तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आन्दोलनसँगै ऐतिहासिक र पुरातात्त्विक सम्पदा जोगाउन थपिएको सुरक्षा चुनौती
- Author, फणिन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
भदौ २३ गते जेन जी युवाहरूले गरेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा १९ जनाको ज्यान गएपछि काठमाण्डूको क्षेत्रपाटीका प्रतीक श्रेष्ठलाई रातभर निन्द्रा लागेन।
कर्फ्यु भए पनि भोलीपल्ट उनी बिहानै माइतीघर मण्डलामा पुगे र उक्त घटनाको विरुद्धमा धर्नामा बसे। कर्फ्युको समयमा प्रदर्शन गरेको आरोपमा उनीसहित केहीलाई पक्राउ गरेर प्रहरीले काठमाण्डू जिल्ला प्रहरी परिसर पुर्यायो।
प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाउने गरी स्थिति नियन्त्रण बाहिर पुग्न लाग्दा अपरान्ह उनीहरूलाई प्रहरी कार्यालयबाट रिहा गरियो। त्यसपछि यी ३३ वर्षे युवा नेपालको इतिहास र अभिलेख जोगाउने एउटा यस्तो काममा संलग्न भए जसको सर्वत्र प्रशंसा भइरहेको छ।
नजिकै रहेका सिंहदरबार, सर्वोच्च अदालत र स्वास्थ्य मन्त्रालयको भवन आन्दोलनका क्रममा तोडफोड र अगजनीमा परिरहेको समयमा प्रतीक सहित एक दर्जन युवाहरूको समूहले राष्ट्रिय अभिलेखालयलाई पहरा दिइरहे।
त्यसबाट सयौँ वर्ष पुराना लिखत, सनद र ताडपत्रसहितका दस्ताबेजहरू जोगिएको भन्दै विज्ञहरूले सम्पदा संरक्षणका लागि जनचेतना जगाउनु महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।
पूरातत्व विभागकी महानिर्देशकहरूले सम्पदा संरक्षणमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै पछिल्लो घटनाले सुरक्षा सावधानी अपनाउनु आवश्यक रहेको पाठ आफूहरूलाई सिकाएको बताइन्।
सम्पदा जोगाउने त्यो प्रेरणा
कक्षा ११ र १२ लाई बानेश्वरस्थित एउटा विद्यालयमा सामाजिक अध्ययन पढाउँदै आएका ३३ वर्षका प्रतीक श्रेष्ठले विगतमा स्वयंसेवी र करारमा राष्ट्रिय अभिलेखालयको 'माइक्रोफिल्म डिजिटलाइजेशन' शाखामा ३ वर्ष जति काम गरेका थिए।
भदौ २३ गतेको प्रदर्शनमा कम्तीमा १९ जना युवाहरू मारिएपछि उनले 'अति भयो' भन्ने महसुस गर्दै अर्को दिन प्रदर्शनमा सहभागी हुने निधो गरिसकेका थिए।
"कर्फ्यु लगाउने निर्णय भएपछि झन् गलत भयो भन्ने मलाई भयो। शान्तिपूर्ण नै भए पनि आन्दोलन गर्नुपर्छ बरु म एक्लै भए पनि गएर उभिन्छु भन्ने सोचेर म माइतीघर गए।"
त्यहाँबाट हट्न प्रहरीले अनुरोध गर्दा नमानेपछि उनीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर पुर्याएको थियो। दिउँसोसम्म आइपुग्दा सुरक्षा स्थिति काबुबाहिर पुगेपछि उनीहरूलाई रिहा गरियो।
त्यसपछि उनी घर फर्किए। लगत्तै खाने खाने क्रममा समाचारहरू हेर्दा प्रधानमन्त्रीको राजीनामा भइसक्दा पनि आगजनी नरोकिएको थाहा पाएपछि उनलाई त्यहाँ बस्नै मन लागेन।
"आफूले सकिन्छ भने रोक्न प्रयास गरौँ न भनेर एक जना साथी लिएर सिंहदरबार आए। सिंहदरबार हेरे पुरै जलिरहेको थियो। बिस्तारै सर्वोच्च अदालत हेरे त्यो पनि जलिरहेको थियो। त्यस बेला मलाई अभिलेखालयको याद आयो। आफू पनि काम गरेको ठाउँ अनि म दौडिँदै गए र त्यहाँ केही भएको रहेनछ। बचाउनुपर्छ भनेर प्लेकार्ड बोकेर केही साथीहरू उभिइरहनुभएको रहेछ।"
