तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मेसिनले महिला पुरुष हेर्दैन': भारतकी पहिलो महिला रेल चालक
- Author, दिपाली जगदप र शेरिलान मोलन
- Role, बीबीसी मराठी र बीबीसी न्यूज
"मेसिनले महिला पुरुष हेर्दैन; त्यसले त तपाईँको शक्ति हेर्छ," तीन दशकभन्दा लामो समयदेखि भारतीय रेल चलाउँदै आएकी सुरेखा यादवले भनिन्।
यो साताको सुरुमा यादवले आफ्नो ३६ वर्षे सेवा पूरा गर्दै भारतको पहिलो महिला चालकका रूपमा अवकाश पाएकी हुन्।
विगतका वर्षहरूमा उनले भारतभरिका कयौँ क्षेत्रका चुनौतीपूर्ण ठाउँ र कठिन मौसमी अवस्थामा रेल चलाइन्।
अहिले भारतीय रेलसेवामा २,००० भन्दा बढी महिला रेल चालकहरू छन्। तर यादव भने त्यस्तो बेला रेल चालक भएकी थिइन् जतिबेला महिला यो पेसामा लाग्नु भनेको असाध्यै असामान्य थियो।
सन् १९६५ मा भारतको पश्चिमी राज्य महाराष्ट्रमा जन्मिएकी यादव एउटा किसान परिवारबाट आएकी हुन्। उनी घरकी जेठी छोरी हुन्।
सानै उमेरबाट उनी पढ्दै गर्दा आफ्नो आमाबुवालाई खेतीपातीमा सघाउँथिन् र कठिन कामहरू गर्थिन्।
आमाबुवाले सधैँ आफ्नो पढाइका लागि प्रोत्साहित गरेको उनी बताउँछिन्।
"मेरा आमाबुवा सामान्य पृष्ठभूमिका भए पनि उहाँहरूको सोच प्रगतिशील थियो। उहाँहरूले मलाई पढाउनु भयो र काम गर्न पनि दिनुभयो।"
इलेक्ट्रिकल इन्जिनिअर बनेपछि उनले तत्कालै जागिर खाइन्। उनले भारतीय रेलसेवामा रेलको सहचालक चाहिएको भन्दै निकालिएको विज्ञापन पत्रिकामा देखिन् र त्यसमै जागिर खाइन्।
त्यो बेला, उनलाई देशमा महिला रेलचालक छैनन् भन्ने थाहा थिएन। उनले कमाइ गर्नका लागि मात्रै जागिर खोजेकी थिइन्।
सुरुका चुनौती
भारतमा सुरक्षा र सुविधाका हिसाबले सरकारी जागिरहरू असाध्यै प्रतिष्ठित छन्। तर जागिर पाउन भने निकै गाह्रो छ किनकि देशभरबाट एउटा पदका लागि हजारौँ आवेदनहरू पर्छन्।
सन् १९८९ मा यादवले सामान बोक्ने मालवाहक रेलमा पहिलो जागिर पाइन्।
जागिरका लागि तालिम लिन थालेपछि मात्रै उनले यो पेसा पत्यारै नलाग्ने तरिकाले पुरुष प्रधान छ भन्ने महसुस गरिन्।
उनले तालिमका लागि गएको पहिलो दिन सम्झिइन्। उनले तालिम लिने कक्षामा कमै महिला होलान् भन्ने ठानेकी थिइन् तर उनी त्यति बेला छक्क परिन् जब उनले कक्षामा एकजना पनि महिला देखिनन्।
"म के गर्ने भनेर सोच्दै थिएँ। तर मलाई लागेको थियो यदि मैले यो जागिर खाइनँ भने कसै न कसैले त खान्छन्। म छानिएको छु भने म नै गर्छु," उनले भनिन्।
यादवलाई आफूले कठिन कुरा छानेको थाहा थियो। तर उनले पछाडि फर्किएर हेरिनन्।
सुरुका वर्षहरू चुनौतीपूर्ण थिए।
जागिरे जीवनमा थुप्रै कुराहरू भए र त्यसैबाट आफूले असल चालक हुन सिकेको उनी बताउँछिन्।
भारतीय रेल सञ्चालकहरूले यात्राका विभिन्न आयामहरू हेर्न अनुगमन गर्ने थुप्रै प्रणालीहरूको प्रयोग गर्छन्, जसमा जाने रुट र रेलको गति पनि पर्छ। उनीहरू अधिकांश समय सचेत रहनुपर्छ र दुर्घटना हुन नदिन र यात्रुको सुरक्षाका लागि तत्काल निर्णय गर्नुपर्ने हुन्छ।
