'उनी सायद अब 'एन्जल' भइन्' बोन्डाइ आक्रमणमा ज्यान गुमाएकी १० बर्सिया बालिकाकी आफन्त

    • Author, टिफनी टर्नबुल
    • Reporting from, सिड्नी
    • Author, केटी वाट्सन
    • Role, अस्ट्रेलिया संवाददाता
    • Reporting from, सिड्नी

बोन्डाइ गोलीकाण्डकी सबैभन्दा कान्छी पीडित मटिल्डाको परिवारले १० वर्षीया बालिकालाई बिहीवार अन्तिम बिदाइ गर्दै उनको मृत्युलाई आक्रोश बढाउनका लागि प्रयोग नगर्न आग्रह गरेका छन्।

सिड्नीको बोन्डाइ समुद्री तटमा आइतवार दुई बन्दुकधारीले गोली चलाउँदा मारिएका १५ जनामध्ये मटिल्डाको पनि ज्यान गएको थियो।

उनको अन्तिम संस्कारमा बीबीसीसँग कुरा गर्दै उनकी काकी लिना चेर्निखले यहुदी समुदायले यहुदी विरोधीवादलाई निस्तेज पार्न थप कदम चाहनु सही भएको उनले पनि चाहेको बताइन्।

तर उनले मटिल्डा एकदमै रमाइली बालिका थिइन् र उनी जहाँ गए पनि प्रेम फैलाउने छन् भन्दै समुदायलाई उनको सम्मानमा पनि त्यस्तै गर्न आग्रह गरिन्।

"आक्रोश आफैँसँग राख्नुहोस् र … मेरी भतिजीका लागि खुसी, माया र सम्झना फैलाउनुहोस्," उनले भनिन्।

"म आशा गर्छु कि सायद उनी अब 'एन्जल' बनिन्। सायद उनले संसारलाई सकारात्मक ऊर्जा पठाउने छिन्।"

यहुदी समुदायका नेताहरूले हालैका दिनमा यहुदी विरोधी भावना बढिरहँदा अस्ट्रेलियाले त्यसलाई सम्बोधन गर्न सङ्घर्ष गरिरहेको र यो एउटा टार्नै नसकिने वियोग भएको बताएका छन्।

हनुकाको पहिलो रात मनाउने क्रममा यहुदी समुदायलाई लक्षित गरी आइतवार भएको आक्रमण सन् १९९६ पछि देशको सबैभन्दा घातक घटना थियो। त्यतिबेला पोर्ट आर्थर हत्याकाण्डमा एक बन्दुकधारीको आक्रमणमा ३५ जनाको ज्यान गएको थियो।

मटिल्डाको अन्तिम संस्कार गर्नुअघि बिहीवार चेर्निखले उनको मृत्युका कारण परिवार विक्षिप्त भएको बताएकी थिइन्।

"म उनीहरूको अनुहारमा हेर्छु र उनीहरू फेरि खुसी हुन सक्लान् कि नसक्लान् भनेर सोच्छु," उनले मटिल्डाको आमाबुवाबारे भनिन्।

मटिल्डाकी बहिनी जोसँग उनी छुट्टिनै सक्दिनथिन्, उनी पनि विक्षिप्त र दुबिधामा रहेको चेर्निखले बताइन्।

"उनीसँग रुनका लागि आँसु पनि छैन।"

मङ्गलवार भएको स्मृति सभामा मटिल्डाकी आमा भ्यालेन्टिनाले एक दशकभन्दा अगाडि सुरक्षित हुने ठानेर परिवार युक्रेनबाट त्यहाँ पुगेको बताइन्।

"मैले कल्पनै गरेकी थिइनँ मैले मेरी छोरी यहाँ गुमाउँछु भनेर... यो केवल डरलाग्दो सपना हो," उनले भनिन्।

चेर्निखले बीबीसीसँग बोल्दै के भइरहेको हो भनेर बुझ्न आफूले पनि सङ्घर्ष गरिरहेको बताएकी छन्।

आइतवार मटिल्डाकी आमाले फोन गर्दा उनी गोल्ड कोस्टस्थित घरमा बगैँचामा काम गरिरहेकी थिइन्।

"साँच्चै भन्ने हो भने मैले मेरो बुवालाई केही भयो कि भन्ने सोचेँ किनभने उहाँ अहिले ८४ वर्षको हुनुभयो... र उनले मटिल्डालाई गोली लागेको बताइन्," उनले त्यो दिन सम्झिँदै भनिन्।

"अस्ट्रेलियामा कसैले यो कसरी बुझ्न सक्छ कि यहाँ कसैले बच्चालाई गोली हान्यो भनेर… मैले यो बुझ्न सकिनँ। मैले सोचिरहेकी थिएँ कि मैले राम्ररी बुझ्न सकिनँ। मैले के सुनिरहेकी छु भनेर मैले केही पटकसम्म सोधेँ।"

प्रहरीले उक्त हमलालाई आतङ्कवादी घटना भनेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले इस्लामिक स्टेट समूहको विचारधाराबाट प्रेरित भएको बताएका छन्।

प्रहरीले ती दुई बन्दुकधारी बुवा र छोरा भएको आरोप लगाएको छ। ५० वर्षीय सजिद अकरमको घटनास्थलमै मृत्यु भएको थियो भने २४ वर्षीय छोरा नवीदमाथि ५९ वटा अपराधका आरोपहरू लगाइएको छ। आरोपमा १५ जनाको हत्यासहित आतङ्कवादी गतिविधि पनि रहेका छन्।

अस्ट्रेलियाले घृणालाई कम गर्न बलिया कानुनहरू बनाउने घोषणा गरेको छ। साथै यहुदीविरोधी आधारमा भिसा रद्द गर्ने वा अस्वीकार गर्ने अधिकार पनि राखिने बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।