नेपालमा कस्ता आपराधिक घटनामा बाङ्ग्लादेशीहरू संलग्न छन्?

तस्बिर स्रोत, RSS
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
विदेशमा जागिर लगाइदिने लोभ देखाएर बाङ्ग्लादेशबाट नेपालमा ल्याएर बन्धक बनाउने अनि फिरौती उठाउने गरेको आरोपमा प्रहरीले यो साता सात जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका केही बाङ्ग्लादेशीसँग नेपालको नागरिकता र केहीसँग भारतको आधार कार्ड पनि पाइएको र त्यो नक्कली भएको हुनसक्ने आशङ्का गरिएको केसीले जनाएका छन्।
काठमाण्डू र ललितपुरका तीन ठाउँबाट पक्राउ गरिएका दुई नेपाली र पाँच जना बाङ्ग्लादेशीविरुद्ध अहिले काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले सङ्गठित अपहरण तथा शरीर बन्धक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ।
नेपालमा लामो समयदेखि बस्दै आएका र यहाँ विभिन्न पेसा व्यवस्थामा संलग्न बाङ्ग्लादेशीहरूले नेपाली समेतसँग मिलेमतो गरी सङ्गठितरूपमा योजनाबद्ध तरिकाले बाङ्ग्लादेशबाट मानिस बोलाउने गरेको पाइएको उक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले बीबीसीलाई बताए।
“नेपालमा आइपुगेपछि उनीहरूलाई होटेल वा घरमा राख्ने अनि बन्धक बनाएर परिवारसँग फोन र भिडिओमार्फत् फिरौती माग गर्ने गरेको पाइएको छ,” एसएसपी केसीले बीबीसीसँग भने।
त्यसरी बन्धक बनाइएका ८ जना बाङ्ग्लादेशीमध्ये दुई जना महिलालाई नक्सालस्थित स्पाबाट र बाँकी ६ जना पुरुषमध्ये दुई जनालाई एअरपोर्ट नजिकैको होटेलबाट अनि चार जनालाई हरिसिद्धिस्थित व्यक्तिको घरबाट उद्धार गरिएको केसीले बताए।
पक्राउ पर्नेमा उक्त घरका घरधनी पनि रहेको बताइएको छ।
खासगरी बन्धक बनाइएकाहरूलाई पोल्यान्ड पठाउने भन्दै नेपाल ल्याइएको र पहिलो चरणमा प्रतिव्यक्ति १० लाख टाकासम्म फिरौती उठाइसकेको पाइएको केसीले बताए।
उनीहरूलाई नेपालमै बन्धक बनाइँदा पोल्यान्ड पुर्याइसकेको भन्दै अर्को २० लाख टाका पनि फिरौती माग गर्दै ज्यान मार्ने सम्मको धम्की दिएको पाइएको उनले बताए।
केही बाङ्ग्लादेशमै बस्ने नागरिक र केही नेपालमा लामो समयदेखि बस्दै आएका बाङ्ग्लादेशीकै योजना अनुसार त्यसरी मानिस ल्याइएको र त्यस्तो क्रियाकलापमा नेपालीहरू पनि जोडिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी कार्यालयले जनाएको छ।
बाङ्ग्लादेशका नागरिक नेपालमा यस्तो आपराधिक क्रियाकलापमा संलग्न भएको देखिएसँगै विगतमा पनि नेपाल हुँदै तेस्रो मुलुक जाने गरेको हुनसक्ने शङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
“यो सम्बन्धी अरू सूचनाहरू पनि खोज्ने प्रयत्न गरिरहेका छौँ। यसमा अरू पनि संलग्न हुनसक्ने हाम्रो आशङ्का छ,” केसीले भने।
"विगतमा पनि पोल्यान्ड वा अन्य देशमा बाङ्ग्लादेशीहरू गएका छन् कि भनेर हामीले अनुसन्धान गरिरहेका छौँ।"
विगत ३ वर्षमा नेपालमा कति बाङ्ग्लादेशीविरुद्ध मुद्दा चल्यो?