लाखौँ यात्रुहरूलाई उनीहरूका गन्तव्यसम्म पुर्याउनका लागि भारतको विशाल रेल सञ्जालमा हरेक दिन हजारौँ रेलहरू चलिरहेका हुन्छन्। भारतका रेलहरूको विशाल सञ्जाल भएको र किफायती पनि भएका कारण प्राय: यसलाई देशको जीवनरेखा पनि भनिन्छ।
समस्याको पूर्वानुमान गर्ने र सङ्कटबाट बच्नका लागि यथासमयमा प्रतिक्रिया व्यक्त गर्ने कला आफूले सिकेको यादव बताउँछिन्।
सन् १९९६ मा उनको पदोन्नति लोकोमोटिभ पाइलटमा भयो जसको मुख्य जिम्मेवारी भनेको रेलको कन्ट्रोल रूममा हेर्नु हुन्छ।
अप्रत्याशित ढिलाइ र दुर्घटनाको कारण काम गर्ने समय सोचेभन्दा फरक भइदिन्छ जुन जागिरको कठिन चुनौतीहरू मध्येको एक रहेको उनी बताउँछिन्।
चाहे पानी परोस् वा घाम लागोस् उनलाई आफ्नो काममा देखिनै पर्छ। खाना खाने समयको टुङ्गो हुँदैन र कुनै रेलमा त महिलाहरूका लागि शौचालय सुविधा र लुगा फेर्ने ठाउँ नहुँदा पनि चुनौती थपिएको उनी बताउँछिन्।
यादवले बाढी आएका रेलमार्गमा, पहाडी बाटो र धेरै दिनको यात्रामा पनि रेल चलाएकी छन्।
उनले दुईपटक गर्भवती हुँदा पनि काम गरिन् र काम गर्दै दुई सन्तान हुर्काइन्।
उनको कामको प्रकृतिका कारण उनी बच्चाबाट टाढा हुनुपर्थ्यो।
"तपाईँले सिग्नल, ट्र्याक, ओभरहेड उपकरणहरू हेर्नुपर्छ, सहकर्मीका कुरा पनि सुन्नु पर्छ र आँखा हरदम गतिमा राख्नुपर्छ। अनि कसरी मैले बच्चाबारे सोच्न पाउँछु?" उनले भनिन्।
"यदि तपाईँले ३० सेकेन्डको लागि भए पनि अन्यत्र सोच्नुभयो भने त्यो रेलमा रहेका सबैका लागि खतरनाक हुनसक्छ।"
आफ्नो जागिरका कारण थुप्रै पारिवारिक जमघट र घुम्न जाने अवसरहरू आफूले छुटाएको उनी सम्झिन्छिन्। तर परिवार र पुरुष सहकर्मीका कारण उनलाई सहज भयो।
"मेरा सहकर्मीहरू असाध्यै राम्रा थिए। म महिला भएकै कारण फरक हुँ भन्ने कुरा उनीहरूले कहिल्यै महसुस गर्न दिएनन्। अन्यले सोचेका हुन सक्छन् तर मेरा सहकर्मीहरूले होइन," उनले भनिन्।
आफ्नो लामो जागिरे जीवनमा यादवले रेल चलाउन चाहनेहरू थुप्रैलाई सल्लाह दिने अवसर पाइन्, जसमा धेरैजसो महिलाहरू नै थिए।
उनको आशा भनेको उनको कामले अन्यलाई पनि सेवा गर्न प्रेरित गरोस् भन्ने हो।
जागिरको आफ्नो अन्तिम दिन उनले राजधानी एक्सप्रेस चलाइन् जुन भारतको लामो दूरीको रेलमध्ये एक हो। भारतको आर्थिक राजधानी मुम्बईको टर्मिनलमा उनलाई सहकर्मीहरूले बिदाइ गरे। उनको बिदाइमा ड्रम बजाइएको थियो र नृत्य प्रस्तुत गरिएको थियो।
"६० वर्षको हुँदासम्म रेल चलाउँछु होला भनेर मैले कहिल्यै सोचेकी थिइनँ," यादवले भनिन्।
आफ्नो जागिरको के कुरा उनलाई धेरै याद आउँछ भनेर सोध्दा उनले झिलिक झिलिक बत्ती बलेर दिइने सङ्केतहरू भएको बताइन्।
तीनै प्रकाशले उनलाई आफ्नो बाटो पहिल्याउन सधैँ मद्दत गर्यो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।