तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अञ्जु बनिन् सुप्रिताकी श्रीमान्, विवाह दर्ताको प्रमाणपत्र पाएका समलिङ्गी महिला जोडीको अबको इच्छा के?
- Author, विमला चैधरी
- Role, नेपालगञ्ज
स्याङ्जाको वालिङमा ३३ वर्ष पहिले छोरीका रूपमा जन्मिएकी अञ्जुदेवी श्रेष्ठ (दिप्ती) अहिले श्रीमान्को भूमिका निभाइरहेकी छन्। उनीसँग श्रीमती र बाँकेको कोहलपुरमा आफैँले बनाएको छुट्टै घर छ।
तनहुँको बन्दीपुर गाउँपालिकामा २०४७ साल असोज २६ गते परिवारमा कान्छी छोरीको रूपमा जन्मिएकी सुप्रिता गुरुङसँग अञ्जुले सम्बन्ध गाँसेकी हुन्। उनीहरूको जन्म-अन्तर एक महिनाको छ।
अञ्जु र सुप्रिता दुवै युवा अवस्थामा पुग्दा पनि उनीहरूलाई पुरुषप्रति आकर्षण महसुस भएन।
अञ्जु भन्छिन् ‘‘एसएलसी दिने बित्तिक्कै केटाहरू घरमा माग्न आउन थाले, केटासँगको विवाह सम्झेर मनमा एक खालको डर उत्पन्न हुन्थ्यो अनि एक दिन म घर छाडेर हिँडे।’’
घरबाट भाग्न आफ्नै ठूली दिदी सीता श्रेष्ठले सहयोग गरेको र केही समय परिवारका अन्य सदस्यसँग सम्पर्क विहीन भएर बुटवलमा बसेको अञ्जु बताउँछिन्।
अञ्जु जस्तै सुप्रितालाई पनि घरमा केटा माग्न नआएका होइनन् तर उनले सबैलाई अस्वीकार गरिन्।
कक्षा-१२ पास गरिसकेपछि सुप्रिता आफूजस्तै केटी साथी बनाउन चाहन्थिन्।
कपाल काटेर छोटो बनाएकी सुन्दर केटीका रूपमा अञ्जुलाई फेसबुकमा देखेपछि उनले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइन्।
फेसबुकबाट चिनापर्ची
पाँच वर्षअघि फेसबुकमा साथी बनेका उनीहरू प्रेम सम्बन्धमा जोडिए। उनीहरूको भेटघाट बाक्लियो।
सुप्रिता तनहुँबाट अञ्जुलाई भेट्न कोहलपुर पुगिन् भने अञ्जु पनि सुप्रितालाई भेट्न काठमाण्डूसम्म पुगिन्।
प्रेम सम्बन्धमा रहेका उनीहरू एक अर्कासँग छुट्टिन चाहेनन्। त्यसैले कोरोनाभाइरस महामारी फैलिरहेका बेलादेखि कोहलपुरमा सँगै बस्न थाले।
त्यसको केही समयपछि अञ्जुको जन्मस्थान स्याङ्जाको वालिङस्थित छाङ्छाङ्दी मन्दिरमा पुगेर उनीहरूले विवाह गरे।
समाजले केटा र केटीबीचको विवाहलाई मात्र स्वीकार्ने भएकोले अञ्जुकी दिदी सीताले नेपालगञ्जमा एक जना अधिवक्तालाई भेटेर उनीहरूबीच कानुनी रूपमा विवाह गराइदिन्।
उनी भन्छिन्, ‘‘बहिनीको चोखो मायालाई मैले मनैदेखि बुझेर कानुनी रूपमा पनि सम्बन्धलाई अझ बलियो बनाउन कागजी विवाह गराइदिएकी हुँ।’’
सुप्रिताको ब्रिटेन यात्रा
बिहे गरेको दुई वर्षपछि सुप्रिता आफ्नी आमा र दाजुसँगै ब्रिटेन गइन्।
उनले ब्रिटेनमा काम गर्न थालेपछि अञ्जुले बनाएको घरमा दोस्रो तला थप्ने योजना बुनिन्।
कोहलपुरको एउटा ब्यूटीपार्लरमा कार्यरत अञ्जुले घरको तला थप्ने योजना बनेपछि काम छोडेर घर बनाउन थालिन्।
अहिले उनीहरूको दुई तले घर पूर्ण रूपमा बनिसकेको छ।
भौतिक रूपमा अञ्जुसँग टाढा भए पनि दैनिक फोन र म्यासेजमा कुराकानी भइरहने सुप्रिता बताउँछिन्।
भौतिक रूपमा टाढा हुँदा दुई जनाबीच माया अझ बढेको उनीहरू बताउँछन्।
सुप्रिता भन्छिन्, ‘‘तीन वर्ष ब्रिटेन बसाइका क्रममा अञ्जुलाई भेट्न दुई पटक नेपाल आएँ।’’
बिहे दर्ताको प्रमाणपत्र
