ट्रम्प र उनको टोलीले यो साता गरेका १९ निर्णय कस्ता छन्?

    • Author, एमिली मेगार्भी
    • Role, बीबीसी न्यूज

अमेरिकी राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्प ह्वाइट हाउस फर्किएको एक महिना भएको छ। उनी ह्वाइट हाउस फर्किएको पाँचौँ सातामा उनले कैयौँ नाटकीय कदमहरू चालेको देखियो।

ट्रम्पले सङ्घीय सरकारको पुन: निर्माण गर्ने, विभिन्न क्षेत्रमा व्यापक कटौती लागु गर्ने र अमेरिकी विदेश नीतिलाई पुन: परिभाषित गर्ने आफ्नो योजनामा यो साता केही कदमहरू चालेका छन्।

उनले युद्धरत युक्रेनी राष्ट्रपतिलाई "तानाशाह" भन्नेदेखि आईभीएफलाई सुलभ बनाउने तथा उच्च सैन्य अधिकारीलाई बर्खास्त गर्नेसम्मका कदम चाले।

यो साता ट्रम्प प्रशासनले चालेका १९ मुख्य कदमहरूबारे यहाँ चर्चा गरिएको छ।

युक्रेनी राष्ट्रपतिलाई 'तानाशाह' भने

ट्रम्पले गत मङ्गलवार युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई "तानाशाह" भनेका छन्।

युक्रेनलाई सामेल नगराइकन युक्रेन युद्धबारे अमेरिका-रुस वार्ता भएपछि जेलेन्स्कीले दिएको प्रतिक्रियापछि ट्रम्पको त्यस्तो भनाइ आएको थियो।

त्यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प रुसी दुष्प्रचारबाट प्रभावित भएको बताएका थिए।

ट्रम्पले जेलेन्स्कीको लोकप्रियताको 'रेटिङ' ४ प्रतिशतमा झरेको बताएपछि जेलेन्स्कीले उनी रुसी दुष्प्रचारको सिकार भएको बताएका थिए।

जेलेन्स्कीको पाँचवर्षे कार्यकाल सन् २०२४ मेसम्म थियो।

तर सन् २०२२ फेब्रुअरीमा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता युक्रेनमा सैनिक शासन लागु गरेर त्यहाँ निर्वाचन स्थगित गरिएको छ।

ट्रम्पको अभिव्यक्तिको युरोपेली नेताहरूले आलोचना गरेका छन्।

युद्धवारे युक्रेनविनै रुस अमेरिका वार्ता

गत मङ्गलवार नै अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्ध सुरु भएपछि पहिलो पटक प्रत्यक्ष रूपमा उच्चस्तरीय वार्ता गरे। त्यसमा युक्रेनलाई आमन्त्रण गरिएको थिएन।

शीर्ष अमेरिकी अधिकारीहरूले साउदी अरबमा मस्कोका समकक्षीहरूलाई भेटेका हुन्। वार्ताले रुसी आक्रमण सामना गरिरहेको युक्रेनलाई किनारा लगाइने डर किएभमा पैदा भएको थियो।

शुक्रवार ट्रम्पले फक्स न्यूजलाई शान्ति वार्तामा जेलेन्स्की हुनु महत्त्वपूर्ण नभएको तर "पक्कै पनि" आफूले उनको मत बुझ्ने बताए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुससँगको वार्ता शान्ति सम्झौताका लागि पहिलो कदम भएको बताउँदै युक्रेनमाथि जबरजस्ती केही पनि नथोपरिने बताएका छन्।

रुससँग कैदीबन्दी आदानप्रदान

यसै साता रुसी अधिकारीहरूले एक अमेरिकी नागरिकलाई रिहा गरेका छन्। उनलाई गाँजा बोकेको आरोपमा यसै महिना मस्को एयरपोर्टमा पक्राउ गरिएको थियो।

