद्योगधन्दाका कारण मात्र सरकारले ३०-४० प्रतिशत राजस्व पाउँछ। यस्तो स्थितिमा अचेल नयाँ उद्योगी आउने होइन, पुराना पलायन हुन थालेका छन्।"
"यदि विद्युत् दिन नसकिने हो भने 'शेड्यूल' नै बनाएर जानकारी दिइनु पर्यो। त्यसो भयो भने उद्योगीहरूले समय मिलाएर कारखाना चलाउन पाउँछन् अनि मजदुरहरूलाई त्यही समयमा डाक्छन्।"
के भन्छ प्राधिकरण?
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूहरू उद्योगहरूको समस्याबारे जानकार रहेको बताए।
"केही दिन हामीले कोसिस गर्दागर्दै पनि भारतबाट थप बिजुली किन्न नसकिएका कारण अप्ठेरो परेको हो। परिस्थिति बुझ्दा केही समय किन्न अझै गाह्रो हुने देखिएकाले अब उद्योगहरूलाई 'शेड्यूलिङ' गर्दै छौँ," शाक्यले भने।
त्यसअनुसार अब चाप परेका समयमा आफ्ना 'लोड' घटाउन अनुरोधसहित पहिले जस्तै मौखिक रूपमा उद्योगहरूलाई जानकारी गराइने उनले बताए।
बिजुली दिइएको समयमा गुणस्तर कायम राख्नेबारे पनि आफूहरू सचेत रहेको उनले बताएका छन्।
'सुक्खा याम र आयातमा अड्चन'
अहिले सुक्खा यामका कारण नेपालको आन्तरिक जलविद्युत् उत्पादनमा उल्लेखनीय कटौती भएको छ।
कुल जडित क्षमता करिब ३,५०० मेगावाट रहेकामा हिजोआज अधिकतम उत्पादन १,६०० मेगावाटभन्दा कम रहेको प्राधिकरणको भनाइ छ जबकि अहिले अधिकतम माग २,००० हजार मेगावाटभन्दा धेरैको छ।
सुक्खा याममा अपुग हुने बिजुली भारतबाट आयात गरेर धान्ने गरिएको छ। तर यसपटक बिजुली आयातमा जटिलता आइपरेको कार्यकारी निर्देशक शाक्यले बताए।
भारतबाट बिजुली आयात गर्दा सामान्यतया दुई वटा माध्यमबाट गर्ने गरिएको उनले बताए – एउटा इन्डिअन एनर्जी एक्स्चेन्ज (आईईएक्स) र अर्को पावर एक्स्चेन्ज कमिटी (पीईसी)।
आईईएक्सबाट बोलकबोल गरेर बिजुली किन्नुपर्छ भने पीईसीमार्फत् चाहिँ बिहार र उत्तर प्रदेशबाट चाहिएको बेला दिइने गरेको उनले बताए।
"अर्को तेस्रो माध्यम पनि थियो। त्यो भनेको चाहिँ द्विपक्षीय सहमतिबाट पुसमाघमै हुन्छ भनिएको कुरा, पछि वास्ता नगर्दा भारतले अर्को पक्षलाई दियो र अहिलेका लागि त्यो बाटो बन्द भयो। नत्र त्यहाँबाट २०० मेगावाट आउँथ्यो," शाक्यले भने। तत्कालीन व्यवस्थापनसँगको असमझदारीका कारण प्रक्रिया अड्किएकाले उक्त मौका गुमेको उनले बताए।
अचेल भारतमै चर्को माग रहेको र खास गरी त्यहाँ "आईपीएल खेल जारी रहँदा माग बढेकाले अधिकतम प्रयास गर्दा समेत" आईईएक्स र पीईसीमार्फत् विद्युत् प्राप्त हुन नसकेको प्राधिकरणले एउटा सूचना जारी गर्दै जनाएको छ।
