काठमाण्डूका घरमा क्यूआर भएको 'नयाँ ठेगाना', फाइदा र सुरक्षाबारे उब्जिएका प्रश्न

    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डू महानगरपालिकामा डिजिटल ठेगाना प्रणाली जडान गर्ने काम सुरु भएको छ।

वडा नम्बर २६ को लैनचौर क्षेत्रबाट जडान थालिएको उक्त प्रणाली हालको मेट्रिक प्रणालीको तुलनामा थप 'प्रविधिअनुकूल' रहेको महानगरका अधिकारीहरूले बताएका छन्।

"यसको मुख्य उद्देश्य भनेको 'लोकेशन'लाई सहज बनाउने हो," महानगरका प्रवक्ता नवीन मानन्धरले भने, "तर त्यसबाहेक यसले आगलागीसहितका आपत्कालीन अवस्थामा पनि मद्दत गर्न सक्ने ठानिएको छ।"

डिजिटल ठेगानामा 'लोकेशन' र घरसँग सम्बन्धित विवरण राखिने भएकाले कतै घरधनीको व्यक्तिगत डेटा चुहिने र सुरक्षा खतरा बढ्ने हो कि भनेर प्रश्न पनि उठेको छ।

तर उक्त डिजिटल प्रणालीको विकास गरेको 'अड्रेसग्राफ' नेपाल प्रालिका लक्ष्मण रिमालले 'डेटा सुरक्षा'बारे लिएर शून्य सहनशीलताको नीति अपनाइएकाले उक्त प्रविधि पूर्णत: सुरक्षित रहेको दाबी गरे।

डिजिटल ठेगानाले कसरी काम गर्छ

काठमाण्डू महानगरका अधिकांश स्थानमा अहिले मेट्रिक ठेगाना प्रणाली प्रयोगमा छ।

'मेट्रिक ठेगाना प्रणाली'मा सडक आरम्भ हुने बिन्दुबाट घरसम्मको दूरीका आधारमा घर नम्बर निर्धारण गरिएको छ।

"मेट्रिक प्रणाली सडक भएका स्थानहरूमा मात्रै काम लाग्थ्यो," अड्रेसग्राफ नेपालका रिमालले भने, "स्थानीय कोड र गुगलप्लस कोडमा समेत आधारित हुने भएकाले यो नवीन प्रविधि जुनसुकै स्थानमा प्रयोग गर्न सकिन्छ र ठेगानाका निम्ति झनै सटिक हुन्छ।"

डिजिटल ठेगाना प्रणाली 'क्यूआर'पद्धतिमा आधारित छ। काठमाण्डूमा जडान भएका डिजिटल प्लेटमा अङ्कित क्यूआर स्क्यान गर्दा उपभोक्ताले डिजिटल ठेगानासम्बन्धी एप 'कता हो'मार्फत् सम्बन्धित स्थानबारे जानकारी प्राप्त गर्न सक्छन्।

चिप्ससहितको भएकाले उक्त प्रणालीबाट धेरै किसिमका सुविधा दिन सकिने भए पनि पहिलो चरणमा 'लोकेशन'का निम्ति मात्रै प्रयोगमा ल्याइएको कामपा-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले बताए।

"घरधनीले आपत्‌विपद् पर्दा क्यूआर पठाइदिएका खण्डमा उद्धार आदिका काम छिटो र सहज हुन्छ,'' उनले भने, "घरधनीले चाहेमा त्यसमा खानेपानी, बिजुलीलगायत सम्बन्धी धेरै विवरणहरू जोड्न सक्छन्।"

सुरक्षा संवेदनशीलताबारे उठेका प्रश्न

महानगरका कतिपय बासिन्दाले यसबाट उत्पन्न हुन सक्ने सुरक्षा संवेदनशीलताबारे प्रश्न उठाएको प्रवक्ता मानन्धर बताउँछन्।