ती २८ वर्षीय अमेरिकी नागरिकलाई गत मङ्गलवार युक्रेन युद्धबारे अमेरिका र रुसका अधिकारीबीच वार्ता सुरु हुनुभन्दा केही घण्टाअघि रिहा गरिएको थियो।

अमेरिकाले पनि सन् २०१७ मा बिटकोइन प्रयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा पक्राउ परेका एक रुसी नागरिकलाई रिहा गर्ने बताएको छ।

यसलाई कैदीबन्दी आदानप्रदानका रूपमा हेरिएको छ त्यसै क्रममा गत साता मात्र एक जना अमेरिकी शिक्षक छुटेर घर फर्केका थिए।

न्यूयोर्कमा भिड कम गर्न सवारीसाधनमा लगाइने शुल्क अन्त्य

ट्रम्प प्रशासनले न्यूयोर्क सहरमा भिडभाड कम गर्न सवारीसाधनमा लगाइएको शुल्क अन्त्य गर्नेतर्फ कदम चालेको छ।

त्यसअन्तर्गत सहरका निश्चित क्षेत्रहरूमा प्रवेश गर्ने सवारी साधनहरूलाई शुल्क लगाइने गरिएको थियो। त्यो योजना गत महिना सुरु भएको थियो।

ट्रम्पले सामाजिक सञ्जालमार्फत् त्यसको जानकारी दिँदै "भिड कम गर्न लगाइएको शुल्क अन्त्य भएको" जानकारी दिएका थिए।

सामाजिक सञ्जालमै न्यूयोर्ककी गभर्नरले ट्रम्पलाई अमेरिका कानुनी राज्य भएकाले "तपाईँलाई अदालतमा भेटौँला" भन्ने जबाफ फर्काएकी छन्।

सोशल मिडिया इन्फ्लुएन्सर एन्ड्र्यू टेटको मामिलामा हस्तक्षेप नगर्न आग्रह

सामाजिक सञ्जालका चर्चित व्यक्ति एन्ड्र्यू र उनका भाइ ट्रिस्टन टेटको यात्रा प्रतिबन्ध खुकुलो बनाउन अमेरिकी अधिकारीहरूले रूमेनिआलाई आग्रह गरेको विवरणहरू आएका छन्।

टेटबाट यौन दुर्व्यवहार खेपेको आरोप लगाउने चार जना महिलाहरूले त्यसले आफूहरूलाई "अति चिन्तित तुल्याएको" बताएका छन्।

टेट दाजुभाइ यूके र अमेरिकी दोहोरो नागरिकता भएका व्यक्तिहरू हुन्।

उक्त मामिलाबारे सबैभन्दा पहिले फाइनान्सल टाइम्स अखबारले समाचार लेखेको थियो।

उक्त पत्रिकाले अमेरिकी अधिकारीहरूले गत हप्ता रूमेनिआ सरकारसँग त्यो मुद्दा उठाएको जनाएको छ।

त्यसपछि गत सप्ताहान्तमा ट्रम्पका दूत रिचर्ड ग्रेनेलले त्यसलाई अघि बढाएका थिए।

अमेरिकाले उनीहरूको राहदानी फिर्ता गर्न अनुरोध गरेको एक स्रोतले पत्रिकालाई बताएको थियो।

यसबारे अमेरिकी विदेश मन्त्रालयलाई प्रतिक्रियाका लागि बीबीसीले सम्पर्क गरेको छ तर हालसम्म उसको टिप्पणी प्राप्त भएको छैन।

सीमामा हुने गिरफ्तारीमा कमी

अमेरिकी सीमा गस्तीले ज्यानुअरी महिनामा अवैध रूपमा अमेरिका-मेक्सिको सीमा पार गर्ने आप्रवासीको सङ्ख्यामा कमी आएको बताएको छ।