मागमा वृद्धि भएकाले अचेल बेलुकीको समयमा प्रतियूनिट भारतीय रुपैयाँ १० भन्दा बढी मूल्यमा बिजुली बिक्री भइरहेको बताइन्छ। "अवस्था कस्तो छ भने अचेल आईईएक्समा २,००० मेगावाटको आपूर्ति भइरहँदा १२,००० मेगावाटभन्दा धेरैको माग भइरहेको छ।"
त्यसैले मूल्य बढेको र उपलब्धता घटेको बताइएको छ। "त्यहाँ प्रतियूनिट १० भारतीय रुपैयाँभन्दा धेरै बढ्न नपाइने नियम छ। अनि सबैले १० मा खरिद गर्न खोज्दा भाग पुग्दैन र दामासाहीमा कहिले १०० कहिले १५० मेगावाट मात्र पाइरहेका छौँ," शाक्यले बताए।
प्राधिकरणको सूचनामा नेपालले भारतबाट निश्चित समयमा अधिकतम ३५० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति पाएकामा अचेल मैनैया-सम्पतिया लाइनबाट जम्मा ५० मेगावाट मात्र आपूर्ति भइरहेको उल्लेख छ।
'लोडशेडिङबारे अनर्गल प्रचार भयो'
खास गरी भारतसँगको सहज आपूर्तिमा देखिएको खलबलीका कारण अहिले विद्युत् व्यवस्थापनमा कठिनाइ भएको प्राधिकरणले बताएको छ।
"सामाजिक सञ्जालमा 'लोडशेडिङ' गर्न लागिएको भन्नेजस्ता अनर्गल प्रचार भएका छन्। त्यसैलाई चिर्न हामीले बुधवार सार्वजनिक सूचना जारी गरेका हौँ। तर त्यसलाई पनि गलत अर्थ लगाइएको छ," प्राधिकरणका प्रमुख शाक्यले भने।
"त्यो सूचना हेर्नुभयो भने पनि प्रस्ट हुन्छ। हामीले लोडशेडिङ् गर्ने भनेका छैनौँ।"
औद्योगिक क्षेत्रमा केही समय आंशिक 'लोड' दिइने गरेको भएतापनि माग र आपूर्तिको व्यवस्थापनमा अधिकतम प्रयास गरिएको प्राधिकरणले बताएको छ।
कहिले होला समाधान?
हिउँद सकिएर घाम चर्कन थालेपछि हिमालका हिउँ पग्लने अनि नदीका प्रवाह बढ्ने गरेको छ।
अहिले नेपालमा कुलेखानीबाहेक लगभग सबैजसो जलविद्युत् आयोजनाको उत्पादन नदीको जलप्रवाहमा निर्भर हुन्छ।
सुक्खा याममा तिनको उत्पादन घटेर एकचौथाइ परिमाणसम्म पुग्ने गर्छ।
त्यसमाथि भारतमा यसपालि आन्तरिक माग निकै बढेको र नेपालको छिमेकमा रहेका बिहार तथा उत्तर प्रदेश राज्यमा हाल जारी आईपीएल क्रिकेट प्रतियोगिताका कारण बेलुकी बिजुलीको माग चर्को बढेको बताइएको छ। आईपीएल प्रतियोगिता सकिन झन्डै एक महिना बाँकी छ।
ती दुई कारणको समाधान हुन अझै केही साता लाग्न सक्छ।
कम्तीमा १५ दिनपछि यो अवस्था सहज हुँदै जाने शाक्यको आशा छ।
"गर्मी बढेकाले बिस्तारै हाम्रा नदीमा हिउँ पग्लिएर आउने पानीको प्रवाह बढ्दै छ। त्यसले हाम्रो आन्तरिक उत्पादन दिनहुँ बढिरहेको छ। अनि धेरै मूल्यमा बेच्न भारतमा पनि थप उत्पादकहरू इच्छुक हुने सम्भावना छ, जसकारण हामीले त्यताबाट पनि बढी परिमाणमा बिजुली पाउन सक्छौँ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।