"सुरुमा म २/३ घण्टा बसे। आएको भीडलाई शान्त पार्ने काम गरियो। त्यहाँ यो एउटा बाँकी छ यसलाई पनि जलाउनुपर्छ भन्ने पनि हूल आउँथ्यो। जलाउनु हुँदैन भन्नेहरू पनि थिए। बेलुका खाना खान घर फर्किए तर स्वयंसेवक चाहियो भन्ने म्यासेज फेसबुकमा आएपछि म राति नै साइकल लिएर फेरी त्यहाँ पुगे। त्यो रात नै म र केही साथीहरू राष्ट्रिय अभिलेखालयमा नै बस्यौँ।"
उनले कतिपय अवस्थामा उग्र भीडलाई सम्हाल्न कठिन भएको र त्यो बेला आफूलाई डर पनि लागेको बताए।
तर विगतमा राष्ट्रिय अभिलेखालयमा काम गरेको अनुभवले गर्दा ऐतिहासिक सम्पदाहरू महत्त्व आफूले बुझेको र उक्त परिसरको सुरक्षामा सङ्कल्पित भएर लाग्न त्यसले बल दिएको उनले सुनाए।
उनी भन्छन्, "हाम्रो पुरा इतिहास नै छ। कतिपय त निक्कै संवेदनशील छन् र विभिन्न रसायनहरू प्रयोग गरेर तीनलाई सुरक्षित राखिएको छ। त्यसलाई बचाउन नसकेको भए, त्यो सकिन्थ्यो। अपूरणीय क्षति हुन्थ्यो।"
भारी मन र बेचैनी
प्रतीक श्रेष्ठ र झन्डै डेढ दर्जन सम्पदा प्रेमीहरू राष्ट्रिय अभिलेखालय जोगाउन सक्रिय रहेको समयमा भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाकी पुरातत्त्व अधिकृत रज्जु हाडामा बैचनी बढिरहेको थियो।
भक्तपुर दरबार क्षेत्र नजिकै घर भएकी हाडाले आफ्नो पेसागत जीवनको ११ वर्ष राष्ट्रिय अभिलेखालयमा बिताएकी थिइन्।
"मैले मेरो मनलाई थाम्न नै सकिन्। आगजनीबाट नेपालको इतिहास सम्बन्धी अभिलेखहरू सबै समाप्त हुन्छ कि भन्ने चिन्ता लागिरह्यो। विभिन्न ठाउँमा फोन पनि गरे र जोगाउन पहल गर्न अनुरोध गरे। त्यस्तो अमूल्य सम्पदा बल्ल बल्ल बचाउन सकियो।"
उनले पछिल्लो घटनाले पुरातात्त्विक र ऐतिहासिक महत्त्वका सम्पदाहरू र राष्ट्रिय पूर्वाधारहरूको सुरक्षा र जर्गेनाका लागि युवाहरूमाझ जनचेतना जगाउनु आवश्यक रहेको देखाएको पनि उल्लेख गरिन्।
राष्ट्रिय अभिलेखालयमा पाँचौँ शताब्दीका दश भूमिश्वर, सन् ८१० को उत्तर लिच्छवि लिपिमा लेखिएको सकन्दपुराण, आठौँ शताब्दीकै ताडपत्रमा लेखिएको सद्धर्मपुण्डरिका सूत्र, ११ औँ शताब्दीको ताडपत्रमा लेखिएको विनय पिटकसहितका अभिलेख रहेका छन्। त्यहाँ करिब ३२ हजार हस्त लिखित ग्रन्थका मूल प्रति, करिब २० हजार अभिलेख र १० हजार तिब्बती ग्रन्थ र दुई लाख ग्रन्थका माइक्रोफिल्म रहेको राष्ट्रिय अभिलेखालयको वेबसाइटमा जनाइएको छ।
कुमारीचोकको भूमिसम्बन्धी कागजात, पृथ्वी नारायण शाहको दिव्योपदेशको सक्कलप्रति, भूमि सम्बन्धी तमसुक, विभिन्न समयका नक्सा समेत त्यहाँ रहेको बताइन्छ। त्यहाँ रहेका अन्य चर्चित अभिलेखहरूमा जयस्थिति मल्लको वैधानिक कानुन 'न्यायाविकासिनि, नेपाल सम्वतको आयूर्वेद सम्बन्धी ग्रन्थ लड्कावतार, यूनेस्कोको 'मेमोरी अफ द वर्ल्ड रजिस्टर' मा सूचीकृत नवौँ शताब्दीको शैवतन्त्र सम्बन्धी ग्रन्थ निश्वासतत्वसंहिता रहेका छन्।
हाडाले थपिन्, "भविष्यमा फेरी पनि यस्ता घटना होला भन्न सकिँदैन। राष्ट्रिय अभिलेखालयमा भएका सम्भव भएसम्मका सबै दस्तावजेहरूलाई हामीले छिटो भन्दा छिटो विस्तृत विवरण सहित अभिलेखीकरण गर्न लगाउने र तीनको डिजिटलाइजेशन गरी कम्तीमा तीन ठाउँमा राख्नुपर्छ। धन्न हाम्रो डेटा सेन्टरमा केही भएन।"
पुरातत्त्व विभागकी महानिर्देशक के भन्छिन्?
पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले राष्ट्रिय अभिलेखालय जोगाउन युवाहरू सक्रिय भएकोमा प्रशंसा गरिन्।
उनी भन्छिन्, "त्यो नेपालको इतिहास भएको ठाउँ हो। हामी सम्पूर्ण नेपालीहरू उहाँहरू प्रति आभारी छौँ। उहाँहरूले जुन समर्पण भाव देखाउनुभयो, युवाहरू सम्पदा र संस्कृति र हाम्रो आफ्नो पहिचानप्रति जागुरुक देखिनुभयो, त्यसबाट हामीलाई खुसी लाग्यो।"
तर पछिल्लो आन्दोलन र त्यस क्रममा भएको ध्वंसले थप सुरक्षा सावधानीहरू अपनाउनुपर्ने सङ्केत गरेको उनले सुनाइन्।
महानिर्देशक प्रधानाङ्ग भन्छिन्, "अहिलेको घटनापछि दुईवटा काम गर्नपर्छ। एउटा नयाँ पुस्तालाई सम्पदाप्रति जागरुक बनाउनुपर्छ। हरेक नेपालीको घरमा हामीले सम्पदाको महत्त्व र संवेदनशीलता बुझाउनुपर्छ। त्यसबाहेक हामीले हरेक चिजको अभिलेख राख्नुपर्छ। डक्यूमेन्टेशन गरिरह्यो भने भोलीका दिनमा प्राकृतिक, भौतिक र मानवीय क्षति हामीले १०/१५ वर्षमा हेर्यौँ, यस्तो बेलाका लागि पनि 'इन्भेन्ट्री' आवश्यक पर्छ। त्यो सँग सँगै अरू नयाँ सुरक्षा प्रविधि पनि हामीले राख्नु जरुरी छ।"
पुरातत्वविद्हरूले पनि अन्य ऐतिहासिक र प्राचीन सम्पदाहरूको सुरक्षाका लागि पनि विशेष ध्यान दिनुपर्ने बताइरहेका छन्।
अलग्गै कानुनी प्रबन्ध आवश्यक
काठमाण्डू, पाटन र भक्तपुर दरबार क्षेत्रमा रहेका सङ्ग्रहालयहरू बाहेक छाउनीमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय, नारायणहिटी दरबार सङग्रहालयहरूमा कैयौँ अमूल्य बस्तुहरू रहेका र तीनलाई सुरक्षित तुल्याउन कदमहरू चाल्नु आवश्यक रहेको जानकारहरू बताउँछन्।
पुरातत्त्व विभागका पूर् महानिर्देशक भेषनारायण दाहाल भन्छन्, "सङ्ग्रहालयहरूका लागि सुरक्षा आधारभूत कुरा हो। ब्यारिकेडहरू बनाएर पहिले नै सुरक्षा चुनौतीहरू आकलन पनि गर्नुपर्छ। विभिन्न सुरक्षाका उपायहरू अवलम्ब गर्नुको अन्य विकल्प छैन। कतिपय भवनहरू आगो र भूकम्प प्रतिरोधी निर्माण गरिएका हुन्छन्। म्युजियम पनि त्यसरी बनाउन सक्दा राम्रो हो।"
पूर्वमहानिर्देशक दाहालले नेपालमा सङ्ग्रहालयहरूलाई व्यवस्थित गर्न सरकारको अनुरोधमा आफूहरूले एउटा कानुनको मस्यौदा गरिदिएको उल्लेख गर्दै त्यो कानुन आएको खण्डमा त्यसले म्यूजीअमहरूलाई १३ वटा समूहमा वर्गीकरण गरिएको उल्लेख गरे। मस्यौदामा सङ्ग्रहालयको स्वीकृति र खारेजीका मापदण्डहरूको पनि व्यवस्था गरिएको छ।
त्यसबाहेक 'इतिहास, कला,संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक महत्त्व बोकेका सङ्ग्रहालयका सामग्रीहरू अन्य मुलुकहरूमा प्रदर्शनीको लागि लैजान सकिने' प्रस्ताव आफूहरूले राखेको उनले सुनाए।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सङ्ग्रहालयसम्बन्धी कानुनको मस्यौदाको तयारी गरिरहेको बेला देशमा उत्पन्न नयाँ राजनीतिक सङ्कटसँगै प्रतिनिधिसभा विघटन भएको छ।
उसै त बजेटको विनियोजनदेखि दक्ष जनशक्ति व्यवस्थापनमा चुनौती भोगिरहेको यो क्षेत्रले राजनीतिक गतिरोधसँगै कम प्राथमिकता पाउनसक्ने चिन्ता विज्ञहरूले गरिरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।