उनी दोस्रो पटक नेपाल आउँदा यी समलिङ्गी दम्पतीले बर्दियाको बढैया ताल गाउँपालिका वडा नम्बर–२ को कार्यालयबाट गत माघ २८ गते विवाहदर्ता गराएर त्यसको प्रमाणपत्र समेत प्राप्त गरिसकेका छन्।
बढैयाताल गाउँपालिका–२ अञ्जुको परिवार स्याङ्जाबाट बसाइँ सरेर आएको ठाउँ हो।
उनीहरूलाई मन्दिरमा विवाह गरेर पाँच वर्षसम्म सँगै बस्दा वा सँगै घुम्दा कसैले केही भन्ने हो कि भन्ने मनमा डर लाग्ने गर्थ्यो।
पहिले दुवै जनाले परिवार र आफन्तबाट अपहेलनाको सामना गर्नुपरेको थियो। तर अहिले आफूहरूले परिवारको पनि साथ पाएको उनीहरू बताउँछन्।
सुप्रिताले भनिन्, “अञ्जुलाई भन्दा मलाई घरमा सम्झाउन धेरै गाह्रो भयो। आफैँ आत्मनिर्भर भएको हुँदा केही भन्नु भएन। आमा र दिदीहरू आएर भेटिसक्नु भयो अहिले त खुसी हुनुहुन्छ।’’
‘‘पहिलेपहिले घर वरिपरिका छिमेकीले अचम्म मान्दै ‘कस्ता खालका केटीकेटी हुन्?, केटी भएर केटीसँग किन बिहे गरेका होलान् भनेर फरक नजरले हेर्दै कुरा काट्ने गर्थे। अहिले त त्यस्तो गर्दैनन्।’’
पहिले आलोचना, अहिले बधाइ
पहिले उनको घरमा भाडामा बस्न आउनेहरूलाई समेत कतिपय छिमेकीले भड्काएर बस्न नदिएको अञ्जु बताउँछिन्।
उनले भनिन्, ‘‘यो त केटीकेटी विवाह गरेकाहरूको घर हो तपाईँका छोराछोरीले पनि यस्तै सिक्छन् भनेर भाडामा बसेकालाई कोठा छोड्न बाध्य पारिन्थ्यो। अहिले त्यो समस्या छैन।’’
विवाहदर्ताको प्रमाणपत्र पाएपछि धेरै छिमेकीहरूले केक, खादा र माला लिएर घरमै बधाइ दिन आएपछि समाजले विस्तारै आफूहरूको विवाहलाई स्वीकार्दै गएको महसुस भइरहेको उनीहरूको भनाइ छ।
विवाह दर्ताको प्रमाणपत्र पाइसकेपछि अहिले निर्धक्क भएर श्रीमान्/श्रीमतीको रूपमा हिँड्न पाएको उनीहरू बताउँछन्।
फागुन अन्तिम साता सुप्रिता पुनः ब्रिटेन फर्किन लागेकी छन्। उनले अञ्जुलाई पनि ब्रिटेन लाने प्रक्रिया थाल्न लागेको बताइन्।
तर भविष्यमा नेपालमा नै फर्केर कुनै व्यवसाय गर्ने र वैवाहिक सम्बन्धलाई अघि बढाउने योजना उनीहरूको छ।
सन्तानको इच्छा
अञ्जु र सुप्रिताले सन्तानको अपेक्षा पनि गरेका छन्।
सुप्रिता भन्छिन्, ‘‘अहिले आईभीएफलगायत विभिन्न वैकल्पिक विधि आइसकेका छन्। चाहेमा हामी सन्तान पनि बनाउन सक्छौँ।’’
सन्तानका लागि वैकल्पिक विधि बुझ्न र स्वाथ्य जाँच गराउन उनीहरू चिकित्सकहाँ पनि गइरहेका छन्।
नेपालको सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिन आदेश जारी गरिसकेको छ।
गत असार १२ मा अदालतले दिएको आदेश र केन्द्र सरकारको पत्रअनुसार यसअघि लमजुङको दोर्दी गाउँपालिकाले पुरुष समलिङ्गीहरू माया गुरुङ र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो।
अञ्जु र सुप्रिताबीचको विवाह भने नेपालमा केटीकेटी बीचको विवाहको प्रमाणपत्र जारी भएको पहिलो विवाह भएको जानकारहरू बताउँछन्।
‘मायाको पहिचान नेपाल’का कार्यकारी निर्देशक एवं संविधानसभाका सदस्य रहेका सुनिलबाबु पन्तले अदालतको पछिल्लो आदेशसँगै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको वैवाहिक अधिकार सुनिश्चित भएको बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।