उक्त निकायका अनुसार ज्यानुअरी महिनामा २९,००० गिरफ्तारहरू भएको जनाएको छ।

त्यो भनेको सन् २०२० को मेपछिको सबैभन्दा कम हो। गत डिसेम्बरमा ४७,००० त्यस्ता गिरफ्तारी भएका थिए।

ट्रम्पले ज्यानुअरी २० मा पूर्ववर्ती जो बाइडनको स्थानमा राष्ट्रपतिको पदभार ग्रहण गरेका हुन्।

ट्रम्प प्रशासनले अमेरिकामा आवश्यक कागजात नभएका आप्रवासीको प्रवेशलाई रोक्ने वाचा गरेको छ।

त्यस अन्तर्गत दक्षिणी सिमानामा आपत्काल घोषणा गर्ने र अमेरिकामा रहेका कागजातविहीन व्यक्तिहरूलाई तत्काल निष्कासन गर्ने कार्यलाई विस्तार गरिएको छ।

ट्रम्पले अमेरिकी अध्यागमन अधिकारीहरूले कागजातविहीन विदेशीहरूलाई अमेरिकाबाट निष्कासन गर्ने प्रक्रिया अझ तीव्र पार्न र धेरैभन्दा धेरै त्यस्ता आप्रवासीलाई देशनिकाला गर्न थप निर्देशन दिएका छन्।

हजारौँ सङ्घीय कर्मचारी बर्खास्त

ट्रम्प प्रशासन र उनको डिपार्टमन्ट अफ गभर्मन्ट इफिशन्सी (डीओजीई)का प्रमुख इलोन मस्कले सङ्घीय जनशक्तिलाई घटाएर लागत कटौती गर्ने अभियान जारी राखेका छन्।

अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस) का ६,००० भन्दा बढी कर्मचारीहरूलाई हटाइने अपेक्षा गरिएको छ।

शुक्रवार पेन्टागनले अर्को साताको सुरुमा ५,४०० जना आफ्ना परीक्षणकालमा रहेका कामदारहरूलाई "हटाउने" योजना बनाएको बताएको छ।

अमेरिकी राष्ट्रिय निकुञ्ज सेवाका करिब १,००० कर्मचारीहरूलाई गत साताको अन्त्यमा हटाइयो। त्यो भनेको लगभग ५ प्रतिशत जनशक्ति भएको सीबीएस न्यूजले जनाएको छ।

त्यस्तै सङ्घीय उड्डयन प्रशासनका सयौँ कर्मचारीलाई पनि बर्खास्त गर्न थालिएको छ।

त्यसलाई व्यावसायिक उड्डयन सुरक्षा विशेषज्ञ युनियनका प्रमुख डेभिड स्पेरोले "लज्जाजनक" भनेका छन्।

सर्वेक्षणहरूले सरकारी खर्च कटौतीलाई जनसमर्थन रहेको देखाएका छन्।

तर मस्कको यो अभियान धेरै व्यापक हुन सक्ने चिन्ता पनि बढेको छ।

हटाइएका कर्मचारीलाई पुन: नियुक्तिको प्रयास

अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार ट्रम्पको प्रशासनले सप्ताहान्तमा बर्खास्त हुनुअघि बर्डफ्लूसम्बन्धी सरकारी प्रतिक्रियाका लागि कार्यरत अमेरिकी कृषि मन्त्रालयका अधिकारीहरूलाई पुनः नियुक्त गर्ने प्रयास गरिरहेको छ।

कर्मचारीहरूलाई हटाइएकै बेला बर्डफ्लूको प्रकोपले कुखुरा र गाईबस्तु फार्ममा विनाश मच्चाएको छ। त्यसले गर्दा अण्डाको मूल्य आकाशिएको छ।