नेपालमा विगतदेखि नै बाङ्ग्लादेशीहरू विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार २०७९/२०८० मा ९ जना बाङ्ग्लादेशीविरुद्ध अवैध मुद्रा, बिना भिसामा बसेको, जबरजस्ती करणी, सङ्गठित अपराध, भिओआईपी र बन्धक बनाएर फिरौती माग गरेको जस्ता आपराधिक घटनामा कारबाही अगाडि बढाइएको छ।
प्रहरीको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७८/२०७९ मा नेपालमा अपराध बढी गर्नेमा भारतपछि दोस्रो स्थानमा बाङ्ग्लादेशका नागरिक रहेका थिए।
वर्षभरि १३ जना बाङ्ग्लादेशीविरुद्ध भन्सार छली, लागु औषध, मानव बेचबिखन, किर्ते जस्ता आपराधिक घटनामा मुद्दा लगाइएको तथ्याङ्कले देखाउँछ।
त्यस्तै २०७७/२०७८ मा बाङ्ग्लादेशका दुई जना नागरिकविरुद्ध लागु औषधमा कारबाही चलेको थियो।

तस्बिर स्रोत, RSS
“समग्रमा भारतबाहेक नेपालमा अपराधमा बढी संलग्नताको हिसाबले सङ्ख्या हेर्ने हो भने पहिलो चीन त्यसपछि बाङ्ग्लादेशका नागरिक देखिन्छन्,” प्रहरी प्रवक्ता कडायतले बताए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्व प्रमुख हेमन्त मल्ल पनि नेपालमा एक दशकभन्दा लामो समयदेखि विभिन्न आपराधिक गतिविधिमा बाङ्ग्लादेशीहरूको संलग्नता रहेको बताउँछन्।
उनीहरूको प्रविधिमा राम्रो ज्ञान रहेकोले त्यसको प्रयोग गरेर अर्काको खाताबाट पैसा तानिदिने क्रियाकलापमा उनीहरू संलग्न रहेको विगतदेखि नै पाइएको उनले बताए।
"म आफैँ सीआईबीमा हुँदा पनि दुई वटा वाणिज्य बैङ्कको प्रणालीमा बाङ्ग्लादेशीहरूले आक्रमण गरेपछि उनीहरूविरुद्ध कारबाही चलाएको मलाई याद छ," मल्लले भने।
त्यसबाहेक धेरैजसो भीओआईपीमा बाङ्ग्लादेशीहरूको संलग्नतामा विगतमा देखिएको उनले बताए।
भारत हुँदै नेपाल भित्रिएर यहाँको परिचयमा खाडी मुलुकमा श्रमिकको रूपमा जाने गरेको पनि पाइएको मल्ल बताउँछन्।
तर यस्ता आपराधिक घटनामा उनीहरू बेला बेला संलग्न भएको देखिए पनि सङ्ख्या भने उल्लेख्य नभएको आफ्नो अनुमान रहेको उनले बताए।
मुद्दा चलेका बाङ्ग्लादेशी विरुद्धको प्रक्रिया के हुन्छ?
आपराधिक घटनामा संलग्न भएकाहरू विरुद्ध जुन देशमा पक्राउ गरिएको हो त्यही देशको ऐन अनुसार कारबाही अगाडि बढाइन्छ।
अपराधको प्रकृति अनुसार ऐन आकर्षित भएर त्यसै अनुसार कारबाही हुने र सजाय भुक्तान गरेपछि अध्यागमनले फिर्ता पठाइने सीआईबीका पूर्व प्रमुख मल्ल बताउँछन्।
"अदालतको फैसला अनुसार सजाय भुक्तान भएपछि अध्यागमन विभागले उनीहरूकै देश फिर्ता पठाउँछ। फिर्ता पठाउँदा कति समय नेपाल आउन नपाउने लगायतका बन्देज लगाएर फिर्ता पठाउने गरिन्छ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








