क्यानडासँगको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालको नाटकीय जित

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
कप्तान रोहित पौडेलले ईश्वरजोत सोहीलाई बोल्ड गरेपछि एउटा नाटकीय खेलमा नेपालले क्यानडालाई हराउँदै सात रनको रोमाञ्चक जित हात पारेको छ।
दोस्रो इनिङ्सको ४४ औँ ओभरको अन्तिम बलमा उदय भगवान्लाई रोहितले बोल्ड गर्नुअगाडि क्यानडा २०७/७ को सुरक्षित जिततिर अग्रसर थियो। तर त्यसपछि थप १० रन बनाउँदा टोली अलआउट हुन पुग्यो।
अनि नेपालले अपत्यारिलो जित हात पार्यो।
खेलमा नायक बनेका कप्तान पौडेलले कुल चार विकेट लिए।
क्यानडासँगको एकदिवसीय श्रृङ्खलाअन्तर्गत बिहीवारको यो जित क्यानडाविरुद्ध नेपालको एकदिवसीय भेटमा पहिलो जित पनि हो।
नेपालले पेस गरेको २२५ रनको चुनौतीको सामना गर्न आएको क्यानडा २१७ रनमा अल आउट भएको हो।

तस्बिर स्रोत, CAN
त्यसअघि क्यानडाका मध्यक्रमका खेलाडी निकोलस किर्तोन (६८ रन) र परगत सिंह (५० रन) ले धैर्यपूर्ण ब्याटिङ गर्दा नेपाली बलरहरू अप्ठेरोमा परेका थिए।
अर्को हप्ताबाट कीर्तिपुर मैदानमै सुरु हुने विश्वकप लीग-२ को तयारीस्वरूप यो श्रृङ्खला खेलिएको हो।
नेपालको ब्याटिङ

तस्बिर स्रोत, CAN
कप्तान रोहित पौडेलले टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल नौ विकेटको क्षतिमा २२४ रनमा समेटिन पुगेको थियो।
प्रारम्भिक ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै नेपाललाई सही सुरुवात दिलाए पनि मध्यक्रमका प्रमुख ब्याटरहरू चल्न नसक्दा नेपालले चुनौतीपूर्ण लक्ष्य खडा गर्न सकेन।
कुशलले ५८ बलमा ६२ रन बनाउने क्रममा नौ चौका र तीन छक्का प्रहार गरेका थिए। आसिफ शेखसँग मिलेर उनले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे।
एघाऔँ ओभरमा आसिफ शेख आठ रन बनाई पभिल्यन फर्किए। कप्तान रोहित पौडेल पनि टिक्न सकेनन्। उनी १४.३ ओभरमा आठ रन नै बनाएर बोल्ड हुनपुगे।

तस्बिर स्रोत, CAN
उनी आउट भएपछि नेपालको रन गति ढिलो हुन पुग्यो। त्यसपछि भीम सार्कीले १७ र कुशल मल्लले २० रन बनाएर आउट भए।
लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका आरिफ शेखले मध्यक्रमको गति बढाएका थिए। उनले ५० बल खेलेर ३८ रनको धैर्यपूर्ण ब्याटिङ गरे। उनी भगवान्को बलमा बोल्ड आउट हुँदा ३८.५ ओभरमा नेपालको स्कोर १७३ रन पुगेको थियो।
आरिफ आउट भएपछि उनलाई साथ दिइरहेका पवन सर्राफ पनि १५ रन बनाएर आउट भए। अनि सोमपाल कामीले आक्रामक इनिङ्स खेल्दै दुई छक्काको मद्दतमा २७ रन बनाए।

तस्बिर स्रोत, CAN
पहिलो पटक राष्ट्रिय टिममा परेका रिजन ढकालले चार रन बनाए भने सूर्य तामाङ १० रनमा अविजित रहे। ललितनारायण राजवंशीको भागमा एक रन पर्यो।
क्यानडाका लागि उदय भगवान्ले तीन, ईश्वरजोत सोहीले दुई, साद बिन जफरले दुई तथा हर्ष थेकर र सहिद अज्माजीले एकएक विकेट लिएका थिए।
नेपालले अब अर्को खेल शनिवार खेल्नेछ।
नोट: यो समाचारको दोस्रो अनुच्छेदमा "दोस्रो इनिङ्सको चवालीसौँ ओभर" हुनुपर्नेमा यसअघि " अन्यथा भएकाले क्षमायाचनासहित सच्याएका छौँ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