कृषि मन्त्रालयका प्रवक्ताले "धेरै" अधिकारीहरूलाई सप्ताहान्तमा "उनीहरूलाई बर्खास्त गरिएको सूचना" दिइए पनि "द्रुत रूपमा स्थिति सुधार गर्न र ती पत्रहरू रद्द गर्ने काम भइरहेको" बीबीसीसँग बताएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार गत साता नै राष्ट्रिय आणविक सुरक्षा प्रशासनका अधिकारीहरूलाई बर्खास्त गरिएपछि सरकारले केहीलाई पुनर्स्थापित गर्न खोजिरहेको थियो। तर उनीहरूसँग सम्पर्क हुन सकिरहेको थिएन।

आईभीएफलाई सस्तो बनाउने आदेशमा हस्ताक्षर

ट्रम्पले इन-भिट्रो फर्टिलाइजेसन अर्थात् आईभीएफ उपचार पद्धतिलाई सस्तो बनाउने तरिकाहरू खोजी गर्ने सम्बन्धी एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

ह्वाइट हाउसका एक अधिकारीले ९० दिनभित्र त्यसबारे सिफारिस गर्नका लागि डोमेस्टिक पोलिसी काउन्सिललाई आदेश दिइएको जानकारी दिए।

धेरैका लागि सहज होस् भनेर खर्च व्यापक रूपमा कटौती गर्ने उद्देश्यका साथ त्यस्तो गरिएको बताइएको छ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले आफू ह्वाइट हाउस फर्किए आईभीएफको खर्च बिमा कम्पनी वा सरकारले बेहोर्ने व्यवस्था गर्ने बताएका थिए।

गल्फ अफ मेक्सिको विवादका कारण एपीमाथि रोक

ह्वाइट हाउस र एसोसिएटेड प्रेस (एपी) बीच गल्फ अफ मेक्सिकोको नाम परिवर्तन गरेर गल्फ अफ अमेरिका बनाउने ट्रम्पको निर्णयबारे विवाद उत्पन्न भएको छ।

विश्वव्यापी समाचार एजेन्सी एपीले अमेरिकामा गुगल म्यापले उक्त परिवर्तित नाम राखे पनि आफूले परिवर्तन नगर्ने जनाएको छ।

ट्रम्पले अमेरिकी सरकारका कागजातहरूमा परिवर्तित नाम राख्न आदेश दिएका छन्।

एपीले चाहिँ आफ्नो शैलीपुस्तिकामा उक्त स्थानको नाम गल्फ अफ मेक्सिको नै राख्ने जनाएको छ। त्यसलाई धेरै अमेरिकी समाचार संस्थाहरूले पछ्याउँछन्।

ट्रम्पले गत मङ्गलवार ओभल अफिस र एयर फोर्स वन युनिटमा एपीको प्रवेश रोक्ने बताए। एपीले गल्फ अफ मेक्सिको नाम उल्लेख गर्न बन्द नगरेसम्म त्यस्तो प्रतिबन्ध सामना गर्नुपर्ने उनले बताए।

त्यसको प्रतिउत्तरमा उक्त समाचार संस्थाले ट्रम्पका तीन अधिकारीविरुद्ध मुद्दा हालेको अमेरिकी सञ्चारमाध्यमले शुक्रवार जनाएका छन्।

एपीले ट्रम्पको उक्त कदमलाई असंवैधानिक भन्दै त्यसका लागि आपत्कालीन सुनुवाइ चाहेको जनाएको छ।

न्यूयोर्कका मेअरविरुद्धको मुद्दा फिर्ता लिने लगातार प्रयास

अमेरिकी न्याय मन्त्रालयका वकिलहरूले बुधवार न्यूयोर्क सहरका मेअर एरिक एडम्स विरुद्धको आपराधिक मुद्दा अन्त्य गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन्।

गत साता न्याय मन्त्रालयले एडम्सविरुद्ध ठगी र घूसखोरीको आरोप खारेज गर्ने एउटा प्रस्ताव दायर गरेको थियो।