"स्थानीयवासीले डेटा सुरक्षाको विषयमा प्रश्न उठाएकाले मेरै वडामा पनि उक्त प्रणाली जडान गर्न सकिएको छैन," उनले भने, "घरबाहिरको क्यूआर कोड स्क्यान गर्दा घरका विवरणहरू पाइने भएकाले घरमा कोही नभएका बेला चोरी भयो भने के गर्ने भन्ने जस्ता प्रश्न उनीहरूले उठाइरहेका छन्।"

"मैले मेरा वडाका बासिन्दालाई सहभागी गराएर उक्त उपकरण नै लगेर अभ्यास पनि गराएँ। तर अन्तिममा विवरणहरूकै कारणले चाहिँ मैले उनीहरूको चित्त बुझाउन सकिनँ।'"

वडा नम्बर २६ का अध्यक्ष तिवारी भने स्थानीयवासीले नबुझेर त्यस्ता प्रश्न उठाएका बताउँछन्।

"बाहिर देखिने भनेको 'लोकेशन' मात्रै हो। अन्य कुराहरू घरधनी र वडाबाहेक कसैलाई पनि थाहा हुँदैन," उनले भने।

आफ्नो घरमा उक्त प्रणाली जडान गरेका लैनचौरका निर्मल लामाले "डिजिटल ठेगानाबारे आफूलाई धेरै कुरा थाहा नभएको र त्यसबारे वडामा गएर बुझ्ने" बताए।

"वडाले मेरो घरमा पनि 'डिजिटल ठेगानासहितको प्लेट' जडान गरिदिएको छ," उनले भने, "यसका धेरै कुराहरू राम्रा छन् भन्ने मेरो बुझाइ हो र 'डेटा सुरक्षा'बारे महानगरले आवश्यक सावधानी अपनाएको होला भन्ने लागेको छ।"

'अड्रेसग्राफ' नेपालका रिमाल धरधनीका विवरणको सुरक्षाबारे पर्याप्त सतर्कता अपनाइएको बताउँछन्।

"कसैले अर्काको घरमा गएर क्यूआर स्क्यान गर्‍यो भने उसले कुनै जानकारी प्राप्त गर्दैन, उल्टै घरधनीले क्यूआर स्क्यान गर्ने व्यक्तिबारे सूचना प्राप्त गर्छन्," उनले भने, "घरधनीको 'डेटा'माथि सम्बन्धित कार्यालय र उसले अनुमति दिएका पक्षबाहेक अन्यले पहुँच पाउँदैनन्।"

महानगरको योजना

महानगरका प्रवक्ता मानन्धरका अनुसार अहिले 'डेटा भण्डारण' गर्ने उपकरणहरू सम्बन्धित वडा कार्यालयमा राखिने तर पछि क्रमश: प्रहरी, दमकलसहितका आपत्कालीन सेवा बिन्दुहरूमा पनि जडान गर्ने योजना छ।

तर बाँकी वडामा तत्काल काम अघि बढ्ने नदेखिएको उनले बताए।

"महानगरले पहिलादेखि नै यो काम गर्न खोजेको हो। महानगरको 'सिटी प्लानिङ'मै उक्त कुरा परेको छ तर हालैको आन्दोलनपछि कतिपय कामहरू अघि बढेका छैनन्," मानन्धरले भने, "साथै अहिले अर्थ मन्त्रालयले 'अत्यावश्यकबाहेकका कामलाई प्रोत्साहन नगर्नू' भन्ने आशयको परिपत्र पनि गरेकाले छिट्टै बाँकी स्थानमा जडान हुन्छ भन्ने छैन।"

वडा नम्बर २६ मा वडाकै स्रोतबाट डिजिटल ठेगानाको काम अघि बढाइएको अध्यक्ष तिवारीले बताए।

"सबै जडान शुल्क वडाले नै बेहोर्ने हो। धरधनीले जोड्ने स्थानमात्रै देखाइदिए हुन्छ," उनले भने, "कार्तिक महिनाभरिमा वडाभित्रका सबै ६,९०० घरमा जडान गरिसक्ने लक्ष्य राखेका छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।