तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हमासका प्रमुख याह्या सिन्वार गाजामा मारिएको इजरेलको दाबी
इजरेली सेनाले हमासका प्रमुख याह्या सिन्वार मारिएको पुष्टि गरेको छ।
"एक वर्षको प्रयासपछि" गाजाको दक्षिणी भेगमा आफ्नो फौजको कारबाहीमा सिन्वार बुधवार मारिएको सेनाले जनाएको छ।
"गाजाका सर्वसाधारण मानिसहरूभन्दा पछाडि अनि गाजा स्ट्रिपमा रहेका हमासका सुरुङभन्दा माथि तथा मुनि एक वर्षसम्म लुकेपछि याह्या सिन्वारको नाश गरिएको छ," इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले भनेको छ।
इजरेलका राष्ट्रपति आइज्याक हर्गजले सिन्वारलाई मारेकामा आफ्नो सेनाको प्रशंसा गरेका छन्। सिन्वारले "रक्तपात र आतङ्कका लागि" आफ्नो जीवन समर्पण गरेको उनको भनाइ छ।
त्यसै गरी त्यहाँका विदेशमन्त्री इजरेल काट्जले विश्वका विभिन्न देशका आफ्ना समकक्षीलाई एक सन्देश पठाउँदै यस घटनालाई "महत्त्वपूर्ण उपलब्धि"का रूपमा व्याख्या गरेका छन्।
यसअघि आईडीएफले गाजामा 'मारिएका तीनजना आतङ्ककारी'को पहिचान हुन बाँकी रहेको बताएको थियो। आईडीएफले भनेको थियो, "आतङ्ककारीहरू मारिएको भवनभित्र बन्धकहरू रहेको सङ्केत छैन।"
समाचारसंस्था एएफपीका अनुसार मारिएकामध्ये सिन्वार भएनभएको निश्चित गर्न डीएनए परीक्षण जारी रहेको इजरेलका एक सुरक्षा अधिकारीले बताएका थिए।
उक्त समाचारपछि इजरेली रक्षामन्त्री योआभ गलान्टले सामाजिक सञ्जालमा "हाम्रा शत्रुहरू लुक्न सक्दैनन्" भनी लेखेका थिए।
याह्या सिन्वार को हुन्
सिन्वारलाई गत वर्षको अक्टोबर ७ तारिखमा दक्षिणी इजरेलमा हमासले गरेको आक्रमणको प्रमुख योजनाकारको रूपमा लिइन्थ्यो।
यसअघिका हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएपछि नेतृत्व चयन गर्न हमासले दोहामा दुई दिन सघन बैठक गरेको थियो।
सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिन्वारलाई सर्वसम्मतिमा उक्त समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको हमासका एक वरिष्ठ नेताले बीबीसीलाई बताएका थिए।
हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव चुलिएको छ। इरान र उसका सहयोगीहरूले इजरेललाई दोष लगाउँदै प्रतिशोध लिने बताएका छन्।
हमासमा सिन्वारलाई चरमपन्थी नेता मानिन्छ।
यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए। सन् १९६२ मा जन्मेका सिन्वार हमासको सुरक्षा सेवा 'मज्द'का संस्थापक पनि थिए।
मज्दले गाजामा आन्तरिक सुरक्षा हेर्छ। त्यसमा सन्दिग्ध इजरेली गुप्तचरहरूको अनुसन्धान गर्ने जस्ता कार्यहरू पर्छन्। उनी आफैँले पनि इजरेली गुप्तचर र सुरक्षा सेवाका अधिकारीहरूमाथि दृष्टि राख्ने गरेको बताउने गरिन्छ।
सिन्वार तीन पटक पक्राउ परेका थिए। सन् १९८२ मा इजरेली सैनिकले उनलाई पहिलो पटक पक्राउ गरेको थियो। त्यतिबेला उनलाई चार महिना जेलमा राखिएको थियो।
सन् २०११ मा इजरेलले आफ्ना एक सैनिकको रिहाइको बदलामा हमास र फतहका कैदीहरूलाई रिहा गरेको थियो। त्यसमा याह्या सिन्वार पनि परेका थिए।
इजरेली कैदबाट मुक्त भएपछि उनी हमासमा आफ्नो पुरानो स्थानमा फर्किए। सन् २०१७ मा सिन्वार गाजा क्षेत्रमा हमासको राजनीतिक विभाग प्रमुख बने।
अमेरिकाले उनलाई सन् २०१५ मा "अन्तर्राष्ट्रिय आतङ्ककारी" को सूचीमा राखेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।