म्यानहाटनका एक शीर्ष अमेरिकी अभियोजकसहित न्याय मन्त्रालयका सात जना वकिलहरूले उक्त मुद्दा खारेज गर्ने निर्णयको विरोधमा राजीनामा दिएका छन्।

एडम्सलाई गत वर्ष अभियोग लगाइएको थियो तर उनले ती अभियोगहरूलाई अस्वीकार गर्दै आएका छन्।

कागजातविहीन आप्रवासी र तिनका सन्तानलाई दिइदैँ आएको सुविधामा रोक

ट्रम्पले गत बुधवार कागजातविहीन आप्रवासीहरूले पाउँदै आएको सङ्घीय सुविधाहरू रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

ह्वाइट हाउसका अनुसार उक्त आदेशपछि अवैध आप्रवासीहरूलाई सहयोग गर्ने खालका कुनै पनि कार्यक्रममा सङ्घीय बजेट प्रयोग हुन रोकिनेछ।

मङ्ग्लवार ट्रम्प प्रशासनले आफ्ना अभिभावकविना अमेरिका आएका बालबालिकाहरूलाई अध्यागमन अदालत प्रणालीमा पहुँच पाउनका लागि सहजीकरण गर्ने सेवा पनि बन्द गरिदिएको छ।

बचत भएको रकम अमेरिकी करदातालाई बाड्ने योजनाको समर्थन

ट्रम्पले इलोन मस्क प्रमुख रहेको डिपार्टमन्ट अफ गभर्मन्ट इफिशन्सी (डीओजीई)ले खर्च कटौती गरेर भएको बचतको निश्चित प्रतिशत हिस्सा अमेरिकी करदातालाई सीधै फिर्ता गरिदिनेबारे सोचिरहेको बताएका छन्।

उनले यसै साता फ्लोरिडामा आफूहरूले २० प्रतिशत रकम अमेरिकी नागरिकलाई फिर्ता गरिदिनेबारे सोचिरहेको बताएका हुन्।

त्यसअघि मस्कले पनि त्यसबारे राष्ट्रपतिसँग कुराकानी गर्ने बताएका थिए।

उनको सामाजिक सञ्जाल एक्समा प्रयोगकर्ताले त्यसो गर्न सुझाव दिएपछि मस्कले उक्त जबाफ दिएका हुन्।

म्युनिख सम्मेलनमा अमेरिकी उपराष्ट्रपतिद्वारा युरोपको आलोचना

म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युरोपेली लोकतन्त्रमाथि कडा रूपमा प्रहार गरेका छन्।

उनले युरोपलाई चीन र रुसबाट नभइ उनीहरू आफैँभित्र खतरा रहेको बताए।

उनले युक्रेन युद्ध समाप्त गर्नेबारे सम्भावित वार्ताहरूबारे कुराकानी गर्ने ठानिएको थियो।

तर भान्सले युरोप र यूकेलाई समेत लक्षित गर्दै आप्रवासन र अभिव्यक्ति स्वतन्त्रताबारे आफ्ना मतदाताहरूको मतलाई बेवास्ता गरेको आरोप लगाए।

उनको उक्त अभिव्यक्तिलाई सोही सम्मेलनमा बोल्ने कैयौँ युरोपेली नेताहरूले निन्दा गरेका थिए।

दक्षिण अफ्रिकामा भएको जी२० सम्मेलन बहिष्कार

अमेरिकी विदेशमन्त्रीले यसै साता दक्षिण अफ्रिकामा भएको जी२० विदेशमन्त्रीहरूको बैठक बहिष्कार गरेका छन्।

त्यस्तै अमेरिकी अर्थमन्त्रीले पनि आगामी साता हुने जी२० अर्थमन्त्रीहरूको बैठकमा आफू सहभागी नहुने जनाएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले दक्षिण अफ्रिकाले जी२० लाई "गलत कार्य"का लागि प्रयोग गरेको आरोप लगाएका छन्।

त्यस्तै "अमेरिका विरोधी" गतिविधिका लागि अमेरिकी करदाताको पैसा आफूले खर्च नगर्ने पनि उनको आरोप थियो।

दक्षिण अफ्रिकाका राष्ट्रपतिले चाहिँ बहुपक्षीय छलफलबाट मात्र विश्वमा देखिएको सङ्कट समाधान गर्न सकिने बताएका थिए।

पेन्टागनलाई यस वर्ष ५० अर्ब डलर बचाउन आदेश

अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले अमेरिकी सेनालाई ट्रम्पको प्राथमिकता क्षेत्रमा खर्च गर्न सकिनेगरी अर्को वर्षका लागि ५० अर्ब अमेरिकी डलर बराबरको खर्च कटौती गरेर बचत गर्न भनेका छन्।

उप रक्षामन्त्रीले गत बुधवार "अनावश्यक कर्मचारी" र "कथित जलवायु परिवर्तन"का निम्ति पूर्ववर्ती प्रशासनले सेनामा अनावश्यक खर्च गराउने व्यवस्था गरेको एउटा विज्ञप्तिमा जनाएका छन्।

उनले त्यसको अन्त्य हुनुपर्ने पनि उल्लेख गरेका थिए।

शुक्रवार अबेर ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोशलमा ज्वाइन्ट चिफ्स अफ स्टाफका प्रमुख पनि हट्ने जनाएका छन्।

सेप्टेम्बर ११ हमलासँग जोडिएको क्यान्सर अनुसन्धानको रकम कायम

सेन्टर सफर डिजिज् कन्ट्रोल एन्ड प्रिभेन्सन 'सीडीसी' सेप्टेम्बर ११ को हमलासँग सम्बन्धित क्यान्सरबारेको अनुसन्धानका लागि छुट्ट्याइएको बजेटलाई पुन: कायम गर्न सफल भएको छ।

इलोन मस्क प्रमुख रहेको निकायले गत साता त्यसलाई हटाउने प्रयास गरेको थियो।

उक्त हमलापछि आगो निभाउन खटिएका अग्निनियन्त्रकहरूमा देखापरेको क्यान्सरबारे अध्ययन गर्न उक्त रकम छुट्ट्याइएको थियो।

नासकार रेस उद्घाटनमा ट्रम्प उपस्थित

ट्रम्पको मोटरकेड नासकार शृङ्खलाको उद्घाटनका क्रममा उक्त काररेसको ट्र्याकमा दौडिएको छ।

उनको डिटोना५०० उक्त ट्र्याकमा दौडिएको हो। त्यस बेला अमेरिकी राष्ट्रपतिको सुरक्षाका लागि खटिने अमेरिकी सेनाको जेटले हवाई गस्ती गरेको थियो।

उच्च सैन्य अधिकारीको बिदाइ

अमेरिकी सेनाका संयुक्त चिफ अफ स्टाफका अध्यक्ष सीक्यू ब्राउनलाई पदबाट हटाइएको छ।

उनले राष्ट्रपति र रक्षा सचिवलाई सल्लाह दिने जिम्मेवारी निर्वाह गर्थे र अमेरिकी सेनाका सबैभन्दा उच्च अधिकारीका रूपमा काम गर्थे।

शुक्रवार साँझ ट्रम्पले ब्राउनलाई धन्यवाद दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा ब्राउनलाई धन्यवाद दिए पनि उनलाई बर्खास्त गरिएको वा उनले राजीनामा दिएको के हो भन्ने खुलाएका छैनन्।

रक्षामन्त्री बन्नुअघि हेग्सेथले सेनामा सुधारका लागि उनलाई हटाउनु पर्ने बताएका थिए।

ट्रम्पले ब्राउनको स्थान वायुसेनाका लेफ्टिनेन्ट जेनेरल ड्यान केनले प्रतिस्थापन गर्ने घोषणा गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।